+
+

धितोपत्र बोर्डका अध्यक्षमाथि छानबीन गर्न समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १६ गते १९:००

१६ भदौ, काठमाडौं । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाले कानून विपरीत आफन्तको नाममा शेयर खरीद गरेको विषयमा छानबीन गर्न समिति गठन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले बोर्डका अध्यक्षका सम्बन्धमा छानबीन गरी प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको हो । जसमा विज्ञ सदस्यका रुपमा नारायण प्रसाद पौडेल र अर्का सदस्य नेपाल कानून आयोगका सहसचिव अर्जुनकुमार खड्का रहेका छन् ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धितोपत्र बोर्ड सम्बन्धी ऐन २०६३ को दफा ७ को उपदफा ७ अनुसारको कामका लागि समिति गठन गरिएको बताए ।

सो उपदफा अनुसार अध्यक्षले बोर्डलाई हानिनोक्सानी पुर्‍याई बोर्डको हित वा पूँजी बजारको विकास विपरीत हुने गरी काम कारबाही गरेमा नेपाल सरकारले तोकिए बमोजिम जाँचबुझ समितिको गठन गर्न सक्नेछ । जाँचबुझ समितिले सिफारिश गरेमा अध्यक्षलाई हटाउन सकिने व्यवस्था पनि रहेको छ ।

पूँजी बजारको नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाकी छोरी रेबिकाको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरीद भएको पाइएको थियो ।

सर्वोत्तमले बुक बिल्डिङ मार्फत सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने तयारी गरिरहेको छ । आईपीओ जारी गर्दा अंकित मूल्य एक सय रुपैयाँ हुने भए पनि बुक बिल्डिङ मार्फत शेयर जारी गर्दा यसको प्रतिशेयर मूल्य ७५० रुपैयाँ हाराहारी हुनेछ । यसरी आईपीओ जारी गर्ने तयारीमा रहेको कम्पनीको शेयर अध्यक्षले आफ्नो पदको दुरुपयोग गरी प्रतिकित्ता २५० रुपैयाँको दरले खरीद गरेको पाइएको थियो ।

पदीय मर्यादा विपरीत अमेरिकामा रहेकी छोरीको नाममा शेयर किनेको भन्दै बोर्ड अध्यक्ष ढुंगानाको आलोचना भइरहेको छ । नेपाल स्टक एक्सचेञ्जका तत्कालीन प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले समेत श्रीमतीको नाममा सर्वोत्तमको शेयर खरीद गरेका थिए । यो तथ्य बाहिर आएपछि अनुसन्धानमा सघाउन भन्दै साउदले पदबाट राजीनामा दिइसकेका छन् ।

प्रतिनिधिसभाको अर्थसमितिमा सांसदहरुले उच्चस्तरीय छानबीन समिति बनाएर ढुंगाना र साउदलाई कारबाही गर्नुपर्ने बताएका थिए । अध्यक्ष ढुंगानाले भने विवाहित छोरीले शेयर किन्नु सामान्य कुरा भएको भन्दै आफूले कुनै गैरकानूनी र गलत काम नगरेको बताउँदै आएका छन् । आफ्नो कुनै कमजोरी नै नरहेको भन्दै उनले राजीनामा नगर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?