+
+
बदलिंदो नेपाली समाज :

मन्दिर संस्थापकदेखि पुजारीसम्म दलित महिला

आभास बुढाथोकी आभास बुढाथोकी
२०७८ भदौ १९ गते २०:३४

१९ भदौ, दाङ । उनी हरेक बिहान सबेरै उठ्छिन्, नुहाईधुवाई गरेर मन्दिर पुग्छिन् । धूपबत्ती सल्काएर पालैपालो नाग, शिव र गणेशको पूजा गर्छिन् अनि विभिन्न मनोकांक्षा लिएर मन्दिर आउने भक्तजनलाई टीका लगाइदिन्छिन् । उनको दिनचर्या यसैगरी चलेको छ ।

उनी हुन्– दाङको घोराही उपमहानगरपालिका–१८, मसिनास्थित नागेश्वर पार्वती मन्दिरकी पुजारी रीता नेपाली । हिन्दूहरुको आस्थाको केन्द्र यो मन्दिरमा दलित समुदायकी उनी पुजारी बनेको एक वर्ष भयो ।

मन्दिर आउने हरेक जातजातिका भक्तालुहरुले उनकै हातबाट टीका ग्रहण गर्छन् । माता भनेर आशिष लिन्छन् । मन्दिरमा पुजारीको भूमिका निर्वाह गरिरहँदा कोही, कसैले जातीय छुवाछूतको कुरा गरेको तीतो अनुभव उनीसँग छैन । यो मन्दिरमा आउने भक्तजनमा ब्राह्मण समुदायकै बाहुल्य छ ।

दलितलाई अछूत भनेर विभेद गरिने समाजमा दलित समुदायकी रीता नेपाली कसरी पुजारी भइन् त ? यसको उत्तर पार्वती विकसँग जोडिन्छ, जो यो मन्दिरको संस्थापक र पुजारी थिइन् ।

पाँच वर्षअघि पार्वती विकले सपनामा नाग देखिन् र त्यही दिनबाट बेस्सरी काम्न थालिन् । काम्दै हिंडेकी उनी मसिनामा आएर नागको पूजा गर्न थालिन् । त्यसक्रममा उनी काप्दै सर्पझैं भुइँमा घस्रिन्थिन् । गाउँलेहरुलाई लाग्यो, यो त दैवी शक्ति हो । अनि उनलाई ‘माता’ मानेर मन्दिर बनाइदिन सिंगो समुदाय जुट्यो ।

‘यसरी माता पार्वतीको लागि मन्दिर बन्यो’ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रहेका ज्ञानबहादुर रायमाझी भन्छन्, ‘समुदायबाटै आर्थिक सहयोग जुटाएर मन्दिर बनायौं ।’

उनका अनुसार, करीब २० लाख रुपैयाँ लागतमा मन्दिर तयार भएपछि पार्वती विकलाई पुजारीका रुपमा प्रवेश गराइयो । दलित माता (पार्वती) नै मन्दिरको श्रृष्टिकर्ता भइसकेपछि छुतअछूत हुँदैन भन्ने हामीलाई लाग्यो’ रायमाझी भन्छन्, ‘छुवाछूत प्रथा मान्नु हुन्न भनेर पनि दलित मातालाई मन्दिरको पुजारी बनायौं । विस्तारै सबैले स्वीकार्दै पनि गए ।’

हरेक वर्ष नागपञ्चमी र शिवरात्रिमा दर्शनार्थीको भीड लाग्ने यो मन्दिरमा रीता नेपाली आएको तीन वर्ष भयो । शुरुमा उनी पार्वतीलाई नृत्य पूजामा सघाउँथिन् । गत वर्ष एकदिन पार्वतीलाई लाग्यो, आफ्नाे ठाउँ यहाँ होइन अन्यत्रै छ । अनि उनी रोल्पाको मेरुलमा कुटी बनाएर बस्न थालिन् ।

पार्वती रोल्पातिर लागेपछि मन्दिर पुजारीविहीन भयो । त्यसपछि स्थानीय समुदायले रीतालाई मुख्य पुजारी बनायो । मन्दिर संस्थापक नै दलित माता भएकाले उनको उत्तराधिकारी अरुलाई नबनाएको व्यवस्थापन समितिका अध्यक्ष रायमाझी बताउँछन् । उनी भन्छन्, ‘जातीय छुवाछूत मान्दैनौं भन्ने सन्देश दिन पनि रीता मातालाई पुजारी बनायौं ।’

जलुकेमा लक्ष्मी नेपाली

मसिनासँग जोडिएको गाउँ जलुकेमा रहेको नाग मन्दिरमा पनि मुख्य पुजारी दलित समुदायकै महिला लक्ष्मी नेपाली छन् । उनको कथा पनि पार्वती विकको जस्तै छ ।

चार वर्षअघि उनले सपनामा नाग देवता देखिन् । त्यसपछि विपनामा पनि घरदेखि केही पर सपनाकै नाग देखिएको भन्दै पूजा गर्न थालिन् । समुदायले त्यहाँ नाग मन्दिर नै स्थापना गरे ।

मन्दिरमा करीब एक वर्ष एकजना क्षेत्री महिलाले पुजारीको काम गरिन् । त्यसपछि लक्ष्मी आफैं पुजारी बन्न अग्रसर भइन् । समुदायले पनि साथ दिएपछि तीन वर्षयता उनी नै नाग मन्दिरको मुख्य पुजारीको भूमिकामा छिन् । ब्राह्मण समुदायका भक्तजनले पनि उनलाई निसंकोच मुख्य पुजारी मान्दै आएका छन् ।

दलित महिला भनेर आजसम्म कसैले विभेदजन्य व्यवहार नगरेको लक्ष्मी बताउँछिन् । ‘सबैले पुजारी माता भनेर मान गर्नुभएको छ’ उनी भन्छिन्, ‘मेरो हातबाट सहजै टीका–प्रसादी ग्रहण गर्नुहुन्छ ।’

भगवानको नजरमा सबै समान हो, जातभात भन्ने कुरा पछि मान्छेले बनाएको हो भन्ने कुरा पूरा समुदायले बुझ्दा आफ्नाे सेवा–भक्तिले सम्मान पाएको उनको बुझाइ छ ।

दलित समुदायका यी तीन महिला पुजारीले दाङमा ‘माता’को उपमा पाएका छन् । पार्वती विकलाई सारा समुदायले मन्दिरको संस्थापक माताको रुपमा लिएको छ ।

रीता र लक्ष्मी नेपालीलाई पनि माता सम्बोधन गरिन्छ । लक्ष्मीलाई कतिले ‘नाग माता’ त कतिले ‘पुजारी आमा’ भन्छन् ।

बदलियो समाज, उदाहरणीय मसिना

हिन्दू धर्मको पूजापाठ होस् कि मन्दिर शिलान्यास, यस्ता कार्यमा ब्राह्मणहरुलाई नै अगाडि सारिन्छ । दाङको मसिनामा भने ब्राह्मणले नै मन्दिर शिलान्यास पनि दलितबाटै गराउने उदाहरणीय अगुवाइ गरेका छन् ।

घोराही उपमहानगर–१८ मसिनाका गणेश बेलावासे जातले ब्राह्मण हुन् । उनले आफ्नो स्वर्गीय बुबा गुमानसिंहको स्मृतिमा निर्माण हुन लागेको मन्दिरको शिलान्यास तेजबहादुर विकबाट गराए । गत साउन २६ गते भएको मन्दिर शिलान्यास समारोहमा एकजना ब्राम्हण पण्डितले मन्त्रोच्चारण गरेका थिए ।

जातका हिसाबले कोही छुत या अछूत नहुने बेलबासेको विश्वास छ । उनी धर्मका नाममा गरिने जातीय विभेदलाई विल्कुलै गलत ठान्छन् । ‘धार्मिक कार्यमा ब्राह्मण नै चाहिने, अरु भए बिटुलिने भन्ने कुरा रुढ परम्पराबाहेक केही होइन’ उनी भन्छन्, ‘चोखोनितो, शुद्धाशुद्धि भए हरेक जातजातिले पवित्र धार्मिक कार्य गर्न सक्छन् ।’

छुवाछूत लगायत हरेक प्रकारका जातीय विभेदलाई राज्यका कानूनहरुले नै खारेज गरिसकेको अवस्थामा नेपाली समाजमा कुनै पनि किसिमको भेदभाव रहनुहुन्न भन्ने सन्देश दिन दलितबाटै मन्दिर शिलान्यास गराएको उनले बताए ।

मन्दिरमा दलित पुजारी राख्ने, दलितबाटै मन्दिर शिलान्यास गराउने जस्ता उदाहरणीय काम हिन्दू बहुल दाङको घोराही उपमहानगरपालिका– १८, मसिना गाउँमा भएका छन् ।

नागेश्वर पार्वती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रायमाझी मुख्य पुजारी नै दलित, त्यो पनि महिलालाई मानेपछि जातीय विभेद स्वतः खारेज भएको बताउँछन् ।

‘नेपाली समाजमा कथित दलितलाई अछूत मान्ने हिजोको कुप्रथा हो, जुन अब कम से कम मसिनामा चाहिं रहेन’, उनी भन्छन् ।

यो मामिलामा समाज कति अगाडि बढिसक्यो भने ब्राम्हण समाजले नागेश्वर पार्वती मन्दिरकी पूजारी रीता नेपालीलाई गत महिना सम्मानित समेत गरेको छ ।

ब्राह्मण समाजका केन्द्रीय उपाध्यक्ष जयनन्द शर्मा हिन्दू धर्मले जातीय विभेद मान्दैन भन्ने सन्देश दिन समारोह आयोजना गरेर पुजारी मातालाई सम्मान गरेको बताउँछन् ।

७२ वर्षीय शर्मा तीनै पण्डित हुन्, जसले तेजबहादुर विकबाट मन्दिरको शिलान्यास गराउँदा मन्त्र पढेका थिए । धर्मशास्त्रले जातीय विभेद नमान्ने बताउँदै उनी भन्छन्, ‘धर्मसँग जोडेर कसैलाई अवहेलना गर्ने कुरीति पछि शुरु भएको हो ।’

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?