Comments Add Comment

कर्णाली सरकारको एकवर्षे उपलब्धि : २१ किलोमिटर सडक कालोपत्रे, ७६७ परिवारलाई घर

१४ साउन, सुर्खेत । कर्णाली प्रदेश सरकारले आफनो एकवर्षे उपलब्धि सार्वजनिक गरेको छ । भौतिक पूर्वाधार निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको प्रदेश सरकारले एक वर्षको अवधिमा प्रदेशभर जम्मा २१ किलोमिटर सडक कालोपत्रे गरिनु आफ्नो उपलब्धि मानेको छ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक उपलब्धिहरूको समीक्षा गर्दै संक्षिप्त विवरण समेत सार्वजनिक गरेको छ । एक वर्षको अवधिमा नयाँ सडक निर्माण, कालोपत्रे र ट्रयाक खोल्ने काममा प्रगति भएको सरकारी निष्कर्ष छ । यो अवधिमा प्रदेशभर ७५८ किलोमिटर नयाँ सडक निर्माण गरिएको बताइएको छ ।

यसअघिका दुई आर्थिक वर्षमा जम्मा ८ किलोमिटर मात्रै सडक कालोपत्रे गरेको प्रदेश सरकारले गत आर्थिक वर्षमा २१ किलोमिटर सडक कालोपत्रे हुनुलाई प्रदेश सरकारले ठूलो उपलब्धिका रुपमा लिएको छ । यद्यपि प्रदेश सरकारले सुर्खेतको वीरेन्द्रनगरमा १९ र सल्यानमा दुई किलोमिटर बाहेक अन्य जिल्लामा सडक कालोपत्रे गरेको छैन ।

प्रदेश सरकारले हालसम्म प्रदेशभर कुल ७५८.२ किलोमिटर नयाँ सडक निर्माण गरेको छ । गत आर्थिक वर्षमा मात्रै प्रदेशभर कुल ११३ किलोमिटर सडक ग्राभेल गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७६/७७ मा भने प्रदेशभर ४९ किलोमिटर मात्रै सडक ग्राभेल गरिएको थियो ।

दलित परिवारलाई ७६७ घर

गत आर्थिक वर्षमा प्रदेश सरकारले विपन्न दलित परिवारलाई ७६७ वटा निर्माण गरी हस्तान्तरण गरेको बताएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गत आर्थिक वर्षमा जनता आवास कार्यक्रम अन्तर्गत दलित समुदायका विपन्न परिवारलाई ७६७ घर निर्माण गरिएको हो ।

यसैगरी, कर्णाली सरकारले एक वर्षको अवधिमा ५ हजार ७१० घरधुरीमा खानेपानी सुविधा पुर्‍याएको बताएको छ । २ हजार १४५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याएको र नदी नियन्त्रण तटबन्धन निर्माणलगायतका उपलब्धिको सूची सार्वजनिक गरिएको छ ।

त्यस्तै, ऊर्जा तथा विद्युतीकरणबाट ३ हजार ५४० घरधुरीमा विद्युत सुविधा विस्तार गरेको, ११ वटा झोलुङ्गे पुल र ७ वटा सडक पुल निर्माण भएको प्रगति विवरणमा उल्लेख छ ।

यस्तै कर्णालीको दूध काठमाडौं निर्यात, ४० गाउँपालिकामा प्राङ्गारिक खेतीको नक्सांकन, फलफूल खेतीको क्षेत्रफल विस्तार, एक लाख खसीबोका निकासी, लक्ष्यभन्दा बढी राजस्व संकलन गरिएको प्रदेश सरकारको दाबी छ । प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि आईसीयू, भेन्टिलेटर, अक्सिजन प्लान्ट, एम्बुलेन्स, होल्डिङ सेन्टर एवं रणनैतिक अस्पताल निर्माणलगायत स्वास्थ्य पूर्वाधार विकास गरिएको समेत दाबी गरेको छ ।

विभिन्न जिल्लामा वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय भवन निर्माण लगायतका पूर्वाधार निर्माण, लघु औद्योगिक ग्राम स्थापना लगायतका कामलाई सरकारले प्रगतिको सूचीमा राखेको छ ।

चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको तयारी थाल्न मुख्यमन्त्रीको निर्देशन

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ को महामारीको प्रतिकूल अवस्थाका बाबजुद प्रदेश सरकारको खर्च प्रतिशत सन्तोषजनक रहेको बताएका छन् ।

बजेट कार्यान्वयनको प्रगति क्रमशः वृद्धि हुँदै गएको भन्दै सरकारका राजनीतिक तथा प्रशासनिक नेतृत्वलाई चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको लागि आवश्यक तयारी थाल्न समेत निर्देशन दिए ।

सडक पूर्वाधार बिना कर्णालीको समृद्धि सम्भव नभएको निष्कर्ष निकाल्दै प्रदेश सरकारले सडक पूर्वाधारमा विशेष जोड दिँदै आएको छ । तर कोरोना महामारी र कर्मचारी अभावका कारण अपेक्षाअनुसार काम हुन नसकेको बताइएको छ ।

प्रदेश सरकारले ३२ करोड राजस्व संकलनको लक्ष्य लिएकोमा ५० करोड संकलन गरेको, कोभिड–१९ महामारीको प्रतिकूल अवस्थामा समेत ३३.३३ प्रतिशत बजेट खर्च वृद्धि गरेको, स्थानीय तहमा वित्तीय हस्तान्तरणमार्फत कूल बजेटको १० प्रतिशत रकम हस्तान्तरण गरिएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
यज्ञ खत्री

ट्रेन्डिङ

Advertisment