Comments Add Comment

४ घण्टासम्म चल्यो मस्तिष्कको शल्यक्रिया, होसमै रहेर बिरामीले गायत्री मन्त्र जपिरहे

२७ साउन, काठमाडौं । भारतको बैङ्गलोरस्थित एक अस्पतालमा विज्ञान र आस्थाको एक अनौठो संगम देखिएको छ । ५७ वर्षका एक व्यक्तिलाई होसमै राखेर ब्रेन ट्युमरको शल्यक्रिया गरिएको छ । ४ घण्टासम्म लागेको उक्त शल्यक्रियाका क्रममा बिरामीले चाहीँ गायत्री मन्त्री जपिरहे ।

सेवा निवृत्त सैनिक ५७ वर्षीय रिडमल रामको स्थानीय नारायणा मल्टीस्पेसियालिटी अस्प्तालमा मस्तिष्कको शल्यक्रिया भएको हो ।

ब्रेन ट्युमरकै कारण उनमा पटक पटक मुर्छा पर्ने र अस्थायी रुपमा उनको आवाज केही बेरसम्म हराउने समस्या देखिने गरेको थियो । आवश्यक परीक्षणका क्रममा उनको मस्तिष्कमा सानो ट्यूमर पलाएको पत्ता लाग्यो । मस्तिष्कको बोली नियन्त्रण गर्ने भागमा यस्तो जटिल तरिकाले ट्युमर पलाएको थियो कि शल्यक्रियाका कारण उनको बोल्ने क्षमता नै हराउन पनि सक्दथ्यो ।

त्यसैले डाक्टरहरुले विरामीलाई होसमै राखेर शल्यक्रिया गर्ने निधो गरे र उनलाई गायत्री मन्त्र जपिरहन लगाए । शल्यक्रिया गरेर ट्युमर निकालिरहँदा उनको बोली निरन्तर रहोस् भन्ने कुराको ग्यारेन्टी डाक्टरहरु गर्न चाहन्थे ।

उनको सुन्ने, बोल्ने, बुझ्ने तथा आदेश पालना गर्ने क्षमता जाँच गर्नका लागि डाक्टरहरुले शल्यक्रियाका बेला उनलाई पटक-पटक आफ्नो औँला, खुट्टा आदि हल्लाउन आदेश दिइरहेका थिए । चार घण्टासम्म चलेको उक्त शल्यक्रियामा उच्च क्षमतायुक्त माइक्रोस्कोपको पनि प्रयोग गरिएको थियो ।

बिरामीलाई बेहोस नबनाइकनै गरिने यस्तो शल्यक्रियालाई अवेक केनियोटोमी अर्थात् अवेक ब्रेन सर्जरी भनिन्छ । मस्तिष्कको देख्ने, बोल्ने वा शरीरका मूख्य गतिविधि नियन्त्रण गर्ने हिस्साबाट ट्यूमर निकाल्ने शल्यक्रिया गर्दा अवेक केनियोटोमी नामक नविनतम प्रविधि विश्वभर प्रचलित छ ।

मस्तिष्कका अन्य क्षेत्रमा नोक्सान नपुर्‍याइकन ट्यूमर भएको स्थान सटिक रुपमा पत्ता लगाएर सुरक्षित साथ त्यसलाई बाहिर निकाल्नका लागि यो विधि निकै उपयोगी रहेको छ ।

स्मरण रहोस् भारतको सोही अस्पतालमा सन् २०१८ मा एक ३० वर्षीय युवकको पनि यसैगरी शल्यक्रिया गरिएको थियो र उक्त शल्यक्रियाको क्रममा ती युवकले हनुमान चालिसा जप गरिरहेका थिए । नेपालमा पनि विरामीलाई मादल बनाउन लगाएर मस्तिष्कको शल्यक्रिया गरिएको खबर केही समय अगाडि सार्वजनिक भएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment