+
+
मोडलिङ :

मोडलिङ फोटोग्राफी : एडल्ट फिल्म खिच्छ भन्थे

साप्ताहिक पत्रिका र कामनामा छापिएका ब्लोअप र कभर फोटोबाट धेरै मोडलहरु चलचित्र र म्युजिक भिडियो क्षेत्रमा प्रवेश गरेका उदाहरण छन् । साइबर संसारमा प्रकाशन भएको तस्वीर हेरेर निर्माता-निर्देशकले नायिका छनोट गरेका छन् । यसमै पर्छिन्, नायिका नम्रता श्रेष्ठ ।

विजय सुवेदी ‘आवाज’ विजय सुवेदी ‘आवाज’
२०७८ भदौ २६ गते १९:००

समय धेरै बितेको छैन, फोटो खिच्न पनि रिल फारु गर्नुपर्थ्यो । रिलबाट सीमित फोटो मात्र खिचिन्थे । त्यसको नेगेटिभ धुलाउने, पि्रन्ट गर्ने प्रक्रिया आफैंमा झन्झटिलो थियो । त्यसैले एनालग क्यामेराले खिचेका फोटो हेर्न धैर्यधारण गर्नुपर्थ्यो ।

सबैको हात-हातमा हुँदैनथ्यो, क्यामेरा । गतिलो फोटो खिच्न स्टुडियोसम्म धाउनुपथ्र्यो । त्यसैले विशेष अवसरका क्षण मात्र क्यामेरामा कैद गरिन्थे ।

ठीक त्यही जमानामा हो, मोडलिङ फोटोग्राफीको नयाँ ट्रेन्ड शुरु भएको । समाज आज जस्तो उदार थिएन । ग्ल्यामर र नग्नताको भेद छुटिसकेको थिएन । त्यस्तो अवस्थामा सुकुमार युवतीलाई छोटा वा पारदर्शी पहिरनमा उतार्न ठूलै हिम्मत गर्नुपर्थ्यो । यो त्यही बखतको कथा हो, जहाँबाट नेपालमा मोडलिङ फोटोग्राफीको युग शुरु हुन्छ ।

त्यसबेला फोटोग्राफर राजिव श्रेष्ठ नेपालमा मोडलिङ फोटोग्राफीलाई स्थापित गराउने प्रयत्नमा थिए, सन् १९८६ ताका । तर, यो त्यस्तो समय थियो जतिबेला मोडल/कलाकार सहजै उपलब्ध हुँदैनथ्यो । फोटो खिच्दा लाइट, क्यामेरा, मेकअप किन गर्नुपर्छ ? भन्ने आधारभूत जानकारीसमेत उनीहरुलाई थिएन । अर्कोतिर पुरातन समाजले यसलाई सहजै स्वीकार्ने स्थिति थिएन । कतिले यसलाई चेलिबेटी बिगार्ने धन्दा ठान्थे भने, कतिले नग्न फिल्मको अभ्यास ।

एडल्ट फिल्म खिच्छ भन्थे

हाल अमेरिकामा रहेका राजिव श्रेष्ठले अनलाइनखबरसँगको कुराकानीमा आफूले नै नेपालमा मोडलिङ फोटोग्राफीको शुरुवात गरेको बताए । उनले भने, ‘मैले सबै कुरा मुम्बईबाट ल्याएर यहाँ काम शुरु गरेको थिएँ । आम मानिसले मोडलिङ फोटोग्राफीलाई राम्रो नजरले हेर्दैनथे । निकै संघर्ष गर्नुपरेको थियो । त्यो बेलाका कलाकारलाई पनि मोडलिङ फोटोग्राफीको ज्ञान थिएन । एउटै फोटो खिच्न घण्टौं लाग्थ्यो ।’

राजिवले फोटोग्राफीको भाषा त परिवर्तन गर्छु भन्ने सोचेका थिए, तर समाजले उनको कामलाई सहजै स्वीकार गरेन । ‘चाँदनी’ नामक पत्रिकामा उनले खिचेको तस्वीर छापिएपछि बिस्तारै मोडलको झुकाव यसमा बढेको थियो । राजिव संझन्छन्-‘एकपटक मैले एकजना मोडलको स्विमिङ पुलमै गएर बिकिनीमा फोटोसुट गरेको थिएँ । ‘पर्दा’ नामक म्योजिनमा सो फोटो सार्वजनिक भएपछि मान्छेहरुले ममाथि ठूलै आरोप लगाए । कतिपयले चेलिबेटी बिगार्न लागेको आरोप लगाए । केहीले त यो मान्छेले ब्लू फिल्म नै बनाउँछ कि क्या हो समेत भने ।’

राजिवले मोडलिङ फोटोग्राफी शुरु गर्दा माहोल के सम्मको थियो भने, कुनै क्लिभेज फोटो वा नाइटो मात्र देखाएको फोटो खिच्दा पनि मानिसले नांगो फोटो खिचेछ भनेर आरोप लगाउँथे । मानिसहरुले ब्लू फिल्म नै खिच्न लागेछ भनेर आरोप लगाउनेदेखि फोटो सार्वजनिक हुँदा बबाल नै हुन थालेपछि राजिव विरक्तिएका थिए । प्रहरीले पनि उनीसँग सोधपुछ गर्न थाल्यो । नेपालमा मोडलिङ फोटोग्राफीलाई मानिसहरुमाझ बुझाउन सकिँदैन भन्ने सोच आएपछि राजिव आफ्नै दाइसँगै काम गर्न मुम्बई हानिए ।

१८ महिना मुम्बई बसेपछि दाइको सल्लाहमा नै फेरि नेपाल आएको र मानिसको सोच परिवर्तन गरेर नै छाड्ने दृढता लिएको राजिव समम्झिन्छन् । बिस्तारै-बिस्तारै ग्ल्यामर फोटोहरु सार्वजनिक हुन थालेपछि मानिसको सोचमा पनि परिवर्तन आउन थालेको राजिव सम्झिन्छन् । उनी भन्छन्-‘मोडलिङ फोटोग्राफीमा कुनै पनि तस्वीर हेर्दा मन्त्रमुग्ध बनाउने, आँखा तान्न सक्ने, हेरिरहूँ जस्तो लाग्ने हुनुपर्छ ।’

एक दशक लामो घम्साघम्सी

नेपालमा मोडलिङ फोटोग्राफी व्यावसायिक बन्न एक दशक लागेको अनुभव राजिवको छ । राजिव भन्छन्-‘मैले फोटोग्राफी शुरु गरेको एक दशकपछि बल्ल मानिसहरुले यसलाई सहजै ग्रहण गर्न थालेका थिए । त्यसअघि कलाकारहरु फोटो खिच्न आउँदा एउटा मात्र ड्रेस बोकेर आउँथे । एउटा फोटो खिच्न ४-५ वटा ड्रेस किन चाहियो भन्थे । तर, पछि बिस्तारै विज्ञापन एजेन्सीबाट समेत अफर आउन थाल्यो । मैले, त्यो बेलामा पनि निकै राम्रो पैसा कमाएको थिएँ । म कामबाट सन्तुष्ट नै थिएँ । तर, मेरो सोच पैसा कमाउने भन्दा पनि नेपालमा मोडलिङ फोटोग्राफीलाई स्थापित गर्नु नै थियो । म सुविधासम्पन्न परिवारमा नै जन्मिएकाले फोटोग्राफीबाट पैसा कमाउन आएको थिइनँ ।’

राजिव केही वर्षअघि मात्र अमेरिका पुगेका छन् । उनले, अमेरिका पुगेर पनि फोटोग्राफी नै गरिरहेको सुनाए । अमेरिकामा रहेर पनि प्रतिस्पर्धा गर्न सक्छु भन्ने लागेपछि आफू यतै स्थापित हुने बाटोमा लागेको उनी सुनाउँछन् ।

फोटोले विवादै विवाद

कसजु, सो समयमा मोडललाई आउटडोर सुटमा लगेर फोटोसुट गर्न सहज नभएको बताउँछन् । उनी सम्झिन्छन्, ‘हामीले केही मोडलका घरमै गएर बुबा-आमालाई सम्झाएर बेलुका छोरीलाई घरसम्म छोडिदिन्छौं भनेर पनि फोटोसुट गरेका छौं ।’

राजिव श्रेष्ठले खिचेका तस्वीर साप्ताहिक, कामनाजस्ता चर्चित पत्रिकामा छापिन्थे ।

साप्ताहिकका तत्कालिन सम्पादक सुवास ढकाल सम्झिन्छन्, ‘फोटो छापेपछि केही विवाद भएका छन् । उसो त, हामीले फोटो खिच्दा नै मोडलसँग लिखित सम्झौता गरेका हुन्थ्यौं । तर, कहिलेकाहीँ तस्वीर सार्वजनिक भएपछि उनीहरुका प्रेमी आएर हामीसँग फोटो किन छापेको भन्दै विवाद गर्थे ।’

एकपटक साप्ताहिकले साइबर संसार डटकमबाट लिएर एक युक्रेनी मोडलको फोटो छापेको थियो । ती महिलाले साइबर संसार डटकमसँग तस्वीर छाप्न दिने सहमति गरेकी थिइन् । तर, तस्वीर सार्वजनिक भएपछि दिल्लीबाट ती मोडल नेपाल आएर साप्ताहिक टिमसँग झगडा गरेको सुवास सम्झिन्छन् ।

तस्वीर छापिएपछि फोटोग्राफर राजिव श्रेष्ठ पनि विवादमा परेका थिए । १५ वर्ष अगाडिको कुरा हो, राजिवले १२ जना नायिका र मोडललाई समावेश गरेर क्यालेन्डर सार्वजनिक गरे । क्यालेन्डरमा एक बाइकको विज्ञापनसमेत थियो । राजिव चाहन्थे कि, नेपाली नायिका तथा मोडलको फोटो क्यालेन्डरको रुपमा मानिसका घर घरमा झुन्डिउन् । तर, उनले सोचेको भन्दा उल्टो भयो । फोटो सार्वजनिक भएपछि केही नायिकाले कम्पनीसँग पैसा लिएर आफूहरुको फोटो मिस यूज गरेको र तस्वीर बेचेर पैसा कमाएको आरोप लगाए । राजिव भन्छन्-‘मैले, सो समयमा ब्रान्डसँग पैसा नै लिएको थिइनँ । तर, फोटो आएपछि मलाई ठूलो आरोप लाग्यो । मैले, उक्त बाइक कम्पनीसँग पनि मोडलहरुको भेट गराइदिएको थिएँ ।’

मोडलिङ फोटोग्राफीमा सन् १९९७ मा साइबर संसार डटकमको प्रवेश भएको थियो । म्यागाजिन र पत्रिकामा तस्वीर सार्वजनिक भइरहेको समयमा वेबको माध्यमबाट पत्रकारिता गर्न सहज थिएन । सो समयमा तस्वीर सार्वजनिक गर्दा साइबर संसारले पनि थुप्रै हन्डर खानुपरेको थियो । साइबर संसारका संचालक अभिनब कसजु भन्छन्-‘विशेषगरी, हामीले साप्ताहिकसँग टाइअप गरेर ब्लोअप छाप्न थालेपछि केही विवाद भए । फोटो किन छापेको ? भन्दै झगडा गर्न केही मोडल आइपुग्थे ।’

कसजु, सो समयमा मोडललाई आउटडोर सुटमा लगेर फोटोसुट गर्न सहज नभएको बताउँछन् । उनी सम्झिन्छन्, ‘हामीले केही मोडलका घरमै गएर बुबा-आमालाई सम्झाएर बेलुका छोरीलाई घरसम्म छोडिदिन्छौं भनेर पनि फोटोसुट गरेका छौं ।’

नम्रतादेखि यूनालाई नायिका बनाएको साइबर संसार

साप्ताहिक पत्रिका र कामनामा छापिएका ब्लोअप र कभर फोटोबाट धेरै मोडलहरु चलचित्र र म्युजिक भिडियो क्षेत्रमा प्रवेश गरेका उदाहरण छन् । साइबर संसारमा प्रकाशन भएको तस्वीर हेरेर निर्माता-निर्देशकले नायिका छनोट गरेका छन् । यसमै पर्छिन्, नायिका नम्रता श्रेष्ठ । साइबर संसारमा नम्रताको तस्वीर सार्वजनिक भएपछि यसको टिमले अभिनब र उनको टिमलाई भेट्यो । सानो संसारको कास्टिङ नै आफूहरुले गरिदिएको अभिनब बताउँछन् ।

साइबर संसारले नेपाली चलचित्र तथा मोडलिङमा जमेका थुप्रै अनुहार जन्माएको छ । जसमा, नम्रता श्रेष्ठ, यूना उप्रेती, पूजना प्रधान, अन्जली लामा, पुजा शर्मा, वषर्ा सिवाकोटी, सुष्मा कार्की, श्रृजना सुब्बा, निता ढुंगाना, विनिता बराल, अनु शाह, हेमा श्रेष्ठ, नम्रता सापकोटा, सुरविना कार्की, छुल्ठिम गुरुङ, हषिर्का श्रेष्ठ, रुवि भट्टराई, उमा बेबी, सुमिना घिमिरेलगायत नायिका तथा मोडल छन् ।

कसुज भन्छन्-‘सो समयमा नेपालमा अनलाइन संचालन गरेर विज्ञापनको माध्यमबाट आफैं स्थापित हुन पनि सकिन्छ भन्ने कुराको शुरुवात नै हामीले गरेका थियौं । हामीले चल्तीका कम्पनीका विज्ञापनलाई ब्यानरमा राखेर आम्दानीको स्रोतसमेत खोजेका थियौं । पछि आएका अनलाइनलाई हाम्रो यो कदमले निकै सजिलो भएको थियो ।’

तर, इन्टरनेट म्यागाजिनको शुरुवात गर्न सहज भने थिएन । अभिनबका अनुसार, मानिसहरु इन्टरनेट म्यागाजिन भन्दा कुन पत्रिकामा पाउँछ भन्थे । तर, सन् २००० बाट इन्टरनेट प्रयोगकर्ता बढ्न थालेपछि साइबर संसारका भिजिटर पनि बढे । विदेशमा बस्ने नेपालीले यसको प्रयोग धेरै गरेको उनी बताउँछन् ।

विदेशी अनलाइनमा मोडल तथा सेलिबि्रटीको तस्वीर प्रकाशन भएको देखेर शुरु भएको साइबर संसारले एक दशकभन्दा लामो समय त तहल्का नै मच्चायो । नेपालमा इन्टरनेट फोटोग्राफीलाई अगाडि बढाउन साइबर संसारको भूमिका उच्च छ ।

तर, प्रविधिको विकाससँगै अहिले हातहातमा मोबाइल हुँदा फोटोग्राफीको ट्रेन्ड पनि बिस्तारै सेलाउँदै गएको छ । ३ दशकअघि राजिव श्रेष्ठले मोडलिङ फोटोग्राफीको शुरु गर्दा मानिसहरुले यसलाई बुझेका थिएनन् । तर, अहिले यसलाई निकै सजिलो तरिकाले बुझ्न थालिएको गुनासो राजिवको छ । उनी भन्छन्, ‘फोटो खिच्नु सजिलो काम होइन । तर, मानिसहरुले सामाजिक सञ्जालमा सहजै फोटो पोष्ट गर्न हिजोआज फोटोग्राफी गरिरहेका छन् । यसले, फोटो प्रकाशन गरेर लाइक र कमेन्ट त पाइएला । तर, फोटोको गहिराइ र फोटोग्राफीको सुन्दरता भने प्राप्त हुँदैन ।’

नेपालमा मोडलिङ फोटोग्राफी शुरु गर्न सहज थिएन । विभिन्न ठक्कर र विवाद सहेर फोटोग्राफर, प्रकाशक तथा इन्टरनेट म्यागाजिनले मोडलिङ फोटोग्राफीलाई स्थापित गरेका छन् । तर, पछिल्लो समय प्रविधिको विकास र हरेक मानिसको हातमा संचारको माध्यम भएपछि भने यसको महत्व घट्दै गएको छ । मोबाइलले फोटो खिचेर सामाजिक सञ्जालमा सहजै पोष्ट गर्न सकिने, चित्त नबुझे आफैं हटाउन पनि सकिने भएकाले पनि मानिसहरु अरुको नियन्त्रणमा रहेर काम गर्न चाहँदैनन् । तर, फोटोको गहिराइ र पोर्टफोलियो बनाउन चाहनेका लागि भने अझै पनि यसको क्रेज कमजोर बनेको छैन ।

लेखकको बारेमा
विजय सुवेदी ‘आवाज’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?