News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रपति रामचन्द्र पौडेलले जापान भ्रमणमा जापानका सम्राट नारुहितोसँग शिष्टाचार भेटघाट गरेका छन्।
- पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा विशेष समारोहलाई सम्बोधन गरेका छन्।
- सम्राट नारुहितोले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी नेपाल भ्रमणको निमन्त्रणा स्वीकार गरेका छन्।
२० माघ, जापान (टोकियो) । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच मंगलबार शिष्टाचार भेटघाट भएको छ ।
जापानको चारदिने भ्रमणमा रहेका राष्ट्रपति पौडेल र जापान नरेश नारुहितोबीच इम्पेरियल प्यालेस टोकियोमा शिष्टाचार भेटवार्ता भएको हो ।
जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा गएका हुन् । भ्रमणको क्रममा उनले नेपाल–जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा हुने विशेष समारोहलाई सम्बोधन गरेका छन् ।
मंगलबार भएको भेटघाटका अवसरमा राष्ट्रपति पौडेलले नेपालको सामाजिक तथा आर्थिक विकासको महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा जापानले गरेको सहयोग र खेलेको भूमिकाको उच्च प्रशंसा गरे ।
‘जापानले नेपाललाई मानव संशाधन, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति जगेर्नालगायतका क्षेत्रमा सहयोग गरिरहेको छ, यसबाट नेपाल र नेपाली अत्यन्त लाभान्वित भएका छन्,’ जापानका सम्राट नारुहितोसँग भएको कुराकानीमा राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
राष्ट्रपति पौडेलले दुवै देश गौतम बुद्धको शिक्षा र आदर्शबाट प्रेरित रहेको पनि बताएका थिए । ‘बुद्धको जन्मस्थल लुम्बिनीले नेपाल र जापानका जनताबीचको सम्बन्धलाई सुमधुर बनाउन बलियो पुलको काम गरेको छ,’ उनले भने ।
दुवै देशबीच इतिहास, संस्कृति र आपसी सहयोगमा लामो समयदेखि आधारित सम्बन्ध, कूटनीतिक सम्बन्ध स्थापनायता अझ निकट र गहिरो मित्रताको साथ अघि बढेको राष्ट्रपति पौडेलको भनाइ थियो ।
‘यस वर्ष हामीले मनाउँदै गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव हामीबीच स्थापित द्विपक्षीय सम्बन्धको एक कोशेढुङ्गा हो,’ राष्ट्रपति पौडेलले भने ।
उच्चस्तरीय भ्रमणको आदान–प्रदानले दुवै देशबीचको सम्बन्धलाई थप मजबुत बताएको बताउँदै राष्ट्रपति पौडेलले सन् १९८७ मा राजकुमारका रूपमा सम्राट नारुहितोले काठमाडौं, भक्तपुर, पोखरा र लुम्बिनीको भ्रमण गरेको स्मरण गरे ।
साथै, उनले सन् २०२० मा आफूलाई ग्रान्ड कर्डन अफ दी अर्डर अफ दि राइजिङ सनबाट विभूषित गरेकोमा सम्राट र जापान सरकारप्रति आभार व्यक्त गरे ।

राष्ट्रपति पौडेलले नेपाल सरकार र जनताका तर्फबाट जापान सरकारको सद्भावना र सहयोगका लागि आभार प्रकट गर्दै सम्राट र साम्राज्ञीलाई अनुकुल समयमा नेपाल भ्रमणका लागि निमन्त्रणा दिएका छन् ।
सो अवसरमा जापानका सम्राट नारुहितोले नेपाल जापान कूटनीतिक सम्बन्धको वार्षिकोत्सव हर्षोल्लासका साथ मनाउनुपर्ने बताए । सो अवसरमा उनले सन् १९८६ मा आफूले गरेको नेपाल भ्रमणको याद ताजै रहेको उल्लेख गरेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए ।
सम्राट नारुहितोले पोखरामा सराङ्कोट पदयात्रा गर्दा त्यहाँ महिलाहरूले खानेपानीका लागि गाग्री थापेको दृश्य देखेर पानीका विषयमा अध्ययन गर्ने प्रेरणा प्राप्त भएको सन्दर्भ उल्लेख गरेका थिए ।
उनले नेपाललाई जापानले सकेसम्म सहयोग गर्ने बताउँदै प्राकृतिक विपद्हरूमा दुवै देशले एक अर्कालाई सहयोग गर्दै आएको स्मरण गरे ।

सम्राट नारुहितोले नेपाल जापान सम्बन्ध विकासमा राष्ट्रपति पौडेलले पुर्याएको योगदानलाई सम्झेर जापानले सम्मान गरेको बताएका थिए ।
राष्ट्रपति पौडेलले जापान भ्रमणको क्रममा सोमबार जापानका व्यापारिक समुदायका सदस्यहरूसँगको कार्यक्रमलाई सम्बोधन गरेका थिए । सोमबार नै जापानका परराष्ट्र राज्यमन्त्री होरी इवाओले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरेका थिए ।
जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले नेपाल जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षका अवसरमा आयोजना भएको कार्यक्रमलाई विशेष सम्बोधन गरे भने यहाँस्थित नेपाली राजदूतावासको अवलोकन पनि गरे ।
जापानको चार दिने भ्रमण सकेर राष्ट्रपति पौडेल बुधबार स्वदेश फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया 4