+
+

तीन वर्षलाई भनिएको सिसडोलमा १६ वर्षसम्म लादिंदैछ फोहोर

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ भदौ १३ गते २१:३३

१३ भदौ, काठमाडौं । भनिन्छ, संसारमा हरेक कुराको एउटा सीमा हुन्छ । तर, काठमाडौं उपत्यकाको फोहोर बोकेर बसेको नुवाकोटको ओखरपौवास्थित सिसडोलले सीमाभन्दा निकै ठूलो फोहोरकाे पहाड बोकिरहेको छ । तीन वर्षका लागि भनेर बनाइएको सिसडोलको ल्यान्डफिल साइटमा १६ वर्षसम्म फोहोर लाद्ने काम हुँदा पनि व्यवस्थापकहरुले चासो दिएका छैनन् ।

महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार सिसडोलमा मूल सडकबाट फोहोर व्यवस्थापन गर्नुपर्ने ठाउँसम्म पुग्न करीब ४०० मिटर फोहोरको पहाडमाथि बनेको अस्थायी सडकबाट जानुपर्छ ।  ‘नियमित झरीले गर्दा सो सडक भासिने भएपछि फोहोर बोकेर गएका ट्रकहरु त्यहाँ पुग्न सकस छ’ श्रेष्ठ भन्छन्,’सामान्य अवस्थामा दैनिक १५० वटा ट्रक पुग्ने साइटमा अहिले बढीमा ५० वटा मात्र पुग्ने गरेका छन् ।’

गाडी अलपत्र, फोहोर सडक र घरभित्र

गाडीले फोहोर फाल्न नसकेपछि शहरबाट फोहोर उठाउने काम प्रभावित भएको छ । काठमाडौं महानगरपालिकासहित उपत्यकाका अन्य महानगर तथा नगरपालिकाले सूचना नै निकालेर शहरवासीलाई फोहोर बाहिर ननिकाल्न भन्दै आएका छन् । करीब महीना दिनदेखि धेरै उपभोक्ताको घरभित्रै फोहोर थुप्रिएको छ । सडक, नदी किनार, गल्ली र चोकमा पनि फोहोरका डंगुर छन् ।

फोहोर बोकेर गाएका सवारी ल्यान्डफिल साइटभन्दा तल लामबद्ध छन् । सडकको दुरवस्थाले फोहोर फाल्ने स्थानसम्म सवारी पुग्न सक्ने अवस्था नै छैन।

ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्ने ठाउँको समेत अभाव छ । हरेक साल वर्षायाममा यही समस्या दोहोरिंदै आएको छ । खोल्साखाल्सीमा डोजर चलाएर थोरै-थोरै ठाउँ निकाल्दै फोहोर व्यवस्थापन गरिरहेको महानगरलाई वर्षायाम लागेपछि गाडीहरु नै फोहोरकाे लिच्चडमा धसिने समस्याले पिरोल्ने गरेको छ ।

स्यासुरेसनमा सिसडोल 

सिसडोलमा फोहोर विसर्जन गर्ने ठाउँ निकाल्नै मुश्किल पर्न थालिसकेको साइटका इन्चार्ज इन्जिनियर सरकारदीप श्रेष्ठ बताउँछन् । उनका अनुसार साइटको क्षमता पटक-पटक बढाइएको छ । अब भने सिसडोल ‘ओभर स्याचुरेटेड’ भएको छ ।

ल्यान्डफिल साइटको क्षमताले नभ्याएर फोहोर पुरेको ढिस्को भासिने जोखिम रहेको  महानगरका अधिकारीहरू बताउँछन् । सिसडोलको विकल्प नखोजिए काठमाडौंमा फोहोरकै प्रकोप सिर्जना हुने जोखिम रहेको महानगरका अधिकारीको आकलन छ । ल्यान्डफिल साइट प्राविधिक रुपमा निकै कमजोर अवस्थामा सञ्चालन भइरहेकाले विकल्पका लागि बञ्चरेडाँडामा भइरहेको काम तीव्र बनाउन महानगरको माग छ ।

काठमाडौं उपत्यकामा उत्पादन भएको घरेलु फोहोर संकलन तथा ढुवानी गरेर नुवाकोट जिल्लाको तत्कालीन ककनी गाविस (अहिले ककनी गाउँपालिका)को ओखरपौवा क्षेत्रमा व्यवस्थापन गर्न थालिएको थियो । २०६२ जेठ २२ गतेबाट सो क्षेत्रमा फोहोर व्यवस्थापन गर्न थाल्दा साइटले तीन वर्ष धान्ने अनुमान थियो ।

ओखरपौवाको क्षमता सकिएपछि आलेटारमा फोहोर व्यवस्थापन गरियो । आलेटारको पनि क्षमता सकिएपछि सिसडोल ल्यान्डफिल साइटकै क्षमता बढाएर फोहोर व्यवस्थापन गरिंदै आएको छ ।

त्यस समयमा काठमाडौं महानगरपालिका र ललितपुर उपमहानगरपालिका (हाल महानगरपालिका) बाट दैनिक ३७५ मेट्रिक टनसम्म फोहोर पुग्ने गरेको थियो । यो परिणामलाई आकलन गरेर तीन वर्षको क्षमता भनिएको थियो, तर क्रमशः फोहोरको मात्रा बढ्दै तेब्बर पुगेको छ ।

तीन वर्षको अवधिमा बञ्चरेडाँडाको पूर्वाधार तयार पारेर २०६५ सालबाट फोहोर व्यवस्थापन शुरु गर्ने लक्ष्य थियो । तर, लक्षित समयको १३ वर्षसम्म पनि बञ्चरेडाँडाको पूर्वाधार बनेको छैन ।

स्थानीय र सरोकारवालाबीच असमझदारी बढ्दा १३ वर्षको बीचमा कैयौंपटक फोहोर बोकेर गएको गाडीलाई अवरोध भएको छ । कुनै बेला लगातार चार महीनासम्म फोहोर फाल्न अवरोध भएको  अवस्था समेत छ ।

तर, समस्याको दीर्घकालीन समाधान नगर्दा वर्षैपिच्छे फोहोर उठाउन नसकिने समस्या दोहोरिरहेको छ । फोहोर नउठ्दा वैकल्पिक उपाय लगाउनेतिर पनि महानगर तथा नगरपालिकाहरूले चासो दिएका छैनन् ।

उत्पादन उच्च, व्यवस्थापनमा बेवास्ता 

सामान्य अवस्थामा काठमाडौं महानगरपालिका र आसपासका नगरपालिकाबाट दैनिक औसतमा १ हजार ५४ टन फोहोर सिसडोलमा पुग्ने गरेको छ । काठमाडौंबाट दैनिक औसत ५१७ टन र ललितपुर महानगरपालिकासहित आसपासका नगरबाट ५३७ टन फोहोर उठ्नुपर्ने हो ।

ललितपुर महानगर क्षेत्रबाट १३० मेट्रिक टन फोहोर संकलन गरेर ल्यान्डफिल्ड साइटमा पुर्‍याउने गरिएको छ । उपत्यकाकाे गोकर्णेश्वर नगरबाट दैनिक ६० मेट्रिक टन फोहोर उत्पादन हुन्छ । नागार्जुन, टोखा, तारकेश्वर र बूढानीलकण्ठ नगर क्षेत्र हरेकबाट ३५/३५ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको तथ्यांक छ ।

चन्द्रागिरि, महालक्ष्मी र मध्यपुरथिमि नगर क्षेत्रबाट दैनिक ३०/३० मेट्रिक टन फोहोर उत्पादन हुन्छ । गोदावरी र सूर्यविनायक नगर क्षेत्रबाट २५/२५ मेट्रिक टन, कागेश्वरी मनोहरा नगर क्षेत्रबाट २० मेट्रिक टन तथा दक्षिणकाली र चाँगुनारायण नगर क्षेत्रबाट १५/१५ मेट्रिक टन फोहोर संकलन हुने गरेको छ ।

शंकरापुर नगर क्षेत्रमा ८ मेट्रिक टन र सबभन्दा कम कीर्तिपुर नगरमा दैनिक ६ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ ।

उपत्यकाका महानगरपालिका र नगरपालिकाबाहेक नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगर क्षेत्रको फोहोर पनि सिसडोल ल्यान्डफिल साइटमा आउने गरेको छ । तर, अहिले सबैतिर फोहोर उठाउने काम लगभग बन्द भएको छ ।

तर, तीनै तहका सरकार कानमा तेल हालेर बसेका छन् ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

निर्माणाधीन बञ्चरेडाँडा साइट, जसको कहिले निर्माण भइसक्छ भन्ने टुंगो छैन ।
निर्माणाधीन बञ्चरेडाँडा साइट, जसको कहिले निर्माण भइसक्छ भन्ने टुंगो छैन ।
लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?