+
+

संकटमा मुख्यमन्त्री राई, नयाँ सरकार बनाउने गठबन्धनको तयारी

हरि अधिकारी हरि अधिकारी
२०७८ भदौ ३ गते १२:३६
मुख्यमन्त्री शेरधन राई

३ भदौ, विराटनगर । नेकपा एमाले विभाजन भएसँगै प्रदेश १ को सरकार संकटमा परेको छ । अब कांग्रेस, माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार बनाउने माधवकुमार नेपाल नेतृत्वमा बनेको नेकपा एमाले समाजवादीका नेताहरु बताउँछन् ।

९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा नेकपा एमालेका ५१ सदस्य छन्, जसमध्ये १९ जना माधवकुमार नेपाल समूहमा थिए । तर भीम आचार्य र जीवन घिमिरेसहित केही सांसदले नेपाल समूह छाडेका छन् । तर अझै प्रदेशसभाका १५ जना प्रदेशसभा सदस्य आफूहरुसँग रहेको नेताहरु बताउँछन् ।

राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्न पाउँछन् । एमाले समाजवादीका नेताहरुको दाबी गरे जस्तो १५ सांसदले नयाँ पार्टी रोजे नयाँ सरकार सुनिश्चित हुन्छ ।

एमाले समाजवादीका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य राजेन्द्र राई पार्टी विभाजनको प्रकृया सकिएपछि प्रदेशमा गठबन्धनको नयाँ सरकार बन्ने बताउँछन् । ‘पार्टी विभाजनपछि सरकारले विश्वासको मत लिनुपर्छ, नलिए अविश्वासको प्रस्ताव जानसक्छ,’ नेता राईले अनलाइनखबरसँग भने, ‘गठबन्धको सरकार बन्छ ।’

को बन्दैछ मुख्यमन्त्री ?

९२ जना प्रदेशसभामा नेपाली कांग्रेसका २१ माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चको १/१ जना सांसद छन् ।

नयाँ सरकार गठनका लागि ४७ सांसद चाहिन्छ । कांग्रेस, माओवादी र जसपाका सबै गर्दा ३९ सांसद छन् । अर्थात नयाँ सरकार बनाउन एमालेका ८ सांसदले एमाले समाजवादी रोज्ने हो भने नयाँ सरकार बन्न सक्छ ।

गठबन्धनको नयाँ सरकार बन्दा मुख्यमन्त्री को हो भन्ने प्रश्न छ । कांग्रेस संसदीय दलका नेता राजीव कोइराला र एमाले समाजवादीका नेता राजेन्द्र राई सम्भावित उम्मेदवार हुन् ।

वायाँबाट– राजिव कोइराला, भीम आचार्य र राजेन्द राई

एमाले समाजवादीका नेताहरुले भने भीम आचार्य पार्टीमा आए उनी नै मुख्यमन्त्री बन्ने बताउँछन् । एमाले सचिव आचार्यले नयाँ पार्टी गठनका क्रममा माधव नेपालको साथ छाडेका छन् । ‘हामीले नेतृत्व गर्ने अवस्थामा आचार्य आए मुख्यमन्त्री बन्नुहुन्छ,’ नेता राई भन्छन्, ‘नआए विकल्पमा छलफल हुन्छ ।’

आचार्य नआए राजेन्द्र राई मुख्यमन्त्री बन्ने छन् । प्रदेश १ मा माधव पक्षका सांसदमध्ये तीन जना मात्रै एमाले केन्द्रीय कमिटीमा थिए । तीमध्ये भीम आचार्य र जीवन घिमिरेले नेपाललाई साथ नदिएपछि राजेन्द्रको सम्भावना बलियो बनेको हो ।

एमाले समाजवादीले नेतृत्व नपाएको अवस्थामा कांग्रेसले प्रदेशको नेतृत्व गर्नेछ । कांग्रेसले नेतृत्व गर्ने अवस्थामा कांग्रेस संसदीय दलका नेता राजिव कोइराला मुख्यमन्त्री बन्ने सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरेकाले प्रदेश १ को मुख्यमन्त्रीमा भने माओवादी केन्द्रको दाबी छैन ।

एमाले पनि आचार्यलाई अघि सार्न तयार

एमाले सचिव आचार्य मुख्यमन्त्री बन्ने योजनाका साथ प्रदेशसभा गएका थिए । तर पार्टी नेतृत्वले उनको साटो शेरधन राईलाई मुख्यमन्त्रीका रुपमा अघि सार्‍यो ।

५ पुसमा प्रतिनिधिसभा विघटनसँग साबिकको ओली र प्रचण्ड–माधव समूहमा विभाजित भए । प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरे, जसमा आचार्यलाई वैकल्पिक मुख्यमन्त्री प्रस्ताव गरिएको थियो ।

२३ फागुनमा नेकपाको एकता खारेज भएर एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि अविश्वासको प्रस्ताव फिर्ता भयो । तर अहिले एमाले विभाजन भएर प्रदेशसभामा बहुमत गुमाउने अवस्था आउँदा भने एमालेको संस्थापन पक्षका नेताहरुले सरकार छाड्न र आचार्यलाई मुख्यमन्त्री बनाउन तयार रहेको बताएका छन् ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की पार्टी एकताका लागि आफूहरु सरकार छाड्न तयार रहेको बताउँछन् । तर पार्टी एकताको पक्षमा उभिएका सचिव अचार्यले भने तत्काल मुख्यमन्त्री बन्न नमानेको स्रोतले बतायो ।

गठबन्धनको सरकार निर्माण हुँदा प्रदेश १ को नेतृत्व एमाले समाजवादीले पाउने नेताहरु बताउँछन् । एमाले समाजवादी पनि भीम आचार्यलाई मुख्यमन्त्री बनाउने प्रयत्नमा छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?