+
+
गाईजात्रे व्यङ्ग्य कथा :

हाम्रा राजा सूर्योधन; प्राणभन्दा प्यारा छन् !

राजा सूर्योधन दुनियाँभरको निन्दा र भर्त्सनामा दिनको १८ घण्टा समय खर्च गर्थे। तर आफ्नो आलोचना सुन्यो कि उनको कन्सिरी तातिहाल्थ्यो। चाहे त्यो स्वस्थ आलोचना होस् वा अस्वस्थ। प्रशंसा चाकडी सुन्यो भने चाहिं ढुकुटीबाट सुनका सिक्काको फोहोरा बर्साउँथे।

शैलेश भट्टराई शैलेश भट्टराई
२०७८ भदौ ७ गते १९:१०

मस्तिनापुर नगरीमा सूर्योधन नामका एक प्रतापी राजा थिए। प्रतापी यो मानेमा कि उनको प्रतापले उनी आफू मस्तिनापुर जस्तो बलियो राज्यको राजा बन्न सफल भएका थिए अनि आफ्ना भाइभारदार र भक्तजनहरूलाई मस्तिनापुरमा मोजमस्तीको महत्तम मौका मिलाएका थिए। राजा सूर्योधनको युग उनका भक्तहरूको लागि स्वर्णयुग नै सावित भएको थियो। त्यसैले राजाका भक्तहरू सुखसयलको चरमोत्कर्षमा थिए।

मस्तिनापुरलाई  मस्तिनापुरवासीले खूब मिहिनेत गरेर दु:ख कष्ट झेलेर शक्तिशाली बनाएका थिए। तर राजालाई लाग्दथ्यो मस्तिनापुर यति शक्तिशाली हुनुको कारण आफूसँग भएको दैवी शक्ति अनि आफ्नो तिकडम र वाक्पटुता नै हो। हुन पनि वाक्पटुता, कुटिलता र आत्मप्रशंसामा उनलाई देशदेशावरका कुनै पनि समकालीन राजाले भेट्टाउँदैनथे।

आफू शक्तिशाली राजा हुन उनले हरेक तिकडम गरेका थिए। मिल्ने नमिल्ने सबैसँग मिलेका थिए। खाने नखाने सबै चीज खाएका थिए। लाउने नलाउने सबथोक लाएका थिए। गाउने नगाउने सबै गीत गाएका थिए।

राजा सूर्योधन दुनियाँभरको निन्दा र भर्त्सनामा दिनको १८ घण्टा समय खर्च गर्थे। तर आफ्नो आलोचना सुन्यो कि उनको कन्सिरी तातिहाल्थ्यो। चाहे त्यो स्वस्थ आलोचना होस् वा अस्वस्थ। प्रशंसा चाकडी सुन्यो भने चाहिं ढुकुटीबाट सुनका सिक्काको फोहोरा बर्साउँथे।

आफ्ना भक्तहरूको रेखदेख र हेरविचारमा राजा कुनै कसर बाँकी राख्दैनथे। मस्तिनापुर त साधन मात्रै थियो उनका लागि। साध्य त यिनै भाइभारदार र भक्तहरू थिए। साधना यिनकै उत्तरोत्तर उन्नति, प्रगतिको लागि मात्रै गर्थे। यिनलाई नियम कानून केही लाग्दैनथ्यो। लागिहाले पनि त्यस्ता नियम कानून तुरून्तै बदल्दिन्थे।

आफ्नो जयजयकार गर्ने यस्ता भक्तहरू बाहेक मस्तिनापुरका अरू प्रजालाई राजाले प्रजा नै गन्दैनथे। प्रजा शब्द बारम्बार उच्चारण भने गरिरहन्थे। राजाका स्वस्थ आलोचकहरू समेत राजाको नजरमा देशद्रोही बराबर हुन्थे।

राजाका भक्तहरूले उनलाई अत्यन्त प्रतापी, प्रजावत्सल, धर्तीकै दूरदर्शी राजा, विद्वान, दयावान् के के हो के के उपमाहरू दिइरहन्थे। हाम्रा राजा राजा मात्रै होइनन् राजाहरू मध्येका पनि सबैभन्दा ठूला राजा अर्थात् महाराजा हुन् भन्दै महिमा गाइरहन्थे।

राजाको महिमा चर्को बनाउन मस्तिनापुरका चोकचोक र गल्लीगल्लीमा राजाका तस्वीरहरू टाँगिए। राजाका महावाणीहरू ठूला ठूला अक्षरमा लेखेर टाँसिए। कतिपय भक्तहरूले त यी राजा नारायणको अवतार होइनन् साक्षात् नारायण नै हुन् जो मस्तिनापुरको उद्धारको लागि यहाँ अवतरण गरेका हुन् भनेर प्रवचन दिए। यो सब देखेर, सुनेर राजा मख्ख पर्दा भए। भक्तहरूको चरम प्रशंसा र भक्तिले राजा आफूभित्र ईश्वरीय शक्ति छ भन्ने कुरामा एकदम विश्वस्त हुँदा भए। यसअघि शास्त्रले त नारायणका अवतार भनेकै थियो।

रचनात्मक सुझाव सल्लाह दिने मान्छेलाई राजा ढिम्किनै दिंदैनथे। कहिले `राजा भन्दा तँ जान्ने ?´ भन्दै झाँको झारेर पठाउँथे भने कहिले `तँ राजा कि म राजा हँ ?´ भन्दै अत्यन्तै तल्लो स्तरमा हुर्मत लिन्थे। त्यसैले राजालाई सल्लाह सुझाव दिन सितिमिति कोही अघि सर्दैनथे। सल्लाह, सुझाव, आलोचना भनेको के हो त्यो राजाले बिर्संदै जान थाले। स्तुति, प्रशंसा, चाकडी र चाप्लुसीमा मात्रै उनी बानी पर्न थाले।

राजदरबारमा राजाको  प्रशस्ति गाउँदै अथवा राजाका आलोचकको भरपुर निन्दा गर्दै जोकोही पुगे पनि आनन्द मान्दै चौरासी व्यञ्जनको भोजन गराई सुनका असर्फी दिएर विदा गर्थे। यति मनकारी थिए राजा।

राजा शक्तिशाली नै थिए। डर कतैबाट थिएन। अभर थिएन। असर पनि थिएन। आफ्नो `स्वार्थ मिल्ने´ छिमेकीको भू-भाग छिमेकीकै राजीखुशीमा विनायुद्ध आफ्नोमा गाभेपछि उनी झनै शक्तिशाली बनेका थिए। यसपछि वरपरका छिमेकी भन्दा सबैभन्दा शक्तिशाली मस्तिनापुर नै बनेको थियो। त्यसै भएर होला उनी छिमेकीहरूलाई उल्याउन, गिज्याउन, हेप्न, खिसिट्युरी गर्न कुनै कसर बाँकी राख्दैनथे। राजालाई यसो गर्न खूब मजा लाग्दथ्यो।

भक्तहरूको असीमित प्रशंसा र राजाले आर्जन गरेको अत्यधिक शक्तिले उनलाई म ईश्वर नै हुँ भन्ने कुराको अझ बढी विश्वास भयो। आफू भगवान नै भएपछि म नै कानून, म नै मस्तिनापुर भन्ने त हुने नै भयो। यस्तो कुरा मस्तिनापुरका आम प्रजालाई मनपर्ने कुरै भएन। राजाको बानी सुधार्न प्रजाले खूब प्रयास गरे तर सकेनन्। एक पटक होइन, दुई पटक होइन सयौं पटक राजाको सामुन्नेमै गएर प्रजाले लाख अनुरोध गरे। तर सकेनन्।

फलत: मस्तिनापुरमा विद्रोह भयो। विद्रोह सम्बोधन गर्ने सीप, कला र क्षमता न राजामा थियो न उनका भक्त र भाइभारदारमा । राजाले जानेका केवल दुइटा मात्रै सीप थिए- षड्यन्त्र र आत्मप्रशंसा। राजाका भक्त र भारदारहरूमा त केवल एउटै सीप थियो। त्यो थियो- राजाको जयजयकार गर्ने।

यो विद्रोहले अन्तत: मस्तिनापुर विभाजन भयो। तर यसमा राजाले किञ्चित् दु:ख मनाएनन्।बरू उत्सव पो मनाए। विनायुद्ध जितेको जो क्षेत्र थियो त्यो गयो। दु:ख मान्ने कुरा पनि थिएन होला। खुशी हुँदै `विषालु सर्पहरू गए राम्रै भो´ भनेर मख्ख परे। उनका भक्तहरू राजाले जे गर्छन् त्यही नै गर्ने भैहाले। कुनै भक्तले पनि मस्तिनापुरलाई यसरी विभाजन हुन नदिउँ, जोगाउँ भन्न सकेनन्।

 किन सकेनन् ?

किनभने त्यस्तो भनेको भए फगत राजाको जीहजूरी गरेको भरमा पाएको दानापानी, ऐसआराम र मानसम्मान गुम्ने भय तिनलाई थियो।

बरू उल्टै हाम्रा राजा राजाहरूका पनि राजा महाराजा हुन्। महान् हुन्। भगवान् हुन्। उनको आलोचना गर्ने पागल हुन् भनिरहे। प्रचार गरिरहे। विभाजनको खुशियालीमा ठूलै युद्ध जितेझैं भोजभतेर गरे। राजाको समर्थनमा अनेकौं र्‍याली र सभाहरू गराइए। राजाको सालिक निर्माण, तस्वीर प्रदर्शन, भजन गायनलाई तीव्रता दिइयो।

उता विभाजन भएर गएको नयाँ मस्तिनापुर आफ्नै छुट्टै भातभान्सामा मग्न हुँदा भए।

****

बाँकी बचेको मस्तिनापुरलाई जोगाउने र बलियो बनाउने अहम् दायित्व राजाकै काँधमा थियो।तर उनी आफू र आफ्ना भक्तभन्दा माथि उठ्नै सकेनन्। आफ्नो पुरानो बानीव्यहोरामा रत्तिभर पनि सुधार ल्याउनै सकेनन्। राजाका भाइभारदार त झन् राजा जे गर्दा खुशी हुन्थे त्यही गरिदिन्थे। जे भन्दा खुशी हुन्थे त्यही भनिदिन्थे-

`हजूर जस्तो तेजस्वी राजा दुनियाँमा कोही छैन ।´

`मस्तिनापुर मात्रै होइन यो सारा पृथ्वीलोकको राजकाज गर्न हजूर काविल होइबक्सिन्छ।´ `हजूर नजन्मिबक्सेको भए मस्तिनापुर भन्ने देश उहिल्यै हिंडिसक्थ्यो।´ `हजूरको तुलना अयोध्यापुरीका राजा रामचन्द्रसँग मात्रै हुनसक्छ´ आदि आदि।

आफ्नो यस्तो महिमा सुनेर राजा जुँगामा ताउ लगाउँदै मुसुमुसु हाँस्दै भक्तहरूले मागेको वर फटाफट दिन्थे। अनि राजाको जयजयकार गर्दै ती विदा हुन्थे।

राजाको यस्तो रवैयाप्रति फेरि असन्तुष्टिहरू देखा पर्न थाले।आलोचनाहरू सुनिन थाले।किनभने राजाको मनोवृत्ति ज्यूँ का त्यूँ थियो। राजा सूर्योधन दुनियाँभरको निन्दा र भर्त्सनामा दिनको १८ घण्टा समय खर्च गर्थे। तर आफ्नो आलोचना सुन्यो कि उनको कन्सिरी तातिहाल्थ्यो। चाहे त्यो स्वस्थ आलोचना होस् वा अस्वस्थ। प्रशंसा, चाकडी सुन्यो भने चाहिं ढुकुटीबाट सुनका सिक्काको फोहोरा बर्साउँथे।

आलोचना बढ्दै जान थालेपछि त्यसलाई मत्थर पार्ने उपायको खोजी गर्न एकदिन राजाले भारदारी सभा बोलाए। सधैंको सभामा झैं यो सभामा पनि राजा एक्लै बोले। अरू नमस्कार मुद्रामा सुनिरहे। भक्त र भाइभारदारहरू चुईंक्क बोलेनन्। भारदारी सभाको अभ्यासै यस्तै थियो। किनकि राजालाई यही मनपर्थ्यो। यस्तैमा उनीहरू बानी परिसकेका थिए। ‘बोल्यो कि पोल्यो’ भन्ने भयले पनि काम गर्दथ्यो। सभाको अन्त्यमा भाइभारदारलाई राजाले आदेश दिए- अनावश्यक आलोचना फेरि बढ्न थालेको छ। राजाको देशव्यापी प्रशंसा फेरि शुरू गर्नू। उत्पात गर्नू। कुनै कसर बाँकी नराख्नू। यी राजा होइनन् साक्षात् भगवान् नै हुन् भनेर प्रचारप्रसार तीव्र बनाउनू। तील जत्रो कामलाई पहाड जत्रो बनाएर देखाउनू। पहाड जत्रो गल्तीलाई  देखाउँदै नदेखाउनू, देखाउनै परे तीलजत्रो बनाएर देखाउनू। गाउँ, नगर, बाटो, चौबाटो, चौतारो, बेंसी, पानी-पँधेरो जताततै राजाको तस्वीर लगाउनू, चोक चोकमा राजाका पूर्णकदका सालिक ठड्याउनू, चौतारो, कुवा, नदी, पोखरी सबको नाम बदलेर राजाको नामबाट नयाँ नामकरण गर्नू, भोलिदेखि नै पुरानो संवत् खारेज गर्दै सूर्योधन संवतको नाममा नयाँ संवत् चलाउनू, ताकि यो देशमा राजा चरम लोकप्रिय छन् भन्ने देखियोस्। घर घरबाट राजाको समर्थनमा मान्छे भेला गरेर `हाम्रा राजा सूर्योधन; प्राण भन्दा प्यारा छन्´ भन्दै नगर परिक्रमा गराउनू। राजाको आलोचना गर्नेलाई देशद्रोही करार गर्नू। मिलेसम्म देश निकाला गर्नू ! ढिकुटीको चिन्ता नगर्नू।

राजाको यस्तो आदेश नआउँदा त धेरैजसो भाइभारदारको स्वतस्फूर्त काम नै यस्तो थियो भने अब त झन् राजाकै आदेश पाएपछि त सक्किगोनी ! कन्दनी कसेर न्वारानदेखिको बल झिकेर ती राजालाई देवता बनाउन अग्रसर हुँदा भए।आदेश मुताबिक काम सम्पन्न भयो। राजाले आदेश दिए झैं राज्यको ढिकुटीको परवाह गरिएन।

यो भारदारी सभाको भोलिपल्ट मध्यरातमा चिरपरिचित तान्त्रिकलाई राजाले राजदरबारमा निमन्त्रणा दिए। ती तान्त्रिकले राजालाई भगवानको नाममा केही पुण्य काम गरे कुरा काट्नेहरू स्वत: नष्ट भएर जानेछन् भनेर गोप्य मन्त्र दिएर गए। पूरापूर नास्तिक राजा यसपछि भने अकबरी आस्तिक बनेर निस्के।भगवानको भक्ति, आराधना पूजापाठमा खूब समय र द्रव्य खर्चिन थाले। मठमन्दिर बनाउन थाले।पूजाआजामा लिप्त हुन थाले। राजा सूर्योधनको मूर्तिसँगै अब शिवजी, गणेशजी, श्रीराम, श्रीकृष्ण आदिका बडे बडे मूर्ति ठडिए। थुप्रै मठ मन्दिर बनाइए। लाखबत्ती बालिए। क्षमापूजा लगाइए। एकाह, सप्ताह, नवाह आदिको बाढी नै ल्याइयो। राजाको पहिलो प्राथमिकतामा मस्तिनापुरका प्रजाका दु:खकष्टको नष्ट होइन मूर्तिहरूको प्राणप्रतिष्ठा हुन गयो। यस्ता काममा पनि राज्यको ढुकुटीको परवाह गरिएन।

तर राजाको आलोचना घट्नुको सट्टा झन् बढेर गयो। तान्त्रिकको तन्त्रमन्त्रले पनि केही लछारपाटो लाएन। राजा त्यतिकै हार मान्नेवाला थिएनन्। फेरि आफ्नो र आफ्नो मुकुटको महिमामण्डनमा भक्त भाइभारदार उतार्दा भए। सालिक, तस्वीर, भजन लगायतका अघिल्ला दृश्य र कर्महरू पुनरावृत्त भए। राजा आफैंचाहिं आफ्नो कुरा काट्नेलाई कसरी साम, दाम, दण्ड, भेद प्रयोग गरेर कमजोर बनाउने, बेवकूफ बनाउने, दु:ख दिने भन्ने ध्याउन्नमा लागे। धेरै रस्साकस्सी पछि मस्तिनापुर दोस्रो पटक विभाजन भयो।

आदरणीय पाठकवृन्द !

राजा सूर्योधनलाई यसको पनि कुनै मतलब रहेन। सूर्योधन दुनियाँका एउटा त्यस्ता अद्भुत, आलौकिक र विन्दास राजा थिए जसले आफ्नो भूभाग गुमाउँदा पनि कुनै दु:ख, पीर, सन्ताप लिएनन्। जिम्मेवारीवोध त धेरै परको कुरा भो। उल्टै विजयोत्सव मनाए। भोजभतेर गरे। आफ्नो जयजयकार गराए। बाजागाजा,  अप्सराहरूको नाचगान, हात्ती, घोडाका लावालस्कर र रथका ताँतीसहित विभाजनले थिलथिलो भएको मस्तिनापुर नगरीमा आफ्नो भव्य अभिनन्दन गराए। अभिनन्दन सकिएपछि राजाले लामो भाषण गरे। भाषणमा उनले भने- `कुहिएका आलुहरू हामीले बल गरेर फाल्नुपर्नेमा आफैं फालिए। यसमा किन पीर लिने ? किन दु:ख मान्ने ? त्यसैले विजयोत्सव मनाउँ। भोजभतेर गरौं।खुशी साटासाट गरौं।’

तालीको गडगडाहट आउने नै भयो।

विभाजन हुने यो क्रमले मस्तिनापुरमा निरन्तरता पाइरह्यो। तेस्रो, चौथो, पाँचौं विभाजनसम्म आइपुग्दा मस्तिनापुर खिईंदै खिईंदै केवल सूर्योधनको दरबारमा खुम्चिन पुग्यो। राजा सूर्योधनको विजयोत्सवको यस्तो सिलसिला पनि पाँचौं अथवा अन्तिम विभाजनसम्म नै कायम रहिरह्यो। हरेक विभाजनमा उनले यसैगरी उत्सव मनाइरहे र उही भाषण दोहोर्‍याइरहे। त्यत्रो मस्तिनापुर नगरी  दरबारको चार दिवारमा मात्र सीमित भयो। तर उनको शान, अहंकार, हुँकार भने काटीकुटी पहिलाकै जस्तो थियो।अब त विभाजनको लागि भूमि नै थिएन। त्यसैले राजा सूर्योधनले थप विजयोत्सव मनाउन पनि पाएनन्। बेलाबखत बचेखुचेका हुक्के, बैठके, ढोके आदिबाट आफ्नो स्तुति र प्रशंसा सुन्ने गर्थे। कुनै दिन तिनले राजाको भक्ति गान सुनाउन बिर्से भने बेस्मारी थर्काउँथे र भन्थे- ‘मस्तिनापुरको दिग्विजयी सम्राटलाई मान सम्मान कसरी गर्नुपर्छ भन्ने कुरा मैले सिकाउनुपर्ने ?’

यस्ता दिग्विजयी सम्राटलाई कोटि कोटि प्रणाम् !

(यो द्वापर युगको लोककथा हो। यहाँका पात्र, प्रवृत्ति र घटना कलियुगका कसैसँग मिल्न गएमा संयोग मात्र हुनेछ।)

लेखकको बारेमा
शैलेश भट्टराई

समसामयिक राजनीतिक बिषयमा ब्यंग्य गर्न माहिर शैलेश अनलाइनखबरका स्तम्भकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?