+
+

‘एयर भल्भ’ नबनाउँदा मेलम्ची सुरुङमा पनि सुरक्षा खतरा

हेडवर्क्स र सुरुङको सुरक्षामाथि महालेखाको प्रश्न

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ भदौ १५ गते १२:१६

१५ भदौ, काठमाडौं । मेलम्चीमा भीषण बाढी मेलम्ची खानेपानी आयोजनाको सुरुङ अहिले बन्द छ । सुरुङ सुपरीवेक्षणका लागि पानी भर्न बन्द गरिएको दिन गत असार १ गते आएको बाढीले हेडवर्क्स पुरेपछि आयोजनाको भविष्य अनिश्चित छ । यही बेला महालेखा परीक्षकको कार्यालयले आफ्नो वाषिर्क प्रतिवेदनमा सुरुङको सुरक्षा अवस्थाबारे पनि प्रश्न उठाएको छ ।

महालेखाको ५८औं वाषिर्क प्रतिवेदनले सुरुङभित्र आवश्यक ‘सेफ्टी एयर भल्भ’ नबनाइएको भन्दै पानी भरेको अवस्थामा सुरुङको सुरक्षामा असर पर्न सक्ने बताएको छ । यो पानी भर्दा र सुरुङ खाली गर्दा हावा निकासा हुने प्रयोजनका लागि आवश्यक हुन्छ ।

आयोजनाको २७.५८ किलोमिटर लम्बाइको टनेलमा पानी पठाएपछिको आन्तरिक र बाहृय प्रेसर थेग्नको लागि सेफ्टी  भल्भको आवश्यकता पर्छ । यस्तो प्रेसर भल्भ नराख्दा कारणले अम्बाथान (३ हजार २०० मिटर)मा नै पानी भरिएको स्थितिमा गेटले प्रेसर थाम्न नसकी भत्किँदा २०७७ आसारमा २ जनाले ज्यान गुमाएका थिए ।

‘आयोजनाले अल्पकालीन प्रेसर व्यवस्थापनका लागि गेटमुनि रहेको वासआउट चेनेजमा अस्थायी प्रेसर भल्भ राखी व्यवस्थापन गरेको र एयर प्रेसर मिलाउन अस्थायी रूपमा विछ्याई पाइप खुल्ला रूपमा राखेको देखियो,’ महालेखाले प्रतिवेदनमा भनेको छ,’यस्ता ठूला संरचनामा अस्थायी रूपमा गरिएको व्यवस्थामा सुधार नगरी टनेलमा पानी भर्ने कार्यले दीर्घकालीन समाधान हुने देखिँदैन ।’

प्राविधिक पक्षको थप विश्लेषण गरी उक्त कार्यमा सुधार गर्न महालेखाले सरकारलाई सुझाव दिएको छ ।

आयोजना एक अधिकारी पनि पहिलोको डिजाइन अनुसार भल्भ नबनबई पानी भर्ने काम भएको स्मरण गर्छन् । यसले गर्दा सुरुङभित्र जम्मा हुनसक्ने हावा ‘रिलिज’ हुन नसके सुरुङ जतिबेला पनि दुर्घटनामा पर्न नसक्ने बताउँछन् ।

‘खानेपानीको पाइपमा एयर चेम्बर र भल्भ नराख्ने हो भने फुट्ने समस्या भएको जस्तै सुरुङमा पनि यस्ता जोखिम हुन्छन्,’ ती अधिकारी भन्छन्,’महालेखाले भोलि सुरुङ यही कारणले खुम्चिन वा अन्य खालका दुर्घटनामा पर्नसक्छ भनेर औंल्याएको हुनुपर्छ । भविष्यमा यस्तो जोखिम छ ।’

हेडवर्क्सको डिजाइन जोखिमयुक्त

महालेखाले आयोजनाको हेडवर्क्स पनि असुरक्षित रहेको औल्याएको छ । महालेखाको प्रतिवेदन सार्वजनिक हुनुअघि नै प्रतिवेदनले जोखिम औल्याए जसैगरी हेडवर्क्स बाढीले क्षतिग्रस्त भएको छ ।परामर्शदाताले हेडवर्क्सको निर्माणस्थल छनौट गर्दा टनेलको लम्बाई, नेचुरल रक, भौगोलिकलगायत साइटको अवस्था विश्लेषण गर्दा मेन हेडवर्क्सको पश्चिम साइटको पहाडमा ग्राउटिङ गर्दा ठूलो लगानी गरेको प्रतिवेदनमा उल्लेख छ ।

‘पूर्वी तटको भौगोलिक बनावट अत्यन्त ‘कच्चा खालको भूभाग’को कारणले ठूलो पहिरो गएको, जसको कारणले निर्मित हेडवर्क्सको संरचना नै जोखिममा रहेको छ,’ प्रतिवेदनमा भनिएको छ,’परामर्शदाताले भौगोलिक बनावटको अवस्था विश्लेषण गरी न्यून जोखिम हुने स्थान छनौट नगरी कार्य अगाडि बढाएकोले हेडवर्क्सको निर्मित संरचना जोखिमयुक्त क्षेत्रमा परेको छ ।’

सो संरचनाको संरक्षणका लागि थप खर्च लाग्ने अवस्था देखिए तापनि सो कामको शुरुवात नभएको महालेखाले प्रतिवेदनमा औंल्याएको छ ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?