+
+

सबै बैंकले घटाए बेस रेट, ऋणको ब्याजदर सस्तियो

रोयल आचार्य रोयल आचार्य
२०७८ भदौ ६ गते २०:२६

६ भदौ, काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा वाणिज्य बैंकहरुले आधार दर (बेस रेट) घटाएका छन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले अघिल्लो वर्षको तुलनामा १.६१ प्रतिशतले घटाएका छन् । बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार हो बेस रेट ।

आर्थिक वर्ष २०७६/७७ को असार मसान्तमा यी बैंकहरुको बेस रेट ८ दशमलव ५० प्रतिशत रहेको थियो । यो घटेर २०७७/७८ को असार मसान्तसम्म ६ दशमलव ८९ प्रतिशतमा झरेको छ । बैंकहरुले बेस रेटमा केही प्रतिशत जोडेर आफ्नो ब्याजदर निर्धारण गर्ने गरेका छन् ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिले बेस रेटमा कति पि्रमियम जोड्ने भने बैंकहरुलाई नै अधिकार दिने उल्लेख गरेको छ । तर उद्यम व्यवसाय सञ्चालन गर्न १ करोड रुपैयाँ वा सोभन्दा कम ऋण उपयोग गर्ने ऋणीको हकमा आधार दरमा अधिकतम् २ प्रतिशत बिन्दुले मात्र पि्रमियम थप गर्न सक्ने व्यवस्था मिलाइने राष्ट्र बैंकले बताएको छ ।

सबैभन्दा सस्तो सरकारी बैंक

ऋण लिदा सबैभन्दा सस्तो सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा पर्ने देखिएको छ । राष्ट्रि वाणिज्य बैंकको बेस रेट असरा मसान्तसम्म ५ दशमलव ४१ प्रतिशत देखिएको छ । अघिल्लो वर्ष यस बैंकको बेस रेट ५ दशमलव ८० प्रतिशत रहेको थियो ।

बेस रेट कम हुने दोस्रो नम्बरमा स्टाण्डर्ड चार्टड बैंक देखिएको छ भने तेस्रो नम्बरमा मुलुककै जेठो बैंक नेपाल बैंक देखिएको छ । स्टाण्डर्ड चार्डड बैंकको अघिल्लो वर्ष ७ दशमलव ७० प्रतिशत रहेको बेस रेटलाई घटाएर ५ दशमलव ५१ प्रतिशतमा झारेको छ ।

तेस्रो नम्बरमा देखिएको नेपाल बैंकको बेस रेट ६ दशमलव ९९ प्रतिशतबाट घटेर ५ दशमलव ७३ प्रतिशतमा झरेको छ । चौथो नम्बरमा देखिएको नेपाल इन्भेष्टमेन्ट बैंकले ७ दशमलव ५१ प्रतिशमा रहेको बेस रेट घटाएर ५ दशमलव ७४ प्रतिशतमा झार्न सफल भएको छ ।

मूनाफामा नम्बर वान नविल बैंकले पनि बेस रेटमा सुधार गरेको छ । अघिल्लो वर्षको असार मसान्तमा ७ दशमलव ३२ प्रतिशत रहेको बेस रेट ५.८६ मा नबिलले झारेको छ ।

के हो बेस रेट ?

कर्जाको व्याजदर निर्धारणमा स्पष्टसँग पहिचान गर्न सकिने तत्वहरु समावेश गरी गणना गरिएको दर नै आधार दर -बेस रेट) हो । बैंक तथा वित्तीय संस्थाहरुको कर्जाको ब्याजदर निर्धारण प्रतिष्पर्धी र पारदर्शी गराउने उद्देश्यले आर्थिक वर्ष २०६९/७० को मौदि्रक नीतिमा पहिलोपटक आधार दर प्रणाली लागु गर्ने उल्लेख गरिएको थियो ।

आधार दर २०६९ सालमै वाणिज्य बैंकमा लागु भएको थियो भने त्यसको एक वर्षपछि २०७० सालदेखि मात्रै विकास बैंक र फाइनान्स कम्पनीहरुमा लागू गरिएको थियो ।

जसमा कर्जाको जोखिम पि्रमियम अर्थात जोखिम अनुमानको दर थप गरी ब्याजदर निर्धारण गरिन्छ र यो बैंकबाट कर्जा उपभोग गर्ने ऋणीहरुमा समान रुपले लागू हुन्छ ।

तर, आधार दर कर्जाको वास्तविक व्याजदर होइन । यो व्याजदर निर्धारण गर्ने आधार मात्र हो । जसलाई व्याजदरको सन्दर्भ दर पनि भन्न सकिन्छ । अर्थात बैंकहरुले आधार दरलाई सन्दर्भ दर मानेर व्याजदर तोक्नु पर्दछ । अहिले बैंकहरुले आफ्नो बेस रेट कति छ त्यसमा केही निश्चित प्रतिशत जोडेर ब्याजदर निर्धारण गर्ने गरेका छन् ।

आम रूपमा बेस रेट घट्दा बैंकिङ कर्जाको ब्याजदर घट्छ । तर, यसमा बैंकहरुलाई खेल्ने ठाउँ पनि हुन्छ । बैंकले ग्राहक हेरेर बेस रेटमा अतिरिक्त केही प्रतिशत पि्रमियम थप्न सक्छन् ।

सरकारले ल्याएको विभिन्न किसिमका सहुलियत कर्जामा भने बेस रेटमाथि बढीमा २ प्रतिशत मात्रै पि्रमियम जोड्न पाउने व्यवस्था छ । चालु आर्थिक वर्षको मौदि्रक नीतिले साना कर्जामा पनि बढीमा २ प्रतिशतमात्रै पि्रमियम जोड्न सक्ने बताएको छ ।

१ करोड माथिका कर्जामा भने बैंकहरु आफैले प्रिमियम तोक्ने अधिकार पाएका छन् । अहिले राष्ट्रिय वाणिज्य बैंकको बेस रेट ५.४१ प्रतिशत छ ।

यदि तपाईं यस बैंकमा १ करोड मुनिको  कर्जा लिन जानुभयो भने बेस रेटमा अधिकतम २ प्रतिशत जोड्दा ७.४१ प्रतिशत कर्जाको ब्याजदर हुनेछ ।

हेर्नुस् कुन बैंकको बेस रेट कति छ  ?

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?