+
+

प्रदर्शनको मुखमा आएर अड्किएका सिनेमा प्रदर्शन होलान् ?

विजय सुवेदी ‘आवाज’ विजय सुवेदी ‘आवाज’
२०७८ भदौ १९ गते २०:००

प्रेमगीत-३, म यस्तो गीत गाउँछु-२, चपली हाइट-३ जस्ता केही प्रतीक्षित चलचित्र थिए, जसले प्रदर्शन मिति तय गरिसकेका थिए । छायांकन, सम्पादनका सम्पूर्ण काम सिध्याएर प्रचार-प्रसारको तारतम्य पनि मिलाइसकेका थिए ।

तर, कोरोना महाव्याधिले नसोचेको झट्का दियो । प्रदर्शनको मुखमै आएर सिनेमाहरू रोकिए । अब के गर्ने ? सिनेमाकर्मी अन्योलको भुमरीमा गुम्सिए ।

फागुनको २३ गते । यदि ‘बाघी’ नामक हिन्दी चलचित्र रिलिज नभएको भए शायद नेपाली चलचित्र ‘म यस्तो गीत गाउँछु २’ रिलिज हुन्थ्यो होला । तर, हिन्दी चलचित्रका कारण निर्देशक तथा निर्माता सुदर्शन थापाले चलचित्रको प्रदर्शन मिति फागुन ३० गतेसम्म धकेले ।

विडम्बना । फागुनको २३ गते । चलचित्रको अन्तिम प्रचारका लागि मोफसल दौडमा रहेको समयमा सुदर्शनले विज्ञप्ति मार्फत चलचित्र अनिश्चितकालका लागि पछि सरेको जानकारी दर्शकलाई दिनुपर्‍यो । यो समयमा नेपालमा पनि कोरोनाको त्रास बढिसकेको थियो । हिन्दी चलचित्र ‘बाघी’ हेर्न नै दर्शकले हलसम्म जान रुचि नदेखाएपछि धमाधम नेपाली चलचित्रको मिति पछि सर्‍यो । यसको मारमा सबैभन्दा बढी सुदर्शन थापा परे । किनकि, उनले प्रचारका लागि सबै काम सकिसकेका थिए ।

यसपछि, चैत ७ गतेलाई प्रदर्शन मिति तोकिएको ‘निरफूल’, चैत २१ गतेलाई प्रदर्शन मिति तोकिएको ‘लक्का जवान’, चैत २८ गतेलाई प्रदर्शन मिति तोकिएको ‘प्रेमगीत ३ र चपली हाइट ३’ को प्रदर्शन मिति अनिश्चितकालका लागि स्थगित भयो । वैशाखमा चलचित्र ‘हिजोआजका कुरा’को पनि प्रदर्शन मिति तय गरिएको थियो । यो चलचित्रको प्रदर्शन पनि लकडाउन भएपछि हुन सकेन ।

धमाधम प्रदर्शन मिति तोकिएका चलचित्र अनिश्चितकालका लागि पछि सर्दा निर्माताको करोडौं रकम फ्रिज भयो । डेढ वर्ष भइसक्दा पनि यी चलचित्र रिलिज हुनसकेका छैनन् । यसले, निर्मातामा तनाव त थपिदिएको छ नै, साथमा अर्को प्रोजेक्ट शुरू गर्नका लागि जोश पनि आउन सकेको छैन ।

पहिलो चरणको लकडाउन सकिएपछि धमाधम केही चलचित्रको छायांकन भयो । ती चलचित्रका निर्माताले प्रदर्शन मिति तय गर्दै काम सम्पन्न गरे । तर, वैशाखबाट फेरि निषेधाज्ञा भएपछि छायांकन भएका दर्जनौं चलचित्रको प्रदर्शन कहिले हुन्छ भन्न सकिने अवस्था छैन ।

हल खुल्ने वित्तिकै के अब कोभिडको महामारी अगाडि प्रदर्शन मिति तोकेर पनि अड्किएका चलचित्रहरू प्रदर्शनमा आउलान् त ? सिनेमा

जिल्ला प्रशासन कार्यलय, काठमाडौंले बिहीबारबाट हल खुल्न दिने निर्णय गरेको छ । चार महीना भन्दा लामो समय बन्द रहेका हलहरू अब विस्तारै खुल्ने क्रममा छन् । चलचित्र क्षेत्रको अवस्था फेरि पुरानै गतिमा चाँडै फर्किन्छ भन्नेमा चलचित्रकर्मीहरू आशावादी छन् ।

हल खुल्ने निर्णयसँगै खुशीले भरिएका चलचित्रकर्मीको अनुहार र स्टाटसले पनि उनीहरू चलचित्र क्षेत्र सुचारु कहिले हुन्छ भन्ने प्रतीक्षामा कतिसम्म आतुर छन् भन्ने बुझाउँछ ।

तर, हल खुल्ने वित्तिकै के अब कोभिडको महामारी अगाडि प्रदर्शन मिति तोकेर पनि अड्किएका चलचित्रहरू प्रदर्शनमा आउलान् त ? के केही समयभित्र नै चलचित्र रिलिज गर्न निर्माताहरू तयार होलान् त ?

२०७६ साल चैत २८ गते चलचित्र रिलिजका लागि मिति तोके पनि कोभिडका कारण अन्तिम समयमा निर्माता अर्जुन कुमारले चपली हाइट-३ को प्रदर्शन मिति स्थगित गरेका थिए । उनै, अर्जुन अब भने आफूले चलचित्र रिलिजको सोच बनाएको बताउँछन् । उनले भने- ‘अब कोभिड बढेन र लकडाउन पनि भएन भने तिहारमा चलचित्र रिलिज गर्ने सोच बनाइरहेको छु । केही साता हेरौं, यसपछि म प्रदर्शन मिति सार्वजनिक गर्छु ।’

अर्जुनले, जग्गा भए पो भाउ बढ्छ भनेर राख्दा पनि हुने भन्दै चलचित्रको मूल्य नबढ्ने भएकाले अब रिलिज गर्नुपर्ने बताए । भने- ‘यो चलचित्र तिहारमा रिलिज गरेर तिहारपछि गोरे सार्कीको छायांकन शुरू गर्ने योजना छ ।’

डेढ करोड बजेटमा बनेको यो चलचित्र डेढ वर्ष नै अड्किंदा आफूलाई ठूलो घाटा लागेको अर्जुन बताउँछन् । उनका अनुसार, डेढ करोड रकम अन्य कतै लगाएको भए लाखौं आम्दानी भइसक्थ्यो । तर, चलचित्रमा लगाएर पूरै फ्रिज भएको उनको भनाइ छ ।

‘सेफ ल्याण्डिङ हुन्छ भने रिलिजका लागि तयार छु’ : सुदर्शन थापा

चलचित्र ‘म यस्तो गीत गाउँछु-२’का निर्माता तथा निर्देशक सुदर्शन थापाले तत्काल चलचित्र रिलिज गर्ने आफूमा कुनै सोच नभएको बताए । कोभिडका कारण सबैभन्दा ठूलो मारमा यो चलचित्र परेको छ । चलचित्रको सम्पूर्ण प्रचार समेत सकेको यो चलचित्र रिलिजको एक साता अगाडि मात्र पोष्टपोन्ड भएको थियो । सुदर्शन भन्छन्, ‘तत्काल आँट गर्न सक्ने कुनै अवस्था नै छैन नि Û साढे २ करोड डुब्यो भने त म आफैं पनि सडकमा आउँछु । अहिलेको माहोल हेर्दा तत्काल चलचित्र रिलिज गर्ने खालको पनि छैन ।’

थापाले वितरक र प्रदर्शक मिलेर सेफ ल्याण्डिङको बाटो खोजिदिने हो भने आफू चलचित्र रिलिजको लागि तयार भएको बताए । उनले भने-‘मलाई अहिले नाफा पनि चाहिएन । साढे २ करोड रुपैयाँ मात्र सुरक्षित हुन्छ भने पनि म चलचित्र रिलिज गर्न तयार छु । यो चलचित्र रिलिज गर्न पाएको खण्डमा म अर्को चलचित्र बनाउनतर्फ लाग्थें । यसले, हलले फेरि अर्को नयाँ राम्रो चलचित्र पाउनेथियो ।’

थापाले, देशभरका प्रत्येक हलबाट उसको क्षमता अनुसार २-३ लाख रुपैयाँ एउटा आशातित चलचित्रमाथि लगानी गर्दा घाटा नहुने समेत बताए । भने- ‘एउटा निर्माताले साढे २ करोडको जोखिम लिन सक्छ भने, हल व्यवसायीहरूले पनि २-३ लाखको जोखिम लिंदा के हुन्छ ? नाफा भयो भने त आखिर हललाई पनि हुने नै हो Û’

‘म आवेश र भावनामा बग्दिनँ’ : किरण केसी

चलचित्र ‘लक्का जवान’का निर्माता तथा कलाकार किरण केसीले आफू आवेश र भावनामा नबग्ने बताएका छन् । प्रदर्शक र वितरकले तपाइँहरूले नचलाए कसले चलाउँछ भनेर तर्क गर्न खोजे पनि आफू तयार नहुने उनको भनाइ छ । उनले भने- ‘हाम्रो करीब २ करोड १५ लाख डेढ वर्षदेखि पि|mज भएको अवस्था छ । यसैले, तत्काल चलचित्र चलाउने वातावरण नै छैन । हल सुचारु भएको करीब आधा वर्षसम्म हामी लक्का जवान चलाउँदैनौं ।’

तर, प्रदर्शक र वितरकले सेफ ल्याण्डिङको प्रस्ताव ल्याएको खण्डमा भने आफू तयार हुने उनको भनाइ छ । किरण भन्छन्, ‘अब, आशातित चलचित्र भएकाले माहोल बनाउन भए पनि सेफ ल्याण्डिङको प्रस्ताव आयो भने हामी तयार छौं । यसै पनि हाम्रो डेढ वर्षदेखि २ करोड बढी रकम पि|mज छ । अझै केही महीना हुँदा हामीलाई खासै फरक नै पर्दैन ।’

किरणले अहिलेको अवस्थामा नयाँ चलचित्र रिलिज गर्न भन्दा पनि ओटीटीमा रिलिज भइसकेका हिन्दी चलचित्र, पुराना नेपाली चलचित्र रिलिज गरेर दर्शकलाई हलसम्म आकषिर्त गर्ने समय भएको सुनाए । अहिले आगो मात्र बाल्ने काम गर्नुपर्ने भन्दै भात नै पकाइहाल्ने समय नभएको उनको तर्क छ ।

‘रिलिजका लागि प्रशस्त सिनेमा छन्’ : मधुसूदन प्रधान

चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधानले हल खोल्नुको विकल्प नभएको बताएका छन् । पहिलो चरणको लकडाउनपछि पुराना चलचित्र चलाएर हल खोल्दा असफल भएको उदाहरण दिंदै उनले नयाँ चलचित्र नचलाएसम्म दर्शक हलसम्म नआउने बताए । उनले, आफूहरूसँग रिलिजका लागि प्रशस्त चलचित्र भएको भन्दै वितरक र निर्मातासँग कुराकानी अगाडि बढाइरहेको प्रतिक्रिया दिए । प्रधानले हल संचालकहरू पनि समस्यामा भएकाले चलचित्रलाई सेफ ल्याण्डिङ गराउन गाह्रो हुने समेत बताएका छन् ।

लामो समयदेखि बन्द हुँदा हल नै नखुल्ने हुन् कि भन्ने सोच दर्शकमा आउन थालेकाले हल सुचारु गर्ने तयारी भइरहेको उनले बताए । एक साता हल सरसफाइ र अन्य तयारीका लागि समय लाग्ने भन्दै उनले यसपछि भने हल संचालनमा आउने जानकारी दिए ।

रिलिजको पर्खाइमा दर्जनौं चलचित्र

कोरोनाको कारण जारी पहिलो चरणको लकडाउनका कारण दर्जन बढी चलचित्र रिलिज हुन नपाएर रोकिएका थिए । तर, पहिलो चरणको लकडाउन सकिएपछि केही निर्माताले चलचित्र छायांकन गरेका थिए । यसैले, पनि प्रदर्शनका लागि लाइन लागेका चलचित्रहरूको सूची लामो छ ।

पहिलो चरणको लकडाउन अगाडि नै छायांकनमा गएर बारम्बार रोकिएको चलचित्र ‘ए मेरो हजुर-४, परदेशी-२’ देखि पहिलो चरणको लकडाउन सकिएपछि छायांकन सकेका ‘हिंड्दा हिंड्दै, चिसो मान्छे, मनदेखि मनसँग, आई एम ट्वान्टी वान, माइकल अधिकारी, कृष्णलीला, तिम्रो मेरो साथ’ लगायत चलचित्र पनि पालो पर्खिरहेका छन् । यस्तै, गत वर्षको चैत २७ गते प्रदर्शन मिति तय गरेर पनि रिलिज हुन नसकेका ‘कृष्णलीला र लप्पन छप्पन-२’ पनि करोडौं रकम उठ्ने आशामा छन् ।

यी बाहेक ‘बाबरी, प्रेमगञ्ज’ लगायतका चलचित्रको छायांकन शुरू भएर रोकिएको छ भने ‘आँधी तुफान-२’ ले छायांकन सकेको छ ।

यसरी हेर्दा, निषेधाज्ञा सकिएसँगै दर्जनौं चलचित्र छायांकनमा जाने तरखरमा छन् । अर्कोतिर, अर्बौं बढी रकम फ्रिज भएको अवस्था छ । यसैले पनि, कतिपय निर्माता अवसर पाएको खण्डमा चलचित्र रिलिज गरिहाल्ने सोचमा छन् भने ठूलो बजेटमा चलचित्र निर्माण गरेका निर्माता पर्ख र हेरकै अवस्थामा छन् । किनकि, सरकारले असोजबाट कोरोनाको तेस्रो लहरको पनि प्रक्षेपण गरेको अवस्था छ । यस्तो समयमा चलचित्र रिलिज गरिहाल्न निर्माताले आँट गरेका छैनन् । प्रदर्शक भने हिन्दी र अंग्रेजी चलचित्र चलाएरै भए पनि व्यापारलाई अगाडि बढाउने तयारीमा लागेको देखिन्छ ‍।

लेखकको बारेमा
विजय सुवेदी ‘आवाज’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?