
१० भदौ, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना (साउन २०७८)मा वैदेशिक व्यापार उत्साहजनक देखिएको छ । आयात र निर्यात दुवैमा उच्च वृद्धि भएको यो महिनामा निर्यातको वृद्धिदर ११५.८५ र आयातको वृद्धिदर ७५.६६ प्रतिशत पुगेको छ ।
भन्सार विभागका अनुसार साउनमा कुल १ खर्ब ५० अर्ब ७३ लाख रुपैयाँ बराबरको आयात भएको छ । यो गत आवको यसै अवधिको तुलनामा ७५.६६ प्रतिशत बढी हो । गत आव २०७७/७८ को पहिला महिना (साउन)मा कुल ८५ अर्ब ८० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
यो महिनामा निर्यात २० अर्ब ७६ करोड मूल्य बराबरको भएको छ । यो गत वर्षको साउन महिनाको तुलनामा ११५.८५ प्रतिशत बढी हो । आव २०७७/७८ मा ९ अर्ब ६२ करोड रुपैयाँ बराबरको मात्र वस्तु निर्यात भएको थियो ।
पहिलो महिनामै १ खर्ब २९ अर्ब बराबरको व्यापार घाटा
उच्च आयात र कम परिमाणको निर्यातका कारण व्यापार घाटा भने पहिलो महिनामै चुलिएको छ । साउनमा व्यापार घाटाा १ खर्ब २९ अर्ब ९६ करोड रुपैयाँ बराबरको भएको छ । साउनमा व्यापार घाटा गत वर्षको यसै अवधिको तुलनामा ७०.५९ प्रतिशतले बढेको छ । गत आवको यो महिनामा व्यापार घाटा मात्र ७६ अर्ब १८ करोड ७९ लाख रुपैयाँ रहेको थियो । यो महिनामा कुल वैदेशिक व्यापारमा समेत उच्च वृद्धि भएको छ । साउनमा नेपालको कुल वैदेशिक व्यापारको आकार १ खर्ब ७१ अर्ब ४९ करोड रुपैयाँ नाघेको छ ।
वैदेशिक व्यापारमा निर्यातको हिस्सा समेत ह्वात्तै बढेको छ । अब १ सय रुपैयाँ बराबरको वैदेशिक व्यापार हुँदा त्यसमा निर्यातको हिस्सा १२.११ प्रतिशत हुन्छ । गत वर्ष साउनमा निर्यातको हिस्सा मात्र १०.०८ प्रतिशत रहेको थियो । व्यापारमा आयातको हिस्सा भने ८७.८९ प्रतिशत रहेको छ । यो गत आवको यसै अवधिको तुलनामा २.२५ प्रतिशत कम हो । गत आवमा आयातको हिस्सा ८९.९२ प्रतिशत रहेको थियो ।
१८ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक वर्षको पहिलो महिनामा नेपालले सबैभन्दा बढी आयात पेट्रोलियम पदार्थ गरेको छ ।
भन्सार विभागका अनुसार साउनमा १८ अर्ब १३ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात भएको छ ।
यो महिनामा नेपालले १४ अर्ब ४६ करोड रुपैयाँ बराबरको फलाम तथा स्टील आयात गरेको तथ्यांक छ । वनस्पतिसहितको तेल तथा घ्यूजन्य वस्तुको आयात १२ अर्ब ७७ करोड रुपैयाँ बराबेको भएको छ ।
एक महिनामा विद्युतीय सामग्रीको आयात १२ अर्ब २३ करोड र मेसिनरी सामानको आयात १० अर्ब ८३ करोड रुपैयाँ बराबरको भएको छ ।
नेपालबाट के निर्यात भयो ?
एक महिनाको अवधिमा नेपालले भने सबैभन्दा बढी तेलजन्य वस्तुको निर्यात गरेको छ । अहिले भट्टमासको तेल नेपालबाट सबैभन्दा बढी निर्यात भइरहेको छ ।
तेलजन्य वस्तुको निर्यात ११ अर्ब ९३ करोड रुपैयाँ बराबरको निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । कफी र चियाको निर्यात ८० करोड रुपैयाँ बराबरको रहेको छ ।
भारतबाट ८९ अर्बको आयात, १७ अर्बको निर्यात
नेपालको सबैभन्दा धेरै अन्तर्राष्ट्रिय व्यापार भारतसँग रहेको छ । भारतबाट नेपालमा कुल ८९ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । नेपालबाट भने १६ अर्ब ८६ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । भारतसँग नेपालमा व्यापार घाटा ७२ अर्ब ६१ करोड रुपैयाँ बराबरको रहेको छ ।
भारतपछि ठूलो व्यापार चीनसँग रहेको छ । नेपालमा चीनबाट २० अर्ब ९७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । नेपालबाट चीनतर्फ भने मात्र ८ करोड रुपैयाँको वस्तु निर्यात भएको छ ।
एक महिनाको अवधिमा नेपालको वैदेशिक व्यापार १ सय भन्दा बढी मुलुकसँग भएको देखिएको छ ।
२५ भन्सार विन्दुबाट हुन्छ व्यापार, सबैभन्दा बढी वीरगन्जबाट
नेपालले कुल २५ भन्सार विन्दुबाट अन्तर्राष्ट्रिय व्यापार गरेको छ । यसमध्ये सबैभन्दा बढी व्यापार वीरगञ्जबाट हुने गरेको छ । तथ्यांक अनुसार वीरगञ्जबाट ५० अर्ब ४६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । ९ अर्ब ५९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।
भैरहवा नाकाबाट २५ अर्ब २९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो नाकाबाट ८५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।
विराटनगर नाकाबाट १८ अर्ब ४० करोडको आयात र ५ अर्ब ८६ करोडको वस्तु निर्यात भएको छ ।
चीनतर्फ रसुवागढी नाकाबाट २ अर्ब ३९ करोड रुपैयाँको आयात भएको छ । यहाँ निर्यात शून्य छ । चीनको नाका तातोपानीमा समेत निर्यात शुन्य रहेको छ । त्रिभुवन विमानस्थलबाट भने १७ अर्ब ८६ करोड र निर्यात २ अर्ब ९० करोड रुपैयाँ बराबरको रहेको छ ।
प्रतिक्रिया 4