
८ साउन, चितवन । चितवनको राप्ती नगरपालिकाकी सुजिता भण्डारीको मृत्युको सम्बन्धमा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ । असार २० गते मृत भेटिएकी राप्ती नगरपालिका–३ की सुजितालाई आत्महत्याका लागि दुरुत्साहन गरिएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेका हुन् ।
आफन्त पर्ने एक युवकको नाम तोकेर सुजिताकी आमा अम्बिका भण्डारीले आत्महत्या दुरुत्साहनको जाहेरी दिएकी छन् ।
घटनाको अनुसन्धान गरिरहेको प्रहरीले सुजिताको हत्या नभई उनले आत्महत्या गरेको निष्कर्ष नजिक पुगेको छ । त्यसैलाई आधार मानेर सुजिताको परिवारले आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी दिएको हो ।
घटनामा प्रहरीले काठमाडौंबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ परेका युवक नाताले सुजिताको दाइ पर्ने जनाइएको छ । काठमाडौंमा पक्राउ परेका युवकलाई प्रहरीले शुक्रबार चितवन ल्याएको हो ।
शुरुमा परिवारले सुजिताको अपहरण भएको भन्दै प्रहरीमा जानकारी गराएका थिए । असार २० गते ब्रह्मास्थानी सामुदायिक वनको भीरको खोल्सामा सुजिताको शव भेटिएको थियो । सुजिता असार ११ गते बिहानबाट हराएकी थिइन् । शव भेटिएपछि स्थानीयले दोषीलाई पत्ता लगाउनुपर्ने माग गर्दै राजमार्ग अवरुद्ध र प्रदर्शन समेत गरेका थिए ।
प्रतिक्रिया 4