
२७ साउन, काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको चन्द्रागिरिबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अर्घाखाँचीको शीतगंगा नगरपालिका -५ घर भइ हाल चन्द्रागिरि नगरपालिका-६ बस्दै आएका ३५ वर्षीय काशीराम भुसाल रहेका छन् ।
उच्च अदालत पाटनको २०७७ साल माघ ४ गतेको फैसलाले भुसाललाई ५० लाख जरिवाना र १५ दिन कैद सुनाएको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भुसाललाई बुधबार चन्द्रागिरिबाट पक्राउ गरेको जनाएको छ ।
भुसालले २०७७ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी झुक्यानमा पारी ग्लोबल आइएमइ बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी पीडितलाई ५० लाख रुपैयाँ बराबरको चेक काटेर दिएका थिए ।
बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा ठहर गरी उच्च अदालत पाटनले उक्त सजाय हुने गरी फैसला सुनाएको थियो ।
भुसाललाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा बुधबार पेश गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) श्याम कुमार महतोले जानकारी दिए ।
प्रतिक्रिया 4