Comments Add Comment

‘एक जनाको इच्छामृत्युले अरू आठ जनाको जीवन बाँच्छ’

मृत्यु ! कति डरलाग्दो कुरा । मृत्यु जस्तो डरलाग्दो कुरा संसारमा के होला ? मृत्यु भन्नासाथ मान्छे आतंकित हुन्छ । मृत्युलाई देख्नै, सुन्नै र झेल्नै नपरोस् भन्छ । तर, सत्य कति निर्मम छ । मृत्यु त सबैको भागमा छ । एकदिन मर्नु त पर्छ नै !

मान्छेले जीवनमा आइपर्ने सबै कुराको अभ्यास गर्छ तर, मृत्युको अभ्यास गर्दैन । मान्छेले मर्न सिक्दैन । किनभने मान्छे जीवनभर त्यही भ्रमले आफूलाई ढाकछोप गरिरहन्छ कि, मैले मर्नु पर्दैन ।

तर, मृत्यु त्यति कमजोर कहाँ छ र ! त्यसले कसैलाई पनि बाँकी राख्दैन- राजा-रङ्क, धनी-गरीब, ठूलो-सानो, चर्चित-गुमनाम सबैलाई । यसकारण जरूरी छ, मृत्युलाई स्वीकार्नु । हामी यति मात्र कामना गर्न सक्छौं कि, मृत्यु स्वाभाविक होस् !

सबैले स्वाभाविक मृत्युवरण गर्न पाउँदैनन् । आफ्नो मृत्युबारे मान्छेले कहिल्यै अनुमान लगाउन सक्दैन । मान्छे अनेक कारणले मर्छन् । बूढो भएर, उमेर पुगेर वा निश्चित अवधि जीवन भोग गरेर मर्नु सबैभन्दा ठूलो कुरा हो । तर, मान्छेले जीवनलाई राम्ररी भोग गर्न नपाउँदै रोगले समाउन थाल्छ ।

मान्छे रोगी हुन्छन् । अस्पताल र उपचारको चक्करमा दिनहरू बित्न थाल्छन् । खानेकुराभन्दा बढी औषधि खाएर बाँच्नुपर्ने हुन्छ । आफ्ना इन्दि्रय एवं अंगहरूले चुस्तदुरुस्त काम गर्दैनन् ।

गौतम बुद्धले भनेका छन्- ‘रोगी जीवन वास्तवमा जीवन नै होइन । पीडाको एक स्थिति हो ।’ पीडा भएर, असहृय दुःख सहेर, बाँच्नु न मर्नुको स्थितिमा पुगेर जीवनलाई घिसार्दै गर्दा सो व्यक्तिले आफूलाई ‘बाँच्नु भन्दा मर्नु’ निको ठान्न सक्छ । यसको अर्थ यो होइन कि, रोग लाग्नासाथ जीवन सकियो ।

यो पनि पढ्नुहोस शरीर दानपछि इच्छा–मृत्युको बहस : नेपालमा सम्भव होला त ?

‘म मर्न चाहन्छु’ भन्यो भने के गर्ने ?

मान्छेको शरीर हो, रोग लाग्न सक्छ । रोग लागेपछि त्यसको उपचार पनि छ । औषधि पनि छ । औषधि उपचार गरेर बाँच्न सकिन्छ । त्योभन्दा उत्तम, शरीरमा रोग नै लाग्न नदिनु हो । खानपान, जीवनशैलीमा ध्यान दिएर निरोगी जीवन बाँच्न सकिन्छ । निरोगी जीवन नै सबैभन्दा ठूलो उपहार हो ।

तर, नचाहेरै पनि हामीलाई रोग लाग्छ, बुढ्यौलीले छोप्छ । कहिलेकाहीं रोगले यसरी गलाउँदै जान्छ कि, हामीसँग त्यसलाई जित्ने सामर्थ्य नै हुँदैन । अब उसँग पीडा र दुखाइ मात्र बाँकी रहन्छ । जीवन भन्दा बढी कष्ट हुन्छ ।

उनीहरूको लागि अब औषधि-उपचार संभव छैन । औषधि खाएर, उपचार र शल्यक्रिया गरेर फेरि जीवन र्फकन्छ भन्ने संभावनाहरू सकिन्छ । अर्थात्, सग्लो जीवन बाँच्न सक्ने स्थिति रहँदैन । र, पीडादायक अवस्थामै मृत्युलाई कुरेर बस्नुपर्ने हुनसक्छ ।

यो परिस्थितिमा यदि कुनै व्यक्तिले ‘म मर्न चाहन्छु’ भन्यो भने के गर्ने ?

सुन्दा निकै अप्रिय कुरा हो, यो । कसैले पनि मृत्युलाई सहज स्वीकार्न सक्दैन । मृत्युलाई लिएर मान्छेमा भयंकर डर छ । त्यसैगरी परिवार, इष्टमित्र, नातागोता पनि आफ्ना सदस्यलाई सहजै गुमाउन तयार हुँदैनन् । उनीहरूका लागि आफन्तसँग सधैंका लागि विछोड हुनु एक ठूलो दुर्घटना हो ।

नेपाली समाजमा प्रचलित भनाइ नै छ, ‘सास रहुञ्जेल आश रहन्छ ।’ त्यसैले प्राण रहेसम्म हामी त्याग्न सक्दैनौं । चिकित्सककहाँ पुर्‍याएर हुन्छ कि, आयुर्वेदिक ओखती खुवाएर हुन्छ कि, धामी-झाँक्रीकहाँ लगेर हुन्छ कि ! हर-तरहले बचाउने कोशिश गर्छौं ।

जबकि मान्छेले बाँच्नु भनेको सुख पाएर हो । तर किन हो किन मान्छे मर्नै चाहँदैन । मान्छेको मात्र के कुरा, यो जगतमा भएका कुनै पनि प्राणी मृत्युलाई सहज मान्न तयार हुँदैनन् । सबै मृत्युदेखि भाग्छन्, डराउँछन् ।

जब औषधि-उपचारका सम्पूर्ण सम्भावना समाप्त हुन्छन् ! एकदमै असक्त भएर, दिसा-पिसाबमा डुबेर बाँच्नुपर्ने हुन्छ । फलतः जीवनभन्दा मृत्यु सहज लाग्छ । यो परिस्थितिमा यदि कुनै व्यक्तिले ‘म मर्न चाहन्छु’ भन्यो भने के गर्ने ? हाम्रो कानूनले बोल्दैन

यो संसार नै मृत्युसँग भयभीत छ, भागिरहेछ । तर, मृत्युले कहाँ छाड्छ ? एक दिन न एकदिन त उसले समात्छ नै । मृत्यु जस्तो सत्य अरू के होला ? जन्मेपछि मृत्यु अवश्यंभावी छ । यो कुराको बोध हरेक व्यक्तिलाई छ । सबैलाई लाग्छ, ‘एकदिन त मैले हार्नु नै छ ।’ जबकि यो सत्यलाई मान्छेले यसरी ढाकछोप गरेर बाँच्छ कि, मृत्युको कल्पना समेत गर्दैन ।

जन्म अनिश्चित छ । तर, मृत्यु निश्चित । त्यो सत्यसँग नजिक रहेर मैले इच्छामृत्युको कुरा गरेको हुँ ।

कस्तो अवस्थामा इच्छामृत्यु ?

अति दुःख पाएर, कष्ट खपेर, अधकल्चो मरेर, अलिकति मात्र बाँचेर, धेरै मरेर जो थला परेका हुन्छन्, उनीहरूले मर्न पाउनुपर्छ । यो उनीहरूको मौलिक अधिकार हो भन्ने मेरो बुझाइ हो । बाँच्न पाउने मौलिक अधिकार जस्तै मर्न पाउने पनि अधिकार हो । तर, कुन अवस्थामा ?

साह्रै असक्त, दिसा-पिसाबमा डुबेको बेला, औषधि-उपचारको संभावना टरिसकेको बेला उसले यदि जीवन भन्दा मृत्यु रोज्छ भने त्यसलाई हामीले सदर गरिदिनुपर्छ । यसैलाई ‘इच्छामृत्यु’ भनिएको हो ।

आत्महत्या र इच्छामृत्युको भेद

तर, इच्छामृत्यु भनेको आत्महत्या होइन । आत्महत्या एक मानसिक आवेगको परिणाम हो भने इच्छामृत्यु शारीरिक बाध्यता ।

मेरो अहिले सिंगो जीवन छैन । म राम्ररी हिंड्न, दौड्न सक्दिनँ । तर, म मर्न जरूरी छैन । किनभने मसँग चेतना छ । उत्साह र ऊर्जा छ । म अहिले पनि लेख्छु । समाजको विवेचना गर्छु । मेरो लागि अहिले इच्छामृत्युको आवश्यक नै छैन ।

तर, कोही व्यक्ति असाध्यै असक्त छ, बाँच्न चाहँदैन भने उसले आफ्नो इच्छा जाहेर गर्न सक्छ । आफूलाई मृत्यु नै सहज हो भन्न सक्छ । आनन्दसँग मर्न पाए हुन्थ्यो भन्न सक्छ । यस्तो अवस्थामा परिवारले कानूनी प्रक्रिया पूरा गरेर, चिकित्सा विधिको प्रयोगबाट सहज रूपमा उसलाई मृत्युवरण गराउन सक्छन् । इच्छामृत्यु यस्तो हो ।

अरू आठ जनाले जीवन पाउँछन्

यसरी एउटा मान्छेले स्वेच्छिक मृत्युवरण गर्छ भने त्यसले अर्कोतर्फ ठूलो फाइदा पुर्‍याउँछ । एक त ती व्यक्तिले सुविस्ताले मृत्युवरण गर्न सके । अर्कोतर्फ उनको मृत्युले अरू आठ जनाको जीवन बाँच्छ । किनभने उनको आँखा लगायत थुप्रै कुरा अर्को व्यक्तिमा प्रत्यारोपण हुन्छ । तात्तातो भयो भने मुटु पनि प्रत्यारोपण हुन्छ । मैले बुझे अनुसार एउटा मान्छेको शरीरले अरू आठ जना मान्छेले नयाँ जीवन पाउन सक्छन् । यसको सोझो अर्थ इच्छामृत्यु जाहेर गर्नेले मरेर पनि योगदान दिन सक्छन् ।

के हुनसक्छ कानूनी र चिकित्सकीय प्रक्रिया ?

अर्कोतर्फ आमाबुवा बूढाबूढी, असक्त, रोगी भएपछि छोराछोरीले उनीहरूलाई मेडिकल विधिबाट मार्न स्वीकृति दिन्छन् भने त्यो इच्छामृत्यु होइन । त्यो त अपराध हो ।यसका लागि कानून र प्रक्रिया स्पष्ट अनि बलियो पनि हुनुपर्छ । सम्बन्धित व्यक्तिले इच्छा जाहेर गरेको प्रमाण सुरक्षित भएपछि, कानूनी प्रक्रिया पूरा गरेर, मेडिकल विधिबाट सहज रूपमा मृत्युवरण गराउन सकिन्छ । यसले कसैलाई मृत्युको लागि उक्साउने वा बाध्य पार्ने होइन, बरु पीडादायक स्थितिबाट वैधानिक र वैज्ञानिक ढंगले छुटकारा दिलाउने हो । आज कति मान्छे होलान्, जो अति पीडादायक स्थितिमा मृत्युलाई कुरेर बसेका ! उनीहरूले उन्मुक्ति पाउनेछन् ।

इच्छामृत्युको आडमा कसैले आफ्ना वृद्ध आमाबुवा, असक्त परिवारका सदस्यलाई मर्नका लागि बाध्य बनाउँछ भने त्यो ठूलो अपराध हो । र, भोलिका दिनमा हुनसक्ने यो जोखिमलाई कानूनले स्पष्ट रूपमा सम्बोधन गर्नुपर्छ ।

कहाँ पुग्यो हाम्रो मुद्दा ?

हामीले यो मुद्दा उठाएको केही वर्ष वितिसक्यो । यो आजको भोलि नै हुने कुरा होइन । इच्छामृत्यु भन्नासाथ मान्छे डराउँछन् । यसलाई कतिले आत्महत्या वा हत्या भनेर तर्सिएका छन् । यसको अन्तर्य बुझ्ने प्रयास गरेका छैनन् ।

यसअघि शरीर दान वा अंग दानको कुरा आएको छ । तर, कानून बन्न सकेको छैन । अंगदान चाहिं भयो, शरीर दान भएको छैन । शरीर दानका विषयमा कल्याण श्रेष्ठ, पुकारचन्द्र श्रेष्ठ, रामवरण यादवसँग विमर्श भएको थियो । त्यसको खाका बनाउने कुरा पनि चलेको हो । तर, इच्छामृत्युको विषयमा धेरै कुरा अगाडि बढेको छैन ।

(शिव मुखियासँगको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment