+
+

‘बाईबाई’ पत्रकारिता

राजेन्द्र मानन्धर राजेन्द्र मानन्धर
२०७८ भदौ १५ गते १३:३६

नेकपा एमाले यतिबेला देशभरि संगठित सदस्यता अद्यावधिक गर्ने अभियानमा छ । लथालिङ्ग पार्टी सदस्यताको ढड्डालाई एमालेले झण्डै पाँच वर्षपछि व्यवस्थित गर्न लागेको हो । यसैक्रममा दोलखाको भीमेश्वर नगरपालिकाका गाउँबस्ती घुमिसकेपछि मलाई यो अनुभूति लेख्न मन लाग्यो ।

एमालेको राजनीतिक जीवनमा संगठित सदस्य सबैभन्दा ताकतदार र लोभलाग्दो शक्ति हो । माओवादी केन्द्रसँग एकीकरणपछि संगठित सदस्यताको अभिलेख प्रणाली बिथोलिएको थियो ।

यसलाई चुस्तदुरुस्त बनाउन आयोजना गरिएका कार्यक्रममा भीमेश्वर नगरपालिकाभित्र वडास्तरका पार्टी कार्यक्रमहरुमा सहभागी भएँ । राजनीतिक कार्यकर्ताको हैसियतमा मञ्चमा विचार व्यक्त गरें ।

यस अघिसम्म मेरो परिचय सक्रिय पत्रकारको रुपमा थियो । प्रगतिशील विचारधाराको व्यावसायिक पत्रकार हुँ भन्दा मलाई गर्व लाग्थ्यो । पत्रकारिताको साख जोगाउन मेरा कलमले सत्य, तथ्य, निष्पक्ष र इमानको मसी मात्र पोख्यो ।

जुन दिनसम्म सक्रिय पत्रकारितामा रहें त्यसको मर्यादाभित्र बसें । अब राजनीति गर्छु । अब कम्मल ओढेर घिउ खान्न ।

एमालेको आस्था र राजनीतिसँग पत्रकारिता पेशा कहिल्यै जोडिन । सक्रिय पत्रकारितामा रहँदा राजनीतिक विचारहरुले भरिएका लेख लेखिन । खोज गरिएका समाचारमै ध्यान केन्द्रित गरें ।

यसपटक भने म विशुद्ध राजनीतिकर्मीको हैसियतमा पार्टीका मञ्चहरुमा उभिएँ । कार्यकर्ताको हैसियतमा मन्तव्य राखें । झण्डै दुई दशकपछि राजनीतिमा विचरित मनुवाको रुपमा प्रस्तुत भएँ ।

यसअघि मञ्चहरुमा बोल्दा पत्रकारकै परिचयमा बोलाइन्थ्यो र त्यही लवजमा बोल्थें । त्यसो त मेरो जीवनमा पत्रकारिता भन्दा सक्रिय राजनीति नै जेठो छ । विद्यार्थी संगठन अखिलको दोलखा जिल्ला अध्यक्ष भएको केही वर्षपछि मात्रै म नेपालको चर्चित दैनिक पत्रिकामा आबद्ध भएको थिएँ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको सिफारिसमा मन्त्रिपरिषद्ले सञ्चार विज्ञका रुपमा नियुक्ति दिएपछि १४ पुस २०७७ देखि म सक्रिय पत्रकारिताबाट टाढा भएँ । दुई दशक लामो स्थायी जागिर छाड्ने निर्णय गरेर कान्तिपुर पब्लिकेशनबाट राजीनामा दिएँ ।

यद्यपि अहिले पनि मसँग स्वतन्त्र पत्रकारको परिचयपत्र छ । सूचना तथा प्रसारण विभागबाट परिचयपत्र लिएको छु । १५ वर्षसम्म लेखिएका वार्षिक ६ वटाका दरले ९० वटा समाचारका छायाँप्रतिका साथमा तीन सय शब्दको पत्रकारिता मार्फत देशलाई गर्न सक्ने योगदानबारे लेख बुझाएपछि स्वतन्त्र पत्रकारको परिचयपत्र पाइँदो रहेछ ।

पत्रकारितामा अघि बढ्दा राजनीति सम्बन्धी लेखहरुका लागि कहिल्यै कलमको बिर्को उघारिनँ । करीब २५ वर्ष लामो सक्रिय पत्रकारिता नै मेरा लागि नेपाली जनजीवन, राजनीति र गोलमटोल समाज जान्ने/बुझ्ने विश्वविद्यालय बन्यो ।

अब मेरो परिचय पूर्णतः राजनीतिकर्मी हो । बाँकी दिनमा कुनै पनि प्रकाशक र सम्पादकको अधीनमा रहेर पत्रकारिता नगर्ने अठोट लिएको छु । जिन्दगीलाई कम्मल ओढेर घिउ खाएको कथा हुन दिन्न भन्नेमा छु । पत्रकारिता गरेको देखाउने र लुकुलुकी राजनीति गर्ने काम म गर्दिन । अब मैले बोल्ने कुरा र लेख्ने लेखहरुबाट स्वतन्त्र पत्रकारिताको व्याकरणको पालना नहुन पनि सक्छ ।

त्यसैले म अब मूलतः नेकपा एमालेको विचार र कार्यक्रमको वकालतकर्ता हुँ, एउटा व्यवसायिक पत्रकार होइन । मेरा पाठक र शुभचिन्तकहरुलाई मलाई अब यस रुपमा बुझ्न अपील गर्दछु । पत्रकारिता जीवनबाट म बाहिर निस्किएको हुनाले मेरा विचारलाई सोही बमोजिम ग्रहण गरिदिन अनुरोध गर्दछु । यसले मेरो मात्रै होइन नेपाली पत्रकारिता जगतको पनि भलो गर्छ भन्ने मेरो बुझाइ छ ।

नेकपा एमालेले आफनो दस्तावेजमा उत्पादनमा लाग्ने र जीविकोपार्जन गर्ने श्रमजीवीहरुलाई सच्चा पार्टी सदस्य भनेको छ । जीविकोपार्जनमा आधारित श्रमलाई निरन्तरता दिँदै सक्रिय राजनीतिको बाटो रोज्दा मलाई पुराना दिनहरुको याद आउँछ ।

विद्यार्थी संगठन र पार्टीको सक्रिय राजनीतिक युवाकालमा म दोलखाको सबैजसो गाउँ घुमेको छु । त्यसैगरी सक्रिय पत्रकारितामा प्रवेशपछि नयाँनयाँ ठाउँ खोज्दै दोलखाका कुनाकाप्चासम्म पुगेको छु । जसले मलाई मानिसहरुको वास्तविक जीवन गाथाको गहिराइ बुझ्न मद्दत गरेको छ । समाजको वर्गीय विभाजन र चरित्रमा राजनीति कसरी विकसित हुँदोरहेछ भन्ने मसिनोसँग ज्ञान लिने मौका मैले पाएको छु ।

दुई दशक लामो पत्रकारिताको अनुभवले दोलखामा धनी र गरीब बीच ठूलो खाडल छ भन्ने थाहा पाएको छु । त्यो खाडल पुर्न प्राकृतिक स्रोतको न्यायपूर्ण पहुँचको अभाव अझै देखिन्छ ।

प्राकृतिक स्रोतमा दोलखा जिल्ला नेपालकै अब्बल मानिन्छ । यहाँका जल, जंगल र जमिनको अथाह स्रोतको न्यायपूर्ण परिचालन नगर्ने हो भने वर्गीय खाडल कम गर्दै लैजान सकिन्न भन्ने मलाई लाग्छ । हेरांै यसतर्फको राजनीतिले मलाई कहाँ पुर्‍याउँछ ।

विश्वभरि नै जात, धर्म, रङ र क्षेत्रीय विभेदको ठूलो समस्या छ । त्यसैभित्र पसेर संसारभर राजनीति हुँदै आएको छ । तराई लगायत नेपालका अन्य भूभागमा यो समस्या अझै विकराल छ ।

दोलखामा भने यस्ता विषय त्यति धेरै सामना गर्नुपर्दैन । तर गरीबी र लैङ्गिक समावेशिताको सवालमा भने ध्यान दिनुपर्ने देखिन्छ । पत्रकारिताको झोला भिरेर दोलखाका बस्तीबस्ती हिँड्दा मैले यो अनुभव गरेको हुँ ।

दशकौं पत्रकारिता गरेर राजनीतिमा होमिएको छु । पत्रकारिताले मलाई समाजमा उभिएर विवेक प्रयोग गरेर बोल्न सिकाएको छ । हेरौं राजनीतिले मलाई के सिकाउँछ । तर यी दुईलाई म घोलघाल हुन चाहिँ दिन्नँ ।

हुन त पत्रकारिता पनि एक किसिमको राजनीति नै हो । राजनीतिक दर्शनमा राज्य सञ्चालनका कला अन्तर्गत मिडिया परिचालन पनि महत्वपूर्ण पक्ष हो । शासकहरुले मिडियाको दुरुपयोग गरेर अभिष्ट पूरा गरेका कैयौं दृष्टान्त छन् । त्यसैले मलाई कहिलेकाहीं मिडिया र राजनीति छुट्याउन पनि मुस्किल पर्छ ।

तर राजनीति र पत्रकारिता एकैपटक गर्नु र गोलमटोल गर्नु ठीक होइन भन्नेमा म स्पष्ट छु । दोलखामा बसेर पत्रकारिता गरिरहँदा मेरो जीवनमा एउटा घटना भएको छ । एक राजनीतिक दलका नेताहरुले समाचारको विषयमा ममाथि जिल्ला प्रहरी कार्यालयमा हमला गर्ने प्रयास गरेका थिए ।

‘जुगु हत्या प्रकरण’मा लेखिएको फिचर स्टोरीमा राजनीतिक पक्षधरता लिएको भन्ने उनको आरोप थियो । दुई पार्टी एकीकरणपछि पूर्वमाओवादीका नेताहरुलाई मैले उक्त प्रसंग सम्झाउँदा फिस्स हाँसेर उडाए । तर त्यो सत्यको खोज गरिएको पत्रकारितामाथि हमला थियो भनेर अहिलेसम्म पनि सम्झन्छु ।

उक्त प्रकरणपछि देशको एक ठूलो मिडियाका प्रतिष्ठित पत्रकार दोलखास्थित मेरो कार्यालयमा आउनुभयो । मिडियाका साथी भएकाले पुरानै चिनजान थियो । उहाँले जुगु घटनासँग जोडेर मसँग अन्तरवार्ता गर्ने प्रस्ताव गर्नुभयो ।

यसले राजनीतिक आँखाबाट पत्रकारिता गरिरहेको छ भन्ने पुष्टि गर्न उहाँ मसँग त्यो अन्तर्वार्ता गर्न लागेको अनुमान गरें । किनकि, उहाँको मिडियाले जुगु घटना ढाकछोप गर्ने खालका समाचार, लेखहरु दिएको मैले पढेको थिएँ ।

तर पनि मैले अन्तर्वार्ता दिन स्वीकार गरें । उहाँसँग मैले तपाईं त राजनीतिकर्मी पनि हो भन्दै ‘पत्रकार भएरै मसँग अन्तर्वार्ता लिनु आउनुभएको हो ?’ भनेर सोधें ।

‘पत्रकार भएर हो भने जुगु घटनामा देखेका र मैले लेखेका समाचारमा आधारित भएर प्रश्न सोध्नुहोस् । हैन तपाईं राजनीतिकर्मी हो भने जुगु घटनामा कसरी राजनीति भइरहेछ भन्ने प्रश्न सोध्नुहोस् भने ।’

उहाँ खुलेर हाँस्नुभयो । ‘राजेन्द्रजी मलाई अप्ठेरोमा पार्नुभयो, अन्तर्वार्ताको च्याप्टर क्लोज गरौं भन्नुभयो ।’ अनि एक–एक कप दूध पिएर हामी छुट्ट्यिौं ।

एउटा पत्रकारको सार्वजनिक छवि कुनै व्यवसायी वा राजनीतिक कार्यकर्ताको भयो भने काम गर्न कति असजिलो हुन्छ भन्ने मैले व्यवहारमै बुझेको थिएँ । राजनीति र पत्रकारितालाई साथै लाँदा यस्ता सन्दर्भ आइनै रहन्थे । मैले नै एमाले नेताहरुका कमजोरी लेख्दा नजिकका साथीहरु रिसाउँथे ।

परिस्थिति कतिसम्म असजिलो थियो भने बाहिरी दुनियाँले सधैं एमाले समर्थक भनेर ठुँगिरहन्थ्यो । नेपाल पत्रकार महासंघ दोलखा शाखाको दुई कार्यकाल अध्यक्ष पद सम्हाल्दा एमाले पार्टी पंक्तिले मेरा बारेमा ‘स्वतन्त्र हुन खोजेको’ भनेर आलोचना गर्थे ।

तर अब ममा कुनै दुविधा छैन । यसपटक म पूर्ण रुपमा पार्टी कार्यकर्ताको रुपमा कार्यक्रमहरुमा सहभागी हुँदा केही नयाँ अनुभूति गर्न पाएँ । अलग खालका कुण्ठा र आक्रोश भरिएका जमघटसँग साक्षात्कार गरें । केही आशा, केही निराशा बोकेका एमाले नेता, कार्यकर्ता र शुभचिन्तकसँग भेटें । अनेक खालका रमाइला, रोचक, ज्ञानवद्र्धक, उत्साहपूर्ण अनुभूति पनि गरें । ख्यालठट्टाहरुले भरिएका मन्तव्यसँग हाँसिमजाक पनि गरें ।

यो अभियानको क्रममा केही सक्रिय साथीहरु थिएनन् । उहाँहरु मूलधारको एमाले राजनीतिबाट फरक बाटोमा हिंडिरहनु भएको छ । २०५४ सालमा एमालेबाट विभाजन गरी नेकपा माले गठन हुँदाको अनुभवका आधारमा अलग यात्रा तय गर्नु असाध्यै कठिन काम हो भन्ने मलाई थाहा छ ।

दशकौं पत्रकारिता गरेर राजनीतिमा होमिएको छु । अगाडि जे जस्तो यात्रा भए पनि हिजो हिँडेको बाटोप्रति मलाई कुनै गुनासो छैन । पत्रकारिताले मलाई समाजमा उभिएर विवेक प्रयोग गरेर बोल्न सिकाएको छ । हेरौं राजनीतिले मलाई के सिकाउँछ । तर यी दुईलाई म घोलघाल हुन चाहिँ दिन्नँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?