Comments Add Comment

नेतृत्वबारे माधव नेपालका तीन प्रस्ताव, ओलीले छाडे नयाँ पुस्तालाई मान्न तयार

१३ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि विश्वासको वातावरण अझै बनिनसकेको बताएका छन् । आफू पार्टी एकताको पक्षमा रहेको तर, अध्यक्ष केपी शर्मा ओलीले संकटमा परेपछि एकताको हतारो गर्ने, तर फेरि अपमानयुक्त अभिव्यक्ति दिन नरोक्ने गरेको नेता नेपालले बताए ।

आफू निकट नेताहरुसँग नेता नेपालले अध्यक्ष ओलीको ‘आममाफी’ दिने अभिव्यक्ति जिब्रो चिप्लिएर मात्रै नआएको बताए । ‘आममाफी जिब्रो चिप्लिएर निस्किएको होइन, त्यहाँ अहंकार झल्कन्छ,’ नेता नेपालको निष्कर्ष छ ।

आफू एकताको विपक्षमा नरहेको, तर पार्टीमा सबैले सम्मानको अनुभूति गर्ने वातावरण बन्नुपर्ने उनले बताएका छन् । ‘अहंकारविरुद्ध अर्धविद्रोह गरेका हौं । पूर्ण विद्रोह भएको छैन,’ माधव नेपाल भन्छन्, ‘पूर्ण विद्रोह भनेको पार्टी विभाजन हो । एकताको पक्षमा उभिएकाहरु विभाजनमा जानु बाध्यता हो ।’

आफू पार्टी एकताको निम्ति उभिएको उनले बताएका छन् । ‘२८ फागुनमा केपी ओलीले हामी सबैलाई सामूहिक रुपमा निष्कासन गर्ने निर्णय गरेको हो । तर हामीले अर्धविद्रोह मात्रै गर्यौं, अलग पार्टी बनाएनौं,’ नेपालको भनाइ छ ।

यदि दुई अध्यक्षमा सहमति भए वरिष्ठ नेता झलनाथ खनाल अर्को अध्यक्ष हुने उनको प्रस्ताव छ । खनाल स्वास्थ्य समस्याका कारण अहिले दिल्लीमा उपचाररत छन् । ‘दुई अध्यक्ष हुँदा झलनाथ खनाल हुने उहाँ (माधव नेपाल) को कुरा छ,’ एक नेता भन्छन् ।

पार्टीभित्र सबैले सम्मानको अनुभूति गरेर मात्रै एकता हुने नेता नेपालको धारणा रहेको एक नेताले बताए । उनका अनुसार नेता नेपालले एमालेको दोस्रो अध्यक्ष नबन्ने अडान लिएका छन् । ‘तेस्रो अध्यक्ष त पहिले पनि प्रस्ताव गरिएको हो । अहिले दोस्रोमा के भिन्नता छ, यो मान्नै कुरै हुन्न,’ नेता नेपालको भनाइ छ ।

सार्वजनिक अभिव्यक्तिबाट सुनेको, तर अध्यक्षको प्रस्ताव नआएको र आफूले पनि नमागेको बताउने नेता नेपालले नेतृत्वबारे तीन विकल्प प्रस्ताव गरेका छन् । लगातार आफ्नो समूहका नेताहरुसँग छलफल गरिरहेका नेता नेपालले नेतृत्वबारे छलफल गर्न आफू तयार रहेको जनाउ दिएका छन् ।

नेतृत्वबारे के–के छन् विकल्प ?

उनी निकट स्रोतका अनुसार नेता नेपालले पार्टी एकता कायम गर्न तीन विकल्प प्रस्तुत गरेका छन् । दोस्रो नभएर समान हैसियतको अध्यक्ष हुनुपर्ने नेता नेपालको अडान छ ।

साथै ओलीसँगै आफू अध्यक्ष नबन्ने उनले बताएका छन् । यदि दुई अध्यक्षमा सहमति भए वरिष्ठ नेता झलनाथ खनाल अर्को अध्यक्ष हुने उनको प्रस्ताव छ । खनाल स्वास्थ्य समस्याका कारण अहिले दिल्लीमा उपचाररत छन् । ‘दुई अध्यक्ष हुँदा झलनाथ खनाल हुने उहाँ (माधव नेपाल) को कुरा छ,’ एक नेता भन्छन् ।

उनको दोस्रो विकल्प अध्यक्ष मण्डल बनाउने छ । त्यस्तो अध्यक्ष मण्डल बनेमा ओली, खनाल र वामदेव गौतम रहने नेता नेपालले आफू निकट स्थायी कमिटी सदस्यहरुसँग बताएका छन् ।

तेस्रो विकल्प ओली र आफू दुवैले पदीय जिम्मेवारीबाट बिदा लिने । अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले बिदा लिएपछि नयाँ नेतृत्वले पार्टी चलाउने उनको प्रस्ताव छ ।

दशबुँदे सहमति जुटाएको कार्यदलमा रहेका नेपाल पक्षका नेताहरुले भने ओली र नेता नेपाल नरहेर एकता प्रक्रियाले पूर्णता नपाउने तर्क गरिरहेका छन् । ‘उहाँहरु रहेर एमालेको एकता प्रक्रिया सार्थक बन्छ । व्यक्तिगत प्रस्ताव र आक्रोशले होइन, सहमतिमै कुरा मिलाउँछौं,’ कार्यदलका एक सदस्य भन्छन् ।

गएको २७ असारमा दुवै पक्षका दोस्रो तहका नेताहरु सम्मिलित दश सदस्यीय कार्यदलले दशबुँदे सहमति गरे पनि एमाले विवाद हल हुन सकेको छैन । अध्यक्ष ओली र नेता नेपालले आ–आफ्नो समूहको गतिविधि कायमै राखेका छन् ।

दुई पटक प्रतिनिधिसभा विघटन र पार्टी विभाजन गराउन तयार भएका ओली सुध्रने सम्भावना नरहेको र सहजै पार्टीमा एकता हुने नदेखिएको नेता नेपालले बताउने गरेका छन् । ‘जादुटुना गरेर (पार्टी एकता) होला जस्तो लाग्दैन । हिजो वामदेव कमरेड बालुवा पेलेर तेल निकाल्छु भन्नुहुन्थ्यो,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment