Comments Add Comment

ओलम्पिक खेल्न गएका जुडो र सुटिङका खेलाडी नेपाल फर्कँदै

११ साउन, काठमाडौं । ओलम्पिक खेल्न जापान पुगेका जुडो र सुटिङका दुई खेलाडीसहित ७ जनाको नेपाली टोली स्वदेश फर्कँदैछ ।

गत शुक्रबार देखि जापानमा सुरु भएको ३२ औं संस्करणको गृष्मकालीन ओलम्पिकमा नेपालबाट ५ खेलाडी सहभागी भएका थिए । जसमध्ये जुडो र सुटिङको प्रतिस्पर्धा सकिएको छ ।

नेपालबाट जुडोमा सोनिया भट्ट र सुटिङमा कल्पना परियारले प्रतिस्पर्धा गरेका थिए । जुडो र सुटिङको खेलाडी प्रशिक्षक र म्यानेजर गरी ७ जना नेपाल फर्कन लागेका हुन् । जसमा दुई खेलाडीसंगै जुडो प्रशिक्षक सूर्यनारायण श्रेष्ठ सुटिङ प्रशिक्षक असिम यादव र जुडो म्यानेजर तुलसा थापा र सुनीलकुमार श्रेष्ठ तथा सुटिङ खेलको म्यानेजर प्रकाश शमशेर राणा नेपाल फर्कदैछन् ।

नेपाली टोली जापानी समय अनुसार सोमबार राति १० बजेको फ्लाइटमा नेपालका लागि प्रस्थान गर्ने नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

सांसद समेत रहेकी बामदेव गौतम पत्नी तुलसा थापा नेपाल कबड्डी संघको अध्यक्ष र नेपाल ओलम्पिक कमिटीको सदस्य हुन् । तर उनी अर्कै खेलको म्यानेजर बनेर टोकियो पुगेकी हुन् ।

यस्तै सुनीलकुमार श्रेष्ठ फेन्सिङ र प्रकाश शमशेर राणा तेक्वान्दो खेलको अध्यक्ष हुन् । तुलसा थापा जुडोको म्यानेजर बनेर टोकियो गएको खबरले निकै चर्चा पाएको थियो ।

टोकियो ओलम्पिकमा नेपालबाट अहिलेसम्म प्रतिस्पर्धा गरेका दुवै खेलाडी पहिलो चरणबाटै बाहिरिए । जसमध्ये सुटिङकी कल्पना परियारले राष्ट्रिय कीर्तिमानमा सुधार गरेपनि अघिल्लो चरणमा पुग्न सकिनन् ।

सुटिङको महिला १० मिटर एअर राइफलमा उनले आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेपनि ५० जनामा ४६ औं भइन् । यस्तै जुडो खेलाडी सोनियाले महिला ४८ केजीमा प्रतिस्पर्धा गरेकी थिइन् । उनी रसियन खेलाडी इरिनासंग पहलो चरणमै १ मिनेट १६ सेकेण्डमै पराजित भइन् ।

टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडीले सहभागिता जनाएपनि पदाधिकारीको भने जम्बो टोली रहेको थियो । सुरुमा ओलम्पिक कमिटीले सार्वजनिक गरेको सूचीमा २६ जनाको भएपनि केही पदाधिकारी भने जापान गएनन् ।

५ मध्ये ३ खेलाडीले प्रतिस्पर्धा गर्न बाँकी छ । पौडी खेलाडी एलेक्स शाहले मंगलबार र गौरिका सिंहले बुधबार प्रतिस्पर्धा गर्नेछन् । यस्तै एथ्लेटिक्सकी सरस्वती चौधरीले शुक्रबार महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment