Comments Add Comment

म यसरी शिक्षक बनें

बूढा बाको चाउरी परेको छाला जस्तो खुम्चुङ्ग परेको सर्ट । उक्त सर्टको पकेटमा एक जोडी बेमेल रङ्गका डटपेन । पोलिसको व्यग्र प्रतीक्षामा बसेका फुङ्ग रङ्ग उडेका एक जोडी जुत्ता । जीवनको रङ फुस्रो परिसकेको मलिन शरीर अनि त्यही शरीर घिसार्दै हिंडिरहँदा बाटोमा कसैले नमस्ते सरु भन्दा फुरुङ्ग भइदिने मुहार । त्यसताका म काठमाडौंमा रहँदाको प्रायः शिक्षकहरूको सार्वजनिक पहिचान ।

म सडकमा हिंड्दा देखिने अनगिन्ती मुहारमध्ये कुन मुहार शिक्षकको हो भनेर चिनिहाल्थें-सोधिरहनुपर्ने आवश्यकता नै हुन्‍नथ्यो । यी त भए शिक्षक चिनिने बाहिरी आवरणको कुरा जुन मेरो मानसपटलमा त्यतिबेला कुँदिएको थियो । कुनै पनि कुराहरू मानसपटलमा यसै कुँदिन्नन्-हाम्रो मस्तिष्कले देखेका हरेक कुराहरूलाई संश्लेषणरविश्लेषण गरी त्यसप्रति एउटा दृष्टिकोण बनाउँछ ।

मेरो मस्तिष्कले शायद त्यसबेला त्यस्तै दृश्यहरू देखेको थियो । मलाई पढाउने शिक्षकहरू मैले राम्ररी नियालेको थिएँ । मेरा कोही आफन्त शिक्षक, कोही साथीहरू नै थिए । जो शिक्षक थिए-उनीहरूलाई मेरो मस्तिष्कले राम्ररी नियालेको थियो । त्यसैले शायद शिक्षकहरूप्रतिको त्यो छाप मेरो मस्तिष्कमा गडेर कुदिएको थियो, ढुङ्गामा लेखिएको अक्षरहरू जस्तै ।

मेरो त्यो दृष्टिकोणलाई मलजल गराउन लागिपर्ने अन्य केही तत्त्वहरू पनि थिए जो म अक्सर सुनिरहन्थेंस हप्तामा एक दिन प्राप्त हुने शनिबारे बिदामा प्रायः शिक्षकहरू आफ्नो हप्ताभरिको तनाव बिसाउन कुनै सस्तो चौतारी जान्छन् । सोही चौतारीमा बसी सस्तोमै ग्लास भरिने मदिराले आफ्नो शिथिल शरीरलाई सिंचित गर्छन् । कम आर्थिक आयले गर्दा निम्तिने घरायसी तनाव, विद्यालयमा प्रशासनरविद्यार्थी अनि अझै कहिलेकाहीं विद्यार्थीका अभिभावकसँगको सम्बन्धको तनाव । घरबेटीले गर्ने भाडाको किचकिचको तनावहरू । सबैलाई सोलोडोलो पारी उक्त चौतारीमा बिसाउँछन् ।

अझै कतिले मदिरासँगै हारे पनि थोरै पैसा मात्र हारिने गरी तासलाई जोडेर मज्जा लिन्छन् । अनि तासको पत्ती र मदिराको चुस्कीसँगै गरिन्छन् देश–विदेशको अर्थ, राजनीति, भूगोल अनि इतिहासको गफ जो प्रायः यथार्थभन्दा बढी आदर्शकेन्द्रित हुन्छन् । यस्तो तस्वीर कुँदिएको मेरो दिमागले शिक्षक शब्दमा रमाउने कुरै भएन । त्यसैले त्यसताका मलाई बाटामा कुनै शिक्षकहरू भेट्दा वा शिक्षक शब्द सुन्दा पनि वितृष्णा हुन्थ्यो ।

मेरो बीएस्सीको पढाइ सकिएर रिजल्ट आउन बाँकी थियो । काठमाडौंको भाडाको बसाइ, कलेजमा पनि त्यत्तिकै खर्च, साँच्चै खर्चिलो थियो । मेरो कुनै कमाइको स्रोत थिएन । सबै खर्च घरबाटै धान्‍नुपर्ने। फेरि हाम्रो परिवार त्यस्तो उच्च आर्थिक अवस्था भएको परिवार थिएन । केही पुर्ख्यौली अचल सम्पत्ति भए पनि चालु खर्चको लागि हामीलाई जहिल्यै हम्मेहम्मे पर्थ्यो ।

घरबाट पनि अब छोरोले आफ्नो खर्च आफैं जुटाउने व्यवस्था गर्छ भन्ने आशयको कुरो आइसकेको थियो । मलाई अब जे भए पनि कमाइको स्रोत आवश्यक थियो । तर किन हो कुन्नि मलाई भने जागिरमा पटक्कै रुचि थिएन, म स्वरोजगार सिर्जना गर्न चाहन्थें तर त्यसको लागि पनि केही पैसा र उचित मेसो दुवै मिल्नुपर्थ्यो ।

म धेरै रन्थनिएँ । त्यसैबीच मैले धादिङमा सँगै स्कूल पढ्दाको साथी भेटें । उसले भर्खरै सामाखुसीमा स्कूल शुरू गरेको रहेछ । त्यसमा कक्षा आठ पास गरी केही वर्ष पढाइ छाडेकाहरूले एकवर्षे कोर्स गरी एसएलसी परीक्षा दिनसक्ने रहेछन् । भेट्नासाथ उसले सोध्यो, ‘तिमी बीएस्सी है ?’

‘नो, म विजय’स मैले पनि ठट्टा गरें । अनि थपें, ‘बीएस्सीको कोर्स सकियो, रिजल्ट कुरिरा’छु।’

‘ओ ! गज्जब यार’ उसले भन्यो, ‘फुर्सद छ ?’

म फिस्स हासें । ‘मेरो त फुर्सद नै फुर्सद छ । बरु तिमीसँग मेरो फुर्सदको केही औषधि छ ?’, मैले जिस्क्याएँ ।

‘गज्जबको औषधि छ नि यार’ ऊ हाँस्दै बोल्यो, ‘मेरो स्कूलमा विज्ञान शिक्षकको खाँचो छ, अहिले आऊ- पढाऊ, पछि स्कूल नै मिलेर चलाऔंला ।’ मेरो साथीले उसको गज्जबको प्रस्ताव राख्यो ।

म उसको त्यो प्रस्तावले झण्डै मूर्छा परेको, म जोडले हासें । ऊ जिल्ल पर्‍यो । शायद वरिपरिका अरु पनि जिल्ल परे । अनि मैले सम्हालिंदै भनें- ‘नो यार, म पढाउँदिनँ । तिम्रो प्रस्तावको लागि धन्यवाद ।’

ऊ केही खिन्न जस्तो देखियो अनि मलिन आवाजमा सोध्यो- ‘किन ?’ त्यो किनु को जवाफ म कसरी दिऊँ उसलाई ? के उसले मैले दिएको जवाफको मर्म बुझ्ला र ? के उसले मेरो मनमा रहेको शिक्षकप्रतिको दृष्टिकोणलाई बुझ्ला र ? अनि मैले उसलाई उसले बुझ्ने गरी सहज तरिकाले जवाफ दिएँ- ‘मलाई शिक्षणमा रुचि छैन यार, रुचि नै नभएको पेशामा किन अल्झिनु ?’

मैले अझै थपें, ‘कुनै बेला रुचि जागेमा तिम्लाई अवश्य सम्झनेछु । बरु त्यो बाहेक अरु कुनै काम छ भने बुझ है ?’

‘ओके’ भनेर मुन्टो हल्लाउँदै सुस्त गतिमा ऊ छुट्टियो। ऊ छुट्टिएपछि पनि मलाई विछट्टै हाँसो लाग्यो । तर योपटक चाहिं म मनमनै हासें-आवाज बाहिर निकालिनँ । केही दिन यसै बिते, न त मैले कुनै आयस्रोतको बाटो पाएँ न त स्वरोजगारीको शुरुआत गर्न नै सकें । बरु ठमेलमा खाजा खाएर फर्कंदै गर्दा सामाखुसीमा पुनः उही साथीसँग भेट भयो बाटोमा। भेट्नासाथ उसले भन्यो, ‘विजय तिमी पढाउन आउ यार मेरोमा।’

करीब १३ वर्षदेखि म निरन्तर शिक्षक छु र पनि कुनै त्यस्तो एउटा पिरियड छैन जसमा मैले आफूलाई पुरानो पाएको होस् । म हरेक कक्षा र पिरियडमा नयाँ हुन्छु ।

उसले आफ्नो प्रस्तावलाई अझै प्रष्ट्यायो- ‘केही दिन पढाउ, रुचि लागे कन्टिन्यु गर। नभए छोडिदेऊ । बरु त्यतिन्जेलमा म अर्को शिक्षक नि खोज्दै गर्छु। तिमीले पढायौ भने पैसा नि राम्रै आउँछ पिरिएड बेसिसमा। अनि मेरो समस्या नि हल हुन्छ यार, आउ भोलिदेखि ।’

म एकछिन अलमल परें, केही आवाज नै आएन । अनि फेरि उसले भनेको एउटा कुरा मेरो दिमागमा घुम्यो- ‘पैसा नि राम्रै आउँछ।’त्यो चार शब्दको छोटो वाक्यले मेरो मस्तिष्कलाई केही मात्रामा हलचल नै गराइदियो-हो, मलाई केही पैसाको बिल्कुल खाँचो छ अचेल। फेरि उसले कुरा पनि त ठिकै गर्‍यो नि । ‘रुचि भए कन्टिन्यु गर, नभए छोडिदेउ।’

मेरो मस्तिष्क उसको प्रस्तावले प्रसन्न त भएन तर केही कन्भिन्स चाहिं अवश्य भयो। अनि मैले भनें, ‘हुन्छ यार, म भोलि आउँछु। बरु कति बजे ?’ ‘बिहान सात बजे’, उसले हाँस्दै भन्यो ।

जीवनमा पहिलोपटक आफूलाई रूचि नलागेको कार्य शुरु गर्नको लागि तयार भएँ म । साढे ६ बजे नै कोठाबाट निस्किएँ । बाटोमा हिंड्दै गर्दा हरेक पाइलाहरूमा मैले खुजमुजिएको सर्ट देखें, सर्टको पकेटमा रातो र कालो एकजोडी डटपेन देखें, फुङ्ग रङ्ग उडेको एकजोडी जुत्ता आफ्नै खुट्टामा छिरेजस्तो भान भयो । ती दृश्य यसरी आए मानौं कुनै चिसो बतास एकापट्टिबाट आउँदै मलाई स्पर्श गर्दै निरन्तर बहँदैछ।

म कतिखेर स्कूल पुगेछु पत्तै भएन । घडी हेरें- ६: ५० भएको रहेछ । उसले कक्षा १० को विज्ञान पुस्तक मतिर तेर्स्याउँदै मुसुक्क हाँसेर भन्यो- ‘१० मिनेट बाँकी छ, यो किताब हेरेर केही तयारी गर। पहिलो क्लास हो, अप्ठ्यारो लाग्न सक्छ-नडराई पढाउनु। कक्षामा जाने बेलामा एक ग्लास पानी पिएर जाउ’, भन्दै उसले पानीको जार देखायो। अनि फेरि थप्यो, ‘क्लास सकिएपछि कुरा गरम्ला।’

म त अलमलमा परें, के गरुँ-गरुँ जस्तो भयो । केही डरजस्तो भावले छाती थिच्यो । पुस्तक पल्टाएँ-पहिलो पाठ थियो गुरुत्वाकर्षण बलबारे। केहीबेरमा अलिअलि डर, अलिअलि अप्ठेरोपन, अलिअलि कौतूहल अनि अलिअलि आत्मविश्वासको मिश्रित भाव लिएर कक्षाकोठामा छिरें ।

मलाई देखेर उभिएका ती विद्यार्थीलाई मैले ‘बसु भन्नै भुलेछु-उनीहरू उभिइरहे । मैले उनीहरूलाई एकफेर सरसर्ती नियालें । कक्षाकोठा विविध जातका फूलहरू एकै ठाउँमा फुल्ने फूलबारी हो भन्ने कुरा मैले पहिलोपटक महसूस गरें । विद्यार्थी विविध थरीका थिए, कोही त मभन्दा नि ठूला-उँचाइमा पनि, उमेरमा पनि शायद ।

मैले एकछिन उनीहरूसँग सामान्य कुराकानी गरें । कक्षा आठ पास गरी विविध कारणवश लामो समय पढाइ छाडेर अहिले फेरि पढाइलाई निरन्तरता दिने उनीहरूको चाहनाको सम्मानस्वरुप समग्रमा शुभकामना दिएँ र मैले गुरुत्वाकर्षण पाठ शुरु गरें ।

मैले कक्षामा प्रस्तुत गरेको सबै क्रियाकलाप मलाई याद छैन तर मलाई के चाहिं याद छ भने मैले उक्त क्लासमा पुस्तक पल्टाएर पढाइनँ । मैले गुरुत्वाकर्षण र गुरुत्वबल हाम्रो जीवनसँग कसरी जोडिएको छ भन्ने कुरा सेयर गरें । त्यसका केही उदाहरण प्रस्तुत गरें । अनि अन्त्यमा सर आईज्याक न्यूटनलाई जोडें, जसले गुरुत्वाकर्षणलाई लिपिबद्ध गरी नियममा बाँधेका थिए । मेरो लागि मेरो पहिलो क्लास पहिलोचोटि गरेको अन्य सामान्य कार्य जस्तै रह्यो- न धेरै रस न त खासै बेरस नै ।

पहिलोपल्ट तानेको शिखर चुरोटको सर्को जस्तै, पहिलोपटक पिएको टुबोर्ग बियरको घुट्को जस्तै- न त स्वादिष्ट न त बेस्वादको नै । क्लास सकिएपछि मलाई अफिसमा राखी ऊ क्लासमा गयो र केहीबेरमा पुनः अफिसमा आयो अनि खुशी हुँदै भन्यो- ‘गज्जब यार, दे आर ह्याप्पी विथ यु-दे लाइक्ड योर टिचिङ ।’
अनि अझै थप्यो-‘बधाई छ विजय सर ।’

आफ्नो नामको पछाडि सरु थपिएको पहिलो आवाज सुन्दा मलाई कस्तो कस्तो लाग्यो । मनमा खुशीको भाव छायो या बेखुशी आयो थाहै भएन । अनि म खिसिक्क हासें मात्र । तर मलाई खुशी यो कुरामा चाहिं लाग्यो कि मेरो प्रस्तुति विद्यार्थीलाई रमाइलो लागेछ । आफ्नो कार्यले आफू खुशी हुने त धेरैचोटि भएको थियो तर आफ्नो कारणले अरु कोही खुशी हुँदा त्यो खुशीको भाव आफूभित्र नि सर्दोरहेछ, त्यो मैले महसूस गरें ।

कोठामा फर्कंदै गर्दा म आफैं पनि केही हलुका भएजस्तो अनुभूति भयो । गुरुत्वाकर्षणबारे मैले पहिलेभन्दा आज अलि बढी बुझेको बोध भयो । आफूले पढेर प्राप्त ज्ञानको गहिराइ भन्दा अरुसँग प्रस्तुत गरेर खारिएर आएको ज्ञानको गहिराइ बढी हुँदोरहेछ शायद ।

करीब तीनरचार दिनको क्लासपश्चात् मलाई अजीव खालको भाव आउन थाल्यो । आफूले सिकेका, जानेका, बोध भएका अनि अनुभूति गरेका कुराहरू अरुसँग मज्जाले सेयर गर्न सक्नु गज्जबको कुरोरहेछ ।

वास्तवमा शिक्षण भनेको नै यही रहेछ । मैले कति जानेको छु या बुझेको छु-त्यसले खासै अर्थ राख्दोरहेनछ शिक्षणमा तर मैले आफूमा भएका कुराहरू अरुसामु कसरी अभिव्यक्त गर्छु- अरुले त्यसलाई कुन तहसम्म ग्रहण गर्न सक्छन्, त्यो नै शिक्षण हो ।

मेरो मस्तिष्क अहिले पनि शिक्षण पेशाप्रति विकर्षित नै थियो तर मनचाहिं विस्तारै आनन्दित हुँदैथियो । विद्यार्थीहरू दिनप्रतिदिन खुशी देखिन्थे, विस्तारै कक्षा पनि थपियो-थपिएका कक्षाका विद्यार्थी पनि खुशी देखिन्थे। उनीहरू मस्तसँग रम्थे कक्षामा, म पनि मस्त रम्थें ।

बेलाबेलामा गज्जबको छलफल पनि चल्थ्यो, कक्षा १० का विद्यार्थी भए पनि प्रायःजसो उनीहरू २० वर्षभन्दा माथिकै थिए । कुनै न कुनै व्यापार व्यवसायमा लागिसकेका मानिसहरू थिए ।

विद्यार्थीमा उत्पन्न भएको त्यो खुशी अनि आनन्दको भाव ममा यसरी सर्दै गयो मानौं मेरो मनलाई शिक्षणको नशा लाग्दैथियो । मस्तिष्कको चतुर्‍याइँ अनि सोचलाई मनको आनन्दित भावले जित्दै गयो । त्यसको केही समयपछि हामी केही साथीहरू मिली स्वरोजगार सिर्जना गर्ने एउटा क्षेत्र रोज्यौं । अनि नयाँबजारमा एउटा निजी विद्यालय शुरु गर्‍यौं । अनि म शिक्षक भएँ ।

र, अहिले करीब १३ वर्षदेखि म शिक्षक छु निरन्तर र पनि कुनै त्यस्तो एउटा पिरियड छैन जसमा मैले आफूलाई पुरानो पाएको होस् । म हरेक कक्षा र पिरियडमा नयाँ हुन्छु । हरेक वर्तमानहरू विगत बन्दै जान्छन् अनि फेरि नयाँ वर्तमान खुल्दै जान्छन् अनि फेरि म नयाँ वर्तमानसँगै नयाँ हुँदै जान्छु । मैले शिक्षकको रुपमा हरेक कक्षाहरूमा इन्ज्याय गरेको छु-आनन्दित भएको छु ।

मेरो शिक्षण कार्य र पेशाप्रति मलाई अगाध प्रेम छ । अनि यसै शिक्षण पेशाले गर्दा नै शारीरिक उमेरको निरन्तर वृद्धिका बाबजूद पनि मेरो मानसिक उमेर कम छ । अथवा भनौं ममा विविध उमेरको कला छ, म छिनमै दशवर्षे बालक भइदिन सक्छु-छिनमै सत्र वर्षे यौवना ।

छिनमै चौबीस वर्षे जिज्ञासु या छिनमै चालीस वर्षे परिपक्व मानिस । अनि छिनमै साठी वर्षे अनुभवी भैदिन सक्छु। हो साँच्चै, मलाई मेरो शिक्षण कार्यमा गहिरो प्रेम छ-शिक्षण मेरो जीवनको आत्मीय साथी बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment