+
+

एमाले विभाजन : अझ ठूलो पहिरो जानै बाँकी छ

सइन्द्र राई सइन्द्र राई
२०७८ भदौ १६ गते २०:५७

१६ भदौ, काठमाडौं । प्रतिनिधिसभाको सबभन्दा ठूलो दल नेकपा (एमाले) विभाजनले प्रदेश सभामा पनि वैधानिकता पाउँदैछ ।

वागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसभामा मंगलबार नेकपा (एकीकृत समाजवादी) रोज्ने प्रदेशसभा सदस्यहरूले सनाखत गरे । अन्य प्रदेशमा पनि एमालेबाट अलग हुने नेताहरूको सनाखत गराउने तयारी भइरहेको छ ।

निर्वाचन आयोगले दल रोज्ने मिति २२ भदौसम्म तोकेकाले एमालेका प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरू यतिबेला तानातानमा छन् । एमालेका नेताहरू सकेसम्म धेरैलाई रोक्न र एकीकृत समाजवादीका नेताहरू आफूतिर तान्न सक्रिय छन् ।

एकीकृत समाजवादीका नेता बेदुराम भुसाल धेरै नेता–कार्यकर्ता पहिल्यै प्रष्ट रहेकाले उनीहरुलाई तान्न धेरै मिहिनेत गर्नु नपर्ने बताउँछन् ।

‘समानान्तर कमिटीहरु छँदैथिए, कमिटी बनाउन लागिपरेका र त्यहाँ रहेकाहरूले कित्ता प्रष्ट पारिसके’ भुसाल भन्छन्, ‘गत ४–५ चैतको राष्ट्रिय कार्यकर्ता भेलापछि बनेका समानान्तर कमिटी र त्यसका नेताहरूको वैधानिकता मात्रै अहिले टुंगो लागिरहेको हो ।’

एमालेका प्रमुख सचेतक विशाल भट्टराई भने समानान्तर कमिटीमा रहेका धेरै नेता एमालेमा फर्किने बताउँछन् । ‘एमाले सिध्याउने माधव नेपालको कदमलाई नेता–कार्यकर्ताले साथ दिंदैनन्’ उनी भन्छन्, ‘यति कुरा त प्रष्ट छ ।’

विभाजनपछि एकअर्कालाई जसरी पनि सिध्याउने मनसाय दुवैतर्फका नेताले नलुकाएकाले पनि आगामी निर्वाचन एमालेका लागि निकै बीभत्स हुनसक्ने एक नेताको अनुमान छ ।

पूर्व एमाले प्रमुख तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीबाट अलग हुँदै २ भदौमा गठन गरेको नेकपा (एकीकृत समाजवादी)मा प्रतिनिधिसभाका २६, राष्ट्रियसभाका ८ र पार्टी केन्द्रीय कमिटीका ६० जना गएका छन् ।

विभाजनमा उत्साह !

पार्टी वा संसदीय दलमा २० प्रतिशत पुगे विभाजन गर्न सकिने अध्यादेशको उपयोग गर्दै एमालेबाट अलग भएको एकीकृत समाजवादीका नेताहरू प्रदेशसभामा भएको सनाखतबाट उत्साहित छन् । विशेषतः सुदूरपश्चिमको सनाखतबाट समाजवादीका नेताहरू निकै उत्साहित देखिन्छन् ।

सुदूरपश्चिम प्रदेशसभामा सभामुखसहित एमालेका कुल २५ सांसदमध्ये १३ जना नयाँ पार्टीमा आएको दाबी गरिएको छ । दाबीअनुसार मंगलबार १० जनाले सनाखत गरे, तीन जना प्राविधिक कारणले मात्र रोकिएका छन् ।

अर्थात्, सुदूरपश्चिमका बहुमत एमाले सांसद एकीकृत समाजवादीको पक्षमा उभिए । जबकि सुदूरपश्चिमका प्रमुख एमाले नेता भीम रावल माधव नेपाललाई छोडेर एमालेमै बसेका छन् ।

यता, वागमती प्रदेशका कुल ५५ एमाले सांसदमध्ये १२ जना नयाँ पार्टीमा लागेसँगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । एमाले उपाध्यक्ष शाक्य २ भदौमा मुख्यमन्त्री नियुक्त भएकी हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू निकट डोरमणि पौडेललाई हटाएर नेपाल क्याम्पकी शाक्यलाई मुख्यमन्त्री बनाउने परिपाठ मिलाए पनि पछिल्लो उतारचढावले शाक्यलाई तीन साता नपुग्दै पदमुक्त हुने अवस्थामा पुर्‍याएको छ । अहिले एमालेइतर गठबन्धन संघदेखि सबै प्रदेशसम्म सरकार बदल्ने गरी हावी भएको छ ।

अहिलेसम्म माधवकुमार नेपाललाई अनुकूल हुने गरी कुनै गतिविधि नभएको लुम्बिनीमा समेत मंगलबार प्रदेशसभा सदस्य रमा घर्तीले एकीकृत समाजवादीमा सनाखत गरिन् । यसअघि लुम्बिनीमा एमालेका दुई प्रदेशसभा सदस्य (दृगनारायण पाण्डेय र अमर डाँगी) ले राजीनामा र विमला वलीले नेकपा (माओवादी केन्द्र) रोजेर ओली निकट निवर्तमान मुख्यमन्त्री शंकर पोखरेललाई असहयोग गरेका थिए ।

अब लुम्बिनीमा एमालेका ३६ सांसद मात्र रहेका छन् । सूर्य चिन्हबाट जितेका अमर शाही गठबन्धन सरकारको मन्त्री नियुक्त भइसकेका छन् ।

प्रदेश २ मा पनि सुदूरपश्चिममा जस्तै एकीकृत समाजवादी रोज्ने एमाले सांसदहरू बढी देखिएका छन् । प्रदेश २ का कुल २१ एमाले सांसदमध्ये १३ जना नयाँ पार्टीमा लागेका छन् । अध्यक्ष ओली निकट सत्यनारायण मण्डललाई एमाले विभाजन नहुँदै बहुमतले दलको नेताबाट हटाएको थियो ।

उता प्रदेश १ मा वागमतीमा जस्तै नवनियुक्त मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन् । प्रदेश १ र वागमतीमा एमालेको एकल बहुमत थियो । तर पार्टी विभाजनसँगै प्रदेश १ का ५१ मध्ये १० सांसद एकीकृत समाजवादीतिर लागेका छन् । नयाँ पार्टीमा लागेका सांसद राजन राई दल रोज्न पाएको समय २२ भदौसम्म यो संख्या अझै बढ्ने बताउँछन् ।

प्रदेश १ मा ओली निकट शेरधन राईलाई हटाएर १० भदौमा आचार्यलाई मुख्यमन्त्री नियुक्त गरिएको थियो । तर, एमाले विभाजनले गर्दा ९७ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री आचार्य अल्पमतमा परेका छन् ।

मुख्यमन्त्रीद्वय आचार्य र शाक्य अनि उपाध्यक्ष भीम रावलसहित १० नेता ८ भदौमा पार्टी अध्यक्ष ओलीसँग १० बुँदे सहमति गरेर एमालेमै बसेका थिए । उनीहरू एमालेमा बसे पनि प्रदेशसभाको क्षति रोकिएन ।

नेपाललाई साथ दिएका कर्णालीका चार जना सांसदलाई यसअघि नै पदमुक्त गरिएको थियो । चार जना घटेपछि कर्णाली प्रदेशमा एमालेका १६ सांसद छन् । तीमध्ये तीन जनाले एकीकृत समाजवादी रोजेका छन् । गण्डकीमा भने ओली निकट पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री पद गुमाउनु परे पनि प्रदेशसभामा एमाले विभाजनको असर देखिएन ।

प्रदेशसभाहरुमा अहिलेसम्म भएको कित्ता विभाजनबाट ओली नेतृत्वको एमाले सबै ठाउँमा विपक्षी दल बन्ने पक्का देखिन्छ । कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकीमा सत्ता जोगाउने एमालेको प्रयास विफल भइसकेको छ । वागमती र प्रदेश १ मा पनि गठबन्धन सरकार बन्ने ढोका खुलेको छ ।

प्रदेश २ मा एमाले पहिलेबाटै विपक्षी दल हो । एकीकृत समाजवादी भने सबै प्रदेश सरकारमा सहभागी हुने दिशातर्फ अगाडि बढेको छ । यो परिवेशमा नवगठित पार्टीका नेताहरु उत्साहित देखिन्छन् ।

विभाजनको सम्भावित परिणाम

पार्टी अध्यक्ष केपी शर्मा ओली गत २९ असारमै प्रधानमन्त्री पदबाट मुक्त भएकाले एमाले विभाजनले पाएको वैधानिकताको असर केन्द्रमा धेरै परेन । करीब दुईतिहाइ बहुमतसहित प्रधानमन्त्री बनेका ओली पदमुक्त हुनुमा साविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन र एमालेको अन्तरकलह प्रमुख कारण थियो ।

एमालेको कलह र विभाजनको परिणाम अब प्रदेश १ र वागमतीमा देखिंदैछ । स्थानीय तहमा हुने विभाजनको असर कार्यकर्ता पंक्तिमा देखिनेछ । त्यो विभाजन पनि २२ भदौमा टुंगिनेछ ।

एकीकृत समाजवादीतिर लागेका नेता लक्ष्मण लम्साल एमाले विभाजनको मनोवैज्ञानिक असर आम जनतासम्म पुगिसकेको बताउँछन् । विभाजनको उत्कर्ष भने आगामी निर्वाचनको परिणाममा देखिने विश्लेषण उनले सुनाए ।

प्रदेशसभाहरुमा अहिलेसम्म भएको कित्ता विभाजनबाट ओली नेतृत्वको एमाले सबै ठाउँमा विपक्षी दल बन्ने पक्का देखिन्छ । कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकीमा सत्ता जोगाउने एमालेको प्रयास विफल भइसकेको छ । वागमती र प्रदेश १ मा पनि गठबन्धन सरकार बन्ने ढोका खुलेको छ ।

मुख्यतः स्थानीय तह निर्वाचनले पार्टी विभाजन कत्रो हो, त्यसको आकार प्रष्ट हुने लम्साल बताउँछन् । ‘केपी ओली पात खसेको बताइरहनुभएको छ’ उनी भन्छन्, ‘पात खसेको कि पहिरो गएको हो, आउँदो चुनावमा उहाँले पनि थाहा पाउनुहुनेछ ।’

२०७४ को निर्वाचनमा एमालेले ७५३ तहमध्ये २९४ मेयर/अध्यक्ष र ३३१ उपमेयर/उपाध्यक्ष जित्यो । कुल ६ हजार ७४२ वडाध्यक्षमध्ये २ हजार ५६० र २६ हजार ९७० वडा सदस्यमध्ये १० हजार ९१२ एमालेले जितेको थियो । यी जनप्रतिनिधिले निर्वाचन आयोगले दिएको समयसीमा २२ भदौभित्रै एमालेमै बस्ने वा नयाँ पार्टीमा जाने निर्णय गर्नुपर्नेछ ।

‘एमाले उम्मेदवार खडा गरेर जित्ने पार्टी थियो । आगामी चुनावमा पार्टी विभाजनको ठूलो असर देखिनेछ’ एमालेमै बसेका एक नेता भन्छन्, ‘सूर्य चिन्हबाट चुनाव जित्न सजिलो हुने भनेर अहिले एमालेमै लागेका सबैले टिकट नपाउने अवस्था आएको दिन गाउँ–गाउँमा विभाजनको चर्को असर देखिने पक्का छ ।’

उनका अनुसार सर्वसम्मतिमा वडाध्यक्षको टिकट पाउने अवस्था निकै दुर्लभ हुन्छ । ‘जनमत नहुनेले वडाध्यक्षको दाबी नै गर्दैन’ उनी भन्छन्, ‘दाबी गर्नेले टिकट नपाए चुनाव लड्ने अर्को बाटो पहिल्याउँछ ।’

विभाजनपछि एकअर्कालाई जसरी पनि सिध्याउने मनसाय दुवैतर्फका नेताले नलुकाएकाले पनि आगामी निर्वाचन एमालेका लागि निकै बीभत्स हुनसक्ने ती नेताको अनुमान छ ।

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारमा जाने तयारीमा जुटेको एकीकृत समाजवादीका नेताहरू भने आफ्नो पार्टी संगठन र गठबन्धनसँग एमाले लड्न नसक्ने बताउँछन् । ‘२०५४ को विभाजन जस्तो सोचेर बोलिंदैछ । तर अहिले निर्वाचन प्रणाली पहिले जस्तो छैन भने गठबन्धनको संस्कृति त हामीले २०७४ बाटै शुरू गरिसकेका छौं’, नेता खतिवडा भन्छन् ।

उता, एमाले अध्यक्ष ओली पार्टी विभाजन भएको समेत मान्न तयार देखिंदैनन् । पार्टी विभाजित भएको नभई एक–दुई वटा पात खसेको उनको टिप्पणी छ । ‘एक–दुई पात खस्दैमा पीर मानेर रुख ढल्दैन । एक दुइटा पात पहेंलिएर झर्छन्, अर्को टुसो आउँछ’, १२ भदौमा ललितपुरमा आयोजित कार्यक्रममा उनले भने ।

एमाले नेता सुरेन्द्र मानन्धर भने पार्टीलाई थप क्षतिबाट जोगाउन नेतृत्व गम्भीर हुनैपर्ने देख्छन् । ‘भइसकेको क्षतिबारे अध्यक्ष कमरेडबाट गम्भीर समीक्षा हुनुपर्छ’ उनी भन्छन्, ‘एमालेमा भएको एकतालाई भावनात्मक बनाउन निश्चित कार्यक्रमसहित अगाडि बढ्नुपर्छ ।’

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?