Comments Add Comment

मेस्सीले पीएसजीबाट कहिले गर्लान् डेब्यू ?

२७ साउन, काठमाडौं । अर्जेन्टिनी फुटबल स्टार लिओनल मेस्सीले बार्सिलोनाबाहेकको क्लबबाट पहिलो पटक व्यवसायिक क्लब फुटबल खेल्दैछन् । ३४ वर्षीय मेस्सीलाई फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मंगलबार २ वर्षका लागि अनुबन्ध गरेपछि अब उनले नयाँ क्लबबाट फुटबल खेल्ने भएका हुन् ।

२१ वर्ष बार्सिलोनाका लागि खेलेका मेस्सीले अब पीएसजीमा ३० नम्बर जर्सी लगाएर खेल्नेछन् । उनले पीएसजीका लागि कहिले डेब्यू गर्लान् भन्नेमा धेरैको चासो छ ।

पीएसजीले फ्रेन्च लिग वानमा पहिलो खेल खेलिसकेको छ भने अगस्ट १५ मा दोस्रो खेल खेल्दैछ । तर त्यो खेलमा मेस्सी हुन्छन् कि हुँदैन पक्का भएको छैन ।

गत जुलाईमा ब्राजिलमा भएको कोपा अमेरिकाको उपाधि जितेपछि मेस्सी छुट्टीमा थिए । उनले प्रिसिजनमा पनि कुनै खेल खेल्न पाएनन् । बार्सिलोनामा नयाँ सम्झौता गर्ने भनिए पनि अन्तिम समयमा ला लिगाको आर्थिक नियम बाधक बन्दा उनले क्लब छाड्नुपरेको थियो ।

मेस्सीले बुधबारको पत्रकार सम्मेलनमा पनि आफूले पीएसजीका लागि कहिले खेल्ने भन्न सकेनन् । ‘मैले हिजो टेक्निकल स्टाफसंग कुरा गरेको थिएँ । सम्भवत मलाई प्रि सिजन चाहिन्छ र मलाई आशा छ मैले सक्ने भएपछि खेल्नेछु’ उनले भनेका छन् ।

मेस्सीले बार्सिलोना छाड्नु कठिन भएपनि पेरिस आएपछि खुशी लागेको बताए । ‘म धेरै खुशी छु । सबैलाई थाहा छ बार्सिलोनाबाट बहिर्गमन धेरै कठिन थियो । तर जब म यहाँ आएँ धेरै खुशी लागेको छ । म उत्साहित छु र ट्रेनिङ गर्न चाहन्छु किनकी म टिममेटसंग भेट्न आतुर छु’ उनले भने ।

मेस्सीले आफूसँग अझै करियरको पहिलो क्षणजस्तै खेल्ने चाहना रहेको बताए । यस्तै नेमार र एमबाप्पेसंग पहिलो पटक सँगै खेल्ने क्षणको पनि आफू ब्यग्र प्रतीक्षामा रहेको मेसीले बताए । ‘म विश्वकै उत्कृष्ट खेलाडीहरुसंग खेल्न जाँदैछु र त्यो सधैँ राम्रो हुनेछ’ उनले भने ।

यसैगरी मेस्सीले पीएसजीका प्रशिक्षक माउरिसिओ पोचेटिनोसंग आफ्नो राम्रो सम्बन्ध रहेको समेत बताए । ‘म कोचलाई राम्रोसँग चिन्छु । उनी अर्जेन्टिनी भएको तथ्यले पनि मलाई सुरुवातदेखि सहयोग गर्‍यो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment