+
+

मिश्रले कारबाहीको चेतावनी दिनु हास्यास्पद : संयोजक पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २० गते १५:३७

२० भदौ, काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टी अध्यक्ष रवीन्द्र मिश्रले नेताहरुलाई विभिन्न आरोप लगाउँदै कारबाहीको चेतावनी दिनु हास्यास्पद भएको बताएका छन् । मिश्रले नै पार्टीको विधान र घोषणापत्र विपरीत काम गरिरहेको उनको आरोप छ ।

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै संयोजक पाण्डेले पार्टीको विधान र घोषणापत्रमा टेकेर गरिने कुनै पनि गतिविधि समानान्तर गतिविधि नभएको बताएका छन् । पार्टीको लाइनभन्दा बाहिर गएर वक्तव्यबाजी गरेर मिश्रले चाहिं समानान्तर गतिविधि गरेको उनको भनाइ छ । उनले पार्टी एकताको मर्म नमार्न समेत मिश्रलाई आग्रह गरेका छन् ।

पार्टी एकीकरणको घोषणापत्र नै दस्तावेज भएको भन्दै उनले समान अधिकारसहित मिश्रलाई अध्यक्ष र आफूलाई संयोजक बनाएको उल्लेख गरेका छन् । सम्झौता नै उल्लंघन गर्ने हो भने पदमा बसिरहने नैतिकता नै नहुने उनले बताएका छन् ।

‘सम्झौतापत्र नै लत्याउने हो भने हामी कुन नैतिकताले अध्यक्ष र संयोजक भएर बस्न सक्छौं ? सामान्य नैतिकतालाई नै गुमाएर सुसंस्कृत राजनीति कसरी गर्न सकिएला ? सुसंस्कृत राजनीति गर्ने दलका नेतृत्वले उत्तर दिने बेला आएको छ । हामीमध्ये कसैलाई पनि वैकल्पिक राजनीतिको ‘अपहरण’ गर्ने छुट छैन । विवेकशील आन्दोलनलाई थाङ्नामा सुताउने अधिकार कसैलाई छैन,’ पाण्डेले विज्ञप्तिमा भनेका छन् ।

पार्टी एकीकरणको सम्झौतापत्र र वैकल्पिक राजनीतिको आन्दोलनप्रति पूर्ण प्रतिबद्ध रहेको जनाउँदै उनले छिट्टै पार्टी मूलबाटोमा फर्किने विश्वास समेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?