+
+

पर्वतको पहिरोका कारण गण्डकीका ४ जिल्लामा विद्युत अवरुद्ध

६८.२ मेगावाट विद्युत प्रणाली बाहिर

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १९ गते १३:४८

१९ भदौ, काठमाडौं । पर्वतमा शुक्रबार रातिको पहिरोले प्रशारण लाइनको टावर ढलाएका कारण गण्डकी प्रदेशका ४ जिल्लामा विद्युत आपूर्ति अवरुद्ध भएको छ । सदरमुकाम कुश्मा नजिकै मोदी खोला आयोजना र र मोदी खोला–१ जलविद्युत आयोजनाको बीचमा पर्ने प्रशारण लाइनको टावर ढालेको थियो ।

मोदी–१ जलविद्युत आयोजनाको विद्युत मोदी सबस्टेसनमा जोड्न युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निर्माण गरेको १३२ केभी प्रसारण लाइन अन्तर्गत पर्वतको चुवामा पर्ने ४ नम्बर टावरलाई पहिरोले ढालेको छ ।

यसबाट निजी क्षेत्रको स्वामित्वमा पर्वत, म्याग्दी र मुस्ताङमा सञ्चालित विद्युत गृहहरुको ६८.२ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बिच्छेद भएको छ । साथै, पर्वत, बाग्लुङ, म्यादी र मुस्ताङको विद्युत आपूर्ति बन्द भएको छ ।

टावर ढल्दा म्याग्दीमा रहेका ४२ मेगावाटको मिस्त्री खोला तथा ५ मेगावाटको घलेम्दी खोला, मुस्ताङमा रहेको ११.२ मेगावाटको थापाखोला र पर्वतको १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत आयोजनाको उत्पादन बन्द भएको हो ।

टावर मर्मतको काम तत्काल सुरु गर्न र विद्युत आपूर्ति नियमित गर्न वितरण तथा ग्राहक सेवा गण्डकी प्रादेशिक कार्यालय पोखराका प्रमुख केदार सिलवाल, पोखरा ग्रिड प्रमुख माधव पौडेललगायतको टोलीलाई पर्वततर्फ खटाएको छ ।

वैकल्पिक व्यवस्था गरी विद्युत आपूर्ति नियमित गर्ने प्रयास भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ‘लेदो आइरहेका कारण टावर ढलेको स्थानमा हाम्रो टिम जान सकेको छैन, इमर्जेन्सी रेस्टोरेसन टावर प्रयोग गरी जतिसक्दो छिट्टो लाइन नियमित गर्न प्रयास गरिरहेका छौं, यसका लागि बढीमा ५ दिन लाग्न सक्छ’, उनले भने ।

कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना सबस्टेसनमा जोडिएका मिस्त्री, थापाखोला र घलेम्दी आयोजनाको विद्युत कुश्मा सबस्टेसन हुदै मोदी–१ जलविद्युत आयोजनाको १३२ केभी प्रसारण लाइनमार्फत मोदी सबस्टेसन प्रवाह गरिएको छ ।

टावर ढलेका कारण अहिले विद्युत प्रवाह बन्द भएको छ । मोदी सबस्टेसनबाट स्थानीय रुपमा आपूर्ति गरी बाँकी रहेको विद्युत पोखरातर्फ प्रवाह गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?