+
+

वामदेव गौतमले गरे एमाले परित्याग

'ओलीको गलत विचार, प्रवृत्ति र शैलीका कारण एमालेमा रहन सकिनँ'

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १८ गते १८:४९
फाइल तस्वीर

१८ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको गलत विचार, प्रवृत्ति र शैलीका कारण एमालेमा रहिरहन नसक्ने भन्दै उनले उपाध्यक्ष र पार्टीको सबै जिम्मवारीबाट राजीनामा दिएको पत्र पार्टी कार्यालयका सचिवलाई बुझाएका हुन् ।

गौतमले अध्यक्ष ओलीलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्रमा भनिएको छ, ‘म आफैं संलग्न भएर निर्माण भएको नेकपा एमालेमा तपाई‌ंका गलत विचार, प्रवृत्ति र शैलीका कारण रहिरहन असमर्थ भएकाले आजको मितिमा पार्टीको उपाध्यक्ष पद र पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको छु ।’

ओलीमाथि के-के छन् गौतमका आरोप ?

राजीनामा पत्रका गौतमले एमाले अध्यक्ष ओलीमाथि नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई कहिल्यै अवलम्बन नगरेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री भएपछि वाम गठबन्धन (एमाले र माओवादी केन्द्र)को घोषणापत्रलाई पनि लागू नगरेको भन्दै उनले भनेका छन्, ‘तपाईंले गर्नुभएको कामहरुलाई पटक-पटक सर्वोच्च अदालतको संवैधानिक इजलासले असंवैधानिक भन्दै खारेज गरेपछि पनि तपाईंले आफूलाई सुधार गर्न सक्नुभएन ।’

जनताको बहुदलीय जनवाद (जबज) तथा मदन भण्डारीको विचार र मान्यता संविधानको सर्वोच्चता र कानूनी राज्यको सिद्धान्तलाई पालना नगरेको तथा झण्डै दुईतिहाइको जनादेशलाई लत्याएर दुई पटक संविधान विपरीत संसद भंग गरेको गौतमको आरोप छ । पार्टी अध्यक्ष र प्रधानमन्त्री भएपछि पार्टीको राजनीतिक कार्यदिशा, विधान र संगठनात्मक सिद्धान्त ‘जनवादी केन्द्रीयता’ र ‘सामूहिक नेतृत्व, व्यक्तिगत जिम्मेवारी’लाई पालना नगरेको उनको आरोप छ ।

कार्यशैली सुधार गर्न आफूले पटक-पटक सुझाव दिएको भन्दै गौतमले राजीनामा पत्रमा भनेका छन्, ‘तर तपाईं सुध्रिनुभन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै जानुभयो ।’ आफ्नो गलत नीति र विचारअनुसार नचल्दा समकक्षी नेताहरुलाई एकपछि अर्को गरी अपमान गर्ने, कारबाही गर्ने र पार्टीबाट निष्सकासनसम्म गर्ने स्वेच्छाचारी तथा निरंकुश शैली अंगालेको गौतमको आरोप छ ।

गौतमले एमाले अध्यक्ष ओलीलाई भनेका छन्, ‘तपाईंले आफ्नो स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णय गर्न राष्ट्रपतिलाई समेत दुरुपयोग गर्नुभयो ।’

अब के गर्छन् गौतम ?

एमालेमा अन्तरसंघर्ष चर्किरहेका बेला गौतमले पटकपटक माधव नेपालले पार्टी फुटाए साथ दिने अभिव्यक्ति दिएका थिए । नेपालले २ भदौमा एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी बनाएका छन् । तर लामो समय नेपालसँगै रहेका दोस्रो पुस्ताका नेताहरु एमालेमै बस्ने निर्णयमा पुगेका छन् ।

गौतमले पनि बोली फेरेका छन् । उनले एकीकृत समाजवादीमा आउन शर्त अघि सारेका छन् । बिहीबार मात्र एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेटेका गौतमले जनताको बहुदलीय जनवाद (जबज)लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने, संघीयताबारे पुनर्विचार गर्नुपर्ने लगायतका शर्त राखेका छन् ।

वामदेवको राजीनामा पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?