Comments Add Comment

केरलामा बढ्दो कोरोना संक्रमणको रहस्य

केरलामा कोरोना भाइरसविरुद्धको खोप लगाउन लाइन बसेका सर्वसाधारण । तस्वीर : पीटीआई/बीबीसी

२० साउन, काठमाडौं । कुनै समय कोरोना महामारी नियन्त्रणमा उदाहरणीय बनेको दक्षिण भारतीय राज्य केरला अहिले भारतमै सबभन्दा धेरै नयाँ संक्रमित भेटिने प्रान्त बनेको छ ।

बुधबार भारतमा भेटिएका ४२ हजारभन्दा धेरै नयाँ संक्रमितमध्ये २३ हजारभन्दा धेरै केरालामा भेटिएका छन् । भारतमा कोरोना महामारीको दोस्रो लहर कमजोर हुन थालेको लामो समय भइसक्दा पनि केरलामा किन बढिरहेको छ त कोरोना संक्रमण ? यो अहिले धेरैको चासोको विषय बनेको छ ।

सन् २०२० जनवरीमा भारतमा पहिलो कोरोना संक्रमित केरलामा फेला परेको थियो । उनी चीनको वुहान सहरमा अध्ययनरत मेडिकल विद्यार्थी थिइन् । त्यसपछि विस्तारै कोरोना संक्रमण बढ्न थाल्यो र कोरला हटस्पट बन्न पुग्यो ।

ठूलो संख्यामा गरिएको परीक्षण, पारदर्शी गणना, खोप अभियानमा तीव्रता र चुस्त स्वास्थ्य सेवाको कारण केरलामा कोरोनाको तेस्रो लहर दोस्रो जस्तो घातक नहुने स्वास्थ्य अर्थशास्त्री रिजो एम जोन बताउँछन् ।

मार्चसम्म आइपुग्दा भारतका आधा दर्जनभन्दा धेरै राज्यमा केरलामा भन्दा धेरै संक्रमित देखिन थाले । केरला सरकारले भने संक्रमण नियन्त्रणका लागि परीक्षण गर्ने, कन्ट्याक्ट ट्रेसिङ बढाउने र संक्रमितलाई आइसोलेसनमा राख्ने जस्ता कदम चालेको थियो । यसले संक्रमणमा उल्लेख्य कमी मात्र आएन, कोभिड–१९ नियन्त्रणमा केरलालाई रोल मोडलका रुपमा लिन थालियो ।

यस वर्षको गर्मीयाममा आएको कोरोना महामारीको दोस्रो लहरले भारतमा ठूलै विनाश निम्त्यायो । अन्यत्र दोस्रो हलर क्रमशः कम हुँदै गर्दा केरलामा भने संक्रमण बढ्न थाल्यो । र, अहिले देशभरमा दैनिक भेटिने संक्रमितमा समग्र भारतको करिब तीन प्रतिशत जनसंख्या मात्र रहेको केरलाको हिस्सा आधाभन्दा धेरै देखिएको छ । कोरोना संक्रमण फैलिने दर पनि एक जना भन्दा धेरै छ । यसको अर्थ केरलामा निरन्तर कोरोना संक्रमण फैलिने क्रममा छ ।

अहिलेसम्म केरलामा मात्र ३४ लाखभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने १६ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

महामारीविद्हरु भने यो तथ्यांकले राज्यको वास्तविक अवस्था कस्तो छ भनेर नबुझाउने बताउँछन् । प्रति १० लाख मानिसमा परीक्षण दर अन्य राज्यको तुलनामा केरालामा धेरै छ । यो राज्यमा एकजना संक्रमित भेटिँदा औसतमा थप ३० जनाको परीक्षण हन्छ । जबकी अन्य राज्यमा यस्तो अनुपात दुई मात्र छ ।

भारतको वरिष्ठ महामारीविद् गगनदीप काङ भन्छन्, ‘केरलाले धेरै परीक्षण गरिरहेको छ र चलाखीपूर्ण रुपमा परीक्षण भइरहेको छ । सम्पर्कमा आएका मानिसहरुको पहिचान गर्नु झन् राम्रो पक्ष हो ।’

हालै गरिएको एन्टिबडी सर्वेक्षणअनुसार केरलामा ६ वर्षमाथिका ४३ प्रतिशत मानिस कोरोनाको सम्पर्कमा आएको देखिएको थियो । जबकी यो संख्या मुलुकभरको सर्वेक्षणमा भने ६८ प्रतिशत थियो । यसको अर्थ अहिले पनि केरला सरकारले कोरोना संक्रमण नियन्त्रणमा राम्रो काम गरिरहेको छ भन्ने हो ।

त्यस्तै कोरोना संक्रमण बढेपनि अहिले केरलाका अस्पतालमा बिरामीको चाप धान्न नसक्ने स्थिति छैन । केरलामा कोरोनाबाट मृत्यु हुनेको दर भारतको राष्ट्रिय अनुमानको एक तिहाइ मात्र छ । अझै पनि केरलाको अस्पतालका आधा भन्दा धेरै आईसीयू खाली छन् । एक रिपोर्टका अनुसार गणनामा छुटेका कोरोनाबाट मृत्यु हुनेको संख्या केरलामा सबभन्दा कम छ ।

केरलामा अहिलेसम्म २० प्रतिशत योग्य जनसंख्याले पूरा डोज खोप लगाइसकेका छन् । यस्तै ५२ प्रतिशतले पहिलो डोज खोप लिइसकेका छन्, जसमा अधिकांश ४५ वर्षभन्दा माथिका मानिस छन् । खोप लगाउनेको यो संख्या समग्र भारतको औसतभन्दा धेरै हो ।

ठूलो संख्यामा गरिएको परीक्षण, पारदर्शी गणना, खोप अभियानमा तीव्रता र चुस्त स्वास्थ्य सेवाको कारण केरलामा कोरोनाको तेस्रो लहर दोस्रो जस्तो घातक नहुने स्वास्थ्य अर्थशास्त्री रिजो एम जोन बताउँछन् । यद्यपि अहिले देखिएको सफलताले समग्र अवस्थालाई भने नदेखाउने महामारीविद्ले बताएका छन् ।

त्यसको उदाहरणका रुपमा खोप नलगाएका मानिसलाई लिन सकिन्छ, जसलाई सहजै कोरोना संक्रमण हुनसक्छ । साथै उनीहरुले भाइरस अर्को मानिसलाई सार्न सक्छन् । अहिले यो समूहले संक्रमण फैलाउन भूमिका खेलेको आशंका छ ।

त्यस्तै स्वास्थ्य सेवा राम्रो बनाएर मृत्युबाट बचाए पनि संक्रमण बढ्ने जोखिम भने कायमै हुन्छ । मानिसहरुलाई कोरोनाबाट निको भएपछि पनि लङ कोभिड देखिने सम्भावना हुन्छ । अहिले केरला कोरोनाको नयाँ लहरको सुरुआती चरणमा छ । डेल्टा भेरियन्टसहितको संक्रमणले केरलामा कोरोना नियन्त्रण गर्न चुनौती थपेको विशेषज्ञ चिकित्सक स्वप्निल परिख बताउँछन् ।

अहिले अस्पतालमा भर्ना हुनेको संख्याभन्दा पनि निरन्तर बढिरहेको संक्रमण चिन्ताको विषय रहेको उनको भनाइ छ । केरलामा संक्रमण बढ्दा अर्को थप संक्रामक म्युटेसन देखिने हो कि भन्ने चिन्ता पनि विशेषज्ञहरुले गरिरहेका छन् ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment