Comments Add Comment

तेस्रो धार : न विभाजन रोक्न सक्यो न शक्तिशाली सम्झौता

९ भदौ, काठमाडौं । नेकपा एमालेका युवा नेता विष्णु रिजाल पार्टीभित्रको विवादलाई इतिहास हुनेहरू र भविष्य हुनेहरूबीचको टकरावको रूपमा चित्रण गर्छन् । अझ गहिरोगरी नियाल्दा एमालेभित्रको पछिल्लो भागदौडमा तीनथरि प्रवृत्ति देखिन्छ- लामो इतिहास भएका, निकट भविष्यमै लाभ देखिरहेका र लामो भविष्य भएका ।

लामो इतिहास भएका पहिलो पुस्ताका नेताहरूसँग भविष्यको कुनै मार्गचित्र छैन । त्यसैले उनीहरू प्रायः इतिहासको कुरा गरेर समय बिताउँछन् । यही पहिलो पुस्ताका नेताहरूको जुँगाको लडाईं र ‘इगो’ समस्याले नेकपासँगै नेकपा एमाले पनि विभाजित बनेको छ ।

दोस्रो पुस्ताका नेताहरू निकट भविष्यमै लाभ देखिरहेका नेताहरू हुन् । उनीहरू पनि केपी ओली र माधव नेपाल समूहमा विभक्त छन् । उनीहरू पार्टी एकीकृत रहेमा निकट भविष्यमै लाभको पदमा पुग्न सक्ने हैसियत राख्ने नेताहरू हुन् । उनीहरूले आफ्नो सिंगो जीवन लगानी गरेर लाभ लिने बेला कुनै जोखिम उठाउने हिम्मत देखाउन सकेनन् ।

यो पुस्ताले पहिलो पुस्ताबाट नेतृत्व खोसेर आफूमा ल्याउन सक्थे । नेपाल समूह निकट केही नेताले यो प्रयास गर्दै तेस्रो धारको बहस सुरु गरे । तर यो एक हप्ता पनि टिकेन । किनकी यो उनीहरूको चाहनामा मात्र निर्धारण हुँदैनथ्यो । ओली समूहमा रहेका दोस्रो पुस्ताका नेताहरू ओलीलाई चुनौती दिनसक्ने भूमिका र हैसियतमा देखिएनन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा सधैंझैं ओलीको प्रस्तुतिले उही सन्देश दिइरहेको थियो । त्यो हो- ‘म हिजो पनि ठीक थिएँ, आज पनि ठीक छु । सुध्रनुछ भने अरू साथीहरू सुध्रिऊन् ।’

एमालेभित्रको अर्को हिस्सा हो- अलि टाढा भविष्य भएका तेस्रो पुस्ता । उनीहरू जस्तोसुकै जोखिम मोलेर पनि पार्टीलाई सुव्यवस्थित रूपमा अगाडि बढाउन चाहन्छन् । यद्यपि, तेस्रो पुस्ताभित्र पनि स्वार्थ समूहहरू छन् । गुटको फेरो समाएर अगाडि बढ्ने संस्कृतिका कारण यो पुस्ताभित्र पनि जोखिम उठाउन सक्ने पंक्ति साँघुरो मात्रै छ ।

यिनै पृष्ठभूमि नियाल्दा एमाले कुनै सैद्धान्तिक/वैचारिक मतभेदका कारण विभाजित भएको होइन । एमालेभित्रको पछिल्लो राजनीतिक भागदौडमा सिद्धान्त, विचार र एजेन्डाको केही छनक देखिएन । यो अँध्यारोमा ज्यान र स्वार्थ जोगाउन चाहनेहरूको भागदौड जस्तै रोचक देखियो ।

राजनीतिक विश्लेषक मुमाराम खनाल एमाले प्राविधिक कुराले विभाजन भएको र दुवै पक्षसँग कुनै राजनीतिक सैद्धान्तिक एजेन्डाको मतभिन्नता नरहेको बताउँछन् । हिमालय टेलिभिजनको समय सन्दर्भ कार्यक्रममा बोल्दै खनाल भन्छन्, ‘नेपालका कम्युनिष्टहरू आफू सकिने खतरा रह्यो भने जोसँग पनि मिल्छन्, आफूलाई सजिलोका लागि जतिबेला पनि फुट्नुहुन्छ ।’ फुट्न र एकता गर्न, विरोध गर्न र समर्थन गर्न कुनै वृहत्तर राजनीतिक स्वार्थ र वैचारिक/सैद्धान्तिक मतभेद नचाहिने उनको तर्क छ ।

तेस्रो धारको विरोधाभाष

प्रतिनिधिसभामा दुई तिहाई नजिक बहुमत भएको आफ्नै पार्टीका प्रधानमन्त्रीलाई कुर्सीबाट ओराल्न एमालेको माधव समूह छाडेका प्रमुख नेताहरूले धेरै कुरा बोलेका छन् । उनीहरूले ओलीविरुद्ध प्रतिपक्षी राजनीतिक भाष्य निर्माण गरेका छन् ।

ओली समूहमा विलय भएसँगै उनीहरूले अब भन्नुपर्नेछ- ‘हाम्रा श्रद्धेय अध्यक्ष ओलीबाट लोकतन्त्रको रक्षा र समाजवादको स्थापनार्थ दुई/दुईपटक जननिर्वाचित प्रतिनिधिसभा विघटन गर्ने महान कदम चाल्नुभएको रहेछ ।’

कि ओली सही होलान् कि यी नेताहरू । दुवै पक्ष एउटै मुद्दामा एकैपटक सही हुन सक्दैनन् । माधव नेपाल समूहमा रहेका एक नेता प्रश्न गर्छन्, ‘हाम्रा घनश्यामजीहरूलाई आफ्नो डीएनए फेर्न मुस्किल छ । उहाँले डीएनए बदल्नुभयो भने उनी अहिलेका घनश्याम बाँकी रहनु हुनेछैन । घनश्यामजीहरूको सुविधाको लागि ओलीजीले त आफ्नो डीएनए त बदल्नु हुँदैन होला ?’

‘भूमिकाविहिन ठाउँमा केही आशा लाग्दा नेताहरू मुख बन्द गरेर बस्नेछन् । बोल्न चाहेको कुरा बोल्न पाउने छैनन् । बोल्न सक्नेछैनन् । बोले पनि त्यसको अर्थ केही हुने छैन,’ ती नेता भन्छन्, ‘गुरु भट्टराई र महेश बस्नेतहरू बढी सुनिने बालकोटमा घनश्याम भूसाल र सुरेन्द्र पाण्डेको वौद्धिकता कुहिरोको काग बनेर हराउनेछन् ।’

 ‘आत्मसमर्पण’को अर्थ

बुधबार आयोजित पत्रकार सम्मेलनमा सधैंझैं ओलीको प्रस्तुतिले उही सन्देश दिइरहेको थियो । त्यो हो- ‘म हिजो पनि ठीक थिएँ, आज पनि ठीक छु । सुध्रनुछ भने अरू साथीहरू सुध्रिऊन् ।’

यस्तो अवस्थामा पनि एमालेमा दोस्रो पुस्ताका नेताहरूले ओलीसँग ‘आत्मसमर्पण’ गर्नुको कारण ओली मन परेर होइन । एमाले भन्ने ब्रान्ड र सूर्य चिन्हसँगको आशक्ति हो । न ओली सच्चिएका छन् न उनी सच्चिन्छन् । ओली नजिकका नेताहरूको अभिव्यक्ति सुन्दा यो आशंका थप बलियो हुन्छ । पार्टीभित्र ‘तेस्रो धार’ निर्माणमा कस्सिएका दोस्रो पुस्ताका नेताहरू नयाँ निर्णय गर्न सक्ने क्षमता गुमाएर गएका आफ्ना सबै वाणीहरू बिर्सिएर मूल प्रवाहमै मिसिएका हुन् ।

‘सम्भवतः यो उमेरमा थप जोखिम उठाउन सक्ने चाहना र क्षमता उहाँहरूले गुमाइसक्नुभयो,’ एमालेका एक नेता भन्छन्, ‘राजनीतिमा जब मानिससँग भविष्यका लागि एजेन्डा हुँदैन तब उसले इतिहास बेचेर खाने हो । चुनाव चिन्ह र ब्रान्ड बेचेर टिक्ने हो । टिक्ने र इतिहासको ब्याज खाने उहाँहरूको रुचिको आलोचना गरेर समय बर्बाद गर्नुहुँदैन ।’

यता, ३९ महिनापछि एमालेको प्रवक्ताको भूमिकामा फर्किएका योगेश भट्टराई भने एमाले जोगाउने उद्देश्यले आफूहरू फर्किएको तर्क गर्छन् । ‘माधव कमरेडलाई छलेर थाहा नदिई १० बुँदे गरिएको होइन । पार्टी एकता गर्ने मनसाय थियो थिएन भनेर अहिले भन्न सकिन्न,’ बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता भट्टराईले भने ।

उनी अगाडि थप्छन्, ‘डेढ महिना समय लगाएर आन्तरिक समस्या समाधानका लागि १० बुँदे प्रस्ताव तयार पारेका थियौं । तर, नेता नेपालले बेवास्ता गर्दै पार्टी विभाजन गर्नुभयो । यो दुर्भाग्यपूर्ण कुरा हो ।’

बाढी क्षणिक हुन्छ तर त्यही क्षणिक बाढीले धेरै राम्रा वस्तु र संरचना नामेट पारेर बगाउँछ । समयान्तरमा ओलीको काखमा घुस्रिएर अर्को ‘गोकुल बाँस्कोटा’ वा ‘महेश बस्नेत’ हुने हो ।

त्यतिबेला वास्तविक ‘घनश्याम भुसाल’ र ‘सुरेन्द्र पाण्डे’हरू बाँकी रहनेछैनन् । उनीहरूको हैसियत त्यस्तै रहनेछ जस्तो हैसियत बुधबारको पत्रकार सम्मेलनमा सोफाहरूको छेउमा फलामे कुर्सीमा बादल बसिरहेका देखिन्थे । बादल तिनै नेता हुन् जसले एमाले छिर्दा दोस्रो वरियताको माग गरिरहेका थिए ।

अवरोध बन्न सक्छ ओलीको अतिरिक्त शक्ति

कम्युनिष्टहरू आन्तरिक लोकतन्त्रको कुरा गर्दा जनवादी केन्द्रीयताको कुरा गर्छन् । जति गहिरोसँग जनवाद अर्थात् लोकतन्त्रको अभ्यास, त्यतिधेरै बलियो नेतृत्व । तर आन्तरिक लोकतन्त्रबिनाको नेतृत्वको कार्यशैलीले नोकरशाही केन्द्रीयता जन्माउँछ, निरंकुशता जन्माउँछ र यसले अन्ततः जन्माउँछ-अराजकता ।

एमाले अध्यक्ष केपी ओली यहाँ एक व्यक्ति भन्दा अतिरिक्त शक्ति हासिल गरेका एक मर्यादाक्रमको शीर्षस्थानमा रहेका नेता हुन् । ओली कहिले आफ्ना समकालीन र अग्रज नेतालाई देशद्रोही र गद्दार घोषणा गरिदिन्छन् । कहिले आम माफी दिन्छु भन्छन् । यो गम्भीर आरोप र निर्णयका लागि उनलाई पार्टीको बैठक बस्नुपर्दैन ।

संसदबाट बोलिरहँदा उनले अर्को चुनावपछि बलियो प्रधानमन्त्री बनेर यही ढोकाबाट छिर्ने उद्घोष गर्छन् । उनलाई आगामी निर्वाचनमा पार्टीले प्रधानमन्त्रीको उम्मेदवार बनाउने कुरा उनी आफैंले निर्णय गरिदिए पुग्छ । उनी आफैं पार्टी अध्यक्ष र प्रधानमन्त्रीको रूपमा यही मेरो अन्तिम कार्यकाल हो पनि भनिदिन्थे । तर, बुधबारको पत्रकार सम्मेलनमा उनले पुनः शक्तिशाली अध्यक्ष बन्ने संकेत गरे ।

पार्टी बैठकको आधिकारिक निर्णय बिना ओलीलाई यी सबै कुरा मुडअनुसार बोलिदिने शक्ति कहाँबाट आउँछ ? जवाफ स्पष्ट छ- पार्टीभित्र लोकतन्त्र कमजोर छ । यसले खास नेताहरूलाई अतिरिक्त शक्ति प्रदान गरिरहेको छ । ओलीसँग अहिले त्यही अतिरिक्त शक्ति छ- जुन लोकतान्त्रिक पार्टीको अध्यक्षसँग हुँदैन ।

मंगलबार बसेको स्थायी समिति बैठकमा उनले विगतका समस्याहरू अर्थात् संसद विघटन लगायतका मुद्दालाई ‘उपयुक्त समय’मा समीक्षा गर्ने बताए । त्यो उपयुक्त समय भनेको कहिले हो ? यसको तय कसले गर्ने ? एमालेभित्र यस्तो उपयुक्त समयलाई मूर्तिकृत गर्न कसैले सक्छन् भने ती हुन्- केवल केपी ओली ।

जसपा नेता तथा लेखक डम्बर खतिवडा भन्छन्, ‘गणेशमान-किशुनजीले नेपाली कांग्रेस छाडेर मर्नु, आन्दोलनका पर्यायझैं बनेका बाबुराम-वैद्यले माओवादी छाड्नु र अहिले माधव-झलनाथ एमाले छाड्न बाध्य हुनु सारमा एउटै घटनाको पुनरावृत्ति हो र त्यसको अर्थ हो- अतिरिक्त शक्तिको सिद्धान्त क्रियाशील हुनु ।’

उनको बुझाईमा कम्युनिष्टहरूले अतिरिक्त मूल्यको कुरा धेरै गरे तर अतिरिक्त शक्तिको खराबीको मुद्दा कसैको प्राथमिकतामा परेन । ‘आर्थिक मात्रै होइन, राजनीतिक शक्तिको समेत समन्यायिक वितरण बिना सभ्य, सुसंस्कृत र समृद्ध समाज सम्भव हुन्न,’ नेता खतिवडा भन्छन्, ‘लोकतन्त्रको लोकतान्त्रिकरणका सन्दर्भमा यो एक महान वादविवादको विषय हो ।’

 बुखारिनको याद

लामो इतिहास बोकेको एउटा शक्तिशाली पार्टीको एकता जोगाउन भूमिका खेल्नु सकारात्मक काम हो । तर, एमालेको तेस्रो धारले न पार्टी एकता जोगाउन सक्यो, न पार्टीको रुपान्तरणको लागि महत्वपूर्ण समझदारी बनाउन सक्यो ।

भनिन्छ- कहिलेकाहीँ सुखद नियतले पनि दुःखद नियति निम्त्याउन सक्छ । नियत र नियतिको अन्तरविरोधलाई चित्रित गर्न स्टालिनकालीन कम्युनिष्ट नेता बुखारिनलाई सम्झिनुपर्छ ।

लेनिनबाट ‘द गोल्डेन ब्वाई अफ रिभोल्युसन’ अर्थात् क्रान्तिको सुनौला केटोको उपनाम पाएका बुखारिनको प्रसङ्ग यतिबेला स्मरणीय हुनसक्छ । ट्राटस्कीलाई एक्ल्याएर स्टालिनलाई शक्तिशाली बनाउन भूमिका खेलेका बुखारिन र स्टालिनले लामो सहकार्य गरे ।

जब सत्ता र शक्तिको लडाईं सुरु हुन थाल्यो- बुखारिन स्टालिनबाटै पक्राउ परे । उनले स्टालिनकै जेलबाट आफूलाई नमार्न बिन्ती बिसाउँदै पत्र लेखिरहे । भावशुन्य स्टालिनले बुखारीनलाई बध मैदानमा गोली ठोकेर मार्न लगाए । बुखारिनले स्टालिनको हातबाट म किन मरेँ भनेर थाहा नपाई मर्नुपर्‍यो ।

जब शक्ति र सत्ताको प्रश्न आउँछ, त्यतिबेला अहिले सम्झौता गरेजस्तो सालीन बैठक हुनेछैन । कमजोर रसायनले जोडेको मित्रता त्यतिबेला तोडिनेछ । आधुनिक विश्वमा यस्तो अवस्था तेस्रो धारका नेताहरूलाई आउनेछैन । तर यो दुःखको आधुनिक संस्करण भने दोहोरिन सक्नेछ ।

साम्यवादी कम्युनिष्ट दमनको त्यो जमानामा बुखारिनले भौतिक हिसाबले नै आफ्नै साथीको आदेशबाट मारिनुपर्‍यो । एमालेभित्र ओली आफूलाई चुनौती दिनेलाई देख्नै नसक्ने नेताको रूपमा नेतृत्व गर्दै आइरहेका छन् । आजको युगका केही आशा गरिएका योद्धाले राजनीतिक मृत्युको बाटो रोजे भने त्यो भौतिक मृत्युभन्दा कम भने हुनेछैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सुदर्शन खतिवडा

ट्रेन्डिङ

Advertisment