
२६ साउन, बुटवल । लुम्बिनी प्रदेशमा चार महिनादेखि जारी सत्ता राजनीतिको छिनोफानो बुधबार हुँदैछ । मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रोपटक दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन दिउँसो १ बजे बस्दैछ ।
अविश्वास प्रस्तावमाथि छलफल रोक्न माग गर्दै नेकपा एमालेका सांसदले दिएको रिटमाथि मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ नभएपछि अविश्वास प्रस्तावमाथि छलफल नरोकिने निश्चित भएको छ । विशेष अधिवेशनको सबै तयारी पूरा भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
अविश्वासको प्रस्ताव टेबुल भएपछि बुधबार नै यसको छिनोफानो हुने प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि मुख्यमन्त्री पोखरेल विरुद्ध विपक्षी गठबन्धनले वैशाख ६ र २६ गते अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर, ६ गते दर्ता गरेको अविश्वासको प्रस्तावमाथि छलफल हुने दिन वैशाख १९ गते मुख्यमन्त्रीबाट पोखरेलले राजीनामा दिएर एमालेको एकल बहुमत दाबी गर्दै सोही दिन पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
सोही दिन विपक्षीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीका रुपमा ४२ सांसदहरुको हस्ताक्षर सहित दाबी पेश गरे पनि प्रदेश प्रमुखले पोखरेललाई नै नियु्क्त गरे ।
उनको नियुक्तिसँगै विपक्षी चार दलको गठबन्धनले अल्पमतको असंवैधानिक सरकार भन्दै बहुमतसिद्ध गर्न माग गर्दै आएको थियो । र, सत्ता पक्ष र विपक्षीबीच सरकार टिकाउने र नयाँ सरकार बनाउने कसरत निरन्तर जारी रह्यो । वैशाख २६ मा दोस्रोपटक अविश्वासको प्रस्ताव दर्ता भए पनि तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवले विशेष अधिवेशन आह्वान गरेनन् ।
सरकारलाई साथ दिएका तीन जना सांसदलाई जनता समाजवादी पार्टीले साउन १५ गते निष्कासन गरेपछि सरकार स्पष्ट अल्पमतमा परेको थियो । सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र कल्पना पाण्डे लम्साल सर्वोच्च पुगे पनि उनीहरुको पद थमौतीका लागि सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि पोखरेल सरकार थप संकटमा परेको थियो ।
विपक्षी गठबन्धन अविश्वास प्रस्ताव भोलि नै टुंग्याउने तयारीमा छ । विपक्षी गठबन्धनका सबै ४१ जना सांसद लुम्बिनीको एक होटलमा बसेका छन् ।
‘भोलि अविश्वास प्रस्तावमाथि छलफल हुन्छ र छिनोफानो हुन्छ,’ माओवादी केन्द्रका सांसद सुदर्शन बरालले भने, ‘अब सरकार भाग्ने ठाउँ छैन, चार महिनादेखिको असंवैधानिक सत्ता यात्रामा बिराम लाग्छ ।’
लुम्बिनीमा सत्तारुढ दल एमालेका ३८ सांसद छन् । बहुमतका लागि ४१ सांसदको समर्थन आवश्यक पर्छ । लुम्बिनीमा हाल ८० प्रदेशसभा सदस्य कायम छ । विपक्षी दल नेपाली कांग्रेस १९, नेकपा माओवादी केन्द्र १८, जनता समाजवादी पार्टी ३ र राष्ट्रिय जनमोर्चाका १ गरी ४१ सांसद छन् । मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव पारित हुन ४१ मत नै आवश्यक पर्छ ।
एमाले संसदीय दल र मन्त्रिपरिषद्को बैठक बस्दै
सत्तारुढ दल नेकपा एमालेले संसद फेस गर्ने या मुख्यमन्त्रीले राजीनामा दिने भन्ने निर्णय गर्न बुधबार बिहान ८ बजे संसदीय दलको बैठक र त्यसलगत्तै मन्त्रिपरिषद् बैठक बोलाइएको सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए ।
‘बुधबार बिहान ८ बजे संसदीय दलको बैठक बस्छौं, त्यसले एउटा निर्णय गर्छ,’ मन्त्री चौधरीले भने, ‘लगत्तै मन्त्रिपरिषद बैठक पनि बस्छ र संसद फेस गर्ने कि के गर्ने भन्ने छ्याङ्ग हुन्छ ।’
विशेष अधिवेशन रोक्न माग गर्दै एमाले सांसद लीला गिरीले दिएको रिट मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा थियो । तर समय अभावले सुनुवाइ गर्न नभ्याइएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले बताए ।
उक्त रिटमा बुधबार सुनुवाइ हुनेछ । एमालेले बुधबार कस्तो रणनीति लिने भन्ने विषयमा सर्वोच्च अदालतको बुधबारको निर्णय पर्खिने मन्त्री चौधरीले बताए ।
तर एमालेकै अर्का एक सांसद भने अविश्वास प्रस्तावको फेस गर्ने भन्दा मुख्यमन्त्री पोखरेलको राजीनामा आउन सक्ने सम्भावना बढी रहेको बताउँछन् ।
प्रतिक्रिया 4