+
+

‘नेपालका तारे होटलका संरचना अपाङ्गमैत्री छैनन्’

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ९ गते १८:४८

९ भदौ, काठमाडौं । नेपालका तारे होटलमा बनेका संरचना पहुँचयोग्य (अपाङ्गता भएका पाहुना) पर्यटक मैत्री) नभएको पाइएको छ ।

अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को एक अध्ययनले यस्तो देखाएको हो । नेपालका पर्यटक स्तर त्योभन्दा माथिका तारे स्तरका ९० होटल र त्यसमा संलग्न व्यवसायीसँगको अध्ययनबाट प्रतिवेदन बनाइएको छ ।

प्रतिवेदन अनुसार ९५ प्रतिशत होटल व्यवसायीले पहुँचयोग्य पर्यटनको अवधारणाबारे आफूहरु जानकारी रहेपनि त्यस प्रकारका पूर्वाधार नभएको बताएका छन् ।

पहुँचयोग्य पर्यटन बजार विस्तार गर्न आवश्यक पर्ने लगानी नै त्यस्ता सुविधा बन्न नसक्ने कारण समेत अध्ययनले निष्कर्ष निकालेको छ । आईएफसी र राष्ट्रिय अपाङ्ग महासंघको आर्थिक तथा प्राविधिक सहयोगमा आर्थिक पत्रकार समाज सेजनले प्रतिवेदन तयार पारेको हो ।

अधिकांश होटलमा पुराना संरचना

अध्ययनअनुसार नेपालका अधिकांश होटलका संरचना पुराना भइसकेका छन् । अपाङ्गता भएका व्यक्तिलाई सहज हुने गरी संरचना नबनाइएका कारण यस्तो पाहुना होटलमा आकर्षित समेत नहुने गरेको अध्ययनको भनाइ छ ।

राष्ट्रिय–अन्तर्राष्ट्रिय अध्ययनले समावेशी पर्यटनका पूर्वाधार तयार पार्दा लगानीको शून्य दशमलव २ प्रतिशत मात्र खर्च थपिने बताए पनि होटलले यस्तो संरचना थप्न सकेका छैनन् । अधिकांश होटलमा अपाङ्गता भएका व्यक्तिको आवतजावतका लागि चाहिने भिराला र्‍याम्प, ह्विलचियर तथा अन्य पूर्वाधारमा पर्याप्त लगानी गर्न सकेका छैनन् ।

सरकारी निकाय नै अनभिज्ञ

अध्ययनमा सुलभ पर्यटनको अवधारणाबारे सरकारी निकाय समेत अनभिज्ञ रहेको देखिएको छ ।
सरकारी विभाग र नीति निर्माणाबीच समावेशी सुलभ पर्यटनको अवधारणा केहो भन्ने जानकारीसम्म नभएको अध्ययनको निष्कर्ष छ । नयाँ बन्ने पूर्वाधारसमेत त्यसतर्फ सचेत नहरेको देखिएको छ ।

अध्ययनले समावेश पहुचयोग्य सुलभ पर्यटन प्रवद्र्धन गर्न सरकार, निजी क्षेत्र र दातृ निकायबीच सहकार्य अनिवार्य भएको निष्कर्ष समेत निकालेको छ । सुलभ पर्यटनको अवधारणामा अपाङ्गता भएका व्यक्तिसँगै गर्भवती अवस्थाका महिला, बिरामी, बालबालिका र काखे नाबालक भएका परिवारका सदस्यको आवश्यकतामा समेत उपयोगी हुन्छ ।

अपाङ्गमैत्री पूर्वाधार र सेवामा लगानी गर्न सके विश्वव्यापी रुपमा बढ्दो सुलभ पहुँचयोग्य पर्यटन प्रवर्द्धन हुने र त्यसले देशको आर्थिक वृद्धिमा समेत सहयोग पुग्ने अध्ययनले देखाएको छ ।

अध्ययनमा के–के देखियो ?

आईएफसीको अध्ययनले अहिले सञ्चालनमा रहेका अधिकांश होटलमा अपाङ्गता भएका व्यक्तिको आवतजावतका लागि लिफ्ट र भिराला र्‍याम्प मात्रै रहेको, अध्ययनमा समावेश भएका १७ प्रतिशत होटलले दृष्टिविहीन पाहुनाको सहयोगका लागि संकेत चिन्ह राखेको देखाएको छ । बाँकी ७४ प्रतिशत होटलले ढोका बाहिर वा कोठाको निर्देशिका पुस्तकमा ब्रेल लिपी वा संकेत चिन्हको प्रयोग गरेका छैनन् ।

अध्ययनले ९ प्रतिशत होटलका कर्मचारी पहुँचयोग्य पर्यटन र विशिष्ट क्षमता भएका पाहुनावारे प्रशिक्षित रहेका र ३३ प्रतिशत होटलमा अपाङ्ग अतिथिका लागि अतिरिक्त ह्विलचेयरको व्यवस्था रहेको देखाएको छ ।

के भन्छन् सरोकारवाला ?

पछिल्लो समय सुलभ, पहुँचयोग्य वा समावेशी पर्यटनको अवधारणाले विश्वव्यापी मान्यता पाएको चर्चा गर्दै आईएफसीको भुटान, बंगलादेश र नेपाल मामिला हेर्ने देशीय निर्देशक वेन्डी वार्नरले भएका पर्यटन गन्तव्यहरुमा अपाङ्ग, अशक्त वा अरु सबै उमेर समूहको पहुँच विस्तार गर्न सके मात्र पनि पर्यटन क्षेत्रको दिगो विकास हुने बताएकी छिन् ।

प्रतिवेदन सार्वजनिक गर्न बुधबार आयोजित कार्यक्रममा उनले सुलभ पर्यटनले मानव अधिकारको सुनिश्चिततासँगै व्यवसायिक अर्थ समेत राख्ने बताइन् ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष मित्रलाल श्रेष्ठले वार्षिक विश्वभरबाट करिब २ हजार अपाङ्गता पर्यटक नेपाल भ्रमण गर्न आउने गरेको जानकारी दिए । सुलभ पर्यटनका सुविधा र अपाङ्गमैत्री पूर्वाधार बन्नसके यस्ता पर्यटकको संख्या सहजै बढ्ने उनले बताए ।

होटल एसोसिएसन नेपाल (हान)की अध्यक्ष सृजना राणाले सुलभ पहुँचयोग्य पर्यटन बजार विस्तार गर्ने अवधारणा नेपालका लागी नयाँ प्रयोग हुने बताइन् । त्यसका लागि पर्यटन व्यवसायीले अपाङ्ग मैत्री पूर्वाधार तयार गरी यसबाट प्रशस्त फाइदा लिन सक्ने बताइन् । ‘पर्यटन बजार विस्तार हुने गरी हाम्रा होटलमा सुविधा थप्न हामी व्यवसायी तत्पर छौं’, उनले भनिन्, ‘नीतिगत रुप मै सुलभ पर्यटनको अवधारणालाई कार्यान्वयनमा लैजानु पर्छ ।’

नेपाल पर्यटन बोर्डका मुख्य कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले सरकार, सरोकारवाला र होटल व्यवसायीले सहकार्य गरेर सुलभ पर्यटनको अवसरबाट फाइदा लिनुपर्ने बताए ।

युएनडीपीका सह–आवासीय प्रतिनिधि बर्नर्ड कोकोले कोरोना कहरले अर्थतन्त्र थिलोथिलो परेका बेला सुलभ पर्यटनको ढोका खोल्न सके अर्थतन्त्रलाई समेत फाइदा पुग्ने बताए ।

राष्ट्रिय अपाङ्ग महासंघका महासचिव राजु बस्नेतले अपाङ्गहरुले नेपालका होटलमा सुलभ सेवा र आवश्यक पूर्वाधार नभएकै कारणले असमान व्यवहार भोग्नुपरेको गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?