+
+
अन्तर्वार्ता :

‘डीएनए टेष्ट गर्दा घनश्याम भुसालहरू कहिल्यै केपी ओलीको बन्न सक्नुहुन्न’ 

‘दशकौं लगाएर एमालेले आर्जन गरेको लोकतान्त्रिक सामाजिक पूँजी ओलीले सिध्याउनुभो’

सइन्द्र राई सइन्द्र राई
२०७८ भदौ ७ गते १२:५३

७ भदौ, काठमाडौं । हिजो नेपाल कम्युनिष्ट पार्टी छँदा होस् वा एमाले पुनर्स्थापित भएपछि, अध्यक्ष केपी ओलीको चर्को आलोचकमध्ये एक हुन्– जगन्नाथ खतिवडा । एमालेमा एकताका लागि भनेर दोस्रो तहका नेताहरूले गरेको १० बुँदे सहमतिमाथि पनि उनले थुप्रै प्रश्न उठाए । अन्ततः माधव नेपाल समूहमा त्यही समूह हाबी भयो र लामो समय माधव नेपालसँगै रहेका दोस्रो तहका नेताहरू विनै पनि नेकपा एकीकृत समाजवादी दर्ता प्रक्रियामा छ ।

नेता खतिवडा दोस्रो तहका नेताहरूको चर्को आलोचना गर्छन् । ‘फोहोरको डंगुरबाट डुंगालाई निकाल्नुपर्ने भयो । उहाँहरूलाई माझीको रूपमा राख्यौं र माधव नेपाल सहित हामी डुंगामा चढ्यौं,’ उनी भन्छन्, डुंगा छोडेर उहाँहरू त्यही फोहोरमा हाम फाल्नुभयो ।’ माधव नेपाल सहितका नेताहरू पौडी खेलेर पार गरेको, दोस्रो तहका नेताहरू त्यहीं डुबिरहनुभएको उनको विश्लेषण छ ।

यद्यपि उहाँहरू एमालेमा बस्न नसक्ने खतिवडाको दाबी छ । प्रस्तुत छ, नेकपा एकीकृत समाजवादीका नेता खतिवडासँग अनलाइनखबरकर्मी सइन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश :

एमालेबाट अलग भएर नयाँ दल दर्ता गर्नुभएको छ । कतिपयले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको रिसका कारणले मात्रै नयाँ दल दर्ता गरियो भन्दैछन् नि ?

यो बिग्रँदै र भत्कँदै गरेको एमालेलाई पुनर्जागृत गर्नु आजको आवश्यकता हो । पुनर्जागरणको अभियानमा लाग्नुपर्छ भनेर सोचिरहेकै थियौं । एमालेका सम्पूर्ण सुन्दर पक्षहरूलाई केपी ओली र उनको समूहले भत्काउँदै गयो । हामी नेकपा एमाले, एमाले जस्तो नभएको देख्दै जान थाल्यौं । उहाँका क्रियाकलापहरूले दिनदिनै कमजोर र शिथिल बनाउँदै गरेको, क्षयीकृत गर्दै गरेको देख्न थाल्यौं । स्वभाव, आचरण, विधिविधान, आदर्श (जनताको बहुदलीय जनवादको आधारभूत मान्यता) मा असर पुग्दै गएको देख्न थाल्यौं । यसकारण पुनर्जागृत गर्नुपर्छ भन्ने सोच्यौं । यसका मूल्य र परम्परा जीवित गर्नुपर्छ भनेर बोल्न थाल्यौं ।

संसद् जोगाउनका निम्ति हामीले राजनीति दाउमा राखेर जोगायौं, त्यो संसद् जोगाएकै कारण शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ । देउवा कांग्रेसको प्रधानमन्त्री त होइन, संविधानको धारा ७६ (५) को एक व्यक्ति प्रधानमन्त्री हो । त्यही संसद् जोगायौं, त्यसैले प्रचण्ड कमरेड यो खेलमैदानमा हुनुहुन्छ । केहीमा उहाँहरूको पनि नेतृत्व भइरहेको छ ।

तर नेतृत्वले सुनेन । असहमति राख्न थाल्यौं । विरोध गर्न थाल्यौं । हुँदाहुँदै विद्रोहको ठाउँमा आइपुग्यौं । यसर्थ विद्रोह आवश्यकता थियो ।

रिस होइन, उहाँ हाम्रो नेता । उहाँले केन्द्रीय कमिटीमा जित्नुभयो । एमालेको कालभर अध्यक्ष चलाउनुभयो । त्यसबेला कहिल्यै पनि अन्यथा ठानेनौं । असहमतिका बीचहरूमा पनि सहमति गर्दै हिंड्यौं । जब नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्यो, त्यसपछि उहाँले खराब स्वरुप देखाउन थाल्नुभयो । पार्टीभित्र काखा–पाखाको पल्लो हदमा पुग्नुभयो । प्रचण्ड र केपी ओलीले पार्टी ठीक ढंगले चलाउनुभएन । दुई पाइलट भएर बर्मूडा ट्र्यांगलभित्र हाल्न लाग्नुभयो । त्यसको विरोध गर्‍यौं । त्यसपछि प्रचण्डको पनि औचित्य सकिएको देखेर कोपभाजन र निषेध गर्न थाल्नुभयो । निषेध गर्ने जुन शैली र तरिका थियो, त्यसले पार्टीलाई विभाजनको ठाउँमा ल्याएको हो ।

तपाईंहरू जबज मान्नुहुन्छ, जबजले बहुमतकै शासन भन्छ होइन र ?

बहुमतको प्राकृतिक प्रयोग गरिदिएको भए हामी खुशी हुन्थ्यौं । बहुमतले निर्णय गरेमा पालना गर्छौं । प्रक्रियाबाट बहुमत पुर्‍याएर माधव नेपाललाई कारबाही गरे पनि मैले स्वीकार गर्नुपर्छ । तर जबर्जस्ती केपी ओलीको इच्छाबाट जन्मिएको कारबाही स्वीकार्य छैन । त्यसकारण बारम्बार कमिटी प्रणालीमा विश्वास गरौं भनेको हो । हिजो, आज र भोलि नयाँ पार्टीमा पनि कमिटीको निर्णय नै कार्यान्वयन गर्नुपर्छ । व्यक्तिको स्वेच्छाचारिता नयाँ पार्टीमा पनि चल्नुहुँदैन । त्यसो भयो भने जनवादी केन्द्रीयताको बर्खिलापमा हुन्छ । त्यो मान्य हुँदैन ।

पार्टी कमिटी प्रणालीमा नचलेकाले भन्दा पनि प्रचण्ड र शेरबहादुर देउवासँग मिलेर माधव नेपाल निकै पर पुगेकाले एकता हुन सकेन पो भनिंदैछ त ?

त्यो गलत हो । शेरबहादुर देउवा र प्रचण्डसँगको निकटता संसद् जोगाउनका निम्ति भएको हो । पहिलो पटक संसद् विघटनपछि सहकार्य हुन थालेको देशको संविधान जोगाउन, प्रतिगमनमा जान नदिन र संसद्लाई पूर्ण कार्यकाल सञ्चालनका निम्ति हो । संसद् पुनस्र्थापना भएपछि पूरा कार्यकाल चलाउने गरी हिंडेको भए केपी ओलीलाई त्यसबेला पनि बाधा थिएन । नैतिक रूपले त चुकिसक्नुभएको थियो । पार्टीको अर्कै व्यक्ति प्रधानमन्त्री बनाएर भए पनि चलाउनुपथ्र्यो । तर दोस्रो पटक पनि प्रतिनिधिसभा विघटन गर्नुभयो । त्यसपछि राजनीतिक सम्बन्ध निकै द्वेषपूर्ण बन्न पुग्यो । केपी ओलीको नियत संविधान सक्ने, संसद् सक्ने, धार्मिक रूपमा विद्वेष फैलाउने र राष्ट्रियताका अंग–अंगमा प्रहार गर्ने देखियो । अनि शंका लाग्न थाल्यो । शंका सत्य सावित हुन थाल्यो । त्यसपछि मात्रै उहाँका विरुद्ध दह्रोसँग उभिनुपर्‍यो । त्यही क्रममा देउवा र प्रचण्डसँगको सहयात्रामा पुगेका हौं ।

पार्टी विभाजनसम्म पुग्नुमा तपाईंहरूबाट चाहिं कुनै समस्या थिएन र ?

समस्या छ । माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल लगायत स्थायी कमिटीका नेताहरूले नवौं महाधिवेशन पश्चात् नै केपी ओलीलाई साँच्चै विधि र पद्धतिभित्र हिंड्न एकजुट भएर लागेको भए केपी ओली यो ठाउँमा पुग्नु हुने थिएन । नेकपा बनाइसकेपछि प्रचण्डले केपी ओलीलाई नियन्त्रण गर्ने क्षमता राखेको भए पनि यो ठाउँमा नपुग्न सकिन्थ्यो ।

नेकपा बनेपछि केपी ओलीले माधव नेपाल र झलनाथ खनाललाई विश्वासमा लिएर प्रचण्डसँग डिल गरेको भए पनि यो अवस्थामा पुगिंदैनथ्यो भन्ने अनुमान गर्न सकिन्छ । यसैगरी केपी ओलीले नेतृत्वका रूपमा पार्टीभित्र कुनै पनि भेदभाव, निषेध आदि अनुभूति गर्न नदिनुभएको भए पनि हामी यो अवस्थामा नआउन सक्थ्यौं । तर यी सबै (उहाँलाई नियन्त्रण गर्ने) काममा सफलता प्राप्त गर्न सकेनौं ।

बैठक माग गर्‍यो, बैठक नराख्ने । आफू विरुद्ध निर्णय हुन्छ भन्ने थाहा भएपछि २२ महीनासम्म बैठक नै नराख्ने काम केपी ओलीबाटै भएको हो । यसकारण हामीले गरेको गल्ती त्रुटिजन्य होलान्, केपी ओलीले गरेको गल्ती दण्डयोग्य छन् । किनभने उहाँले नियतवश, जानीजानी, बिगार्छु भन्ने उद्देश्यका साथ काम गर्नुभएको हो ।

तपाईंका तर्कले त केपी ओली, एक व्यक्तिको कारण आफैंले बनाएको पार्टी छोड्नुभएको भन्ने पुष्टि हुँदैन र ?

यो प्रवृत्तिको नेतृत्व केपी ओलीले गर्नुभयो । त्यसकारणले उहाँलाई हामीले व्यक्ति देख्यौं । तर केपी ओलीले नेतृत्व गरेको त्यो समूहभित्र कत्रो ठूलो मौनता र सन्नाटा छ । केपी ओलीले गरेका हरेक कामको समर्थन छ । विधान मिच्नुभएको छ, समर्थन छ । आदर्श समाप्त पार्नुभएको छ, समर्थन छ । सत्ताका लागि जतिसुकै अनैतिक काम गर्दा पनि समर्थन छ । यो समर्थनको संख्या पनि लाखौंमा छ ।

केपी ओलीलाई समर्थन गर्ने यस्तो झुण्ड देखा पर्‍यो, नेकपा एमालेको केन्द्रमा रहेर यसका सम्पूर्ण संरचना कमजोर बनाउने र फाँसीवादी ढंगले सेटिङ गर्दै समाप्त गर्नेतिर लाग्नुभयो । केपी ओलीका दोस्रो, तेस्रो, चौथो, पाँचौं तहमा रहेका विभिन्न नेता पनि यस्ता काममा लागेका छन् । समग्रमा वैचारिक र सांगठनिक पतनको दिशामा हिंडेका छन् । कतिसम्म भने हाम्रो पुरानो एमालेको केन्द्रीय कमिटीको बैठक पनि नराख्ने तहमा पुग्नुभयो, किनभने त्यहाँ अर्काले बहुमत पुर्‍याइदिन सक्थ्यो ।

तर, पार्टी दर्ता गराउने बेला त माधव नेपालकै समूह पनि एक ठाउँमा देखिएन ?

दुःख लागेको छ, उहाँहरूले किन विश्वास गर्नुभएन । अन्तरसंघर्षको पाँच/सात वर्ष त सँगै थियौं । दश वर्ष सँगै थियौं भन्दा पनि हुन्छ । जस्तो– एक जना स्थायी कमिटीका सदस्यले आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठकमा केपी ओलीलाई एघार वटा बुँदामा आरोपपत्र प्रस्तुत गर्नुभएको थियो । केपी ओलीले कम्युनिष्ट पार्टी सक्दै हुनुहुन्छ भन्ने उहाँको आरोप थियो । त्यो दश वर्ष अगाडिको कुरा हो ।

यो संघर्षको क्रममा हामी सँगै छौं । केपी ओली र उनको गिरोहले पार्टी, संसद् र सरकारमा जस्ता हर्कत देखायो, त्यो संघर्षमा पनि हामी सँगै छौं । ५ पुसपछि पनि प्रतिगमन विरुद्धको आन्दोलनमा पनि सँगै छौं । केपी ओलीको नेतृत्व हटाउनुपर्छ भन्ने सोचमा पनि हामी सँगै थियौं । सबै सँगै लागेरै केपी ओली विरुद्धको संघर्षलाई उँचाइमा लैजाने सफलता पाएका हौं ।

तर फोहोरको डंगुरबाट डुंगा निकाल्नुपर्ने भयो । उहाँहरूलाई माझीको रूपमा राख्यौं । र माधव नेपाल सहित हामी डुंगामा चढ्यौं । तर उहाँहरू डुंगा छोडेर त्यही फोहोरमा हाम फाल्नुभयो । माधव नेपाल र हामी त पौडेर पार तरेका छौं । उहाँहरू त्यहीं डुबिरहनुभएको छ ।

कमजोरी तपाईंहरूको पनि होला, के भाइ एमालेको खासै काम होला र ?

दृष्टिकोणको कुरा हो । नेपालमा कम्युनिष्ट जनमत रहेसम्म, कम्युनिष्टलाई माया गर्ने जनता रहेसम्म, शोषण, दमन र उत्पीडन रहेसम्म कम्युनिष्ट आन्दोलन समाप्त हुँदैन । औचित्य समाप्त हुँदैन । एउटा पार्टी तल–माथि र टुटफुट भए पनि जनताले कम्युनिष्ट पार्टी छोड्दैनन् । हामीले साध्य छोडेको होइन, साधन पुरानो भयो भनेको हो । साधनले काम गरेन भनेको हो । खराब व्यक्तिको हातमा साधन पर्‍यो भनेको हो । साधन परिवर्तन गर्न एकीकृत समाजवादी बनाएको हो । साध्य जनताको सेवा हो, त्यो छोड्दैनौं ।

तर साधनकै कुरा गर्दा एमाले र ओली एउटै होइन भन्ने तर्क गरिंदैछ नि त ?

यो धेरै राम्रो कुरा हो । त्यो सक्कली चरित्रको एमालेको नेतृत्व गर्न हामी अगाडि बढेका छौं । त्यो साधन (एमाले) मर्मत गर्न र ठीक ढंगको नेतृत्व ल्याउन अनगिन्ती प्रयास गर्‍यौं, तर २०७७ फागुन २८ गतेबाट केपी ओलीले त्यो कब्जा गरी लैजानुभयो । हामी त्यहाँभित्र प्रवेश गर्न पनि नपाउने वातावरण भयो । एमालेले दशकौं लगाएर आर्जन गरेको लोकतान्त्रिक सामाजिक पूँजी ओलीको पछिल्लो व्यवहारले सिद्धियो । अब एमाले नामको साधनको कुनै अर्थ छैन ।

गुलाम भएर प्रवेश गर्‍यौं भने तिमीलाई स्वीकृति छ, होइन भने स्वाभिमानी भएर बाँच्ने हक छैन भनियो । त्यसैका विरुद्ध हामी लाग्यौं । तर सँगै संघर्षमा लागेकाहरू पनि हामीलाई बीच बाटोमा छोडेर अर्कै अर्कै कुरा गर्न थाल्नुभयो । उहाँहरूको दिमागमा कुन प्रकारको अवसरवाद, कुन प्रकारको पलायन, के निक्ल्यो ? थाहा छैन । तर उहाँहरूले हिंडेको बाटो गलत थियो, र गलत सावित भइरहेको छ ।

माधव नेपालको साथ छोडेर एकतातिर लागेका नेताहरू कता लाग्नुहुन्छ जस्तो लाग्छ ? केपी ओलीतिर जानुहुन्छ कि फेरि तपाईंहरूसँगै हुनुहोला ?

केपी ओली नेतृत्वमा गएर बस्ने स्वभाव उहाँहरूमा छैन । संस्कृति पनि मिल्दैन । घनश्याम कमरेडकै कुरा सापट लिएर भन्छु– केपी ओली डीएनए टेष्ट गरेर पक्षपोषण गर्ने, एउटा पक्षलाई निषेध गरेर नेता बन्ने गर्नुहुन्छ । अब डीएनए टेष्ट गर्दा त घनश्याम भुसाल केपी ओलीको कहिल्यै बन्न सक्नु हुन्न ।

घनश्याम कमरेडकै शब्दमा भन्ने हो भने केपी ओलीसँग कि दास छ कि शत्रु छ । आलोचकहरू त केपी ओलीलाई मन पर्दैन । सुझाव मन पर्दैन । घनश्याम भुसाल जतिको नेता केपी ओलीको गुलाम भएर, दास भएर बस्नुहुन्छ भन्ने कल्पना गर्न सक्दिनँ । उहाँहरू कोही पनि अट्न सक्नुहुन्न । त्यसैले फेरि माधवकुमार नेपालको नेतृत्वमा रहेको नेकपा एकीकृत समाजवादीमा आउनु नै उत्तम विकल्प छ । मेरो अनुरोध छ– केही दिनपछि निर्वाचन आयोगमा सनाखत गर्नुछ, त्यसअघि नै आउनुहोस् । पछाडि कुरा चुक्छ, बिग्रन्छ ।

यसको अर्थ एमालेभित्र एकताको ‘च्याप्टर क्लोज’ भइसक्यो ?

क्लोज भइसकेको देख्छु । एकता गर्नुपर्छ भन्ने माग देख्दा अनौठो लाग्छ । दशबुँदेलाई हुबहु पालना गर्नुपर्ने, केपी ओलीले १४ जना सांसदलाई गरेको कारबाही फिर्ता गर्नुपर्ने, माधव नेपालले निर्वाचन आयोगमा दर्ता गरेको नयाँ दल पनि फिर्ता गर्नुपर्ने उहाँहरूको भनाइ छ ।

फोहोरको डंगुरबाट डुंगा निकाल्नुपर्ने भयो । नौ जनालाई माझीको रूपमा राख्यौं । र माधव नेपाल सहित हामी डुंगामा चढ्यौं । तर उहाँहरू डुंगा छोडेर त्यही फोहोरमा हाम फाल्नुभयो । माधव नेपाल र हामी त पौडेर पार तरेका छौं । उहाँहरू त्यहीं डुबिरहनुभएको छ ।

दशबुँदे कार्यान्वयन गर्ने प्रतिबद्धता नगर्ने केपी ओलीले माधव नेपाल टाढा भइसकेपछि अरू नेताहरूको मुख हेरेर त्यो कार्यान्वयन गर्ने संभावना नै छैन । अर्कातिर दशबुँदेको ढोका केपी ओलीले बन्द गरिसक्नुभएको छ । संसदमा गरिएको कारबाही यस्तो बेला गरिएको थियो, जुन बेला एकताको पर्खाइमा थियौं । त्यही बेला गरिएको कारबाही हो, त्यो । वार्ताकारहरूको कुरा सुनेर कारबाही रोकेको भए, अर्कै कुरा हुन्थ्यो । माधव नेपाललाई अपमानित गर्दै कारबाही गरिएको थियो ।

कारबाही पनि ‘फुटाउ र शासन गर’को नियत अन्तर्गत कसैलाई कारबाही गर्ने र कसैलाई नगर्ने गरिएको थियो । दशबुँदे कार्यान्वयन गर्दा पनि केपी ओलीलाई अंकुश लगाउने, नियन्त्रण गर्ने कुरा थिएन । दशबुँदे अपूर्ण थियो, अपूर्णमा पनि नियन्त्रणकारी संयन्त्रको कुनै परिकल्पना नै नगरिएको काम थियो । त्यसैले निर्वाचन आयोगबाट फिर्ता लिने कुरा त झनै असंभव कुरा हो ।

उहाँहरू (माधव समूहकै सहमति पक्षधर) त यस्तै–यस्तै गर्नुहुन्छ नि ! देउवालाई प्रधानमन्त्री बनाउने हस्ताक्षर गर्नुहुन्छ, सर्वोच्च अदालतमा जानुहुन्छ, तर मतदान गर्नुहुन्न । अनि माधव नेपाललाई नयाँ दल दर्ता गर्ने ठाउँसम्म उत्प्रेरित गर्दै, धकेल्दै पुर्‍याउनुहुन्छ अनि निर्वाचन आयोगमा दर्ता गरिसकेपछि फिर्ता लेऊ भन्नुहुन्छ ।

यति बेला चाहिं तपाईंहरूलाई केपी ओली भन्दा ती नौ जनासँग बढी रिस उठेको छ हो ?

छैन । उहाँहरूसँग किन रिसाउनु । केपी ओलीसँग आजित भएरै विद्रोहमा लाग्नुभएको थियो । तर अहिले विचारहीन एकताको पक्षमा लाग्नुभयो । केपी ओलीले गरेका सबै प्रतिगमनकारी कदमहरूलाई आँखा चिम्लेर समर्थन गरिदेऊ, केपी ओलीलाई नै अध्यक्ष र प्रधानमन्त्री बनाऊ भन्ने दिशामा लाग्नुभयो । यसमा विचार भन्ने चिज छैन । प्राविधिक ढंगले एक भएर गएपछि त्यहींभित्र लडिन्छ भन्ने कुरा छ । यो हिजो गरिएको मान्यता विपरीतका तर्कले एकता हुँदैन भन्ने हाम्रो दृष्टिकोण छ ।

नौ नेताहरूको तर्क छ– दशबुँदे कार्यान्वयनले सांगठनिक रूपमा एकठाउँ बस्न सकिन्छ, त्यसपछि विचारको कुरा गरौंला । तर केपी ओलीले दशबुँदे कार्यान्वयन गरे पनि एकता हुन्न भन्न खोज्नुभएको हो ?

केपी ओलीले दशबुँदे कार्यान्वयन गर्नुहुँदैन भन्ने मेरो शतप्रतिशत धारणा हो । त्यो कुरामा पूर्ण विश्वस्त छु । त्यसैले उहाँहरू (नौ नेता) भुलभुलैयामा हुनुहुन्छ । दोस्रो, दशबुँदे कार्यान्वयन गरेर पनि अब पार्टी एक हुँदैन । नयाँ पार्टीको नयाँ अस्तित्व जन्मिसक्यो । अब माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बीचमा दुई वटा पार्टीलाई प्रतिनिधित्व गरेर मात्रै एकता हुन्छ । त्यसले विचार, दृष्टिकोण र सिद्धान्तमा कुरा गरेर एकता हुन्छ । पार्टी दर्ता दबाब दिन मात्रै गरेका थियौं, खुरुक्क सम्झौता गरिहाल्छौं भन्ने हुँदैन । त्यो अर्को नालायकी हुन्छ । त्यो नालायकी पनि सर्वोच्च अदालतमा गएर राजनीतिक स्थिरता, संविधान र संसदका लागि शेरबहादुर देउवालाई भोट हाल्न तयार छु भन्ने अनि संसदमा आएर म कहाँ भोट हाल्छु भने जस्तै हुन्छ । राजनीतिमा नैतिकताको कुरा हुन्छ ।

एमालेकै संस्थापक नेता हुनुहुन्छ, माधव नेपाल । तपाईंहरू पनि लामो समयदेखि एमालेमै  हुनुहुन्छ । तर नयाँ गोरेटो खन्नतिर लाग्दा निद्रा त राम्रै लागिरहेको छ नि ?

दृष्टिकोणमा प्रतिबद्ध छौं । हामी जाने बाटो प्रष्ट देखेका छौं, आदर्श कम्युनिष्ट पार्टी बनाउन सक्छौं । जनताको विश्वासिलो सारथिका रूपमा विकास गर्न सक्छौं । तर व्यवहारमा पीडा छ । नयाँ अभियान शुरू गर्नुछ । हिजो सँगै काम गरेका सहयात्रीहरूसँग अन्तरविरोध कायम गर्नुछ । इतिहासमा हामीले पनि धेरै गल्ती गर्‍यौं होला, तल जनताले हेरिरहेका छन् । जनताले सोध्ने प्रश्नहरू तीर जस्तै छन् । ती जनतालाई कन्भिन्स गरेर मूलप्रवाहमा ल्याउनुपर्नेछ । भइरहेको ठूलो विरासतभित्र असल मान्छेहरूलाई ल्याएर एउटा गिरोहलाई मात्रै त्यसमा छोडिदिनुपर्नेछ । कति जटिल होला ? केपी ओलीसँग रहेको गिरोहलाई उहाँहरूसँगै छोडेर असल र इमानदार पंक्तिलाई सच्चा एमालेका प्रतिनिधि हामी हौं भनेर स्थापित गर्नुछ । तसर्थ चुनौती धेरै छन् । निद्रा पनि लाग्दैन, भोक पनि लाग्दैन । तर निराश चाहिं छैन ।

जब नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्यो, त्यसपछि केपी ओलीले खराब स्वरुप देखाउन थाल्नुभयो । पार्टीभित्र काखा–पाखाको पल्लो हदमा पुग्नुभयो । प्रचण्ड र केपी ओलीले पार्टी ठीक ढंगले चलाउनुभएन । दुई पाइलट भएर बर्मूडा ट्र्यांगलभित्र हाल्न लाग्नुभयो । त्यसको विरोध गर्‍यौं । त्यसपछि प्रचण्डको पनि औचित्य सकिएको देखेर कोपभाजन र निषेध गर्न थाल्नुभयो ।

निराश किन हुने त, अब सरकारमा जाँदै हुनुहुन्छ । मन्त्री बन्नुहुन्छ, थुप्रै नियुक्ति हुन्छन् !

यस्ता नियुक्ति सबै अस्थायी हुन् । पार्टी बलियो भएमा यी सबै कुरा प्राप्त गर्छौं । पार्टी बलियो भएन भने प्राप्त गर्दैनौं । अहिले प्राप्त गरिने खास बेलाका उपलब्धि मात्रै हुन्, यो सधैंभर रहँदैन । लामो समय टिक्ने भनेको विचार, राजनीति र पार्टी नै हो । त्यसकारण पार्टी बलियो भएन भने कसैले पनि सरकारमा न जाऔं भन्छ, न सरकारमा लैजान्छ ।

त्यो तपाईंहरूले कल्पना गरेको बलियो पार्टी एमाले भन्दा के विषयमा फरक हुन्छ ? विचार, संगठन, आचरण ?

पुनर्जागरण । एमालेमा पहिले थियो, अहिले समाप्त हुँदै गयो । त्यसलाई जोगाउनुपर्‍यो । विचारमा, संगठनमा, राष्ट्रियताको चेतनामा, संस्कृतिमा हरेक ठाउँमा । जनवादी संस्कृति थियो, त्यो पुनर्जागरण गर्नुछ । पुराना विरासतलाई जगेर्ना गर्ने र नयाँ पुस्तालाई सुहाउने संस्कृति निर्माण गरेर हिंड्न सकिएन भने पार्टी बलियो बन्दैन । सबैभन्दा पहिले हामी त्यो ठाउँमा ध्यान केन्द्रित गर्छौं ।

अर्को हो, आर्थिक–राजनीतिक–सामाजिक कार्यक्रम । जनतालाई विकास र समृद्धि चाहिएको छ । सुशासन चाहिएको छ । आर्थिक वृद्धि चाहिएको छ । मूलतः जनतालाई आफ्ना न्यूनतम आवश्यकता पूरा गर्ने र भ्रष्टाचारमुक्त देश चाहिएको छ । राज्य प्रणाली चाहिएको छ । हामी यसतर्फ ध्यान दिन्छौं । जनताको बहुदलीय जनवादलाई नयाँ परिवेशमा सिर्जनात्मक ढंगले त्यसलाई विकास गर्न चाहन्छौं । त्यसलाई समाजवादको यात्रामा जाने गरी आर्थिक नीति ल्याउन चाहन्छौं ।

जबज चाहिं छोड्ने हो ?

जबजको सारभूत कुरालाई विकास गर्ने हो । जनताको बहुदलीय समाजवादी (जबस) को व्यवस्थामा जाने परिस्थिति आउँछ होला । समाजवाद प्रतिबिम्बित हुने गरी हाम्रो कार्यक्रम बन्छ ।

तर नेपालमा फुटेर कुनै पनि पार्टी चलेन, तपाईंहरूको चाहिं कसरी चल्ला ?

२०५४ सालमा एमाले विभाजित भएर माले बन्यो । त्यो विभाजनमा महाकाली सन्धि एजेण्डा थियो । राष्ट्रियता पनि थिएन । महाकाली सन्धिमा राष्ट्रियताको कलेवर गर्ने कोशिश गरियो । त्यो सानो एजेण्डा थियो, त्यसलाई समातेर सिंगो राजनीतिको दृष्टिकोण निर्माण गर्न सकिंदैनथ्यो । तर आज कम्युनिष्ट आन्दोलन जोगाउने कि नजोगाउने भन्ने एजेण्डा छ । त्यो बेला मिडिया कमजोर थियो, पार्टी संरचना सानो थियो, राजनीतिक दल भनेपछि मरिहत्ते गर्ने संस्कृतिको समय थियो । तर अहिले मानिसहरू खुला दिमागले सोच्न चाहन्छन्, मिडियाले यति धेरै जानकारी दिन्छ कि हरेक मानिसले के ठीक र बेठीक सजिलै बुझ्न सक्छन् ।

त्यसैले त्यो बेला र यो बेलाको मूल्याङ्कन एउटै हुन सक्दैन । त्यसबेला वामदेव गौतम, सीपी मैनालीहरू नेता हुनुहुन्थ्यो । उहाँहरूको क्षमता र प्रतिभा जे थियो, आज माधव नेपालको नेतृत्व गरेको व्यक्तित्व, क्षमता र वजन धेरै भिन्न छ ।

हिजोको निर्वाचन प्रणाली र राजनीतिक प्रणालीमा पनि धेरै भिन्नता छ । आज प्रत्यक्ष निर्वाचित र समानुपातिक निर्वाचन प्रणाली छ । त्यसैले संसद्मा हाम्रो पार्टी शून्य हुँदैन । १०, २०, २५ सिट समानुपातिकबाट पनि जितेर आउन सक्छौं । प्रत्यक्ष निर्वाचित हुने प्रणालीमा पनि हिजो गठबन्धनको संस्कृति थिएन । सहकार्यको संस्कृति थिएन । आज सहकार्यको संस्कृति छ । ठूलो आयाम बनाएका छौं, जनता समाजवादी पार्टी, माओवादी केन्द्र, कांग्रेस सबैसँगको सहकार्यमा राजनीतिक संस्कृतिको नेतृत्व हामीले गरेका छौं ।

गठबन्धनले कहिलेसम्म बोक्छन् त तपाईंहरूलाई ?

अर्काले बोक्छन् कि बोक्दैनन् भन्ने हामी सोच्दै, सोच्दैनौं । हामी नेतृत्व गर्न आएका हौं । आज पनि उहाँहरूलाई हामीले कहीं न कहीं नेतृत्व गरिरहेका छौं । केही कुरामा उनीहरूले पनि नेतृत्व गरिरहेका होलान् । संसद् जोगाउनका निम्ति हामीले राजनीति दाउमा राखेर जोगायौं, त्यो संसद् जोगाएकै कारण शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ । देउवा कांग्रेसको प्रधानमन्त्री त होइन, संविधानको धारा ७६ (५) को एक व्यक्ति प्रधानमन्त्री हो । त्यही संसद् जोगायौं, त्यसैले प्रचण्ड कमरेड यो खेलमैदानमा हुनुहुन्छ । केहीमा उहाँहरूको पनि नेतृत्व भइरहेको छ । त्यसकारण सहयोगको आदान–प्रदान भइरहन्छ ।

हाम्रो जोड राम्रो कम्युनिष्ट पार्टी बनाउने सँगै साना कम्युनिष्टहरूलाई एकताबद्ध बनाउनेमा पनि उत्तिकै हुन्छ । राजनीतिक रूपमा मान्यता प्राप्त शक्तिहरू गठबन्धनमा जाने संभावना पनि उत्तिकै रहन्छ । त्योभन्दा ठूलो कुरा कम्युनिष्ट आन्दोलनको रक्षा गर्नका निम्ति हामीले बनाउने नीति र कार्यक्रम महत्वपूर्ण हुनेछ ।

कम्युनिष्टहरूलाई एकताबद्ध बनाउन थाल्ने चाहिं माओवादीसँग एकता गरेर होला हैन ?

त्यो पनि एउटा अंग हो । माओवादी यतिखेर महत्वपूर्ण राजनीतिक शक्तिका रूपमा देशमा स्थापित छ । तर यो एकताबद्ध हुने कुरा एकीकरण नसम्झनुहोस् । एकता भनेको सहकार्य हुनसक्छ, कार्यगत एकता हुन सक्छ, मोर्चाबन्दी हुनसक्छ, तालमेल हुनसक्छ । सँगै मिलेर हिंडौं भन्नेबाट शुरू गरिन्छ । पछि नीति, कार्यक्रम, विधि सबै कुरा मिल्यो भने त एकता पनि हुनसक्छ । पहिले पनि गरेकै हो, बीचमा मिलेन । फेरि पनि गरौंला ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?