+
+

हैट्, म त हास्यकलाकार पो भएँ कि क्या हो ?

छन्त्यालको धङ्धङी !

बुद्धि तामाङ बुद्धि तामाङ
२०७८ भदौ ५ गते १९:२४

कुनै बेला शहरमा एकसाथ तीन नेपाली चलचित्र सार्वजनिक हुन्थे र ती सबैमा एउटा साझा अनुहार देखिन्थे, बुद्धि तामाङ । ती भिन्न फिल्ममा उनी करब उस्तै ढाँचाको भूमिकामा हुन्थे । सबै फिल्ममा उनको थेगो ‘हैट्’ प्रयोग हुन्थे । तैपनि दर्शक दिक्क थिएनन् । बुद्धिलाई उही रूपरंग-स्वरुपमा मनपराइरहे ।

यही कारण सर्वाधिक व्यस्त कलाकारको श्रेणीमा थिए उनी । छायांकनको दौरान कतिसम्म दौडधूपमा हुन्थे भने न राम्ररी लुगाफाटो लगाउन पाउँथे, न घरमा पकाएर खान नै । अहिलेसम्म विवाह गर्ने फुर्सदसम्म पाएका छैनन् । उनलाई लाग्न थालेको छ- विवाह गर्ने उमेर भइसक्यो होइन, गइसक्यो । उनी भन्छन्, ‘कहिलेकाहीं राति अचानक ब्यूँझिएको बेला यो कुरा मनमा खेल्यो भने ऐंठन हुन खोज्छ ।’

बुद्धि हास्य अभिनेता होइनन्, तर उनको चरित्रमा ‘हास्य खुराक’ मिश्रण गरियो । उनी पर्दामा प्रकट हुँदा दर्शकको ओठमा हाँसो छायो । ‘डरलाग्दो भिलेन बन्दा पनि दर्शकले पत्याएनन् । डराउन त कता हो कता हाँस्न पो थाले’, उनको स्वीकारोक्ति छ ।

नेपाली सिनेमाले बुद्धिलाई जुन चरित्रको रूपमा स्थापित गर्‍यो, त्यसमा उनले खासै मिहिनेत गर्न परेन । लेखक-निर्देशकले एकैनासको चरित्रमा दोहोर्‍याइरहँदा किन उनले हस्तक्षेप गरेनन् ? लगायत सन्दर्भमा बुद्धि तामाङले अनलाइनखबरलाई बताए :

अनि म छन्त्याल बनें

छन्त्यालमा देखिएको ६० प्रतिशत बानी-ब्यहोरा मेरै हो । कम बोल्ने, हाँस्न नजान्ने । एउटा कुरामा लागेपछि त्यसमै विश्वास गर्ने । दायाँ-बायाँ नलाग्ने, एकोहोरो

रामबाबु दाइ (रामबाबु गुरुङ), दया दाइ (दयाहाङ राई), राजन सर (राजन खतिवडा), मीन दाइ (मीनबहादुर भाम), निश्चल दाइ (निश्चल बस्नेत) सबैजना बसेर स्क्रिप्टमा छलफल भइरहेको थियो । ‘कबड्डी’ बनाउने सुरसार चल्दैथियो ।

त्यसबेला हामी मण्डला थिएटरको हल बनाउने काममा जुटेका थियौं । म, विजय बराल, नाजिर हुसेन लगायत साथीभाइ ईंटा, बालुवा, रोडा तयार गर्ने काममा खटिएका थियौं । विजय र म ईंटा-बालुवाको काम गरिरहेका थियौं ।

‘कबड्डी’को मुख्य तीन पात्र पनि हामी जस्तै । काजी, बिके र सत्याल आपसमा मिल्ने । तीन जना डुकुलन्ठ । खास उद्देश्य नबोकेका, स-सानो काममा यत्तिकै अलमलिएर बसिरहेका ।

त्यसबेलासम्म मैले केही नाटक गरिसकेको थिएँ र एक हिसाबले विश्वास पनि जितिसकेको थिएँ । राम दाइहरूले उक्त चरित्रका लागि विजय र मलाई छान्नुभयो ।

त्यसअघि मैले फिल्ममा आर्ट डाइरेक्टर र अरू सानोतिनो भूमिकामा काम गरेको थिएँ । तर, कथा नै बोक्ने, लामो र बलियो भूमिका पाएको थिइनँ । त्यसैले मलाई कताकता शंका थियो, ‘के चल्छ होला र ?’

राम दाइले भन्नुभयो, ‘तिमीहरू आर्ट डाइरेक्टर र कस्ट्युम पनि हेर ।’

मलाई चरित्रको भन्दा पनि त्यो टिममा काम गर्ने लोभ बढी थियो । त्यसबेलासम्म म प्राविधिक काम गरिरहेको थिएँ । नाटकमा पनि सेट बनाउने, लाइट मिलाउने गर्थें । बिजुलीको काम पनि जान्दथें ।

फिल्ममा मलाई ‘छन्त्याल’को भूमिका दिइयो । अनि खुशीसाथ छन्त्याल भएँ ।

चरित्र निर्माण

कतैबाट मुस्ताङ आएका एक पुरुष काजीकै आसपासका घर-गोठमा बस्छन् । विवाहित तर बालबच्चा नभएको । झिनो आशा बोकेर काजीको पछाडि लागेको । काजीको विवाह भए विदेश जान पाउँछु भनेर पर्खिरहेको । यस्तो पात्र हो, छन्त्याल ।

कम बोल्ने, अलि अडबाङ्गे । मुख चुच्चो बनाएर केही सोचे जस्तो गर्ने, तर केही पनि सोच्न नसक्ने । यस्तो स्वभावको हुन्छ ऊ ।
निर्देशकले कुनै चरित्र दिएपछि त्यसको विशेष आनीबानी कस्तो हामीले खोज्नुपर्ने हुन्छ । छन्त्याल कस्तो व्यक्ति हो भन्नेमा म स्पष्ट थिएँ, तर त्यो पात्रको आफ्नोपन के त ? भन्नेमा अलमलिइरहेको थिएँ ।

यसबारे धेरै खोज्दा पनि मैले छेउटुप्पो फेला पारिरहेको थिइनँ ।

एकदिन कसो-कसो राम दाइ (रामबहादुर गुरुङ) को शैली ख्याल गर्न पुगें । उनी मुख चुच्चो बनाएर, निधार खुम्च्याएर भयंकर सोचे जस्तै गर्ने । मैले यही शैली छन्त्यालका लागि प्रयोग गर्ने निधो गरें । छन्त्याल मुख चुच्चो पारेर भयंकर सोचे जस्तो गर्छ । तर, सोच्न चाहिं केही पनि सोच्दैन ।

राम दाइलाई भनंे, ‘दाजु तपाईंको स्टाइल चोर्नुपर्‍यो ।’

उनले दुई अक्षरको जवाफ फर्काए, ‘ल ल ।’

छन्त्यालको चरित्रमा मैले मेरो आफ्नै आनीबानी पनि मिश्रण गरें । खासमा छन्त्यालमा देखिएको ६० प्रतिशत बानी-ब्यहोरा मेरै हो । कम बोल्ने, हाँस्न नजान्ने । एउटा कुरामा लागेपछि त्यसमै विश्वास गर्ने । दायाँ-बायाँ नलाग्ने, एकोहोरो ।

सिनेमा/नाटकमा कुनै पनि चरित्र निर्माण गरिरहँँदा त्यसलाई निर्वाह गर्ने पात्रले कम्तीमा सय प्रश्नको जवाफ दिनैपर्छ । ऊ कहाँको हो, के गर्छ, कसरी गर्छ, किन गर्छ, कहिले गर्छ, कति गर्छ ? इत्यादि । यी सबै प्रश्नको तर्कसंगत जवाफपछि मात्र एउटा पूर्ण चरित्र निर्माण हुन्छ ।

हैट् : एउटै थेगो काफी

म छन्त्याल पात्रको रूपमा बेलाबखत ‘हैट्’ भनेर बोल्छु । यो मेरो थेगो हुन्छ । यसलाई राम दाइहरूले स्त्रिmप्टमै तयार गर्नुभएको थियो ।

अरूलाई थर्काउँदा, माया लाग्दा वा छक्क पर्दा छन्त्याल यो थेगो बोल्छ । यो नयाँ थेगो भने होइन । प्रायः गाउँघरमा धेरैले बोलिरहेका हुन्छन् । तर, कबड्डीको छन्त्याललाई यही थेगोले हिट बनायो ।

छायांकनको बेला राम दाइहरू पनि यो थेगो बोलिरहनुहुन्थ्यो । यो थेगो बोल्दा मलाई एक किसिमको ‘रिल्याक्स’ अनुभव हुन्थ्यो । ‘हैट्, यसरी सुतेर हुन्न । उठ, काम गर, जोश जाँगर लगाउँ बुद्धि’ भन्ने हुन्थ्यो ।

यो थेगोको कुनै अर्थ छैन । केवल एक प्रतिक्रिया हो । तर, अनपेक्षित रूपमा व्यापक भयो । धेरैले यही थेगो बोले । मलाई देख्नासाथ मान्छेहरू भन्थे, ‘हैट् ।’

सेट डिजाइनदेखि कस्ट्युमसम्म

खासमा म सेट डिजाइनर हो । कबड्डीमा सोही जिम्मा दिइएको थियो । कस्ट्युमको प्रबन्ध विजयले मिलाउने भन्ने थियो । तर, दुवैले सेट डिजाइनदेखि लुगाफाटो मिलाउनेसम्म गर्‍यौं ।

छायांकनमा हामी अभिनयसँगै आफ्नो जिम्मेवारीको काम पनि गथ्र्यौं । कलाकारलाई यस्तो लुगा दिने, पृष्ठभूमिमा त्यस्तो सेट बनाउने भनेर खटिन्थ्यौं । मिलाउनुपर्ने, हटाउनुपर्ने सबै गर्थ्यौं । अनि आफ्नो कथा आएपछि फ्रेममा उभिन्थ्यौं ।

त्यसरी काम गर्दा हामीले गल्ती पनि गर्‍यौं । त्यो एक रमाइलो समय थियो ।

अहिले त छायांकनस्थलमा एउटा सट लिनासाथ बस्ने कुर्सी आइपुग्छ । ‘दाइ पानी दिउँ’ भन्ने मान्छेहरू वरिपरि हुन्छन् । कबड्डीमा त निर्देशकले ‘कट’ भन्नासाथ अर्को काममा लाग्नुपर्ने अवस्था थियो ।

छन्त्यालको धङ्धङी

कबड्डीको सिक्वेलमा मैले ‘छन्त्याल’ भन्दा बाहिर जाने कुरा भएन । तर, अरू फिल्ममा पनि करीब-करीब उस्तै ढर्राको चरित्र गर्नुपर्‍यो । दर्शकले उक्त चरित्रलाई मन पराएकाले यस्तो हुन गयो । म आफैंले फरक पारा गर्दा दर्शकले त्यो चरित्र मन नपराउने डर थियो । त्यसैले, आफूलाई निर्देशक-लेखकको चाहनामै सीमित पारें ।

मैले फरक भूमिका गर्न नखोजेको होइन, तर जनजातिको अनुहारमा धेरै विविधता नआउने । झ्याप्प दाह्री-जुँगा आउने भए अनुहार परिवर्तन भएको देखिन्थ्यो होला । अर्को कुरा, फिल्ममा केन्द्रीय चरित्रलाई बढी महत्व दिने, सहायक पात्रलाई कामचलाउ बनाउने प्रवृत्ति छ । सहायक भूमिका गर्नेहरूले धेरै परिवर्तन गर्न पनि सकिन्न ।

त्यसो त, मैले अरू थुप्रै चलचित्रमा फरक भूमिका गरेको छु । हाम्रो प्रयास अघिल्लो भन्दा फरक देखिने नै हुन्छ । तर, सधैं हाम्रो मर्जी चल्दैन । हामीले खोजे जस्तो वा चाहे जस्तो हुँदैन ।

तस्वीर र भिडियो : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?