Comments Add Comment

कार्यदल सदस्यहरुले भने– माधव नेपाल विनाको एकता हुन्न

१२ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट जनसंगठनका नेताहरुले अपमान सहेर पार्टी एकता नहुने बताएका छन् । पार्टीमा एकताका लागि दशबुँदे सहमति गरेको कार्यदलमा रहेका नेपाल पक्षका नेताहरुसँग भएको छलफलमा जनसंगठनका नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति अपमानपूर्ण भएको बताएका छन् ।

नेपाल पक्षका कार्यदलका सदस्य र जनसंगठनका नेताहरुबीच बानेश्वरस्थित एक होटलमा छलफल भएको थियो । छलफलमा जनसंगठनका नेताहरुले माधव नेपाल विनाको पार्टी एकतामा साथ दिन नसक्ने बताएका थिए । ‘केपी ओलीले अपमानपूर्वक ढंगले एकता गर्न खोजिको देखिन्छ । यस्तो एकता सम्भव हुन्न भन्यौं’, युवा संघका अध्यक्ष नरेश शाहीले भने ।

उनका अनुसार छलफलमा अधिकांश जनसंगठनका नेताहरुले अध्यक्ष ओलीले पार्टी एकता नचाहेको, तर अप्ठ्यारोमा परेकाले मात्र एकताको कार्ड फालेको बताएका थिए । ‘बालकोटको बार्दलीबाट लगाएको आरोप, आफू पक्षका नेताहरुको बैठकबाट दिएको आममाफी जस्ता अभिव्यक्ति कायम रहेसम्म एकता हुँदैन भनेका छौं’, उनले भने ।

केही सहभागीले भने कार्यदलका नेताहरुमाथि नै आशंका गरेका थिए । ‘कार्यदलमा रहेका नेताहरु कस्तो हुनुभयो भने युद्धमा गएको योद्धाले बन्दूक नै बुझाएर आउनुभयो’, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भने । माधव नेपाल विनाको एमाले भनेर ओली तर्फका कार्यदल सदस्यहरुले सार्वजनिक रुपमा भनिरहेकाले आशंका उत्पन्न भएको पराजुलीको भनाइ थियो । ‘जब–जब केपी ओली संकटमा पर्छन्, त्यसबेला एकताको कार्ड फाल्ने गरेका छन्, त्यसैले यसबारे नेताहरु सचेत हुनुपर्छ’, उनी भन्छन् ।

दशबुँदे सहमतिपछि युथ फोर्स ब्यूँताएर नेता माधव नेपालविरुद्ध गतिविधि गर्नुले पनि अध्यक्ष ओली एकताप्रति इमान्दार छैनन् भन्ने पुष्टि हुने जनसंगठनका नेताहरुले बताएका थिए ।

तर कार्यदलमा रहेका नेताहरुले भने एकताको पक्षमा उभिन र उत्तेजक गतिविधि नगर्न आग्रह गरेका थिए । ‘पार्टी एकता भएपछि युथ फोर्स, अखिल फोर्स भन्ने जस्ता दस्ता रहँदैनन्, यसमा ढुक्क हुनुहोस्’, कार्यदलमा नेपाल पक्षको संयोजक भीम रावलले भनेका थिए ।

ओली निकट युवाहरुले युथ फोर्स बनाएपछि नेपालतर्फ अखिल फोर्स र पिपुल्स भोलियन्टियर्स (पीभी) ब्यूँताइएको छ । नेपाल निकट अखिल र युवा संघका नेताहरुले ओली पक्षले युथ फोर्स कायम रहेसम्म अखिल फोर्स र पीभीको गतिविधि नरोक्ने अडान लिएका छन् ।

पार्टी उपाध्यक्ष समेत रहेका रावलले भने एकता प्रक्रियालाई बाधा पर्ने गरी गतिविधि नगर्न आग्रह गरेका छन् । ‘एकताको पक्षमा इमान्दार प्रयत्न गर्नुपर्छ । अहिले दुवैतर्फ आक्रोश छ, यो शान्त हुन पनि समय लाग्छ’, रावलको आग्रह थियो ।

कार्यदल सदस्य एवं पार्टी उपमहाहसचिव घनश्याम भुसालले नेपालको भूराजनीतिक अवस्था र समाजको विकास अवस्थाका कारण पनि एमालेको एकता जरुरी रहेको बताएका छन् । ‘संविधान र संसद जोगाउन उभिएका हामीहरु अब एमाले जोगाउन लागिपर्नुपर्छ’, भूसालको आग्रह थियो ।

एमाले विभाजन गर्न विदेशी शक्ति, नेपाली कांग्रेस र माओवादी केन्द्र समेत लागिपरेको उनको भनाइ थियो । ‘घनश्याम भूसालले अलिक दार्शनिक तरिकाले सम्झाउन खोज्नुभएको थियो । तर सार भने एकताको पक्षमा उभिनुपर्छ भन्ने नै थियो’, अर्का सहभागी बताए ।

कार्यदलका अर्का सदस्य सुरेन्द्र पाण्डेले पनि कम्युनिष्ट आन्दोलन जोगाउन एमाले एकताबद्ध हुनुपर्ने बताएका थिए । दशबुँदे सहमति कार्यान्वयन भएपछि फेरि केन्द्रीय कमिटीको दशौं बैठक राखेर अगाडि बढ्ने उनले बताए । ‘चौधौं पुगेको थियो । अस्ति दशौं राख्नुभयो, त्यसको पनि अर्थ छैन । अब हामीसहित फेरि दशौं बैठक बस्छ’, पाण्डेले भनेका छन् ।

कार्यदलका सदस्य एवं पार्टी सचिव गोकर्ण बिष्टले भने पार्टी विभाजन उचित नहुने र त्यसतर्फ लाग्न नहुने बताएका छन् । ‘२०५४ मा पार्टी विभाजन हुँदा क्षति मात्रै भयो, त्यसतर्फ सोच्नुपर्छ । एमाले एकताबद्ध बनाउनुतिर लाग्नु अहिलेको नेतृत्वको दायित्व हो’, उनको भनाइ छ ।

कार्यदलका अर्का सदस्य रघुजी पन्तले पनि सम्मानजनक एकता हुनेमा जनवर्गीय संगठनका नेताहरुलाई आश्वस्त पार्न खोजेका छन् । त्यसको प्रयत्न भइरहेको जानकारी पन्तले दिएका थिए । ‘माधव नेपाल विनाको एमाले’ भन्ने ओली पक्षका नेताहरुको भनाइको अर्थ नहुने नेताहरुले बताएका छन् । ‘माधव नेपाल विना त हामी पनि जाँदैनौं नि ! कसले कहाँ बोलेको छ भन्नेतिर नलाग्नुहोस् भन्ने कुरा सबैजसो नेताहरुले राख्नुभयो’, एक सहभागी भन्छन् ।

कार्यदल संयोजक एवं उपाध्यक्ष रावलले त माधव नेपाल एक्लै एकता प्रक्रियामा छुटेपनि एमाले विभाजन हुने बताएका छन् । ‘माधव नेपाल एक्लै रहनुभयो भने पनि त्यहाँ पार्टी बन्छ । हामी स्थायी कमिटीका नेताहरु मात्रै मिलेर हुँदैन’, रावलले भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment