Comments Add Comment

यो बाटो, त्यो बाटो…

२०५७ (जून–५)

राष्ट्रिय वनस्पति उद्यान हाम्रो लागि मात्र ‘वनस्पति’को नामले चिनिन्थ्यो । आज त्यही वनस्पतिमा राजा वीरेन्द्र वृक्षारोपण गर्न आउँदै हुनुहुन्छ भन्ने खबरले हामी सबै उत्साहित भएका थियौं । विश्व वातावरण दिवसको अवसर पारेर राजा वीरेन्द्र गोदावरीमा वृक्षारोपण गर्न आउनुहुन्थ्यो । अनि म जस्तै विद्यालयबाट भागेर वीरेन्द्रलाई हेर्ने जानेको गोदावरीमा लस्कर हुन्थ्यो ।

राजा आउने भएपछि हप्तादिन अगाडि ‘सातदोबाटो–गोदावरी’ बाटो सफा गरिन्थ्यो । वर्ष दिनभरि बिग्रिएको सडक बनाउने समय भनेकै यही बेला थियो । पाहुना आउँदा कार्पेट मुनि फोहोर लुकाउने आम नेपाली चरित्र र चलन नै हो । राजालाई नै छक्क हुने गरी सडक र आसपासको सरसफाइ गरिन्थ्यो । खाल्डा–खुल्डी विनाको बाक्लो पिच, चिल्लो सडक अनि हरियाली, शायद राजालाई पनि सातदोबाटोबाट गोदावरी लागेपछि आनन्द महसूस हुन्थ्यो होला ।

२०६०

म २०६० सालमा कक्षा ५ मा पढ्थें । असोजको महीना, आँगनमा ढकमक्क फुलेका फूलहरूले दशैंलाई स्वागत गर्न आतुर देखिन्थे । नौरथा अगाडि नै दशैंका लागि सामान खरीद गर्ने गाउँघरको चलन नौलो होइन । घरबाट भान्साको सामान खरीद गर्ने जिम्मा पाएकाहरू बाँडेगाउँ गएर तेल, बेसार, जीरा लगायतका मरमसला र आवश्यक सामग्री खरीद गर्दथे । गोदावरीवासीका लागि बाँडेगाउँ नै तेल–जीरा किन्ने मुख्य बजार रहेको थियो ।

भान्साको लागि आवश्यक पर्ने खाद्यान्न सामग्री बाहेकका लत्ता कपडा खरीद गर्न त लगनखेल नै पुग्ने गरिन्थ्यो । अहिले त टोल–टोलमा तोरीको तेल पेल्ने मेसिन उपलब्ध भइसकेको छ । टोल–टोलमा पसल खुलेका छन् । दशैं वा यस्तै ठूला चाडबाडमा किनमेल गर्नको लागि अहिले त खासै टाढा पुग्नु पर्दैन । न त नयाँ लुगा लगाउनको लागि दशैं नै कुर्नुपर्छ । यदि दशैंमै नयाँ लुगा किन्न पुग्यो भने पनि टोल–टोलमा राम्रै फेन्सी पसल खुलिसकेका छन् ।

गोदावरीदेखि लगनखेल १० कि.मि.को बाटो, गाउँमा ठूला-ठूला ‘मिलन ट्राभल्स’ नाम गरेका गाडीहरू चल्दथे । कसै–कसैका आगनमा मात्र मोटरसाइकल र निजी कार देखिन्थे ।

अहिले सम्झिंदा पनि रमाइलो लाग्छ, त्यस बेलाका सडकमा खाल्डा देखिंदैनथे । पानी जम्दैनथ्यो । चौडाइ ठुला त थिएनन् तर जाम हुँदैनथे । धूलो र हिलो थिएन । मान्छेहरू निर्धक्कसँग सेता–चम्किला कपडा लगाएर सडकमा हिंड्न सक्थे । न त त्यो सेतो कपडामा कुनै धूलो न त कुनै कस लाग्थ्यो । गाडी चढ्दा त झन् कपडा मैलिने सम्भावना नै भएन ।

वृक्षारोपणकै नाममा भए पनि कुनै विशिष्ट व्यक्ति अब फेरि कहिले आउलान् र गोदावरी जाने बाटो राम्रो बन्ला भनेर सोचिरहन्छु ।

त्यसैले म सानैमा पनि सेता चम्किला रंगका सट र पाइन्ट लगाएर मिलन ट्राभल्सको बसको पछाडि सिटमा बसेर हावा खाँदै दशैंको किनमेल गर्न जान्थें । त्यो समयको आनन्द अहिलेका साइजमा चौडा, तर खाल्डाखुल्डी र धूलोमैलो सडकमा हिंड्दा कहाँ पाउनु ? ती दिन साह्रै मिस हुन्छ । त्यो बेलाको आनन्द कसरी शब्दमा लेख्न सकिन्छ र ?

२०६७

म भर्खर क्याम्पस पढ्न शुरु गर्दै थिएँ । गोदावरीदेखि लगनखेलसम्मको भाडा १२ रुपैयाँ थियो । बाटोमा खाल्डा–खुल्डी पर्न शुरु गरिसकेका थिए । कुहिरी मण्डल धूलोले बस भित्रका मान्छे चिन्नै नसकिने हुन थालिसकेको थियो । बाटो बिग्रिएको वा खाल्डाखुल्डी बढेको बहानामा कहिलेकाहीं बढी भाडा तिर्न बाध्य बनाउन थाले । विद्यार्थी सहुलियत दिन छाडे । त्यसरी भाडा माग्ने सह–चालकको व्यवहार त झनै डरलाग्दो हुन्थ्यो ।

उनले बोल्ने भाषा त अहिले पनि सम्झिंदा नराम्रो लाग्छ । यो बेलासम्ममा आइपुग्दा ‘मिलन ट्राभल्स’ विस्थापित भई सेवा कम नाफा धेरै कमाउन चाहने ‘फोर्स र हाइस’ गाडी चल्न थालिसकेका थिए । बिहान ६:३० को कक्षा भ्याउन ५:३० मा घरबाट हिंड्नुपर्ने, चालकको मनोमानीले कैयौं पटक कक्षा छुटेको याद छ ।

२०७८ साल

विगतमा गोदावरीको नाम सुन्ने बित्तिकै जोकोहीले पनि वाह् कस्तो राम्रो वातावरण भन्ने हुन्थ्यो । पर्यटकीय सँगसँगै धार्मिक महत्व बोकेको यो ठाउँ घुम्नलाई जोकोही पनि लोभिन्थे । चर्चित व्यापारी विनोद चौधरीले आफ्नो आत्म कथामा गर्लफ्रेण्डसँग ‘आने वाला पल, जाने वाला हे’ बोलको गीत सुन्दै गोदावरी घुमेको क्षणलाई बडो रोचक ढङ्गले उल्लेख गरेका छन् । नलेखिएका यस्ता कति प्रेमिल जोडी गोदावरीमा पुगेर आफ्नो मनको भावना साटेका होलान् ।

कतिको जोडी जोडियो होला । गोदावरीको वातावरण नै यस्तो थियो कि त्यहाँ पुगेर राखिएका प्रस्तावहरू शायदै अस्वीकार भए होलान् । कैयौं जोडीको लागि राम्रो गन्तव्यको रूपमा गोदावरी थियो । कैयौंले फुर्सदको समयमा पिकनिक जाने पहिलो गन्तव्य गोदावरी नै हुन्थ्यो । फुर्सदको समयमा जाने, बालबालिकालाई वनस्पति उद्यानको बारेमा सिकाउनको लागि प्रमुख गन्तव्य गोदावरी नै थियो ।

तर अहिले गोदावरीको अनुहार बदलिएको छ । सातदोबाटोदेखि गोदावरीको १० किलोमिटरको बाटो छिचोल्न करीब डेढ घण्टा लाग्छ । कतै धूलो अनि कतै हिलो छिचोल्दै हिंड्न जोकोहीलाई पीडा दिए जस्तो अनुभव हुन्छ । धूलोको कुहिरीमण्डलले सातदोबाटोमा सफा लगाएको सेतोको त कुरै छाडौं, खैरो शर्ट पनि गोदावरी पुग्दा हेरिनसक्नु हुन्छ ।

यस अवधिमा राजतन्त्रको अन्त्य भयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । देश संघीयतामा गएपछि स्थानीय तहमा पनि धेरै अधिकार र स्रोत पुगेको छ भनिन्छ । पुगेको पनि छ होला । तर सडकको अवस्था भने सुधारिएको छैन । न त अन्य कुरामा केही परिवर्तन आएको छ । स्रोत र अधिकार पुगेर पनि त्यसको उपयुक्त प्रयोग भएको देखिंदैन ।

२०६२-६३ सालको आन्दोलनपश्चात् यस क्षेत्रले तीन जना सांसद पायो । देशले ठूलो परिवर्तन पायो । बेलाबखतमा प्रधानमन्त्रीदेखि मन्त्रीसम्म गोदावरी आए । तर गोदावरी जाने सडकको अनुहार बदलिएको, सुधारिएको छैन । सडक बनाउनको लागि भनेर ठूलो रकम बजेट विनियोजन भएको छ । जानकारी भए अनुसार केसी समानान्तर निर्माण सेवा प्रा.लि.ले २३ अर्ब ५० करोड ८४ लाख ६४ हजार ६४५ रुपैयाँमा ८ जून २०१६ मा निर्माण शुरु हुने गरी ठेक्का पाएको थियो । अहिले पाँच वर्ष बितिसकेको छ । तर सडक बनेको छैन । सडकको जर्जर अवस्थाले निम्त्याएका समस्या शब्दमा लेख्न नै गाह्रो छ । तर जनप्रतिनिधिलाई पनि यसले छुँदैन, ठेकेदारलाई त छुने कुरा नै भएन ।

मैले २०६७ सालमा भोगेको बाटो बिग्रिएको निहुँमा विद्यार्थी सहुलियत नदिने क्रम आजसम्म पनि निरन्तर छ । म साढे पाँच बजे हिंडेर साढे ६ बजेको क्लास लिन पुग्थें । अहिले त चार बजे हिंडेर पनि पुग्न गाह्रो छ । म अहिले मोटरसाइकलमा यो बाटो आवतजावत गर्छु । बिहान घरबाट कार्यालयको लागि हिंड्दा व्यागमा एक जोर कपडा बोकेर मात्रै हिंड्ने गरेको छु । गोदावरीबाट सातदोबाटोसम्म पुग्दा ‘म को हुँ’ भनेर त देख्नेले चिन्दैनन् तर म महिला हुँ कि पुरुष हुँ भन्ने पनि राम्रोसँग धूलो टक्टक्याएपछि मात्र चिन्छन् । त्यही लुगामा दिनभरि काम गर्न नसकिने हुँदा कार्यालयमा पुगेर लुगा फेर्छु ।

हामी विकासको आशामा दौडिइरहेका छौं । तर म भने मिलन ट्राभल्सको पछाडि बसेर हावा खाँदै दशैंको कपडा किन्न जान पाइएला ? भनेर कल्पिरहन्छु । वृक्षरोपणकै नाममा भए पनि कुनै विशिष्ट व्यक्ति अब फेरि कहिले आउलान् र गोदावरी जाने बाटो राम्रो बन्ला भनेर सोचिरहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment