+
+
संघीय संसदको नवौं अधिवेशन :

आक्रामक एमाले, सम्हालिन सकेनन् सभामुख

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७८ भदौ २३ गते २१:५९

२३ भदौ, काठमाडौं । संसदको सबभन्दा ठूलो दल नेकपा एमाले विभाजनपछि बुधबार आह्वान भएको प्रतिनिधिसभा अधिवेशनको पहिलो दिन सहज हुन सकेन ।

पहिलो दिन तीन वटा बैठक बस्यो । सबै बैठकमा प्रमुख प्रतिपक्षी एमालेले आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर दल विभाजनलाई सहयोग गरेको भन्दै सभामुख अग्नि सापकोटामाथि प्रश्न उठाउँदै नाराबाजी गर्‍यो ।

तेस्रो बैठकमा एमाले सांसदहरुको नाराबाजीकै बीच गृहमन्त्री बालकृष्ण खाँडले राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गरे । तर आगामी बैठक पनि सहज हुने देखिएको छैन ।

३२ साउनमा हतारहतार संसद अधिवेशन अन्त्य गरेको सरकारले १ भदौमा केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशत संख्याले दल फुटाउन सक्ने गरी राजनीतिक दलसम्बन्धी आध्यादेश ल्यायो । एमालेले त्यही दिन माधवकुमार नेपालसहित नयाँ दल गठनको पक्षमा रहेका १४ जनालाई कारबाही गर्दै पदमुक्त गर्न पत्र पठायो । तर सभामुखले त्यसबारे कुनै निर्णय लिएनन् ।

२ भदौमा नयाँ दल दर्ताका लागि निवेदन दिएको नेपाल समूहले ९ भदौमा मान्यता पायो । त्यसपछि बल्ल सभामुखले एमालेको पत्रबारे केही गर्नु नपर्ने भनेर निर्णय सुनाए । यसलाई लिएर सभामुखमाथि प्रश्न उठाउँदै आएका एमाले अध्यक्ष ओलीले बुधबार विहानै संसद अवरुद्ध गर्ने संकेत दिइसकेका थिए ।

बुधबार विहान बसेको एमाले संसदीय दलको बैठकमा उनले यथास्थितिमा सभामुखलाई मानेर जान नसकिने बताए । एमालेले कारबाही गरेपछि १४ जना गैरसांसद भएको जिकिर गर्दै, ‘यदि गैरसांसदको उपस्थिति हुन्छ भने सदन प्रारम्भै हुन दिँदैनौं ।’

एमालेको नाराबाजी

एमाले अध्यक्ष ओलीले संसदको अधिवेशन आह्वानबारे राष्ट्रपति कार्यालयको पत्र सभामुखले पढ्नु अगाडि नै संसद अवरोध गर्ने बताएका थिए । तर सभामुखले बोल्न समय दिने भएपछि एमालेले अधिवेशन आह्वानको पत्र पढ्न लियो । त्यसपछि एमाले सांसदहरुले ड्याप ड्याप गरेर समय लिए ।

सभामुखले समय दिएपछि बोलेका प्रमुख सचेतक विशाल भट्टराईले ‘सबभन्दा ठूलो राजनीतिक दल एमाले भारी मनका साथ उपस्थित भएको’ बताए । १४ सांसदलाई कारबाही गरिएको सूचना टाँस गर्न ढिलाइ गरेको भन्दै उनले सभामुखमाथि प्रश्न गरे, ‘तपाईंले नेकपा एमालेले कारबाही गरेका सांसदहरुलाई बचाउन र नेकपा एमाले टुक्र्याउन किन सारथीको भूमिका निभाउनुभयो ?’

सभामुख सापकोटाले आफूले कानूनअनुसार नै निर्णय लिएको’ जवाफ दिए । साथै यो विषय सर्वोच्च अदालतमा विचाराधीन भएकाले संसदमा बहस गर्न नमिल्ने तर्क गरे ।

तर एमालेले जवाफमा चित्त बुझाएन । वेल घेर्‍यो र सभामुखको व्यवहार मुर्दावादको नारा लगायो ।

अनि जंगिए सभामुख

प्रतिपक्षी एमालेका सांसदहरुले आफ्नाविरुद्ध नाराबाजी गर्नासाथ सभामुख सापकोटा आक्रोश मिश्रित भावमा भने, ‘माननीय सदस्यहरु, देशमा संविधान छ, कानुन छ, ऐन छ । मर्यादाबाहिर नजानुहोला, संसदको गरिमा र मर्यादाभन्दा बाहिर नजानुहोला । प्रतिनिधिसभा नियमावली २०७५ को ख र ग गम्भीर ढंगले आकर्षित गर्न चाहन्छु ।’

एमाले सांसदहरुले नारावाजी नरोकेपछि उनी सम्हालिन सकेनन् । उनले चर्को शब्दमा भने, ‘प्रतिनिधिसभा नियमावलीको २१ को ख र ग को व्यवस्था हेर्नू ।’

प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१ मा छलफलमा भाग लिने सदस्यले पालन गर्नुपर्ने नियम सम्बन्धी व्यवस्था छ, जसअनुसार सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने भन्ने छ । तर एमाले मात्र होइन, सत्तारुढ दलकै सांसदहरुले बुधबार सभामुखको प्रस्तुती उचित नभएको बताउँछन् ।

एमाले प्रमुख सचेतक भट्टराई पनि सभामुखले व्यवहारले आफूहरुले उठाएको प्रश्नलाई थप पुष्टि गरेको बताउँछन् । ‘सभामुखले जुन नम्रता आजकै बैठकमा पनि देखाउन सक्नुहुन्थ्यो त्यो देखाउनुभएन,’ उनले भने, ‘आजकै उहाँको व्यवहारले पनि सभामुखको नियतमाथि हामीले उठाएको प्रश्नलाई थप पुष्टि गर्छ ।’

एमाले सांसदहरुको नाराबाजी नरोकिएपछि पहिलो बैठक १५ मिनेटका लागि स्थगित भयो । बैठक स्थगित भएपछि सभामुख सापकोटाले एमालेका प्रमुख सचेतक भट्टराईलाई बोलाएर सदन चलाउन सहयोग गरिदिन आग्रह गरे । आफूहरुको माग अनुसारको जवाफ आउनुपर्ने अडान भट्टराईले दोहोर्‍याए ।

दोस्रो बैठक सुरु भए लगत्तै एमाले सांसदहरुले नाराबाजी शुरु गरे । यो पटक सभामुख सापकोटाले सभामुखको अलावा बैठकको अध्यक्षता गर्ने सांसदहरुको नाम पढेर सुनाए । केहीबेरमा दोस्रो बैठक पनि स्थगित भयो ।

त्यसपछि सभामुखल फेरि एमाले नेताहरुलाई बोलाएर ‘सहयोग गरे गर्नुस, नगरे कार्यसूची अगाडि बढ्ने’ चेतावनी दिए । नभन्दै एमाले सांसदहरुकै नाराबाजीका बीच गृहमन्त्री खाँडलाई राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गर्न समय दिए ।

एमालेका एक सांसदका अनुसार बैठक सुरु हुन लागेको जनाउ दिने घण्टी ५ मिनेटको साटो मुश्किलले २ मिनेट बजाइएको थियो । अध्योदश पेश गर्न गृहमन्त्री खाँड आफू नियमित बस्ने तेस्रो लहरको सिटबाट अगाडि प्रधानमन्त्री शेरबहादुर देउवा नजिकै आएर बसिरहेका थिए । लबिमा रहेका एमाले सांसदहरु आफ्नो स्थानमा पुग्दा नपुग्दै सभामुखले संसदको बैठक सुरु गरे ।

नाराबाजी गर्दै आएका सांसदहरुलाई मर्यादापालहरुले रोके, गृहमन्त्री रोष्टममा पुगेर अध्यादेश पेश भयो । त्यसपछि अर्को बैठक २५ गते दिउँसो १ बजेलाई बोलाइएको छ ।

आगामी बैठक के हुन्छ ?

प्रमुख प्रतिपक्षी एमालेले राम्रो संकेत नदिएको सत्तारुढ दलकी सचेतक पुष्पा भुसालले बताइन् । ‘एमाले आक्रामक रुपमा प्रस्तुत भयो तर, के का लागि ?’ भुसालले भनिन्, ‘उहाँहरुले राखेको मागलाई संसदले, सभामुखले सम्बोधन गर्न सक्छ ? सर्वोच्च अदालतमा विचाराधीन विषयमा सभामुखले के भन्ने ? कानुनी रुपमा कमजोर विषयलाई ठूलो बनाएर सदन अवरुद्ध गर्ने संस्कार राम्रो संकेत होइन ।’

तर एमालेले अब पनि संसद बैठक सहज चल्न नदिने बताएको छ । कहिलेसम्म भन्ने प्रश्नमा प्रमुख सचेतक भट्टराई भन्छन्, ‘सभामुखले आत्मआलोचना नगरेसम्म ।’

उनका अनुसार २५ गतेको बैठकमा पनिसभामुखले आत्मआलोचना गर्नुपर्ने भनी सदन अवरोधको नीति लिन सक्छ । ‘सभामुखले आत्मआला नगरेसम्म यो मुद्धा छोड्दैनौं’ उनले भने ।

तर २८ भदौमा सर्वोच्च अदालतले दिने आदेशमा धेरै कुरा निर्भर हुने नेताहरु बताउँछन् । १४ सांसदमाथि गरेको कारबाही सभामुखबाट रोकिएको भन्दै एमाले सर्वोच्च अदालतमा गएको छ । प्रारम्भिक सुनुवाइ गरेको सर्वोच्चले २८ गते दुबै पक्षलाई बोलाएको छ । त्यो दिन आउने आदेशले संसद खुलाउन सक्छ ।

तर २८ गतेसम्म नै संसद अवरोध कायम रह्यो भने सरकारलाई बजेट ल्याउन अप्ठ्यारो हुनेछ ।

कांग्रेस सचेतक भुसालका अनुसार सरकार र सत्तारुढ दलहरुले भने २५ गतेकै संसद बैठकमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश गर्ने तयारी गरेका छन् । ‘२५ गते प्रतिस्थापन विधेयक ल्याउने भन्ने हो । एमालेले सदन अवरोध गर्‍यो भने समस्या हुन्छ,’ कांग्रेस सचेतक भुसालले अनलाइनखबरसँग भनिन्, ‘बजेट ल्याउन दिएन भने सरकारलाई त अप्ठ्यारो पर्छ नै, एमालेको प्रतिपक्षीय भूमिका मुलुकलाई कता लैजानेतिर रह्यो भन्ने पनि देखिन्छ ।’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?