Comments Add Comment

कस्तो जीवनशैली अपनाउँदा मुटु रोगको जोखिम हुँदैन ?

मुटुसँग सम्बन्धित समस्या बढ्दो छ । कतिपय कलिलो उमेरमै मुटु रोगबाट ग्रसित छन् भने कति हृदयघातको शिकार भएका छन् । मुटुको समस्या र हृदयघातको घटना दिनहुँ बढ्दो छ । युवा उमेरमै हृदयघात हुने जोखिम उत्तिकै छ । यस्ता संभावित जोखिमबाट बच्ने राम्रो काइदा हो, जीवनशैलीमा परिवर्तन । तर, कस्तो जीवनशैली ?

स्वास्थ्यलाई प्रभावित गर्ने व्यवहार परिवर्तन आफैँमा चुनौतीपूर्ण हुन्छ । धेरै मानिसहरुले २० देखि ३० वर्षको उमेर जुुन जीवनशैली अपनाएका हुन्छन् त्यो बुढेशकालको लागि पर्याप्त नहुन सक्छ । त्यसैले समयसँगै आफ्नो जीवनशैलीमा पनि आवश्यक परिवर्तन ल्याउँदै जानुपर्छ । यस बारेमा गरिएको एक अध्ययनको रिपोर्ट यहाँ प्रस्तुत गरिएको छ ।

हिजो आज मुटु रोग जस्ता नसर्ने रोगको बिगबिगी बढ्दै गएको छ । यो पनि जीवनशैलीमा ध्यान नदिँदा हुने समस्या हो । त्यसैले जीवनशैलीमा ध्यान दिएर समस्याबाट मुक्त गराउन सकिन्छ ।

यो अध्ययन रेस्पोन्स टु ट्रायल नामबाट ८०० जना सहभागीमा गरिएको थियो । सो अध्ययनले समुदायमा आधारित जीवनशैली कार्यक्रम तथा प्रभावकारी हेरचाहले धेरैमा सकारात्मक प्रभाव पारेको देखाएको थियो । समुदायमा आधारित सो कार्यक्रम तौल घटाउने, शारीरिक गतिविधि बढाउने र धुम्रपान निवारणको लागि लक्षित गरेर तयार पारिएको थियो । १२ महिनासम्म लगाएर यो अध्ययन गरिएको थियो ।

अध्ययनले जीवनशैलीमा ल्याएको परिवर्तनले कम्तीमा पनि ३७ प्रतिशतसम्म जोखिम न्यूनीकरण गरेको देखाएको छ । शरीरको तौल घटाउने मुख्य घटक पनि जीवनशैलीको परिवर्तन नै हो भन्ने पनि यस अध्ययनको मुख्य प्राप्ति थियो ।

अन्य विभिन्न अध्ययनले पनि यसबारे अध्ययन गरेका छन् । विभिन्न अध्ययनको आधारमा जीवनशैलीको बदलावको लागि निम्न विषयमा चर्चा गर्नु आवश्यक छ ।

रक्तचापको स्तर कम बनाइ राख्नुहोस्

उच्च रक्तचाप हृदय रोगको लागि सबैभन्दा ठूलो जोखिमको विषय हो । रक्तचापको नियमित जाँच, समयमा औषधि खानु एवं राम्रो निद्रा नै रक्तचापको स्तर कम गराइराख्नुको मुख्य उपाय हो ।

स्वस्थ आहार लिनुहोस्

हृदय रोगको नियन्त्रणको लागि खाद्य पदार्थमा संतृप्त बोसो र चिनी युक्त खानेकुरा कम खानुपर्छ । नुन पनि उच्च रक्तचापका बिरामीको लागि अनुपयुक्त कुरा हो । बोसो युक्त खानेकुरामा कोलेस्ट्रोल र ट्राइग्लिसराइडको स्तरमा बृद्धि हुन्छ । जसबाट धमनीहरुमा रोकावट हुन सक्छ ।

हृदयको लागि व्यायाम गर्नुहोस्

हृदय रोगबाट बच्नको लागि हृदयको मांसपेशीहरु मजबुत हुनु आवश्यक छ । शारीरिक गतिविधिको अभाव एक व्यक्तिको हृदय रोगका लागि अधिक जोखिमयुक्त हुन सक्छ । एरोबिक्स, भार प्रशिक्षण, साइकिल चलाउनु आदि दिलको लागि उपयुक्त व्यायाम हो । यसबाहेक मुटु रोगबाट बच्नको लागि निम्न उपायहरु अपनाउन सकिन्छ ।

धुम्रपान र मद्यपान नगर्नुहोस्

धुम्रपान एवं मद्यपान जस्ता बानीले रक्तचाप बढाउने गर्छ । जसले बिस्तारै मुटुमा असर गर्छ । यसका अलावा मदिराले मान्छेको वजन बढाउने गर्छ । त्यसैले यस्तो पदार्थ सकेसम्म नखाने र खानै परे थोरै खाने गर्नुपर्छ ।

शरीरको वजन सही राख्नुहोस्

मोटोपन पनि हृदय रोगको लागि बढी जोखिम युक्त हुन्छ । यो मुटु रोगको कारणमध्ये पनि एक हो । शरीरको वजन सही बनाइ राख्नको लागि पोषक तत्वले भरिपूर्ण र फाइबर युक्त आहार हुनुपर्छ । वजन कम गर्नको लागि मदिराको सेवन कम र शारीरिक गतिविधिमा वृद्धि गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment