१८ साउन, काठमाडौं । बेलारुसबाट जापानमा ओलम्पिक खेल्न आएकी एक खेलाडीले देश फर्किन अस्वीकार गरेकी छन् ।
२०० मिटर दौडको महिला इभेन्टमा प्रतिस्पर्धा गर्न जापान पुगेकी उनले खेलाडी क्रिस्टिना सिमनौस्कायाले राष्ट्रिय टोलीबारे सार्वजनिकरुपमा असन्तुष्टि व्यक्त गरेपछि घर फिर्ता पठाउन विमानस्थलमा लगिएको थियो । तर उनले घर फर्किन अस्वीकार गर्दै यस विषयमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)लाई हस्तक्षेप गर्न आग्रह गरेकी छिन् ।
म्यासेजिङ एप टेलिग्राममा पोस्ट गरिएको एक भिडियोमा उनले भनेकी छिन्, ‘उनीहरुले मेरो अनुमति विना मलाई बाहिर निकाल्ने प्रयास गरिरहेका छन् । म आईओसीसँग यसमा हस्तक्षेपको लागि अपिल गर्छु ।’
आईओसीले उनको विषयमा जानकारी प्राप्त भएको र बेलारुसको राष्ट्रिय ओलम्पिक समितिसँग स्पष्टीकरण मागिएको बताएको छ । यसअघि क्रिस्टिनाले युरोपियन रेडियो स्टेसन फर बेलारुससँगको कुराकानीमा आफू मुलुक फर्किन डराइरहेको बताएकी थिइन् ।
उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियो पोस्ट गर्दै टोलीको केही साथी प्रतियोगिताको लागि अयोग्य हुँदाहुँदै पनि उनीहरुलाई ४०० मिटरको सर्ट नोटिसमा सामेल गरेको भन्दै आलोचना गरेकी थिइन् ।
बेलारुसको सरकारी टेलिभिजनबाट यो भिडियो सार्वजनिक भएपछि क्रिस्टिनाको आलोचना गरेको थियो । क्रिस्टिनाका अनुसार इन्स्टाग्राममा प्रशिक्षकको लापरबाहीको विषयमा बोलेकाले उनलाई टोलीबाट हटाइएको हो ।
बेलारुसको ओलम्पिक टोलीले भने भावनात्मक र मनोवैज्ञानिक स्थितिको कारण उनलाई टोलीबाट हटाइएको दाबी गरेको छ । अब उनले २०० मिटर र ४०० मिटरको दौडमा भाग लिन पाउने छैनन् । क्रिस्टिना अहिले जापानको टोकियोको विमानस्थलमा छिन् र अष्ट्रियामा शरणको लागि आवेदन दिन चाहने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4