Comments Add Comment

नेम्वाङ-अल्मुतारी विवाद : एन्फाले गुहार्‍यो खेलकुद मन्त्रालय

१५ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको विवाद युवा तथा खेदकुद मन्त्रालयसम्म पुग्ने भएको छ ।

एन्फा कार्यसमितिको शुक्रबार बसेको आकस्मिक बैठकले स्वतन्त्र आयोग बनाएर वरिष्ठ उपाध्यक्ष र मुख्य प्रशिक्षकको निवेदनबारे छानबिन गर्न मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको हो ।

मुख्य प्रशिक्षक अल्मुतारीले १० साउनमा वरिष्ठ उपाध्यक्ष नेम्वाङका कारण राजीनामा दिन लागेको सामाजिक सञ्जाल फेसबुकमा लेखेपछि विवाद सतहमा आएको थियो ।

त्यही विवादमा वरिष्ठ उपाध्यक्ष नेम्वाङ र मुख्य प्रशिक्षक अल्मुताइरीले एकअर्काविरुद्ध छानबिनको माग गर्दै एन्फामा निवेदन दिएका थिए । वरिष्ठ उपाध्यक्ष नेम्वाङले एन्फाको आसन्न निर्वाचनलाई प्रभावित पार्ने गरी आफूमाथि आरोप लगाएको भन्दै यसबारे छानबिन गर्न माग गरेका थिए भने मुख्य प्रशिक्षक अल्मुताइरीले भने वरिष्ठ उपाध्यक्ष नेम्वाङ र दुई जना पत्रकारमाथि छानविन गर्न माग गरेका छन् ।

एन्फा प्रवक्ता किरण राईका अनुसार बैठकमा पनि अल्मुताइरीले निवेदनमा उल्लेख भएझै आफूलाई दुई जनाले टर्चर दिएको, असुरक्षित महसुस भएको बताएका थिए ।

तर जब बैठकमा उनीविरुद्ध परेको दुई पत्रकारको निवेदन प्रस्तुत भयो, अल्मुताइरी रिसाएर बैठक छाडेर हिँडेका थिए । एन्फा परिसरको गेटसम्म पुगेका उनलाई पदाधिकारीहरूले फर्काएर लगेका थिए । उनले आफूमाथि दुर्व्यवहार हुँदा पनि एन्फाले संरक्षण नगरेको गुनासो गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष नेम्वाङले भने छानविनका क्रममा आफ्नो गल्ती देखिए वरिष्ठ उपाध्यक्ष पदबाट राजीनामा दिन तयार रहेको बताएका छन् ।

तर अनुशासन तोडेकोमा मुख्य प्रशिक्षक अल्मुताइरीलाई कारबाही गर्नुपर्ने माग राखेका छन् । ‘अल्मुतारीले मेरा कारण राजीनामा दिँदैछु भनेका कारण मेरो सामाजिक प्रतिष्ठा र नेपाली फुटबलप्रतिको सर्मपणमा कालो धब्बा लगाउने काम भएको छ । तैपनि उहाँले आफ्नो (फेसबुक) वालमा सरी लेख्दा मान्छु भनेको छु,’ उनले भने, ‘ उहाँले अनुशासन त तोड्नुभयो !  संस्थाले के गर्छ त अनुशासन तोडेकोमा ?’

अध्यक्ष कर्माछिरिङ शेर्पाले अहिले कारबाही गर्न नसक्ने बताएका छन् । ‘नेपाली फुटबलाई डिस्टब हुन्छ, कतारले सहयोग गर्दैन भन्नुभयो, हामीले छोडिदियौं,’ बैठक छाडेर निस्किएका उपाध्यक्ष वीरबहादुर खड्काले भने ।

एन्फा प्रवक्ता राईले पनि छलफलका क्रममा केही खचपच भए पनि निर्णय गर्ने सन्दर्भमा सबैको मागअनुसार नै भएको बताए । उनले अघि भने, ‘प्रशिक्षक र साथीहरुको माग सक्दा एन्फाले गर्नुपर्‍यो, होइन भने उच्चस्तरीय छानबिन चाहियो भन्ने थियो । उहाँहरुको माग अनुरुप नै निर्णय भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment