+
+

अतिवादको यात्रामा देउवा, अन्यायका साक्षी पौडेल र सिटौला 

तेजप्रसाद लामिछाने तेजप्रसाद लामिछाने
२०७८ भदौ २७ गते १०:५७

नेपाली कांग्रेस पार्टी अहिले स्थानीय तहको चुनाव सम्पन्न गर्दै आसन्न १४औं महाधिवेशनको तयारीमा जुटेको छ । स्थानीय तहदेखि केन्द्रसम्म नयाँ नेतृत्वको लागि आ-आफ्नो उम्मेदवारी घोषणाको प्रतिस्पर्धा बढ्दै गएको छ । केन्द्रीय सभापति पदको उम्मेदवारी दिनेको लामो सूची बनिसकेको छ । लोकतान्त्रिक पद्धतिमा यो अस्वाभाविक पनि होइन ।

साढे पाँच वर्षको कार्यकालमा पार्टी सभापति देउवामाथि धेरै आरोप लागे । उनीमाथि पार्टीलाई एकीकृत गर्न नसकेको, गुटबन्दीलाई प्रश्रय दिएको, पार्टीको आन्तरिक लोकतन्त्रलाई कमजोर बनाएको, राष्ट्रका न्याय मूर्तिमाथि महाभियोग दर्ता गराएको, प्रजातान्त्रिक पार्टीको छविमा प्रश्नचिन्ह लगाएको जस्ता आरोप लाग्ने गरेका छन् ।

उनै देउवाले पार्टीलाई अझै बलियो बनाउन फेरि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टी र सरकारको आफैंले नेतृत्व गरेको बेला प्रत्यक्षतर्फको आमनिर्वाचनमा २३ सिट ल्याएको कांग्रेसलाई अब कति सिटमा पुर्‍याउन खोजेका हुन् ? कांग्रेसको लागि प्रतीक्षाको विषय बनेको छ ।

अघिल्लो अधिवेशनको ‘घाइते उम्मेदवार हुँ म, फेरि उठ्ने रहर छ’ भन्दै छन् वरिष्ठ नेता रामचन्द्र पौडेल । उनीसँगै पौडेलपछिको वरिष्ठ नेता प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य डा. शेखर कोइराला पौडेल टिमबाट सभापति पदका आकांक्षी हुन् । सभापति पदको उम्मेदवारीमा कसको नाममा सहमति होला, मंसीरमै कांग्रेसले गर्‍यो भने त्यही बेला थाहा होला ।

गगन र प्रदिपले साथ छोडिसकेपछि पनि च्याँखे राजनीतिमा रमाउने कृष्ण सिटौला आफ्नो गुट अझै बलियो भएको छ भन्न छोडेका छैनन् । अघिल्लो अधिवेशनका यी तीन उम्मेदवारलाई आसन्न महाधिवेशनमा सभापति पदको उम्मेदवार हुन रोक्न खोज्दैछन्- सिंह, विमलेन्द्र निधि र शशांक । आ-आफ्नो भूमिकामा असफल देउवा, पौडेल र सिटौलालाई सक्रिय राजनीतिमा विश्राम गराउन खोज्ने नेता पुत्रको नयाँ समीकरणले कांग्रेसको राष्ट्रिय राजनीतिले बजारमा राम्रै चर्चा पाएको छ ।

साढे पाँच वर्षअघि पार्टी नेतृत्वमा आउन निर्माण गरिएका गुटका नाइके हुन्- देउवा, पौडेल र सिटौला । उनीहरूले आपसी भागबन्डा र सहकार्य गर्दै गएर कांग्रेसलाई ‘पब्लिक कम्पनी’ को रूपमा रूपान्तरित गरिदिए । पार्टीको संस्थागत हितभन्दा व्यक्तिगत स्वार्थ र भोगको राजनीतिमा रमाएको पनि आरोप छ नेतात्रयमाथि ।

शुरुमा पार्टीको विधि र विधानलाई प्वाल पार्ने अनि आफैं टालटुल गर्न खोजेर उनीहरूले साढे पाँच वर्ष विताए । व्यक्तिगत रूपमा उनीहरुलाई कति फाइदा भयो थाहा भएन तर, कांग्रेस पार्टी संगठनलाई क्षति बाहेक केही देखिएन ।

लाखौंको संख्यामा परिचालन हुने नेविसंघ र तरुण दल अहिले दुई अंकमा सीमित भएका छन् । पार्टी संगठनको लागि नर्सरी मानिने नेविसंघ कमजोर हुँदा अहिले कांग्रेस निरीह भएर बाँचिरहेको छ । सिटौलाको झापा, पौडेलको तनहुँ र देउवाको कञ्चनपुर र डडेल्धुरा जिल्ला संगठन पनि बिग्रेको छ । आफ्ना समकक्षीलाई ठेगान लगाउन खोज्ने आफ्नै अतिवादले गर्दा सिटौला, पौडेल र देउवा पत्नी आरजुले निर्वाचन हार्नुपर्‍यो ।

उनकै कारण झापाका जगदीश काफ्लेको राजनीतिक भविष्य नै सकियो । जगदीश काफ्लेपछि नेविसंघ पूर्व सभापति/पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा पनि उनीबाट पीडित अर्को नेता हुन् । १२औं महाधिवेशनमा नेता अर्जुननरसिंह केसीलाई साथ लिएर देउवालाई पराजित गरेर सुशील कोइरालाको टिम निर्वाचित भयो । सभापति कोइरालाले अर्जुननरसिंह केसीलाई मनोनीत महामन्त्रीमा ल्याउने भद्र सहमति थियो । सिटौला सभापति सुशीललाई आफ्नो कब्जामा पारेर आफैं महामन्त्रीमा मनोनीत हुन सफल भए ।

सिटौलाको राजनीति बुझ्न तीन वर्ष लगाएका सभापति सुशीलले त्यसपश्चात् मात्र निर्वाचित महामन्त्री प्रकाशमान सिंहलाई आफ्नो निकट बनाएका थिए । २०७० देखि सभापति सुशील कोइरालाको टिमसँग टाढिंदै गएका सिटौलाले १३औं महाधिवेशनमा राम्रोसँग खेल्न पाएका थिए ।

सिद्धान्तविहिन तर व्यक्तिगत लाभका लागि चतुर्‍याइँ जानेका कृष्ण सिटौलाले गगन, प्रदिप र उमाकान्तको साथ लिएर तेस्रो गुट जन्माए । दोस्रो चरणमा देउवालाई साथ दिएका सिटौला अहिले पौडेल र देउवा दुवैको समदूरीमा रहन रुचाउँछन् । गगन र प्रदीप अहिले सिटौला टिमको बैठकमा आउन छोडेको धेरै भयो । अरु आउने त सम्भावना झनै रहेन । भोलि कुन रुखको हाँगो समाउने पौडेल र देउवा दुवैको नाडी छाम्दैछन कृष्ण सिटौलाले ।

सम्भव भएसम्म अबको केही वर्ष नेपाली कांग्रेसलाई देउवा, पौडेल र सिटौलाकै कमान्डमा राख्न सकिन्छ कि भनेर भित्री कसरतमा पनि छन् उनी । बीएस्सी गरेका कृष्ण सिटौला कानूनका विद्यार्थी पनि हुन् । सिटौला गुट जन्माउन कृष्णलाई साथ दिने अर्जुन (गगनकुमार थापा) पौडेल टिमको महामन्त्री उम्मेदवार घोषणा गरिसके ।

अरु नयाँ अनुहारसहित कृष्ण सिटौला आगामी अधिवेशनमा जुन टिम बलियो हुन्छ त्यही टिममा उसैसँग बार्गेनिङ गरेर जाने सम्भावना बढी छ ।

आफैं महामन्त्री र उपसभापतिमा जित्ने सम्भावना नरहेका सिटौला टिमको मिटिङ्गमा गगन थापा र प्रदिप पौडेल पटकपटक अनुपस्थित भैसकेका छन् ।

२०४८ साल यताका वर्षहरुमा देउवासँगै रामचन्द्र पौडेलले पनि विभिन्न मन्त्रालयको जिम्मेवारी पाइसकेका छन् । दमननाथ ढुङ्गाना जस्तो विशिष्ट व्यक्तिले पाएको सभामुख पद २०५१ पछि नेता पौडेलले पाए । महाकाली टनकपुर विवादस्पद सन्धिका बेला देउवा प्रधानमन्त्री र पौडेल सभामुख थिए । देउवा पाँचपटक प्रधानमन्त्री बन्दा रामचन्द्र पौडेल उपप्रधानमन्त्री भन्दा माथि आउन सकेनन् । लोकतन्त्रको लागि जेलनेल गर्दै लामो इतिहास बनाएका पौडेल दोलखाका भीमबहादुर तामाङ र इलामका कुलबहादुर गुरुङ जस्ता निष्ठावान र स्वाभिमानी नेता बन्न सकेनन् ।

१३औं महाधिवेशनको राजनीतिक सहमति अनुरूप यसपटक रामचन्द्र पौडेलले पूर्व महामन्त्री प्रकाशमान सिंहलाई सभापति पदको उम्मेदवारमा प्रस्ताव गर्नुपर्ने थियो । साढे पाँचअघि गरेको त्यो राजनीतिक सहमति वरिष्ठ नेता पौडेलले अहिले बिर्सन खोज्दैछन् । नेता सिंह बाहेक सभापति पदमा अन्य थुप्रै उम्मेदवार मैदानमा छन् । भोलि जसको नाममा सहमति होला तर रामचन्द्र पौडेलको नाममा सर्वसहमति हुने सम्भावना भने ज्यादै न्यून देखिन्छ ।

रामचन्द्र पौडेलले कोइराला परिवारले नेतृत्व गरेको टिमको नेता बन्ने मौका पनि पाएकै हुन् । पौडेलले आफ्नै टिमका नेतालाई विश्वस्त पारेर बलियो टिम बनाउन नसक्दा आफैंले जित्ने सभापति पद देउवाको पोल्टामा गयो । पटकपटक विभिन्न अवसर र जिम्मेवारी पाएका रामचन्द्र पौडेललाई सभापति हुने रहर मरेको छैन ।

कार्यकाल छोटो भए पनि देउवा सभापतिमा निर्वाचित हुनु पूर्वका पौडेल कार्यवाहक सभापति हुन् । उनकै सभापतित्वमा भएको महाधिवेशनमा देउवा सभापतिमा निर्वाचित भएका थिए । पार्टीले आधिकारिक निर्णय गरेर रामचन्द्र पौडेललाई पूर्वपार्टी सभापतिको मान्यता दिंदा न्यायसंगत हुन आउँछ ।

यदाकदा बाहेक रामचन्द्रले देउवालाई नैतिक दबाब दिनै सकेनन् । प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग लगाउने कार्यमा रामचन्द्र पौडेलले सभापति देउवालाई रोक्न पनि सकेनन् ।

सत्ता र शक्तिमा रहिरहन खोज्ने देउवालाई आफ्नैले साथ छोड्ने देखेपछि उनको टाउको दुखाइ बढ्नु स्वाभाविक नै हो । पार्टी अधिवेशन सुनिश्चितता र पार्टीमा नयाँ नेतृत्वको लागि परिवर्तनशील समूह एक हुनुवाहेक अब अरु विकल्प देखिंदैन

सभापतिले पार्टीको विधानमा प्वाल पार्दै मनपरी तन्त्रले पार्टी सञ्चालन गर्न खोज्दा पौडेलले रोक्न छोडेर आफैं भागबन्डामा रमाएको आरोप छ उनीमाथि । राजनैतिक अडान कमजोर भएका नेता पौडेलले आफूपछिको नेतालाई उत्तराधिकारीको रूपमा अगाडि ल्याउन पनि चाहेको देखिएन । बालुवाटार र बूढानीलकण्ठबीच हिजो जुन सम्बन्ध थियो त्यस्तै सम्बन्ध बूढानीलकण्ठ र बोहराटारको बीचमा रहिआएको देखिन्छ ।

पार्टीको बैठक र सभामा देउवा र पौडेलले आपसमा जति झगडिए पनि उनीहरुको बीचको भित्री सम्बन्ध बिग्रिएको देखिंदैन । कांग्रेसको १४औं महाधिवेशन समयमै सम्पन्न नहुनुमा सभापति देउवा एक्लै दोषी छैनन् । सिटौला गुटको अस्तित्व सकिएसँगै कृष्ण सिटौलाको देउवासँग निकटता ।

प्रकाशमान र कोइरालाले पार्टी नेतृत्वमा दाबी गर्न खोज्दा रामचन्द्र पौडेलको भूमिका पनि प्रशंसा गर्न लायक नदेखिएकै हो । देउवा र सिटौला भन्दा अलिक निष्ठावान पौडेलले अब पार्टी हितको निम्ति ठूलो छाती र भारी मनले त्याग र समर्पण देखाउनै पर्छ ।

‘देउवा र म साथी साथी हौं । हामी दुवैलाई हटाउन खोज्नु भनेको ग्राण्ड डिजाइन हो । हामी दुवै हट्यौं भने कांग्रेस कहाँ पुग्छ ? लोकतन्त्रको भविष्य के हुन्छ ?’ कान्तिपुर टेलिभिजन को एक कार्यक्रममा पौडेलले बोलेको कुरा हो यो । अझै पनि भोगको राजनीतिमा रमाउन छोडेर वरिष्ठ नेता पौडेलले देउवाको विकल्पमा सर्वसहमतिमा उम्मेदवार नेतृत्व चयन गर्न सफल भए उनको नैतिकता र निष्ठाको पूरै सम्मान मिल्नेछ ।

सभापतिको कार्यशैली र लथालिङ्ग पार्टी संगठन देखेर स्थानीय तहमा देउवा पूरै आलोचित र विवादित छन् । केन्द्रमा हेर्ने हो भने बूढानीलकण्ठ दरबारमा उनी निकट नेताहरुको बाक्लै भीड देखिन्छ । अधिवेशन नगरिकन चार कार्यकाल नेविसंघका सभापति बनेका देउवा पार्टीलाई पनि त्यसैगरी निरन्तरता दिने हुन् कि भन्ने धेरैको चिन्ता र चासो यहींनेर छ । बाहिर जे जस्तो देखिए पनि सिटौला, पौडेल र देउवाको आपसी सद्भावमा धेरै शंका नगर्नु नै उचित होला ।

आफैंले अन्तर्घात गरेर महामन्त्रीमा हराएका अर्जुननरसिंह केसी देउवाको अतिवादको कार्यशैलीबाट रुष्ट छन् । १२औं महाधिवेशनमा नेता केसीले २ हजार ३४ मत ल्याएर खुल्ला केन्द्रीय सदस्यमा निर्वाचित हुँदा रामचन्द्र पौडेल- १ हजार ७०३, डा. शशांक- १ हजार ७६७, डा. शेखर कोइरालालाई १ हजार ५३१ मत प्राप्त भएको थियो ।

चार दशकभन्दा बढी देउवालाई साथ दिएका उनका दाहिने हात उपसभापति विमलेन्द्र निधि अहिले उनीसँग छैनन् । साढे पाँच वर्ष अघि पार्टी नेतृत्वको लागि गरेको राजनीतिक सहमतिलाई अहिले देउवाले निधिमाथि अन्तर्घात गर्न खोज्दैछन् । नेता निधि अहिले देउवाको घेराभन्दा बाहिर स्वतन्त्र छन् । पटकपटक प्रधानमन्त्री बनेर धेरैचोटि आलोचित देउवाको जुनसुकै कार्यकाल पनि लोकतन्त्र र कांग्रेसको हितकरमा रहेन ।

२०५७ सालदेखि सभापति आकांक्षी देउवालाई १३औं महाधिवेशनमा आएर सबैले साथ दिए । गिरिजा र सुशीलसँग पराजित देउवालाई यसपटक रामचन्द्र पौडेलले पराजित गर्न सकेनन् । १२औं अधिवेशनमा सभापति उठेका देउवालाई निर्वाचित महामन्त्री प्रकाशमान सिंहले ३४० मतले पछाडि पारेका थिए ।

१३औं महाधिवेशनमा सभापति उम्मेदवारमा पौडेल र प्रकाशमान बीच आन्तरिक प्रतिस्पर्धा हुँदै गर्दा जब पौडेलको नाममा सहमति बन्यो । अर्जुननरसिंह केसीको साथ पाएका देउवा त्यही बेलादेखि आफू सभापतिमा निर्वाचित हुने कुरामा ढुक्क थिए । पौडेलको नेतृत्व आफ्नै टिमका नेतालाई स्वीकार भएन क्यारे । उनले राम्रो जनमत भएका नेतालाई मिलाउनै सकेनन् । रामचन्द्र पौडेललाई छोडेर धेरै जना देउवातिर गए ।

गत महाधिवेशनमा सभापतिमा देउवालाई जिताउन सहयोग गर्ने केन्द्रीय नेताहरू उनको अतिवादको कारण क्रमशः सबैजना रुष्ट बन्दै गए । देउवा गुटका प्रभावशाली नेताहरु नै आपसमा असन्तुष्टि बढ्दै गएको प्रष्ट स्थिति देखिंदैछ । सत्ता र शक्तिमा रहिरहन खोज्ने देउवालाई आफ्नैले साथ छोड्ने देखेपछि उनको टाउको दुखाइ बढ्नु स्वाभाविक नै हो ।

देउवाले आफ्नो गृह जिल्ला डडेल्धुराका जिल्ला सभापतिलाई स्थानीय चुनावको टिकट वितरणमा बन्देज लगाए । यसैकारण डडेल्धुराको स्थानीय चुनाव कांग्रेसको अनुकूल रहेन । प्रदेश र संघको चुनावमा देउवाले सभापति मल्लसँग आफूलाई सहयोग गर्न अनुरोध गरे । सभापति मल्लले देउवाको अनुरोध स्वीकार गरेपछि मल्लसँगै देउवाले पनि सजिलोसँग चुनाव जितेका हुन् ।

अहिले फेरि पार्टी प्रवेशको नाममा मनपरी सदस्यता वितरण गरेर सभापति मल्ललाई ठेगान लगाउन खोजेकै हुन् । क्रियाशील सदस्यताको नामावलीमा जिल्ला सभापति मल्लको आमाको नाम काटेर आफ्नो छोराको नाम राख्ने हर्कत गर्नसम्म भ्याए देउवाले।

सभापति कर्ण मल्ल र देउवाबीच फेरि ठूलै द्वन्द्व शुरु हुने देखिंदैछ । आसन्न महाधिवेशनबाट फेरि सभापति जित्ने र डडेल्धुराबाट अब निर्वाचित हुने सम्भावना देउवाको लागि उस्ताउस्तै देखिन्छ । पार्टी अधिवेशन सुनिश्चितता र पार्टीमा नयाँ नेतृत्वको लागि परिवर्तनशील समूह एक हुनुवाहेक अब अरु विकल्प देखिंदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?