Comments Add Comment

सदाबहार गुरु : सुनिल पोखरेल

‘टाइम क्या हुआ है ?’ दिल्लीको नेशनल स्कूल अफ ड्रामा (एनएसडी)मा छँदा इरफान खान, सुनिल पोखरेल सहितका सहपाठी चिया पिउन राति होस्टलबाट निस्किएका थिए । एक बटुवाले सोध्यो । कसैसँग घडी थिएन ।

त्यसबखत इन्दिरा गान्धीको हत्या भएको र सुरक्षा व्यवस्था कडा बनाइएको थियो । तब, इरफानले तात्तातो जवाफ फर्काए, ‘टाइम बहुत खराब है भाइसाहब, घर जाइए ।’
यो वितेको कुरा । दिग्गज अभिनेता इरफान सांसारिक जीवनबाट अलग भइसके ।

अतः यतिबेला सुनिल पोखरेलको ‘समय’ भने बडो प्रेमिल छ । आफ्ना शिष्यहरूको श्रद्धा र स्नेहले उनी गद्गद् छन् । कोरोना त्रासमा पनि हार्दिकताले उनको ‘चरण स्पर्श’ गर्न शिष्यहरूको ओइरो लागेको छ ।

शनिबार मध्यान्ह । गुरुपूर्णिमाको दिन । अनामनरस्थित मण्डला थिएटरबाट थोरै भित्र छिरेपछि सानो टहरा भेटिन्छ । त्रिपालको छानो लगाइएको सोही टहरामा सानो–तिनो मेला लागेको छ । फलफूल, केक, मिठाई बोकेर आउने तन्नेरीहरूको माझमा घेरिएका छन्, सुनिल पोखरेल ।

फराकिलो निधार, टाउकाको पछिल्तिर मात्र पातलो तर केही लामो कपाल, मसिना दाह्रीजुँगा, खिरिलो ज्यान, गलामा माला । कुनै दार्शनिक एवं चिन्तक जस्ता । हुन चाहिं उनी नेपाली आधुनिक नाटकको सग्लो दस्तावेज ।

रंगमञ्चसँग उनले आफ्नो उमेर साटे, बैंस साटे र सम्पूर्ण जीवन पनि । १४–१५ वर्षको किशोर थिए उनी, जतिबेला नाटकको खेस्रा बोकेर रंगमञ्चमा प्रवेश गरे । धरानको सानो नाट्य जमातबाट त्यो यात्रा अगाडि बढ्यो । त्यसपछि काठमाडौंको प्रज्ञा प्रतिष्ठान हुँदै दिल्लीको नेशनल स्कूल अफ ड्रामासम्मको फन्को लगाएर नेपाली नाटकको कप्तानी सम्हाल्न आइपुगे । एउटा सिंगो जुग गुजारे, रंगकर्ममा ।

उनकै पदचाप पछ्याउनेहरू यतिबेला रंगमञ्चदेखि सिनेमासम्ममा भरिभराउ छन् । ती सबै कलाकर्मीबाट उनी रानो मौरी जस्तै स्नेहको घेराबन्दीमा छन् । उनीप्रति जसरी आदर, सम्मान, श्रद्धा पोखिन्छ, त्यसले गुरु र शिष्यबीचको एक पवित्र सम्बन्धलाई उद्घाटन गर्छ ।

गुरुपूर्णिमा बिहान आफूबाट प्रशिक्षित भाइबहिनीहरूले भेट्न बोलाए । सबेरै नुहाई–धुवाई उनी अनामनगर आइपुगे । मण्डला नजिकैको कटेरामा आइपुग्दा उनका लागि केक र फलफूल तयार गरिसकेको थियो । उनी सबैको हाल–खबर सोध्न थाले । कसैसँग पढाइको कुरा गरे, कसैसँग घर–परिवारको कुरा गरे । भाइबहिनीहरू आउने क्रम जारी थियो ।

अन्ततः उनीहरूले आफ्नो गुरुप्रति श्रद्धा दर्शाउँदै केक काटे । चरण स्पर्श गरे । र, आशीर्वाद थापे ।

वर्षायामको चर्को घाम । खुला आकाशमुनि उनी पसिनै–पसिना भए । केही समय फुर्सद निकालेर उनी हामीसँग कुराकानी गर्न तयार भए । फेरि उनी घाम पर्ने ठाउँमा गएर बसे । यसो भन्दै, ‘घाम ताप्न नपाएको धेरै भयो, भिटामिन डी खानुपर्‍यो ।’

कसरी चल्दैछ दिनचर्या ?

बिहान घडीको काँटाले साढे चार बजेको संकेत नगर्दै उनको निद्रा खुल्छ । ओछ्यान छाड्छन् । मनतातो पानी पिउँछन् । र, बाहिर निस्कन्छन् ।

गुरुकुल बन्द भएसँगै उनी डिप्रेसनमा गए । त्यही बखत मदिराको साथ खोजे । बिहान उठ्नासाथ मदिरा चाहिने ।

पार्कमा केही क्षण दौडन्छन् । हल्का व्यायाम गर्छन् । घर फर्कन्छन् । एकछिन पद्मासनमा बसेर ध्यान गर्छन् । छोराका लागि कफी तयार गरिदिन्छन् । आफू भने दूध पिउँछन् ।

यसरी उनको दैनिकी शुरु हुन्छ ।

घरमा बसेको बखत उनलाई केही चाहिंदैन, किताब भए पुग्छ । किताब उनी जति पनि पढ्छन् । पुस्तकको भण्डार नै छ घरमा । घुमफिरमा गएको बेला पुस्तक किन्छन्, साथीभाइले ल्याइदिन्छन् । उनलाई मनग्ये पुग्छ ।

कसरी उनी किताबसँग यति निकट हुन पुगे ?

‘बच्चा बेलादेखि नै’ उनी सम्झन्छन्, ‘खोटाङको मेरो गाउँमा अरू केही थिएन, मनोरञ्जनका लागि । दौंतरी धेरै थिएनन् । रमाइलो गर्नकै लागि किताब पढ्न थालें ।’ उनका पिता गाउँका जिम्मावाल । उनी हिन्दी किताबहरू घरमा ल्याउँथे । सोही किताबसँग सुनिलको संगत भयो । त्यो क्रम आजको दिनसम्म पनि अटुट छ ।

पछिल्लो समय उनी फुर्सदिला भए । ती दिनहरूमा उनलाई किताबले नै साथ दियो । ‘किताब पाएपछि मलाई दिन बितेको पत्तो हुन्न’ सुनिल सुनाउँछन्, ‘लकडाउनमा यसरी नै घरभित्रै समय बिताइयो ।’

खाना खाने समय बाहेक उनी दिनभर नै पढिरहन्छन् । ९–१० बजेको समय बिहानको खाना खान्छन् । खानामा दाल, भात, तरकारी, अचार । खानामा साग चाहिं नछुटोस् भन्ने लाग्छ । साँझको खाना पनि करीब यस्तै हुन्छ ।

९ बजे उनी ओछ्यानमा पल्टन्छन् । गहिरो र आनन्दको निद्रा लाग्छ । मस्त सुत्छन् ।

केही वर्षअघिसम्म उनी मदिराको लतमा थिए । खासगरी गुरुकुल बन्द भएसँगै उनी डिप्रेसनमा गए । त्यही बखत मदिराको साथ खोजे । बिहान उठ्नासाथ मदिरा चाहिने । ‘तर, अहिले मदिराको लतबाट बाहिर निस्कें’ सुनिलले सुनाए, ‘अहिले पनि पिउनु त पिउँछु । तर, राति मात्र पिउँछु त्यो पनि दुई प्याक ।’

रंगकर्मको यात्रा

२०२० साल । खोटाङको एउटा गाउँमा उनी जन्मिए, हुर्किए ।

किशोर चरण नपुग्दै उनमा पढ्ने र लेख्ने बानी बस्यो । धेरै साथीको प्रेमपत्र लेखिदिए । उनकै पत्र–मित्रताले कतिको प्रेम भयो, कतिले भने प्रेमपत्रकै कारण कुटाइ पनि खाए ।

विद्यालय तह पढ्दा पढ्दै विराटनगर झरे । तराईमा सरस्वती पूजाको बेला विद्यालयमा सांस्कृतिक कार्यक्रम हुने । नाटक देखाइने । १० कक्षामा पढ्दै गर्दा ‘कोही किन बर्बाद होस्’ नाटक देखाउने तयारी भयो । शिक्षकले उनलाई ध्रुवको भूमिका दिए । तर, सुनिलले लजाएर उक्त भूमिका गरेनन् ।

त्यसबेला उनीहरू ‘दियालो’ समूहमा रहेर नाटक गर्थे । सुनिल त्यसैमा सम्मिलित भए । तर, उनले सानोतिनो मात्र भूमिका पाउँथे । एकाध नाटकमा उनले खेल्ने मौका पाए । सोही बखत उनको संगत नवीन सुब्बासँग भयो । धरानको नाट्य समूहमा पनि उनी घुलमिल हुन पाए ।

२०३६ सालतिर प्रज्ञा प्रतिष्ठानमा नाटकको तालिम खुल्यो, एकवर्षे । गोरखापत्रमा सूचना छापिएको थियो, आवेदनको लागि । बद्री अधिकारी र सुनिलले हुलाकबाट आवेदन पठाए । नाम आयो । उनी बुवाले दिएको तीन सय रुपैयाँ बाटो खर्च बोकेर काठमाडौं आए ।

काठमाडौंको डेरा जीवन

काठमाडौं आएपछि डेरा जीवन शुरु भयो । कहिले भरत सुवेदीको डेरामा पाहुना लागे त कहिले अन्य साथीहरूसँग मिलेर आफ्नै बन्दोबस्ती गरे । लोकबहादुर क्षेत्री, मनबहादुर गुरुङसँग संगत भयो । उनीहरूसँग पाटनमा डेरा सरे । लोकबहादुर गायनमा रुचि राख्ने । बिहान हार्मोनियम बजाउथे । रियाज गर्थे ‘यस्तो हाहाहुहु चल्दैन’ भन्दै घरबेटीले लखेटे । त्यसपछि उनीहरू अर्को डेरामा सरे ।

तालिम सकियो । सुनिल पोखरेल त्यहीं अभिनय गर्न थाले । त्यसबापत उनलाई केही खर्च मिल्थ्यो । केही समय बद्री अधिकारीसँगै बसे । फेरि पछि समन्त कंसाकार भन्ने व्यक्तिको घरमा डेरा जमाए ।

काठमाडौं बसाइमा उनी नाटक अभ्यास गर्ने र पढ्ने गर्थे । दिनमान भन्ने हिन्दी पत्रिकामा नाटकको समीक्षा छापिन्थ्यो, खोजी खोजी पढ्थे । नेमी चन्द्र जैनले समीक्षा लेख्थे, जो आफैं एक कवि र रंगकर्मी पनि थिए ।

उनकै समीक्षामा सुनिलले नेशनल स्कूल अफ ड्रामा (एनएसडी)बारे सुने । उनलाई त्यसप्रति उत्सुकता जाग्यो । त्यसबेला प्रज्ञा प्रतिष्ठानमा तीर्थ शेरचन भन्ने व्यक्ति जागिरेको रूपमा आए । उनी पोखराका थिए । उनले एनएसडीमै छात्रवृत्तिमा पढेका रहेछन् । शेरचनले नै सुनिललाई एनएसडीमा छात्रवृत्ति जाने जुक्ति सुझाइदिए ।

त्यसबेला एनएसडीको फर्म खुलेको बेला आवेदन भर्नुपर्ने । आवेदनसँगै भारु दुई रुपैयाँ हालेर हुलाकबाट पठाउनुपर्ने । बद्री अधिकारी र सुनिल पोखरेलले त्यसै गरे । तर, जवाफ आएन ।

उनीहरूले दोस्रो पटक पनि सोही प्रक्रिया दोहोर्‍याए । यसपालि उनीहरूलाई अन्तर्वार्ताको लागि बोलावट भयो । ‘त्यसबेला हामीसँग पैसा थिएन’ सुनिल भन्छन्, ‘सूर्यप्रसाद उपाध्याय र विजय मल्लसँग पैसा सहयोग मागेर हामी दिल्ली गयौं ।’

रेलको यात्रा । केही थाहा थिएन । थर्ड क्लास सिटमा परेछन् । रातभर एउटा हातले डन्डी र अर्को हातले झोला समातेर यात्रा गरे । दिल्ली पुगेपछि विरला मन्दिर धर्मशालामा बस्नु, ५० पैसामा सुत्न पाइन्छ भनेर कसैले सुझाएका थिए ।

दिल्लीको रेल स्टेशनमा उत्रिएपछि उनीहरूले एउटा टेम्पुलाई रोके र विरला मन्दिर धर्मशाला पुर्‍याइदिन भने । टेम्पुले एउटा भव्य महलमा लगेर छाडिदियो । उनीहरू दुवै गेटबाट भित्र पसे । मान्छे थिएनन् । आइतबारको दिन, विदा परेकाले मान्छे नभएका होलान् भन्ने सोचे ।

पर्खालमा बाँदरहरू झुन्डिरहेका थिए । नजिकै राइफल बोकेका मान्छे भेटिए । उनले सोधे, ‘कहाँ गएको ?’

उनीहरूले जवाफ दिए, ‘विरला मन्दिर धर्मशाला ।’

वास्तवमा त्यो विरला धर्मशाला नभई राष्ट्रपति भवन रहेछ । ‘त्यस्तो गर्मीको बेला थियो । चर्को घाम हामी असिनपसिन भएर हिंड्दै विरला मन्दिर पुग्यौं’ सुनिल सम्झन्छन्, ‘त्यहीं बसेर हामी एनएसडीमा अन्तर्वार्ता दिन गयौं ।’

एनएसडीमा अन्तर्वार्ता दिएर दुवै काठमाडौं फर्किए । त्यसबेलासम्म उनीहरूले आरोहण नाट्य समूह शुरु गरिसकेका थिए । आरोहणकै पोस्ट बक्स नम्बरमा पत्राचार गर्ने व्यवस्था मिलाएका थिए । पछि एनएसडीबाट पत्र आयो । ‘मेरो नाम आएछ तर बद्री दाइको आएन’ सुनिल सम्झन्छन्, ‘तर, नाम आउनासाथ फुत्त जाने स्थिति पनि थिएन ।’

त्यहाँ छात्रवृत्तिमा पढ्दा मासिक तीन सय रुपैयाँ भारु पाइने । यसले खान, बस्न र किताब पढ्न मनग्ये पुग्ने । तीन वर्षको कोर्स । यसरी हेर्दा एक विद्यार्थीको लागि करीब १० हजार ८०० रुपैयाँ लगानी गरिएको हुन्थ्यो । यदि विद्यार्थीले पढाइ छाडेमा वा भागेमा उक्त क्षतिपूर्ति तिराउनका लागि पहिले नै पक्का गर्नुपर्ने ।

यसका लागि सम्बन्धित प्रशिक्षार्थीको तर्फबाट आधिकारिक व्यक्तिले सो पैसा व्याजसहित क्षतिपूर्ति तिर्छु भनेर पत्र लेख्नुपर्ने हुन्थ्यो । संयोगले मुकेश मल्लसँग उनको भेट भयो । उनी शिक्षा मन्त्रालयमा अफिसर थिए । उनैले अञ्चलाधीशकहाँ आफू जमानी बसेर कागज बनाइदिए ।

कागजात त भयो, अब खर्चको समस्या छ । उनले चिनेजानेकाबाट केही सरसापट गरे । भाइले केही खर्च जुटाए, आरोहणका संस्थापक प्रदीप श्रेष्ठले केही जुटाइदिए । उनी दिल्ली पुगे ।

‘त्यहाँको तीनवर्र्षे बसाइ मेरो जीवनकै स्वर्णिम काल हो’ सुनिल भन्छन्, ‘त्यहाँ विताएका दिनहरू अब मैले फेरि कहिल्यै पाउने छैन ।’

दिल्लीको पढाइ पूरा गरेर सुनिल काठमाडौं फर्किए र रंगकर्मको एउटा नयाँ संसार रचना गरे । आरोहण गुरुकुल स्थापना गरेर नेपाली रंगमञ्चको काया बदले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
शिव मुखिया

ट्रेन्डिङ

Advertisment