Comments Add Comment

ओलम्पिक फुटबल : महिलातर्फको सेमिफाइनल समीकरण पूरा

१५ साउन, काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिक २०२० मा महिला फुटबलतर्फ सेमिफाइनलको समीकरण पूरा भएको छ । शुक्रबार भएको क्वाटरफाइनल खेलपछि स्वीडेन, क्यानडा, अष्ट्रेलिया र अमेरिका सेमिफाइनलमा पुगेका छन् ।

अब सेमिफाइनलमा स्वीडेनले अष्ट्रेलियासँग तथा क्यानडाले अमेरिकासँग खेल्नेछन् । समूह चरणमा स्वीडेन र अष्ट्रेलिया भिड्दा स्वीडेन ४–२ गोलले विजयी भएको थियो ।

शुक्रबार भएको क्वाटरफाइनलमा क्यानडाले ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो । मियागी स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समयको खेल पनि गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि भएको पेनाल्टी सुटआउटमा क्यानडाका लागि जेसी फ्लेमिङ एस्ले लरेन्स एड्रिएना लियोन र गिलेसले गोल गरे । क्रिस्टियन सिनक्लेयरको प्रहार भने गोल हुन सकेन ।

उता ब्राजिलका लागि मार्टा, डेबिन्हा र एरिकाले पेनाल्टीमा गोल गरे । एड्रेसा र राफाएलाको प्रहार भने गोलमा परिणत हुन सकेन ।

यस्तै पेनाल्टी सुटआउटसम्म पुगेको अर्को खेलमा अमेरिकाले नेदरल्याण्ड्सलाई ४–२ ले हराएको छ । निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्त समयको खेल २–२ को बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिइएको हो । निर्धारित ९० मिनेटभित्र नेदरल्याण्ड्सका लागि भिभिएने मिएडेमाले दुई गोल गरेकी थिइन् भने अमेरिकाका लागि सामान्था मेविस र लिन विलियम्सले एक–एक गोल गरे । थप गरिएको ३० मिनेटमा दुवैतर्फबाट गोल भएन ।

त्यसपछि पेनाल्टी सुटआउटमा अमेरिकाका लागि रोसमरी लाभेल्ले, एलेक्स मोर्गान, क्रिसटेन प्रेस र मेगन रापिओनेल गोल गरे ।

नेदरल्याण्ड्सका लागि डोमिनिक जानसेन र भान डेर ग्राटले मात्र गोल गरे । निर्धारित समयमा दुई गोल गरेकी मिएडेमा र अनिएक नोउवेनले गोल गर्न सकेनन् ।

अर्को क्वाटरफाइनलमा अष्ट्रेलियाले बेलायतलाई अतिरिक्त समयमा ४–३ ले हरायो । निर्धारित समयमा दुवै टिमबाट २–२ गोल भएपछि ३० मिनेटको समय थप गरिएको थियो । निर्धारित समयमा अष्ट्रेलियाका लागि एलामा केनेडी र साम केरले गोल गरेकी थिइन् भने बेलायतका लागि एलेन ह्वाइटले दुवै गोल गरेकी थिइन् । अतिरिक्त समयमा अष्ट्रेलियाका लागि म्यारी फ्लावर साम केरले गोल गरिन् । यस्तै बेलायतका लागि ह्वाइटले गोल थप्दै ह्याट्रिक पूरा गरे पनि जितका लागि पर्याप्त भएन।

यस्तै स्वीडेनले घरेलु टोली जापानलाई ३–१ ले हरायो । स्वीडेनका लागि लिली एरिक्सन, एम्मा ब्ल्याक्स्टेनिउस र कोसोभारे एस्लानीले गोल गरिन् । जापानका लागि मिना तानाकाले एक गोल फर्काइन् ।

स्वीडेन र क्यानडा २०१६ को रियो ओलम्पिकमा पनि सेमिफाइनल पुगेका थिए । त्यो बेला स्वर्ण जितेको जर्मी यस पटक छनोट नै भएन । सेमिफाइनल पुगेको अर्को टोली ब्राजिल भने यस पटक क्वाटरफाइनलबाटै बाहिरियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment