+
+
WC Series
कर्णाली याक्स 2025
149/7 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
155/5 (17.6)
Shares
बाबुको पत्र छोरालाई :

‘छोरा, मानवीय मूल्य जोगाऊ है !’ 

छोरा ! शिक्षालाई अहिले बिक्रीको सामान बनाइएको छ । विश्वभरि यसको व्यापार हुन्छ, मानव यन्त्र निर्माण गर्ने कारखाना बनाउने प्रयास भइरहेको छ । अबको युद्ध मानवीय मूल्य, अस्तित्व रक्षा र मानव यन्त्र निर्माण पक्षधरहरूको बीचमा हुनेछ । त्यस युद्धमा तिमी मानव मूल्यको पक्षमा दृढतापूर्वक उभिनु ।

डा. डिजन भट्टराई डा. डिजन भट्टराई
२०७८ साउन १६ गते १९:२५

प्यारो छोरा मिरोभ,

तिमी युगको त्यो सँघारमा जन्मिएका छौ, तिम्रो अगाडि भविष्यको अग्लो पहाड छ र म इतिहासको यो कठघरामा उभिएको छु, मेरोसामु ‘नोस्टाल्जिया’ को गहिरो सागर छ । त्यसैले, तिमीलाई तिम्रो यो जन्मदिनमा उपहार दिन मसँग केही छैन, शिवाय शुभकामनाका केही शब्दहरू !

छोरा, मानव केवल मासुको डल्लो होइन अनि मानव ज्ञानी, विवेकी तथा चेतनशील मात्र पनि छैन । मानव त माया, दया, करुणा, रीस, आवेग, संवेग, घृणा, आक्रोश लगायतको पुञ्ज हो । ‘त्यसो भए मानव के हो त ?’ तिमीले सोधौला । यो आफैंमा दार्शनिक प्रश्न बन्न पुग्छ । ‘मानव कस्तो हुनुपर्छ त ?’ यो फेरि आदर्शवादी प्रश्न हो । मानिस विभिन्न रंग, आकार र स्वरुपका हुन्छन् तर फेरि मानव उस्तै हुन्छन्, सामान्यतः उत्रै हुन्छन् । फेरि मानवले नै मानवलाई भन्छ, ‘यो ज्ञानी छ, विवेकी छ, महान् छ, यो देवता हो ।’ फेरि अर्काेतर्फ फर्किएर भन्छ, ‘यो अपराधी हो, कायर हो, हत्यारा हो, पिपासु हो ।’ यो मान्छेले बनाएको सीमारेखा हो । मानव एउटा चेतनशील जीव हो र प्रकृतिका दृष्टिमा सबै बराबर छन् ।

छोरा, मानव सामान्य प्रकृतिप्रदत्त जीव हो । यसले आफू बाँच्न र अस्तित्वको बोध गर्न समाज बनायो । राज्यव्यवस्था र प्रणाली बनायो । मूल्य र मान्यताको निर्माण गर्‍यो । अनि यसै प्रणाली र मूल्यहरूमा बाँधिन पुग्यो । अहंको निर्माण भयो । त्यही जिजीविषामा यसले जीवनलाई बचाइरहेछ । आफूमा महानता बोधको प्रयासमा क्रियाशील छ । यही समाजले निर्माण गरेका मूल्य र मान्यताको जगमा कोही मानिस महान् भएका छन् भने कोही मूल्यहीन । महान् हुने प्रयासमा मानिसले विभिन्न कार्यहरू गरेको छ । स्रोत र साधनमाथिको हस्तक्षेप अनि स्वामित्वमा एकाधिकार, शक्ति, सत्ताको निर्माण, ज्ञान, सीप, विज्ञान र प्रविधिको निर्माण यसैका परिणाम हुन् ।

छोरा ! शिक्षालाई अहिले बिक्रीको सामान बनाइएको छ । विश्वभरि यसको व्यापार हुन्छ, मानव यन्त्र निर्माण गर्ने कारखाना बनाउने प्रयास भइरहेको छ । अबको युद्ध मानवीय मूल्य, अस्तित्व रक्षा र मानव यन्त्र निर्माण पक्षधरहरूको बीचमा हुनेछ । त्यस युद्धमा तिमी मानव मूल्यको पक्षमा दृढतापूर्वक उभिनू

मानिसले सिक्न चाह्यो र अर्काेभन्दा आफूलाई श्रेष्ठ बनाउने तथा अहम्को विकास गरी त्यसमा आनन्द लिने, नार्सिसस जस्तै आफैंले हेरेर आफैं आनन्दित हुने । इतिहासको कालखण्डमा समाज र राज्य व्यवस्थाले हामीलाई संस्कृतिका रूपमा धेरै राम्रा कुराहरू उपहार दिएको छ । त्यही उपहारले आजको नेपाली समाज विविधतामा एकताले भरिपूर्ण छ । सहयोग, सहकार्य तथा सामाजिक एकता हाम्रा अमूल्य निधि हुन् । आदर्शहरू हाम्रा मूल्य हुन् । त्यसको जगमा हामीले नेपाली संस्कृति निर्माण गर्‍यौं । तर, समयले सधैं राम्रा कुरा मात्र विकास गर्दाे रहेनछ, धेरै खराब कुराहरू संस्कृतिका रूपमा विकसित भएका छन् । त्यसैले, हाम्रो मस्तिष्कमा भएका धेरै फोहोर आउँदो दशकमा हामीले सफा गर्नुपर्नेछ ।

छोरा, तिमीले मलाई सोधेका थियौं, ‘शिक्षा भनेको के हो ? अनि यो समाजमा कसरी उपयोगी बन्न सक्छ ?’ वास्तवमा तिम्रो प्रश्न जति सरल छ, त्यति नै महान् । जीवनको मूल्यबोध गराउनु, मानवीय संवेदना र अस्तित्वको पहिचान गर्न सक्षम बनाउनु, जीवनका कठिनतम् क्षण, असफलतामा आफूलाई शान्त, सौम्य र शालीन हुन सिकाउनु, जीवन संघर्षमा लड्नुलाई सामान्य विषय मान्दै नहडबढाइ उठ्ने र सम्हालिएर फेरि हिंड्न सिकाउनु नै वास्तविक अर्थको शिक्षा हो । शिक्षा जीवनको मूल्यलाई अधिक बनाउने साधन हो । मानवीय मूल्यको सापेक्षमा शिक्षालाई विकास गर्नुपर्छ । सभ्य मानव, समुदाय र समाजको निम्ति उपयोगी बनाउन र सहज जीवनयापनको गोरेटो बन्नुपर्छ, शिक्षा । त्यसैले, यसका निम्ति विभिन्न प्रयास भइरहेका छन् । सिक्ने र सिकाउने क्रममा निश्चित शिक्षा प्रणालीको विकास भएको छ । यो निरन्तर प्रक्रिया हो ।

मेरो सामान्य अनुभव, अनुभूति र सुनेअनुसार नेपालमा २०४० सालभन्दा अघि एस.एल.सी.को परीक्षाफलमा उत्तीर्ण हुनेहरूलाई सामान्यतः डिभिजन सोधिंदैनथ्यो । पास र फेल मात्र जनसरोकारको विषय थियो । ४० देखि ५० को दशकमा दोस्रो श्रेणीलाई नै उच्च उपलब्धिका रूपमा हेरिथ्यो । ५० देखि ६० को दशकमा पहिलो श्रेणीलाई उच्च उपलब्धिका रूपमा हेरिन्थ्यो । तेस्रो श्रेणीलाई सामान्यतः कमजोर र दोस्रो श्रेणीलाई मध्यम मानिन्थ्यो । ६० देखि ७० को दशकमा विशिष्ट श्रेणीलाई उच्च उपलब्धिका रूपमा हेरियो । त्यसभन्दा मुनिका श्रेणीलाई कमै महत्व दिइयो र फेल हुनेलाई अत्यन्तै अपमानजनक रूपमा हेर्न थालियो । ७० देखि ८० को दशकमा सबै श्रेणीहरू फिका भए । अंकहरू मूल्यहीन भए । त्यसैले ग्रेडिङ प्रणालीको विकास गरियो । साथै ‘फेल’ भन्ने शब्दले मानवीय मूल्यमा अपमान गरेको बोध गरी फेल हुने प्रणालीलाई हटाइयो । त्यही रूपमा हेर्दा अब ८० देखि ९० को दशक के हुने त ? अझ त्यसभन्दा पछि के हुने ? अहिले प्रश्नहरू अनुत्तरित नै छन् । तर अबको दशकमा अंक, श्रेणी, ग्रेड तथा किताबी ज्ञानहरूको युग सकिने निश्चितप्रायः छ । किनकि अबको दशक भनेको ज्ञानको दशक होइन; विवेक, संवेदना र मानवीय मूल्यको दशक हुने कुरा निर्विवाद छ ।

छोरा, अबको दशक व्यवस्थापनको दशक हुनु अपरिहार्य छ । ज्ञान, सूचना तथा तथ्यांक सबै इन्टरनेटको फराकिलो नेटवर्कमा अनन्तकालसम्मलाई स्टोर भइसकेको छ । अझ आगामी दशकमा प्रविधिले योभन्दा धेरै ठूलो परिवर्तन गर्ने नै छ । यसरी हेर्दा आगामी दशकमा किताबहरू हुने छैनन्, रट्नुपर्ने कुराहरू हुने छैनन्, मात्र जीवन भोग्नुपर्ने छ । त्यसैले शिक्षामा आगामी दशक मानवीय मूल्य, संवेदना र व्यवस्थापनको युग हुनेछ । त्यस बेला शायद पढाइँदैन, बोध गराइन्छ, किनकि मानवीय मूल्य र संवेदना बोध गर्ने कुरा हो । व्यवस्थापनका लागि विवेक चाहिन्छ, पढेर विवेकको अभिवृद्धि हुँदैन । ठूलो मान्छे होइन, असल मान्छे बन्नका लागि उत्प्रेरित गरिन्छ । धेरै ठूला मान्छेहरूले देशलाई बर्बादीको दिशामा लगेको उदाहरण दिइन्छ, ठूला मान्छेहरूले गरेका भ्रष्टाचार, दुराचार, अपराधका कथाहरू सुनाइन्छ । अहिलेको कतिपय शहरिया स्कूलहरूले आफ्नो स्कूलको गुणस्तर राम्रो छ भन्ने देखाउन र परीक्षामा राम्रो नतिजा ल्याउनका लागि लडेको मान्छेलाई उठाउनुपर्छ भन्ने रटाउँछन् । तर बाटामा लडेको मान्छेलाई कसरी उठाउने भनेर सिकाउँदैनन् । परीक्षामा सोही प्रश्न आउँदा पूर्णांक बराबर अंक ल्याएको विद्यार्थी आफ्नो जिन्दगीमा वास्तविक रूपमा लड्दा उठ्नै नसक्ने हुन्छ । त्यस्तो शिक्षाको अर्थ छैन भन्ने कुरा सिकाइनेछ । मान्छेलाई मान्छेको रूपमा चिन्न, श्रमको सम्मान गर्न र विभेद गर्न हुन्न भन्ने बोध गराइनेछ ।

डाक्टर, इन्जिनियर मात्र होइन, यो दुनियाँमा सबै पेशाका मान्छेहरू उत्तिकै आवश्यक छन् । एउटाको अभावमा अर्काेको अस्तित्व संकटपूर्ण हुन्छ । मानवीय मूल्यका दृष्टिमा सबै बराबर छन् । यदि कसैले आफूलाई अरू मान्छेभन्दा विशिष्ट र ठूलो ठान्छ भने त्यो पाखण्डी र अनपढ मान्छे हो भन्ने कुरा सिकाइनेछ । किताब पढेर मान्छे महान् हुँदैन, डिग्री भनेको सामान्य औपचारिक मापन मात्र हो, जीवनका लागि तिनीहरू मूल्यवान होइनन्, इमानदार, जिम्मेवार, जवाफदेही, उत्तरदायी, श्रम गर्ने र आफ्नो सादृश्यमा अरूलाई बोध गर्न सक्नुपर्छ । जीवन अमूल्य छ तर यसलाई मौद्रिक मूल्यमा हिसाब गर्ने, जीवनलाई किनबेच गर्ने र वस्तुका रूपमा बुझ्ने मानव सभ्यताका शत्रुहरू हुन् भन्ने बुझाइनेछ । आँखा चिम्लियो भने संसार अँध्यारो देखिन्छ, त्यसैले आफूले देखेको कुरा मात्र सधैं सत्य हुँदैन । सत्यका विविध आयाम हुन्छन् । सत्यलाई बोध गर्नका लागि संवेदनशील र बहुआयामिक हुनुपर्नेछ । दुःख र सुख अनुभूतिजन्य विषय हुन्, यिनको आकार हुँदैन र यी स्थायी पनि हुँदैनन् । यी त आफूले आफैंलाई बोध गर्न नसक्दाका परिणाम हुन् । आफ्नो खुशीमा संसारको खुशी अन्तरनिहित छ, त्यसैले सधैं खुशी रहनुपर्छ । शक्ति, सत्ता, सम्पत्ति र प्रतिष्ठाले मानिसलाई अन्धो बनाउँछ । तर यी पानीका फोका जस्तै हुन्, जुनसुकै बेला पनि फुट्न सक्छन् । त्यसैले अबको शिक्षाले यसको प्रयोग सही रूपमा सर्वहितमा गर्नुपर्छ भन्ने कुरा सिकाउनेछ ।

अन्त्यमा, छोरा ! शिक्षालाई अहिले बिक्रीको सामान बनाइएको छ । विश्वभरि यसको व्यापार हुन्छ र मानव यन्त्रहरू निर्माण गर्ने कारखाना बनाउने प्रयास भइरहेको छ । अबको युद्ध मानवीय मूल्य, अस्तित्व रक्षा पक्षधर र मानव यन्त्र निर्माण पक्षधरहरूको हुनेछ । त्यस युद्धमा तिमी मानव मूल्यको पक्षमा दृढतापूर्वक उभिनू । पैसालाई जीवनको साध्य मान्नेहरू र त्यसको मेसिनमा मान्छे बनाइरहेकाहरू तिखा नङ्ग्रा र दाह्राहरू सहित त्रासदी इतिहास निर्माण गर्ने होडमा हिंडेका छन् । यस यथार्थलाई बोध गर्दै यो अत्यन्तै जटिल, पेचिलो र संगीन लडाइँमा सचेततापूर्वक पाइलाहरू चाल्नु । तिमीलाई मेरोतर्फबाट अनेक–अनेक शुभकामना ।

उही तिम्रो प्यारो बाबा

डिजन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?