Comments Add Comment

दोस्रो तह वार्तामा, नेतृत्व मूठभेडको तयारीमा

१० साउन, काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट युवाहरूले युथ फोर्स गठन गरेका छन् । महासचिव ईश्वर पोखरेलले शनिबार युथ फोर्सलाई शपथग्रहण गराए भने उपत्यका कमाण्ड घोषणा गरे ।

कोरोना संक्रमण फेरि बढ्दै गएका बेला युथ फोर्सले राजधानी उपत्यकामा शक्ति प्रदर्शन नै गर्‍यो । शक्ति प्रदर्शनपछि आयोजित शपथ समारोहलाई प्रमुख वक्ताका रुपमा पोखरेलले सम्बोधन गर्दै पार्टी र नेताको रक्षार्थ युथ फोर्स बनेको बताए ।

एमाले सरकार हुँदा कोरोना रोकथामका निम्ति बनेको उच्चस्तरीय समितिका संयोजक रहेका पोखरेलले युवाहरुलाई उत्साहित बनाउने प्रयास गरेका थिए । ‘एमालेको रक्षा गर्ने खम्बाका रुपमा युथ फोर्स रहनुपर्छ । कहींकतै असुरक्षित र त्रास फैलाइएको वा नेता कार्यकर्तामाथि हमला गरिन्छ भने त्यसको प्रतिवाद युथ फोर्सले गर्नुपर्छ’ उनको निर्देशन थियो ।

युवा संघका इन्चार्ज रहेका महेश बस्नेतले त नेतृत्वमाथि खनिने बौद्धिकहरुलाई समेत नछोड्ने चेतावनी दिए । युथ फोर्सले साइबर सेनासँग मिलेर भौतिक कारबाहीमा उत्रिने उनको भनाइ थियो । बस्नेतकै अगुवाइ र पहलकदमीमा २९ असारमा ब्यूँताइएको युथ फोर्सको संयोजक क्षितिज थेबे छन् । ‘अपमान र अन्यायमा परेका जनताको रक्षा गर्न र पार्टी नेतृत्वप्रति भइरहेको आक्रमण विरुद्ध सशक्त प्रतिकार गर्न क्रियाशील हुन्छौं’, थेबे भन्छन् । कतिपय मिडियाले नेतृत्व विरुद्ध तथानाम लेख्ने काम भइरहेकाले सामाजिक सञ्जालमार्फत खण्डन गर्न पनि युथ फोर्स परिचालित हुने उनी बताउँछन् ।

 

‘एमालेको रक्षा गर्ने खम्बाका रुपमा युथ फोर्स रहनुपर्छ । कहींकतै असुरक्षित र त्रास फैलाइएको वा नेता कार्यकर्तामाथि हमला गरिन्छ भने त्यसको प्रतिवाद युथ फोर्सले गर्नुपर्छ’, महासचिव ईश्वर पोखरेलको निर्देशन थियो ।

युथ फोर्स २०६५ को एमाले आठौं राष्ट्रिय महाधिवेशनपछि विघटन भएको थियो । त्यसबेला युथ फोर्सका अध्यक्ष रहेका महेश बस्नेत लहानमा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनबाट युवा संघको निर्वाचित अध्यक्ष भए । ‘सैन्य प्रकृतिको दस्ता पार्टीलाई आवश्यक छैन । यस्तो संरचनाले राजनीतिमा अपराधीकरण भयो भन्ने निष्कर्षका साथ युथ फोर्स लगायत संरचना पार्टी महाधिवेशनबाटै खारेज भयो’, युवा संघका पूर्वमहासचिव निरज आचार्य भन्छन् ।

बुटवलमा सम्पन्न एमालेको आठौं महाधिवेशनपछि युवाहरुको युथ फोर्स, पार्टीको पिपुल्स भोलिन्टियर्स (पीभी) र अखिलको अखिल फोर्स जस्ता संरचना निष्क्रिय भएको थियो । त्यसअघि युथ फोर्स, पीभी र अखिल फोर्स स्वयंसेवी दस्ताका रुपमा परिचालित थिए । आठौं महाधिवेशनले भने यी संरचनाहरु खारेज गरेर अलग्गै स्वयंसेवक परिचालनको व्यवस्था गर्ने नीति लियो । तर त्यो नीति, नीतिमै सीमित रह्यो । नवौं महाधिवेशन सम्पन्न गर्न पार्टीले अलग्गै स्वयंसेवक परिचालन गर्नुपरेको थियो, रामनाथ ढकालको संयोजकत्वमा ।

तर अध्यक्ष ओली प्रधानमन्त्रीबाट पदमुक्त भएकै दिन, २९ असारमा युथ फोर्स फेरि ब्यूँताइएको छ । २०६६ मा विघटन भएको युथ फोर्स ब्यूँतिएपछि पहिलो काम भने अध्यक्ष ओलीलाई बालुवाटारबाट बालकोटसम्म स्कर्टिङ गर्‍यो । स्कर्टिङमा उत्रिएको यो फोर्सले एमालेकै अर्को समूहको नेतृत्व गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपाल विरुद्ध नाराबाजी गरे । उनीहरुले माधव नेपाललाई गद्दार समेत भने ।

त्यसपछि युथ फोर्सले कोरोना महामारीको संकटमा परेकाहरुलाई सहयोग नभएर माधव नेपाल विरुद्ध नाराबाजी, पुत्ला जलाउने, बाँदर जुलुस निकाल्ने जस्ता प्रदर्शन गरिरहेको छ । ‘जनताको दुःखसुखमा स्वयंसेवक बन्नलाई नै हो, विस्तारै हामी त्यसतर्फ परिचालित हुन्छौं’, थेबे भन्छन् ।

काउण्टरमा अखिल फोर्स र पीभी

ओली समूहका युवाले युथ फोर्स ब्यूँताएको दुई दिनभित्रै ३१ असारमा अखिल फोर्स घोषणा भयो । माधव नेपाल निकट अखिलले तपेन्द्रजंग शाहीको संयोजकत्वमा अखिल फोर्सको घोषणा गरेको छ । ‘विश्वविद्यालयमा भइरहेका बेथिति र विद्यार्थीलाई आइपर्ने समस्या समाधान गर्न अखिल फोर्स बनाइएको हो । यसलाई अन्यथा सोच्नु जरुरी छैन’, शाही भन्छन् । स्वयंसेवी संरचनाका रुपमा विद्यार्थी हकहितकै निम्ति क्रियाशील बन्ने शाही बताउँछन् ।

तर अखिल फोर्सको औचित्यबारे शाहीले भनेको भन्दा ठीक विपरीत अभिव्यक्ति अखिलका अध्यक्ष सुदेश पराजुलीले दिएका थिए । अखिल फोर्स घोषणा गर्दै उनले ‘माधव नेपालतिर हेरे आँखा फोर्ने, उठेका औंला र खुट्टा भाँच्ने’ चेतावनी दिएका थिए ।

अखिल फोर्स घोषणा भएको साता दिन नबित्दै, पिपुल्स भोलिन्टियर्स (पीभी) ब्यूँताइएको छ । ६ असारमा पूर्वप्रधानमन्त्री माधव नेपाल प्रमुख अतिथि भएर पीभीको घोषणा गरे । नेता नेपालले शिव श्रेष्ठको संयोजकत्वमा एक हजार एक सदस्यीय पीभी घोषणा गरेका छन् । ‘पार्टीलाई गतिशील बनाउने र जनताका समस्यालाई साथ दिन हामीले स्वयंसेवी दस्ता बनाएका हौं’, पीभीका इन्चार्ज सन्जीप राई भन्छन् ।

एमालेको अन्तरविरोध मूठभेडतिर जाने खतरा बढेको छ । यसअघि एकअर्का विरुद्ध निषेधको अभिव्यक्ति, निर्णय र गतिविधि गरेका ओली–नेपालकै संरचनामा लडाकू दस्ता बन्नुले मूठभेडकै निम्तो दिएको अनुमान गर्न सकिन्छ । एमालेकै नेताहरू स्वयंसेवी संरचनाका नाममा बनाइएका यी लडाकू दस्ताको निर्णयप्रति असन्तुष्ट छन् ।

अर्थात् एमालेको अन्तरविरोध मूठभेडतिर जाने खतरा बढेको छ । यसअघि एकअर्का विरुद्ध निषेधको अभिव्यक्ति, निर्णय र गतिविधि गरेका ओली–नेपालकै संरचनामा लडाकू दस्ता बन्नुले मूठभेडकै निम्तो दिएको अनुमान गर्न सकिन्छ । एमालेकै नेताहरू स्वयंसेवी संरचनाका नाममा बनाइएका यी लडाकू दस्ताको निर्णयप्रति असन्तुष्ट छन् । ‘हिजो पञ्चायत र राजा विरुद्ध लड्दा नचाहिएको फोर्स अहिले किन चाहियो’, एमाले सचिव योगेश भट्टराई भन्छन् । अखिलकै पूर्वअध्यक्ष समेत रहेका भट्टराई, यस्ता दस्ता निर्माणले पार्टी ठीक ठाउँमा नलैजाने बताउँछन् ।

तर माधव नेपाल विनाको एमाले बनाउन चाहने ओली, ओली विनाको एमाले चाहने नेपाल भने दस्तालाई उत्साहित गरिरहेका छन् । त्यसलाई ईश्वर पोखरेल जत्तिका शीर्ष नेताहरुले समेत साथ दिएका छन् । ‘फरक समूहलाई तर्साउने, धम्काउने र आक्रमण गर्ने उद्देश्यले बनाइएका यी संरचनाले पार्टी सिध्याउने भनेको एमाले नै हो । त्यसपछि कम्युनिष्ट आन्दोलनलाई बद्नाम गराउँछ’, एक नेता भन्छन् ।

तत्कालीन नेकपा माओवादीको युवा दस्ता योङ कम्युनिष्ट लिग (वाईसीएल) विरुद्ध लड्ने उद्देश्यले बनाइएको युथ फोर्सको अनुभव समेत राम्रो नभएको ती नेता बताउँछन् । ‘राजनीतिलाई अपराधीकरण र बद्नाम गराउने खतरा देखिएरै एमालेले युथ फोर्स विघटनको निर्णय लिइएको थियो’, उनी भन्छन् । ओली र नेपालले आफू निकट युवाहरु परिचालित गर्ने गरी बनाएको दस्ताप्रति एमाले एकताका निम्ति क्रियाशील दुवै समूहका नेताहरु समेत सन्तुष्ट छैनन् ।

दोस्रो तहको दुःख

अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल एकअर्कालाई सिध्याउने गरी लगातार अगाडि बढे पनि दोस्रो र तेस्रो तहका नेताहरु भने एकताको प्रयासमा निरन्तर लागिरहेकै छन् । आइतबार मात्रै दुवैतर्फका सांसदहरुले कार्यदलमा रहेका नेताहरुसँग छलफल चलाए । एकता निम्ति दबाब दिन ओली र नेपालतर्फका युवा सांसदहरु केही समय यता सक्रिय भएका छन् ।

युवा सांसदहरु कृष्णप्रसाद दाहाल, डा. सूर्य पाठक, लालप्रसाद साँवा (एलपी), शान्ति पाख्रिन, यज्ञ बोगटी, यज्ञराज सुनुवार, झपट रावल, जयकुमार राई, डा. दीपकप्रकाश भट्ट, नारायण खतिवडा, पवित्रा खरेल, राजबहादुर बुढा लगायतले एकताको दबाब अभियान शुरु गरेका छन् ।

दोस्रो तहका नेताहरु भीम रावल, सुवास नेम्वाङ, विष्णु पौडेल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, गोकर्ण विष्ट, योगेश भट्टराई लगायत नेताहरु एमाले मिलाउन लगातार औपचारिक तथा अनौपचारिक सम्वादमा छन् । २७ असारमा दशबुँदे सहमति समेत जुटेको थियो । तर ओली र नेपालकै कारण दशबुँदे सहमतिले पनि एमाले विवाद हल हुनसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सइन्द्र राई

राजनीतिक ब्युरोमा कार्यरत वरिष्ठ सम्बाददाता राई मुलतः बामपन्थी राजनीतिक मामिलामा कलम चलाउँदै आएका छन् ।

ट्रेन्डिङ

Advertisment