Comments Add Comment

ओलम्पिक फुटबल : जाम्बियाकी कप्तानले बनाइन् कीर्तिमान, लगातार दुई ह्याट्रिक

९ साउन, काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला फुटबलमा शनिबार जाम्बिया र चीनबीचको खेलमा गोलको वर्षा भयो । दुई ह्याट्रिक भए । समूह एफअन्तर्गत मियागी स्टेडियममा भएको खेल ४-४ को बराबरीमा सकिएको थियो । उक्त खेलमा चीनका लागि शुअङ वाङले चार गोल गरिन् ।

जाम्बियाका लागि कप्तान बारब्रा बान्डाले ह्याट्रिक गरिन् भने राचेल कुन्डालान्जीले एक गोल गरिन् । चीनकी क्वुन्टोन लिले ८६औं मिनेटमा रातो कार्ड पाएकी थिइन् ।

जाम्बियाकी बान्डाले टोकियो ओलम्पिकमा लगातार दुई खेलमा ह्याट्रिक गरिसकेकी छन् । उनी ओलम्पिकको महिला फुटबलमा लगातार दुई खेलमा ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बनिन् ।

यसअघि नेदरल्याण्ड्रसँग १०-३ ले पराजित हुँदा पनि बान्डाले ह्याट्रिक गरेकी थिइन् ।

दुई खेलमै ६ गोल गरिसकेकी उनी सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बुटको दाबेदारमा समेत अघि छन ।

यस्तै उनले एकै संस्करणमा सर्वाधिक ६ गोल गर्ने क्यानडाकी क्रिस्टिन सिनक्लेरको कीर्तिमानसमेत बराबरी गरेकी छिन् । समूह चरणमा जाम्बियाले अझै ब्राजिलसँग खेल्न बाँकी रहेकोले उनले गोल थप्न सक्नेछिन् ।

समूह एफमा एक हार र एक बराबरीपछि जाम्बयाले १ अंक जोडेको छ । पहिलो खेलमा ब्राजिलसँग पराजित भएको चीनले पनि १ अंक जोडेको छ ।

समूह एफकै अर्को खेलमा ब्राजिल र नेदरल्याण्ड्सले ३-३ को बराबरी खेल्दै अंक बाँडेका छन् । मियागी स्टेडियममै भएको खलेमा नेदरल्याण्ड्सले दुई पटक अग्रता बनाए पनि ब्राजिलले पुनरागमन गरेको थियो । नेदरल्याण्ड्सका लागि भिभिएने मिएडेमाले दुई तथा ढोमिनिक ब्लुडवर्थले एक गोल गरिन् । यस्तै ब्राजिलका लागि डेबिन्हा, मार्टा र लुडमिला दा शिल्भाले एक एक गोल गरे ।

ब्राजिल र नेदरल्याण्ड्सले समान ४ अंक जोडेको छ ।

महिला फुटबलअन्तर्गत नै समूह जि को खेलमा अमेरिकाले न्युजिल्याण्डलाई ६-१ ले पराजित गर्दै पहिलो जित हात पारेको छ । अमेरिका पहिलो खेलमा स्वीडेनसँग पराजित भएको थियो ।

साइतामा स्टेडियममा भएको खेलमा अमेरिकाका लागि रोस लाभेले, लिन्डसे होरान, क्रिस्टेन प्रेस र एलेक्स मोर्गनले एक एक गोल गरिन् । न्युजिल्याण्डका एबी एसेग र क्याथरिन बोटले आत्मघाती गोल उपहार दिए ।

न्युजिल्याण्डका लागि बेट्सी हासेटले सान्त्वना गोल गरिन् ।

यस्तै पहिलो खेलमा अमेरिकालाई हराएको स्वीडेनले अष्ट्रेलियालाई ४-२ ले हराएर लगातार दोस्रो जित हात पारेको छ । स्वीडेनका लागि फ्रिडोलिना रोल्फेले दुई तथा लिना हुर्टिग र स्टिना ब्ल्याकस्टेनियसले एक एक गोल गरिन् । अष्ट्रेलियाका लागि सामान्था केरले दई गोल गरिन् ।

स्वीडेनले लगातार दुई जितपछि ६ अंक जोडेको छ  भने अमेरिका र अष्ट्रेलियाको समान ३ अंक छ ।

यसैगरी समूह इ मा ग्रेट ब्रिटेनले लगातार दोस्रो जित हात पार्ने क्रमम घरेलु टोली जापानलाई १-० ले पराजित गरेको छ । ब्रिटेनका लागि एलेन ह्वाइटले निर्णायक गोल गरिन् ।

यस्तै यही समूहको अर्को खेलमा क्यानडाले चिलीलाई २-१ ले पराजित गरेको छ । क्यानडाका लागि जानिन बेकीले दुई गोल गरिन् भने चिलीका कारेन अरयाले एक गोल गरिन् ।

ब्रिटेन दुई जितपछि ६ अंकसहित शीर्ष स्थानमा छ भने क्यानाडाको ४ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment