Comments Add Comment

हङकङमा नेपालीलाई डोमेस्टिक हेल्परको भिसाका लागि महासंघले पहल गर्दै

१० साउन, काठमाडौं । हङकङमा नेपालीलाई डोमेस्टिक हेल्पर (घरेलु कामदार)को भिसा दिने विषयमा हङकङ नेपाली महासंघले पहल थालेको छ ।

हङकङमा जन्मेको आईडी नभए पनि विश्वका अधिकांश मुलुकका नागरिकलाई हङकङ सरकारले डोमेस्टिक हेल्परको रुपमा भिसा दिने गरेको छ । तर नेपालीलाई भने उक्त भिसा दिने गरेको छैन ।

हाल चीनको स्वामित्वमा रहे पनि सन् १९९७ सम्म बेलायतको उपनिवेश हुँदादेखि नै नेपालीहरु हङकङ पुगेर काम गर्दै आएका छन् ।

पछिल्लो समय नयाँ सुरक्षा कानून लागू भएपछि पहिलो पटक नेपाली नागरिकहरुले पनि डोमेस्टिक भिसामा काम गर्न पाउनुपर्छ भनेर वकालत गर्दै आएको हङकङ नेपाली महासंघका अध्यक्ष टंक रानाले बताए । डोमेस्टिक हेल्पर भिसाका लागि नेपाल सरकार र हङकङ सरकारबीच वार्ताको वातावरण बनाउन महावाणिज्यदूतलाई आग्रह समेत गरिएको उनले जानकारी दिए ।

‘हङकङ सरकारसँग वार्ता र छलफलका लागि वातावरण मिलाइदिन हङकङस्थित महावाणिज्यदूत उदयबहादुर राना मगर र वाणिज्य दूत किरणकुमार गुरुङलाई शनिबार महासंघमा निमन्त्रणा गरी प्रस्ताव राखेका छौंं । यसका लागि महासंघले समन्वय गर्छ तर वार्ता र सम्झौताको वातावरण नेपाल सरकारको तर्फबाट महावाणिज्य दूतावासले गरिदिनु पर्‍यो,’ उनले भने ।

हङकङमा करीब ५० हजार नेपाली त्यहाँको आईडी लिएर मताधिकार र उम्मेदवार हुन पाउने अधिकारसहित सन् १९९७ देखि बस्दै आएका छन् । फिलिपिन्स, भारत, पाकिस्तान जस्ता अन्य मुलुकका नागरिकलाई भने हङकङ सरकारले डोमेस्टिक हेल्परको भिसा दिइरहेको बेला हङकङमै जन्मेको आईडी नभएका नेपालीहरुले डोमेस्टिक हेल्परको रुपमा भिसा पाउने गरेका छैनन् ।

अध्यक्ष रानाले डोमेस्टिक भिसाका लागि महासंघले हङकङ सरकारसँग समन्वय गर्न सक्ने र त्यसका लागि नेपाल सरकारले हङकङ सरकारसँग ठोस प्रस्ताव राखिदिन महावाणिज्यदूत रानासँगलाई आग्रह गरेको बताए ।

‘हङकङ सरकार र यहाँका चिनियाँ नागरिकहरु नेपाली समुदायप्रति सकारात्मक देखिएका छन् । विश्वास गर्छन् । तर डोमेस्टिक हेल्परको बारेमा औपचारिक रुपमा दुई मुलुकबीच समन्वय र वार्ता सम्झौता हुन सकेको छैन,’ उनले भने ।

वैदेशिक रोजगारीका लागि हङकङ सुरक्षित मुलुक भएकाले नेपालीहरुको छाता संगठन महासंघले डोमेस्टिक हेल्परमा आउन चाहने नेपाली नागरिकका लागि पनि खुला गर्नुपर्छ भनेर वकालत गर्दै आएको बताए ।

महासंघको प्रस्तावपछि महावाणिज्यदूत रानाले हङकङ सरकारले नेपाली समुदायको हितका लागि महासंघलाई विश्वास गरेर विभिन्न कार्यक्रम दिएको बुझ्दा डोमेस्टिक हेल्परको भिसाका लागि महासंघले राखेको प्रस्ताव खेर नजाने सम्भावना रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment