Comments Add Comment

प्रशिक्षकको राजीनामा विवादपछि एन्फामा अर्ली इलेक्सनको माग

१८ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रवक्ता पदबाट राजीनामा दिएका केन्द्रीय सदस्य किरण राईले एन्फाको अर्ली इलेक्सन हुनुपर्ने बताएका छन् ।

सोमबार अध्यक्ष कर्मा छिरिङ शेर्पालाई राजीनामा बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा उनले एन्फामा अहिले देखिएको समस्या समाधान गर्न अर्ली इलेक्सन गर्नुपर्ने बताए ।

‘अब नेपाली फुटबलको शक्ति संघर्षलाई यो विवादलाई समाधान गर्न एन्फाको अर्ली इलेक्सन गर्नुपर्छ’ उनले भने, ‘एन्फको शक्ति संघर्ष हाम्रो हातमा रहेन । अर्ली इलेक्सन गर्नुपर्छ । यो नगरे समस्या समाधान हुने देखिन्न ।’

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीको राजीनामा घोषणा गरेपछि एन्फामा अहिले नयाँ विवाद देखिएको छ । राईले आफ्नो राजीनामा उक्त घटनासँग पनि सम्बन्धित भएको पत्रकार सम्मेलनमा बताए । उनले आफू एन्फाको प्रवक्ताको भूमिकामा हुँदा केन्द्रीय सदस्यको अधिकार प्रयोग गर्न नपाएको टिप्पणी गरे ।

‘पछिल्लो समय नेपाली फुटबलमा जे भइरहेको छ नराम्रो भइरहेको छ । यसले गम्भीर बनाएको छ’ राईले भने, ‘प्रवक्ता हुँदा सीमा भन्दाबाहिर गएर बोल्न मिलेन । केन्द्रीय सदस्यको रुपमा बोल्न नपाएकाले  प्रवक्ताबाट राजीनामा दिएको छु ।’

राईले प्रशिक्षक अबदुल्लाह अलमुताइरीले गरेको राजीनामा घोषणाबारे एन्फा कार्यसमितिको आकस्मिक बैठकको निर्णयमा पनि आफ्नो आपत्ति रहेको बताए । उनले प्रशिक्षक र उपाध्यक्ष पंकजविक्रम नेम्वाङबीचको विवादको छानविन एन्फा भित्रैबाट हुनुपर्नेमा युवा तथा खेलकुद मन्त्रालयमा पठाएकामा उनले असन्तुष्टी जनाएका हुन् ।

राजीनामाको लहर

प्रशिक्षक अलमुताइरीले एन्फा वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङको कारण राजीनामा दिनुपर्ने अवस्था आएको भन्दै साउन १० गते सामाजिक सञ्जालबाट राजीनामा दिने घोषणा गरेका थिए । पंकजले भने घटनाको छानविन माग गर्दै आफू दोषी देखिए राजीनामा दिन तयार रहेको बताए ।

त्यसपछि एन्फा कम्प्लेक्स पुगेका उनले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पासंग भेट गरेपनि आधिकारिक राजीनामा बुझाएनन् ।

प्रशिक्षकले आरोप लगाएपछि उपाध्यक्ष नेम्वाङले आफूमाथि षड्यन्त्र भएको भन्दै छानविनको माग गर्दै एन्फामा पत्र बुझाएका थिए ।  त्यसपछि प्रशिक्षक अबदुल्लाहले पनि एक अनलाइनका दुई पत्रकारले आफ्नो विरुद्ध समाचार लेखेर मानहानी गरेको र त्यसमा उपाध्यक्ष नेम्वाङ पनि संलग्न भएको भन्दै छानविनको माग गर्दै एन्फामा निवेदन दिएका थिए ।

यो पनि पढ्नुहोस के हो प्रशिक्षक अलमुताइरी र उपाध्यक्ष नेम्वाङको विवाद ?

त्यसैमा छलफल गर्न शुक्रबार एन्फा कार्यसमितिको आकस्मिक बैठक बसेको थियो । उक्त बैठकले मुख्य प्रशिक्षकले दिएको उजुरीबारे छानविन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई आग्रह गर्न अनुरोध गर्ने निर्णय गर्‍यो ।

त्यसको दुई दिनपछि एन्फा सहायक महासचिव बसन्तराज अर्यालले पनि पदबाट राजीनामा दिएका छन् ।

त्यसअघि एन्फा टेक्निकल डिरेक्टर कृष्ण थापाले पनि पदबाट राजीनामा दिएका छन् । यस्तै होस्टल व्यवस्थापनबाट पनि ३ जनाले राजीनामा राजीनामा दिएका थिए ।

अहिले नेपाली फुटबल मैदान बाहिर तातिएको छ । राष्ट्रिय टिमको प्रशिक्षण आइतबार देखि १० दिनका लागि स्थगित गरिएको छ ।

मुख्य प्रशिक्षक अलमुताइरीलाई छानविनको प्रकिया नसकिँदासम्म राष्ट्रिय टिमको प्रशिक्षण हेर्न नदिने भएको छ । तर अलमुताइरीले एन्फालाई बुझाएको पत्रमा अगष्ट १० सम्म छानविन नसकिए राजीनामा प्रक्रिया पूरा गरेर देश छाड्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment