Comments Add Comment

भौतिक संरचना बनाउँदा संघ र प्रदेशले समन्वय नगरेको वीरगञ्जका मेयरको गुनासो 

१५ साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले संघ र प्रदेश सरकारले संरचनाहरु बनाउँदा समन्वय नगर्ने गरेको गुनासो गरेका छन् । उनले आवश्यकताको आधारमा संरचनाहरु बनाउनुपर्ने बताउँदै त्यसका लागि महानगरसँग समन्वय हुनु पर्नेमा जोड दिए ।

‘जे पायो त्यही संरचना बनाएर हुँदैन, आवश्यकतालाई ध्यान दिएर बनाउनुपर्छ’ उनले भने ।
जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रको माथिल्लो तलामा निर्माण गरिएको ‘सुरक्षित आवास गृह’ उद्घाटन कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएका हुन् ।

प्रदेश २ सरकारले सञ्चालन गर्दैै आएको ‘पोखरी सौन्दर्यीकरण’ कार्यक्रमप्रति कटाक्ष गर्दै उनले पोखरीको सौन्दर्यीकरण गर्ने भन्दा व्यवस्थापन जरुरी रहेको बताए ।

‘जिल्ला ट्राफिक प्रहरी कार्यालय पछाडिको पोखरी पुरेर सुरक्षित आवास गृह बनाउने भनी सरसल्लाह भो, त्यसमा त प्रदेश सरकारको पोखरी सौन्दर्यीकरणको योजना परेको रहेछ,’ उनले भने, ‘नगर प्रमुखलाई थाहा नै हुँदैन, वीरगञ्जमा कार्यक्रम र योजना आइसकेको हुन्छ, कहिले कहीँ त तीन तहकै सरकारले एउटै कार्यक्रम समेत दिइदिन्छन् ।’

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले पर्साको पोखरियामा समेत महिला सेल स्थापना हुनु पर्नेमा जोड दिएका थिए ।

१२ लाखमा सुरक्षित आवास गृह

वीरगञ्जका व्यवसायी संजय पटवारीको स्मृतिमा लेडिज सर्कल नेपालसँगको सहकार्यमा वीरगञ्ज लेडिज सर्कल–३ ले ‘सुरक्षित आवास गृह’ निर्माण भएको हो ।

हिंसाबाट प्रभावित महिला तथा बालबालिकालाई अस्थायी रुपमा राख्नका लागि बनाइएको आवास गृहको लेडिज सर्कल नेपालकी अध्यक्ष रश्मी दासले उद्घाटन गरेकी हुन् ।

पर्सामा महिला विरुद्ध हुने हिंसाबाट प्रभावित महिला न्यायका लागि सदरमुकाम आएपछि बस्नका लागि सुरक्षित स्थानको अभाव छ । प्रहरी कार्यालयमा आएका प्रभावित महिलालाई विभिन्न गैरसरकारी संघ संस्थाले खोलेको आवास गृहमा पठाउनु पर्ने बाध्यता छ । जसका कारण हिंसामा परेका महिला तथा बालबालिकालाई न्यायको पहुँचमा पुग्न कठिनाइ हुने गरेको छ ।

त्यसैले जिल्ला प्रहरी कार्यालय पर्साको तत्कालीन प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले लेडिज सर्कललाई सुरक्षितआवास गृह बनाईदिन आग्रह गरेकी थिइन् । उनकै प्रयासमा हिंसामा परेका महिला बालबालिकाको सहयोगका लागि पर्सामा लैंगिक हिंसा निवारण सञ्जाल समेत गठन भएको छ ।

न्यायका लागि वीरगञ्ज आउने महिलाले सुरक्षित रुपमा बसेर कानुनी उपचार खोज्न सकुन् भन्ने उद्देश्यले ‘सुरक्षितआवास गृह’ बनाइएको अध्यक्ष दासले बताइन् ।

आवास गृह बनाउनकालागिहालसम्म६ लाख रुपैयाँ खर्च भईसकेको र बाँकी काम सम्पन्न गर्दा १२ लाख रुपैयाँसम्म खर्च हुने अनुमान लेडिज सर्कलले गरेको छ ।

जिल्लाप्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले आवास गृहले हिंसामा परेका महिला बालबालिकाको न्यायमा पहुँच बढाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment