Comments Add Comment

शुल्क विराेधमा उपत्यकाका १० इन्जिनियरिङ कलेजका विद्यार्थी आन्दोलित

३२ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौं उपत्यकाका १० वटा निजी इन्जिनियरिङ कलेजका विद्यार्थीहरु आन्दोलित भएका छन् । अनलाइन कक्षा सञ्चालन भइरहेको बेला पनि नियमित कक्षा सञ्चालनकै शुल्क लिएको भन्दै विद्यार्थी संगठनको अगुवाइमा विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

तीन विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संघ, क्रान्तिकारी विद्यार्थी संगठन र अनेरास्ववियू सम्वद्घ विद्यार्थीहरुले शुल्कको विरोधमा आन्दोलन गरिरहेका छन् ।

त्यसमध्ये ललितपुरस्थित हिमालय कलेज अफ इन्जिनियरिङका विद्यार्थीहरु सात दिनदेखि धर्नामा छन् । धर्ना बसिरहेकै बेला कलेजले प्रहरी परिचालन गरी शान्तिपूर्ण आन्दोलनलाई दबाउन खोजेको नेविसंघका उपसभापति विवेक ज्ञवालीले बताए । ‘हामीले भर्चुअल कक्षा लिइरहेका छौं । भौतिक रुपमा कक्षा सञ्चालन भइरहेको बेलाकै जस्तो शुल्क तोक्नुभएको छ । त्यही भएर फि स्ट्रक्चर दिनुहोस् भन्दा पनि नदिने । अनि आन्दोलन पनि दबाउन खोज्ने कार्य भइरहेको छ,’ उनले भने ।

साउन २३ गते आन्दोलन गरिरहेको बेला कलेज प्रशासनले प्रहरी परिचालन गरी विद्यार्थीलाई बलपूर्वक हटाएको उनको भनाइ छ । त्यसयता कलेज प्रशासनले विद्यार्थी, अभिभावकको फोन समेत नउठाएको उनको भनाइ छ ।

कोभिडका कारण विद्यार्थीका अभिभावकहरुको आयस्रोत कमजोर भएको र भौतिक रुपमा कक्षा पनि सञ्चालन भएकाले कम्तीमा ३० देखि ३५ प्रतिशत शुल्क छुट हुनुपर्ने माग राख्दै आएका छन् ।

पुलचोक इन्जिनियरिङ कलेजका स्ववियू सभापति रोशन थापामगरले विद्यार्थीको मागप्रति कलेज मौन भइरहेको बताए । ‘सम्बन्धित कलेजहरु आफूले तोकेको शुल्क जसरी पनि उठाउने ध्याउन्नमा देखिए । अहिलेसम्म केही कलेज बाहेक सबै कलेज चुपचाप छन् ।’

साउन मसान्तसम्म तोकिएको परीक्षा फारमको तालिका भने इन्जिनियरिङ अध्ययन संस्थानले भदौ ८ गतेसम्म थप गरेको छ । विद्यार्थीहरुले फारम भरे पनि कलेजले शुल्क नतिरी स्वीकृति नदिने भनेर ‘पेन्डिङ’मा राखेको पाइएको मगरले बताए ।

कलेजहरुले भने ५ देखि १० प्रतिशतसम्म मात्रै छुट दिन सक्ने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment