Comments Add Comment

हिउँचितुवाको पछि लाग्दा रोलेक्स अवार्ड

१९ साउन, काठमाडौं । हुम्लाका युवा अनुसन्धानकर्ता रिन्जिन फुन्जोक लामा विश्व चर्चित ‘रोलेक्स अवार्ड’ पाउने पहिलो नेपाली बने । विश्वमै दुर्लभ हिउँचितुवा लगायतका वन्यजन्तुको अनुसन्धान र संरक्षणमा काम गर्ने हुम्लाका लामाले २ जुलाईमा दुई लाख स्विस फ्रयांक (नेपाली २ करोड ५५ लाख राशि) पुरस्कार पाए । रोलेक्सले अवार्ड पाउने पाँच जनालाई भविष्यका अभिभावक बताएको छ ।

लामाका अनुसार उनको लागि यो अवार्ड ‘सरप्राइज’ हो । ‘मैले संसारमा कसैले नगरेको काम गरेर पुरस्कार पाएको होइन, आफ्नो अनुभव र आइडिया पनि बाँडौं न भनेर प्रयास गर्दा यस्तो हुन गयो’ लामा पुरस्कारको पृष्ठभूमि सम्झँदै भन्छन् ।

यो ‘सरप्राइज’ अवार्डको रोचक कथा यस्तो छः

वि.सं. २०७७ चैतको पहिलो साता । नेपालमा कोरोनाभाइरस महामारी शुरू भएकै थिएन । लकडाउन गरिएकै थिएन । रिन्जिन फुन्जोक लामा यूरोपबाट फर्किएर होम क्वारेन्टाइनमा बसेका थिए । युरोपबाट फर्किंदा नेपालमा कोरोनाभाइरस संक्रमित हुने पहिलो मान्छे आफैं हुन्छु जस्तो लागेको थियो उनलाई ।

रिन्जिन फुन्जोक लामा मुस्ताङको उच्च हिमाली क्षेत्रमा फिल्ड वर्कमा हिमचितुवाको अध्ययनमै थिए । केही साथीहरूले उनले अवार्ड जितेको समाचार पठाए । ‘शुरूमा त विश्वास लागेको थिएन, किनकि विश्वभरिका संरक्षणकर्मीबाट पाँच जनामा छानिनु वास्तवमै सजिलो थिएन तर यो यथार्थ थियो’ लामा अवार्ड पाएको खबर पाउँदाको क्षण सम्झन्छन् ।

कोठामा बसेर सामाजिक सञ्जाल ‘स्क्रोल’ गरिरहेको बेला स्विट्जरल्याण्डको रोलेक्स अवार्डको आवेदन माग गरिएको सूचना फेला पारे । उनले त्यस अवार्डमा नोमिनेसनको लागि ‘कन्सेप्ट नोट’ लेखेर पठाए । एक महीनापछि ‘कन्सेप्ट नोट’ स्वीकार गरेर उनीहरूले पूरा प्रपोजल पठाउन अनुरोध गरे ।

सात वर्षदेखि संरक्षण क्षेत्रमा काम गरिरहेका लामासँग योजना तयार नै थियो । सोही योजना मुताविक संरक्षण क्षेत्र बाहिरको क्षेत्रमा आफ्नै पहलमा समुदायमा आधारित संरक्षण कसरी गर्न सकिन्छ भन्ने प्रस्ताव तयार पारे ।

एक महीना लगाएर तयार पारिएको उक्त प्रस्तावमा हुम्लाका स्थानीयको क्षमता वृद्धि, सहभागिता र स्वामित्व लिएर कुनै निश्चित प्रजातिमा मात्र नभएर समग्र हिमाली पर्यावरणमा कसरी काम गर्न सकिन्छ भन्ने विषयलाई केन्द्रित गरिएको थियो । योजना अवार्डको लागि मात्र नसोचिएको भएकाले त्यसमा मिहिनेत पनि कम परेको थिएन ।

अवार्ड नोमिनेसनको लागि प्रस्ताव पठाएको एक वर्षमा उनले तीन पटक भर्चुअल अन्तर्वार्ता दिए । पछिल्लो अन्तर्वार्तामा २५ जना संरक्षणकर्मीलाई छानिएको जानकारी दिंदै त्यसमध्ये पाँच जनालाई अवार्ड दिने भनिएको थियो ।

गत असारमा लामा मुस्ताङको उच्च हिमाली क्षेत्रमा फिल्ड वर्कमा हिमचितुवाको अध्ययनमै थिए । अवार्ड घोषणा हुनु एकदिन अघि उनलाई अवार्डको ‘भर्चुअल एनाउन्समेन्ट’ हुन्छ भन्ने कुरा जानकारी सहितको एउटा इमेल प्राप्त भयो । तर भर्चुअल एनाउन्समेन्ट यकिन समयको बारेमा उनलाई जानकारी भने दिइएको थिएन ।

त्यसको भोलिपल्ट केही साथीहरूले उनले अवार्ड जितेको समाचार पठाए । ‘शुरूमा त विश्वास लागेको थिएन, किनकि विश्वभरिका संरक्षणकर्मीबाट पाँच जनामा छानिनु वास्तवमै सजिलो थिएन तर यो यथार्थ थियो’ लामा अवार्ड पाएको खबर पाउँदाको क्षण सम्झन्छन् ।

रोलेक्स पुरस्कार रोलेक्स कम्पनीले सन् १९७६ बाट दिन शुरू गरेको थियो । उद्यमको लागि दिइने उक्त अवार्ड वातावरण, विज्ञान, स्वास्थ्य प्रविधि, सांस्कृतिक सम्पदा, अन्वेषण, रचनात्मक र सामाजिक रूपमा महत्वपूर्ण परियोजनाहरूलाई अगाडि बढाउन चाहने महिला तथा पुरुषहरूलाई दिइन्छ ।

लामाका अनुसार उनले अवार्डबाट पाएको रकम उपल्लो हुम्लामा ‘प्रमोट लोकल इनिसिएटिभ फर बायोभर्सिटी कन्जर्भेसन इन नेपाल्स ट्रान्स हिमालय’ नामको परियोजनामा खर्च हुनेछ । उनका अनुसार सो परियोजनामा स्थानीयस्तरमै संरक्षणकर्मी उत्पादन गर्नको लागि तालिम दिने, वन्यजन्तु र मानवबीचको द्वन्द्व अध्ययन गर्ने र हिमचितुवाको अध्ययन र संरक्षण गर्ने काम हुनेछ । ‘यो परियोजना कुनै निश्चित अवधिको नभएर वर्षौंसम्म चल्नेछ, हामी यसलाई वर्षौंसम्म निरन्तरता दिन्छौं’ लामा भन्छन् ।

उच्च हिमाली भेगको पर्यावरण (ट्रान्स हिमालयन) मा काम गर्ने लामा आफूलाई हिमचितुवा बायोलोजिस्ट भनेर चिनाउँछन् । संरक्षण क्षेत्र बाहिरको उच्च हिमाली क्षेत्रमा काम गर्ने पहिलो स्थानीय बायोलोजिस्ट भएको उनको दाबी छ । वातावरण विज्ञानमा स्नातक गर्ने हुम्लाकै पहिलो लामाले त्रिविबाट बीएस्सी र जर्मनी र न्युजिल्यान्डबाट अन्तर्राष्ट्रिय प्रकृति संरक्षणमा स्नातकोत्तर गरेका छन् ।

द थर्ड पोल कन्जर्भेन्सीमा संरक्षण कार्यक्रम प्रमुख रहेका उनी माउन्टेन स्पिरिट नामक संस्थामा सक्रिय छन् । हिमाली क्षेत्रका वन्यजन्तु र जैविक विविधताको अनुसन्धानमा ७ वर्षदेखि सक्रिय लामाले सन् २०१५ मा ‘वाइल्डलाइफ कन्जर्भेसन नेटवर्क स्कलरसिप’ र गत वर्ष सन् २०२० मा डब्लूडब्लूएफ नेपालबाट संरक्षण पुरस्कार पाएका थिए ।

****

बीएस्सी सकेपछि लामाले सन् २०१४ बाट ग्लोबल प्रिमेट नेपाल नामक संस्थाबाट मनाङमा काम शुरू गरेका थिए । सन् २०१४ देखि उनी अन्नपूर्ण संरक्षण क्षेत्रभित्र हिमचितुवाको अनुसन्धान र संरक्षणमा सक्रिय छन् । सन् २०१४ मै उनको समूहका साथी टासी आर घलेले ‘पालस क्याट’ भन्ने नयाँ प्रजातिको बिरालो पत्ता लगाएका थिए । त्यो बिरालोको पहिलो अध्ययन गरेका उनी त्यसैको माध्यमबाट हिमचितुवाको काम शुरू गरेको बताउँछन् ।

हिमचितुवाहरू नेपालको उत्तरी क्षेत्रमा पाइन्छन् । नेपालमा यसको संख्या ३०० देखि ४०० को हाराहारीमा भएको अनुमान गरिएको छ । हिमचितुवालाई हिमाली क्षेत्रको राम्रो पर्यावरणको सूचक मानिन्छ जसले हिमाली जैविक विविधता संरक्षण र प्रवर्द्धनमा सहयोग पु¥याउँछ । विश्वमै दुर्लभ यो जनावर दक्षिण र मध्यएशियाका १२ देशमा पाइन्छ ।

हिमचितुवाको छाला, भुवा र हड्डीहरू महँगो मूल्यमा बिक्री हुने भएकाले यसको प्रमुख खतरा चोरी शिकारी हो । प्राकृतिक अवस्थामा ह्रास हुँदै गएर आहारामा कमी आएकाले हिमचितुवाहरूले घरपालुवा जनावरलाई आक्रमण गर्ने गर्छन् । जसको कारण पनि हिमचितुवाहरू खतरामा रहेका छन् । ‘यस्तै यस्तै कारणले हिमचितुवा संरक्षण गर्नुपर्ने अवस्था छ’, लामा भन्छन् ।

मनाङमा काम शुरू गरेपछि उनले हिमचितुवाको संख्या, आहारा, मानव र वन्यजन्तुको द्वन्द्वको विषयमा धेरै अनुसन्धान गरे । उनको मास्टर्सको शोधपत्र नै वन्यजन्तु र मानवबीचको द्वन्द्व हो । उनका अनुसार उच्च हिमाली क्षेत्रमा वन्यजन्तुको वासस्थान कम हुँदा वन्यजन्तुहरू बस्ती छिर्न थालेका छन् । ब्वाँसो र हिमचितुवाले घरपालुवा जनावर खाइदिंदा गोठालाहरू उनीहरूप्रति नकारात्मक हुन्छन् ।

‘वर्षौं मिहिनेत गरेर पालेका एक लाख रुपैयाँ भन्दा बढी पर्ने घोडा र याकहरू खाइदिंदा गोठाला जनावरप्रति नकारात्मक हुन्छन्’ लामा भन्छन्, ‘दुई-तीन महीनाअघि मुस्ताङमा थुप्रै भेडालाई हिमचितुवाले आक्रमण गरेर मारेको थियो ।’

नेपालको उत्तर पश्चिमको जिल्ला हुम्ला तिब्बती पठारसँग जोडिएको क्षेत्र हो । लामाका अनुसार यहाँको पर्यावरण अत्यन्तै संवेदनशील छ । यहाँ जंगली चौरी, जंगली गधा, अर्घाली भेडा लगायत जनावर पाइन्छ ।

हिमचितुवामा मात्र केन्द्रित नभई समग्र हिमाली पर्यावरणमा पाइने वन्यजन्तु सम्बन्धी काम गरेका लामा अहिले हुम्लाकै नाम्खा गाउँपालिकासँगको सहकार्यमा संरक्षण र अनुसन्धानको काम गरिरहेका छन् ।

हुम्लामा हिमचितुवा छ भनेर मानिसले भनेका छन्, तर वैज्ञानिक रूपमा अध्ययन नगरिकन त्यो पुष्टि हुन्न । सन् २०१५ मा हुम्लामा हिमचितुवाको वासस्थान, आहारा र पर्यावरण लगायतका अन्य कुराहरू कस्तो छ भनेर उनले पहिलो पटक अध्ययन गरेका थिए । हुम्लामा स्थानीय रूपमै हिमचितुवा छ भन्ने वैज्ञानिक तथ्य सहितको निष्कर्ष लामाले ‘थ्रेटन टेक्सा’ नामक जर्नलमा प्रकाशित गरेका थिए ।

संरक्षण क्षेत्रमा सन् १९९० देखि नै काम भइरहेकाले संरक्षण क्षेत्र नभएको ठाउँमा काम गर्न आफू केन्द्रित रहेको लामा बताउँछन् । संरक्षण क्षेत्र बाहिर काम गर्न भौगोलिक विकटता नै सबैभन्दा ठूलो चुनौती हो । उनका अनुसार संरक्षण क्षेत्र बाहिर खाने–बस्ने होटल नभएकाले काम गर्न भने सकस छ । ‘अत्यन्त अग्लो ठाउँ भएकाले मानिसको बसोबास हुन्न, अग्लो र जाडो भएकाले एकदम थोरै समय मात्र बस्न सकिन्छ’ लामा भन्छन्, ‘बस्ने खाने सबै सामान आफैंले लिएर जानुपर्ने भएकाले काममा अत्यन्त जोखिम छ ।’

तस्वीर सौजन्य : टासी आर घले ।

अन्य काम जस्तो यो कामको नतिजा तत्काल आउँदैन । हिउँको पहाडमा क्याम्प लगाएर महीनौं बस्ने धैर्य नहुनेहरू यो क्षेत्रमा आउन सक्दैनन् । पाइला पाइलामा हिउँ र लेक लाग्ने जोखिम पनि उस्तै हुन्छ । हिउँ र पानी पर्ने ठेगान नहुँदा धेरै पटक भिज्नुपर्छ । अग्लो ठाउँमा लामो समय पालमा बस्नुपर्दा आरामको महसूस गर्न सकिन्न ।

समुद्र सतहभन्दा ३ हजार मिटर माथिको उँचाइमा पाउने हिमचितुवा यति दुर्लभ हुन्छ कि अनुसन्धानकर्ताहरूले सजिलै भेट्टाउन सक्दैनन् । हिमचितुवा अनुसन्धानको क्रममा ३ हजारदेखि साढे ५ हजार भन्दा अग्लो उँचाइमा काम गर्दा लामाले कैयौं दुखद परिस्थितिहरू सामना गरेका छन् ।

तीन चार महीनाभन्दा लामो समय ‘क्यामेरा ट्रयापिङ’ (क्यामेराको पासो थापेर स्वचालित रूपमा वन्यजन्तुको तस्वीर खिच्ने विधि) विधि अपनाएर बस्दा एक पटक पनि हिउँचितुवा नभेटेको उदाहरण दर्जनौं छन् । यस्तो अवस्थामा काम गर्न समेत स्वाद नआउने बताउने लामा संरक्षण क्षेत्रमा टिक्नु नै ठूलो उपलब्धि भएको बताउँछन् । ‘अग्लो ठाउँमा काम गर्दा दुःखको कल्पना गर्न पनि गाह्रो छ । त्यसैले धेरै मानिस यो क्षेत्रमा आकर्षित भएर आए पनि लामो यात्रा गर्न भने सक्दैनन्’, लामा भन्छन् ।

****

संरक्षण क्षेत्रमा काम गरेको सातवर्षे अनुभवले उत्तर पश्चिमको उच्च हिमाली क्षेत्रमा संरक्षणको खाँचो रहेको लामाको निचोड छ । उनका अनुसार संरक्षण क्षेत्र बाहिरका त्यस्ता ठाउँमा मानिस गरीब छन् । त्यहाँका मानिसको जीविकोपार्जनको मुख्य स्रोत कृषि, पशुपालन र जडीबुटी संकलन हो ।

सामाजिक संरचनाको कारणले पनि जानाजान यस्ता काम भइरहेको बताउने उनी सोही कारण यस्ता ठाउँलाई प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको सुनाउँछन् । ‘संरक्षण क्षेत्रभित्र त सरकार तथा एनजिओहरूले प्रशस्तै काम गरेका छन्, हामी धेरैको कम प्राथमिकतामा परेको संरक्षण क्षेत्र बाहिरको ठाउँमा काम गर्न प्रतिनिधित्व गर्छौं’, उनी भन्छन् ।

तस्वीर सौजन्य : टासी आर घले

उच्च हिमाली क्षेत्रमा संरक्षणकर्मी र सिटीजन साइन्टिस्ट निकाल्ने उनको योजना छ । संरक्षणलाई स्थानीय तहसँग सहकार्य नगर्दा काम गर्न अप्ठ्यारो हुने उनको बुझाइ छ । उनका अनुसार संरक्षण सँगसँगै आम्दानी पनि गरायो भने स्थानीयहरू सहभागी हुन्छन् । सम्भावना देखायो भने रुचि बढ्छ ।

संरक्षणको काममा स्थानीयको क्षमता अभिवृद्धि, संरक्षण शिक्षा र जनचेतना अभिवृद्धि गराउने उद्देश्य लिएर अघि बढेका उनले कतिपय ठाउँमा कार्यक्रम लिएर जाँदा शंका–उपशंका गर्ने चलन देखेका छन् । संरक्षणको काम शुरू भयो भने गाईबस्तु चराउन नै नपाउने हो कि भन्ने सामूहिक मनोविज्ञानको साक्षी हुन् । ‘धेरै ठाउँमा जानी नजानी मानिसबाट गल्ती भएको छ त्यसैले संरक्षणको कार्यक्रम लिएर जाँदा डराउँछन्, हाम्रो बुझाइमा नै समस्या छ’, लामा भन्छन् ।

लामा हुम्लाको उच्च भेगमा जैविक विविधता अध्ययन गर्ने योजनामा छन् । त्यहाँ पाइने विभिन्न प्रजाति र त्यसको अवस्था के छ भन्ने अध्ययनको मुख्य उद्देश्य हुनेछ । यसरी अनुसन्धानमा रमाइरहेका लामा यो क्षेत्रमा लागेर केही नगुमाएको बताउँछन् ।

उच्च हिमाली भेगको संरक्षणकर्मी र बायोलोजिस्ट भनेर चिनिन पाउँदा हौसला मिलेको छ । मद्यपानमा रमाउने मतवालीको दिमाग लाटो हुन्छ, पढ्न सक्दैनन् भन्ने आफ्नो समुदायको सोचलाई क्रमभंग गर्न सकेकोमा खुशी छन् । आफ्नो कर्ममा रमाइरहेका लामा भन्छन्, ‘यो क्षेत्र पेशाभन्दा बढी प्यासन भएकाले म टिकिरहेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सागर बुढाथोकी

ट्रेन्डिङ

Advertisment