+
+

स्वास्थ्य क्षेत्र राज्यबाटै हेपिएकाले भद्रगोल छ

डा. महेन्द्रप्रसाद श्रेष्ठ, पूर्वप्रमुख विशेषज्ञ स्वास्थ्य मन्त्रालय डा. महेन्द्रप्रसाद श्रेष्ठ, पूर्वप्रमुख विशेषज्ञ स्वास्थ्य मन्त्रालय
२०७८ भदौ २१ गते ९:३३

नेपालका सरकारी स्वास्थ्य संस्थामा अनेक समस्या रहेको गुनासो हुनुको प्रमुख कारण स्वास्थ्य जनशक्तिसँग गएर जोडिन्छ । नेपालका स्वास्थ्य संस्थामा स्वास्थ्य जनशक्तिसँग सम्बन्धित दुई वटा समस्या छन् । पहिलो- छुट्याइएको दरबन्दी नै कम छ । दोस्रो- छुट्याइएको दरबन्दी पनि रिक्त छ ।

उदाहरणको लागि दुर्गम भेगको कुनै अस्पतालमा ६ महीनासम्म ६ जना डाक्टर हुन्छन् भने ६ महीनापछि एक जना पनि हुन्नन् । ६ महीना डाक्टर हुने, ६ महीना नहुने, कहिले एक्स रे हुने, कहिले एक्स रे समेत नहुने भएपछि त्यहाँ सेवा लिन मानिस जाँदैनन् । डाक्टर भए नर्स हुन्नन्, डाक्टर र नर्स भए जचाउने उपकरण हुन्नन् । हाम्रो स्वास्थ्य संस्थाले विगतदेखि यस्तै समस्या भोग्दै आएकाले सेवाको निरन्तरता छैन ।

दुर्गम भेगको सरकारी अस्पतालमा मात्र होइन, सुगम क्षेत्रको सरकारी अस्पतालमा समेत उपकरण नहुने तथा बिग्रने समस्या छ । कहिले एमआई मेसिन बिग्रेर थन्किन्छ त कहिले सिटीस्क्यान मेसिन बिग्रेर थन्किन्छ । बिगि्रनासाथ नबनाउने तथा नयाँ नहाल्ने भएकाले दरबन्दी भएतापनि स्वास्थ्यकर्मी अस्पतालमा बस्दैनन् । किनकि चिकित्सक भएर पनि उपकरण भएन भने त्यहाँ काम नै हुन्न ।

स्वास्थ्यमा दरबन्दी थप्ने कुरामा हामीले पटक-पटक गल्ती गरेका छौं । स्पेशलिस्टहरूको भनेर दरबन्दी मागेर नन स्पेशलिस्ट राखेको तीतो इतिहास हामीसँग छ । विभिन्न अस्पतालहरूले दरबन्दी पूरा भएन भनेर गुनासो गरेको पटक-पटक सुनिन्छ । त्यो यथार्थ पनि हो । देशको जनसंख्याको आधारमा स्वास्थ्यकर्मी कति चाहिन्छ भनेर मापदण्ड बनाइन्छ । धनी र गरीब देशको मापदण्ड फरक फरक हुन्छ । हामी त त्यो मापदण्डको छेउछाउ पनि पुग्दैनौं । किनकि ३० वर्ष यता एकीकृत रूपमा स्वास्थ्यको दरबन्दी थप गरिएकै छैन ।

३० वर्षअघि डा.रामवरण यादव स्वास्थ्यमन्त्री भएको बेला आएको स्वास्थ्य नीतिले देशभरका लागि दरबन्दी छुट्याएको थियो । त्यतिबेला स्वास्थ्य क्षेत्रमा त्यो ठूलो फड्को थियो । ३० वर्षअघि १ करोड ८४ लाख मानिस थिए अहिले ३ करोडभन्दा बढी मानिस छन् । सोझो हिसाबले हेर्दा पनि जनसंख्या अनुसार स्वास्थ्यको जनशक्ति नपुगेको देखिन्छ ।

पछिल्लो समय पहिले भन्दा स्वास्थ्य सेवा लिने मानिस पनि बढेका छन् । शिक्षा, चेतनाको कारणले गर्दा अस्पताल जाने बढे । मेडिसिनको क्षेत्रमा विज्ञानले फड्को मार्‍यो । उपचार गर्न असम्भव रहेका रोगको उपचार हुन शुरू भयो तर केही अस्पतालमा दुई चार जना दरबन्दी बढाएको बाहेक देशभर एकीकृत रूपमा दरबन्दी बढाइएन ।

भएको दरबन्दीमा पदपूर्ति नहुनुका धेरै कारण छन् । त्योमध्ये सेवा सुविधा पनि एक हो । संसारभरका स्वास्थ्यकर्मीले भन्दा कम तलबमा नेपालका स्वास्थ्यकर्मीले काम गरिरहेका छन् । नेपालमा पनि सबैभन्दा हेला गरिएको पेशा स्वास्थ्य हो ।

नेपालका सरकारी अस्पतालका डाक्टरले दुई बजेपछि निजी क्लिनिकमा गएर बिरामी हेरे भनेर गाली गर्छन् तर त्यो स्वाभाविक हो । किनकि, अर्थ मन्त्रालयको एउटा शाखा अधिकृतले गाडी पाउँछ, स्वास्थ्य मन्त्रालयको एउटा उप-सचिवले गाडी चढेर हिंड्छ । गाउँपालिकाको कार्यकारीदेखि माथि सम्पूर्ण मानिस गाडी चढेर हिंड्छन् । तर स्वास्थ्य सेवाको ११ औं तहको कन्सल्ट्यान्टलाई गाडीको व्यवस्था छैन । त्यसैले चिकित्सक दिनरात मिहिनेत गरेर आफैं गाडी किन्नको लागि निजी ‘प्राक्टिस’ गर्छ । सरकारी सेवासुविधा राम्रो नभएकाले आकर्षण छैन ।

देशभित्र चिकित्सा शिक्षा पढेका अब्बल डाक्टरहरू अधिकांश विदेश गएका छन् । नेपालमा पढेर विदेश जान बाध्य हुनुको कारण नेपालमा राम्रो सेवा-सुविधा नभएर हो । सोही कारण नेपालमा चिकित्सकहरूलाई आकषिर्त गर्ने सेवा-सुविधा दिनुपर्छ । स्वास्थ्य सेवा बाहेक अन्य सेवाका फस्ट क्लास अफिसरले गाडी नपाएको उदाहरण भेटिन्छ त ?

नेपालमा स्वास्थ्य हेपिएको क्षेत्र भएकाले राज्यको ध्यान नै गएको छैन । स्वास्थ्य सेवामा मनग्ये लगानी नगरुञ्जेलसम्म सेवा-सुविधा सु”न्न । किनकि यो राज्यबाट नै हेपिएको क्षेत्र हो ।

यो हुनुको प्रमुख कारण नै राजनीतिक अस्थिरता हो । स्वास्थ्य मन्त्रालयमा अहिले बनेका नीति-नियम पहिले नै बनिसकेका हुन् । हरेक मन्त्री आउँछ नयाँ नीति भन्दै कपीपेस्ट गर्छ । हरेक नीति बन्छ थन्किन्छ तर लागू हुन्न ।

प्रधानमन्त्री केपी शर्मा ओली हुँदाकै उदाहरण हेरौं । यत्रो महामारीमा अन्य मन्त्रालयमा मन्त्री तथा सचिव परिवर्तन नहुँदा स्वास्थ्य मन्त्रालयमा सचिव र मन्त्री फेरिएको फेरिएकै भए ।

मन्त्रालय अस्थिर भएपछि नीतिनियम बन्ने र कार्यान्वयन गर्ने गति रोकिन्छ । त्यहाँ आउनेले पनि दीर्घकालीन रूपमा सेवा सुधार गर्ने, नीति बनाउन केन्द्रित हुनेभन्दा पनि तत्कालीन काम गर्नमै व्यस्त हुन्छ । राज्यबाट नै हेपिएकाले स्वास्थ्य क्षेत्र भद्रगोल भएको हो ।

एक उदाहरण, जस्तो कि कुनै दुर्गममा दाँतको या अन्य रोगको सर्जन पठाइयो । तर, त्यहाँ उपकरण छैन भने दरबन्दी भए तापनि रिक्त हुन्छ । हाम्रोमा समस्या नै यस्तै छ । आँखाको डाक्टर पठायो, केही उपकरण हुन्न । अनि डाक्टर मात्र के गरेर बस्ने ?

कतिपय ठाउँमा डाक्टरलाई आवासीय सुविधासम्म पनि हुन्न । कतिपय ठाउँमा लजिस्टिक हुन्न । यस्तै यस्तै समस्याले गर्दा देशको स्वास्थ्य प्रणाली सुधार गर्न सकिएको छैन । यदि राज्यले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्थ्यो भने यस्ता समस्या समाधान गरेर दीर्घकालीन रूपमै हल गर्न पहल गर्थ्यो ।

(२२ वर्ष स्वास्थ्य मन्त्रालयमा काम गरेर हालसालै सेवानिवृत्त डा.श्रेष्ठसँग अनलाइनखबरकर्मी सागर बुढाथोकीले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?