Comments Add Comment

एमाले सांसदहरुले भने : कार्यदलका नेताहरुलाई साथ दिन तयार छौं

१० साउन, काठमाडौं । नेकपा एमालेका सांसदहरुले दश बुँदे सहमति जुटाउने कार्यदलका नेताहरुलाई साथ दिन तयार रहेको बताएका छन् । सिंहदरबारमा एमालेका केपी शर्मा ओली र माधवकुमार नेपाल दुवै पक्ष्ँकासांसदहरूले कार्यदलका सदस्यहरुसँग एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन आग्रह गरेका थिए ।

‘दश बुँदे सहमति गर्नुभएको छ । यसका लागि धन्यवाद । तर, पूर्ण धन्यवाद पाउन बाँकी छ’, सांसद गणेश पहाडीले भने । एकता प्रक्रिया निष्कर्षमा नपु¥याइ पूरा धन्यवाद नपाइने उनले बताए ।

दुवै तर्फका सांसदहरुले पार्टी एकताका लागि दबाव दिन आन्तरिक एकता सुदृढीकरण अभियान शुरु गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट कृष्णप्रसाद दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट यज्ञराज सुनुवारले यो अभियानको अगुवाइ गरेका छन् ।

एकताका लागि दबाव दिन शुरु यो अभियानले आइतबार सिंहदरबारमा कार्यदलका सदस्यहरुसँग छलफल गरेका छन् । छलफलका क्रममा एकताबाहेक अर्को कुनै विकल्प नरहेको सांसदहरुले बताए ।

जवाफमा ओली तर्फबाट कार्यदलका संयोजक रहेका सुवास नेम्वाङले एकतामा शंका नगर्न आग्रह गरे । ‘हामी बीच मतभिन्तता थियो । तर न्यारो डाउन भएको छ । हामीले यहाँसम्म ल्याएका छौं । फुट्ने नै हो भने एकठाउँ बस्ने नै थिएनौं नि’, नेम्वाङले भने ।

नेता नेपालका तर्फबाट कार्यदल संयोजक रहेका भीम रावलले एकताको एउटा चरणको काम पूरा भए पनि मूल काम बाँकी रहेको बताए । ‘सहमति जुटेको छ । अब नेताहरुलाई मिलाउन बाँकी छ’, रावलले भने । यो कार्य जटिल रहेपनि सफल हुने उनको भनाइ थियो ।

सांसदहरुसँग कार्यदल सदस्य घनश्याम भुसालले एकतालाई निष्कर्षमा पुर्याउन सबैको योगदान जरुरी रहेको बताएका थिए । सांसदहरुले नै एकता अभियान थाल्नुको अर्थ अझ बढी हुने भुसालले बताए । पार्टी सचिव गोकर्ण विष्टले पनि एकता बाहेक अरु विकल्प नरहेको बताए । ‘एकता, एकता र फेरि पनि एकता । यसबाहेक हामीसँग अर्को बाटो छैन’, विष्टले भने ।

आइतबारको छलफलमा नेम्वाङ र रावलले सांसदहरुबीच आफ्ना धारणा राखेका थिए । ‘कार्यदलका सदस्यहरुले ठूलै मेहनत गरेर एकताको आधार तयार पार्नुभएको छ । यसलाई निष्कर्षमा लैजान सांसदहरु तयार छौं भन्नेमा लगभग सवै सांसदहरुको कुरा रह्यो’, सांसद सुनुवारले भने ।

कार्यकर्ताको चाहना विभाजन नभएको र यसले कम्युनिष्ट आन्दोलनलाई झनै कमजोर बनाउने सांसदहरुले बताएका थिए । सांसदहरुले एकताको पक्षमा बहुमत सांसद संख्या पुग्ने पनि जानकारी दिए । ‘अहिले हामी ४० जना जति सांसदहरु जुटेका छौं । अझै यो संख्या बढेर जान्छ । विभाजनको विपक्षमा कोही सांसद उभिनेवाला छैन’, एक सांसदले भने ।

यो अभियानका तर्फबाट वक्तव्य जारी गर्दै कार्यदलका सदस्य र पार्टी पंक्तिसँग एकताको पहल जारी राख्न आग्रह समेत गरिएको छ ।

डा. दीपकप्रकाश भट्ट र डा. सूर्य पाठकले तयार पारेको वक्तव्य मार्फत् यो अभियानमा सामेल सांसदहरुले पार्टी पंक्तिलाई एकताको वातावरण तयार पार्न आग्रह गरिएको छ ।

दश बुँदे सहमति कार्यान्वयनका लागि पहल लिन कार्यदलका सदस्यहरुलाई आग्रह गरिएको वक्तत्वयमा भनिएको छ, ‘पार्टीको आन्तरिक विवाद समाधान भई पार्टी एकतावद्ध हुने कुराप्रति संयमता र धैर्यता अपनाइ पार्टीको आन्तरिक एकता सुदृढिकरणको लागि सकारात्मक योगदान गर्न सम्पूर्ण पार्टी पंक्तिलाई हार्दिक अपील गर्दर्छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment